२५
सिजोभ बेन्चमा बस्दै हडबडायो ।

“के भयो ?” – आमाले सोधिन् ।

“त्यसै, केही होइन ! भन्छु, मानिसहरू मूर्ख छन् … ।”

घण्टी बज्यो । कसैले विरक्त स्वरमा घोषणा गर्‍यो –

“होसियार ! न्यायाधीशहरूको सवारी हुँदैछ !”

हलमा बसेका सबै मान्छेहरू उभिए । न्यायाधीशहरू फेरि त्यसै गरी लाभ लाउँदै भित्र पसे र आ– आफ्ना ठाउँमा बसे । कैदहरूलाई हलभित्र हुले ।

“मुटु थामेर बस है ।” – सिजोभले साउतीको स्वरमा भन्यो – “अब सरकारी अभियोक्ताको भाषण सुरु हुन्छ ।”

आमाले घाँटी तन्काइन् र कुनै भयानक कुराको नयाँ आशङ्काले थिचिँदै पूरै जीउ अघिल्तिर झुकाएर सुन्न थालिन् ।

सरकारी अभियोक्ता न्यायाधीशहरूको दाहिनेपट्टि उभिएको थियो । उनीहरूतिर टाउको फर्काउँदै उसले टेबुलमा कुहिनो अडायो र गहिरो सास फेर्दै बोल्न थाल्यो । बोल्दा ऊ आफ्नो दाहिने हात खुब हल्लाउँथ्यो । सुरुका शब्दहरू आमाले बुझिनन् । उसको स्वर गाढा थियो । एकैनासले नभएर पनि ऊ धारावाहिक रूपले बोल्दै थियो – स्वर कहिले चर्को हुन्थ्यो त कहिले मन्द । सुरुमा त उसका शब्दहरू धागाको टाँका लगाएजस्तो बिस्तारै बिस्तारै एकनासले निस्किरहेका थिए । फेरि एक्कासि झिँगाको बथान मिस्रीको टुक्रोमाथि भुनभुनाएजस्तो उसका शब्दहरू हतारिएर उड्न र रिँग्न थाल्थे, तर आमाले उसका शब्दहरूमा केही पनि डरलाग्दो र खतरनाक कुरा भेट्टाइनन् । हिउँजस्तै चिसो र खरानीजस्तै निरस उसका ती शब्दहरू पूरा हललाई नै उदास र वाक्कलाग्दो वातावरणमा डुबाउँदै ओइरिरहेका थिए । यस्तो लाग्यो, भावनाको कमी र शब्दहरूको धनी भएको उसको यो भाषण पाभेल र उसका साथीहरूसम्म पुगिरहेको थिएन र उनीहरूमाथि कुनै असर पारिरहेको थिएन । उनीहरू शान्त भएर बसिरहेका थिए र उनीहरूमाथि कुनै असर पारिरहेको थिएन । उनीहरू शान्त भएर बसिरहेका थिए र यथावत् बिस्तारै कुरा गर्दै थिए । उनीहरू कहिले मुस्कुराउँथे त कहिले हाँसो लुकाउन आँखीभौँ खुम्च्याउँथे ।

“सब बकवास हो !” – सिजोभले बिस्तारै भन्यो ।

तर आमाले सब कुरा राम्ररी बुझिनन् । सरकारी अभियोक्ताको कुरा सुनेर उनले कतिसम्म बुझिन् भने ऊ कुनै व्यक्ति विशेषतिर नऔँल्याई सबैलाई दोषी साबित गर्न चाहन्छ । पाभेलबारे बोलिसकेपछि ऊ फ्योदोरबारे बोल्न थाल्थ्यो । फ्योदोरलाई पाभेलसँग एकै पङ्क्तिमा उभ्याइसकेपछि उसले बुकिनलाई जबरजस्ती त्यतै धकेल्ने कोसिस गर्‍यो – यस्तो भान हुन्थ्यो ऊ सबैलाई बडो विधिपूर्वक एउटै थैलोभित्र खाँदेर बन्द गर्न चाहन्छ । तर भाषणको शाब्दिक अर्थले आमाको चित्त बुझिरहेको थिएन । ती शब्दहरूले उनलाई न उत्तेजित नै तुल्याउँथे, न तर्साउँथे नै । उनी अझै पनि कुनै भयानक कुरा पर्खेर बसेकी थिइन् र अभियोक्ताको भाषणमा बडो व्यग्रतासाथ त्यही भयङ्कर कुरा पर्खेर बसेकी थिइन् । उनी उसको अनुहारमा, उसका आँखामा, उसको आवाजमा, हावामा यताउता हल्लिरहेको उसको सेतो हातमा त्यो कुरा खोज्दै थिइन् । कुनै भयानक कुरा अवश्य थियो – यो कुरा उनी अनुभव गर्दै थिइन् । तर त्यो कुरा कति अव्यक्त थियो भने त्यसको व्याख्या गर्न उनी असमर्थ थिइन् । आमाको मुटु फेरि कुनै सुख्खा र टर्रो भावनाले भरियो ।

उनले न्यायाधीशहरूतिर हेरिन् । स्पष्ट थियो, उनीहरूलाई पनि यो भाषण सुन्दा सुन्दा वाक्क लागिसकेको छ । उनीहरूका ती निर्जीव, पहेँला र खैरा अनुहारहरू भाव शून्य थिए । अभियोक्ताको भाषणले वातावरणमा कुनै अदृश्य कुहिरो फैलाउँदै थियो, त्यो कुहिरो बढ्दै थियो र अब न्यायाधीशहरूको वरिपरि फैलिँदै थियो । उनीहरूलाई विरक्ति र थकित आशाको बादलले ढाक्दै थियो । प्रधानन्यायाधीश लट्टीजस्तो तन्केर हलचल नगरी बसेको थियो । उसको चस्मापछाडिका खैरा थोप्लाहरू कहिलेकाहीँ कसरी गायब हुन्थे भने उसको अनुहारमै विलीन भएजस्ता लाग्थे ।

आमाले यस निर्जीव उदासीनता र भावहीन विरक्तिको कुनै अर्थ लाउन सकिरहेकी थिइनन् र उनी बारम्बार आफूलाई सोध्थिन् –

“के यिनै हुन् इन्साफ गर्न बसेकाहरू ?”

यस प्रश्नले उनको मुटु बेस्सरी मिच्थ्यो, त्यहाँबाट बिस्तारै त्यस भयानक आशङ्कालाई निचोरेर मिल्काइदिन्थ्यो र उनी आफ्नो घाँटीमा विषादको एक तीखो घोचाइ अनुभव गर्थिन् ।

सरकारी अभियोक्ताको भाषण सकियो । उसले एक्कासि आफ्नो भाषण टुङ्ग्याउँदै हतार हतार कोटका साना साना टाँकहरू लगाउन थाल्यो र न्यायाधीशहरूतिर फर्केर टाउको निहुरायो । त्यसपछि ऊ हात मल्दै आफ्नो ठाउँमा गएर बस्यो । कुलीन समाजका अगुवाले आफ्नो आँखा घुमाउँदै टाउकाको इसाराले आफ्नो सहमति जनायो । मेयरले उसतर्फ आफ्नो हात बढायो, भोलोस्त प्रधान आफ्नो भुँडीतिर हेर्दै मुस्कुराइरहेको थियो ।

तर न्यायाधीशहरूलाई चाहिँ उसको भाषण मन नपरेजस्तो देखिन्थ्यो । उनीहरू चुपचाप बसेका थिए ।

एउटा बूढाले आँखानजिकै कागज लगेर भन्यो –

“अब अदालतले फदोसेएभ, मार्कभ र जागारभको तर्फबाट आएका वकिलको बयान सुन्नेछ ।”

वकिल उभियो । आमाले त्यस वकिललाई निकोलाइले घरमा देखेकी थिइन् । उसको अनुहार चौडा र हँसिलो थियो । उसका साना साना आँखा यस प्रकारले चम्किन्थे, मानौँ उसका राता आँखीभौँको मुन्तिरबाट दुई वटा धारिला छुराहरू बाहिर निस्किएका छन् र कैँचीले जस्तै हावामा केही कुरा काटिरहेका छन् । उसले नहडबडाईकन चर्को र स्पष्ट स्वरमा बोल्न सुरु गर्‍यो । तर आमाले उसको भाषण ध्यान दिएर सुन्न सकिनन् । सिजोभ बराबर उनको काननेर मुख लगेर भन्ने गर्थ्यो –

“बुझ्यौ, ऊ के भन्दै छ ? बुझ्यौ ? भन्छ, कैदीहरू त्यस बेला आफ्नो होसमा थिएनन् । त्यसो भए फ्योदोर होसमा थिएन, होइन के ?”

आमा अति क्षुब्ध थिइन् र उनले केही पनि जवाफ दिइनन् । विषादको भावना बढ्दै थियो र हृदयमा बोझ बढ्दै थियो । अब मात्र आमाले बुझिन्, किन उनी न्याय पर्खेर बसिरहेकी थिइन् । उनलाई आशा थियो, आफ्नो छोरा र न्यायाधीशहरूबीच सबै कुरा ठुलो इमानदारीसाथ फैसला हुनेछ । उनले कल्पना गरेकी थिइन्, न्यायाधीशहरू ले धेरै बेरसम्म बडो ध्यान दिएर बिस्तारपूर्वक पाभेलसँग सबै कुरा सोधपुछ गर्नेछन् । थाहा पाउन चाहनेछन्, पाभेलले कुन भावनाले प्रेरित भएर यो काम गर्‍यो ? उसको सम्पूर्ण विचार तथा कामलाई बढो गम्भीरतापूर्वक केलाउनेछन् र जब ऊ ठिकै करा गर्दैछ भन्ने बुझ्नेछन्, तब न्यायप्रियतासाथ ठुलो स्वरले घोषणा गर्नेछन् –

“यो मान्छे ठिक भन्दै छ !”

तर उनले सोचेजस्तो भइरहेको थिएन । यस्तो लाग्यो, अभियुक्तहरू न्यायाधीशहरूबाट धेरै टाढा छन् र उनीहरूलाई न्यायाधीशहरूसँग कुनै सरोकार छैन । थकाइले चूर भएकी आमालाई मुद्दाको कारबाहीमाथि वास्ता लाग्न छोड्यो । कुरा सुन्न छाडेर उनले ठुलो दिक्दारीसाथ सोच्न थालिन् –

“यही हो फैसला गर्ने तरिका ?”

“ठिक भन्दै छ !” – सिजोभले आफ्नो सहमति जनाउँदै भन्यो ।

अर्को वकिल बोल्दै थियो । होचो कदको परेको, पहेँलो र हाँसो उठ्दो अनुहार भएको त्यस वकिललाई न्यायाधीशहरू बोल्न बाधा दिँदै थिए ।
सरकारी अभियोक्ता एक्कासि रिसाउँदै उठ्यो र अदालती कारबाहीबारे छिटो छिटो केही कुरा भन्यो । बूढो न्यायाधीशले उसलाई यस कुरामा हलुका चालले हकार्‍यो । विपक्षीको वकिलले बडो सम्मानसाथ टाउको निहुराउँदै उनीहरूको कुरा सुनिरह्यो र फेरि आफ्नो भाषण सुरु गर्‍यो ।
“कुराको फेदसम्म खोतल न !” – सिजोभले बिस्तारै भन्यो ।

हलमा मान्छेहरू चलमलाउन थाले । मान्छेहरूको जोस बढ्न थाल्यो । वकिल आफ्ना तीखा शब्दहरूले न्यायाधीशहरूको मोटो छालामा प्रहार गर्दै थियो । यस्तो लाग्थ्यो, उसका पेचिला र मर्मात्मक शब्दहरूको सामना गर्न तीनै जना न्यायाधीशहरू ढुस्स परेर फुल्दै एक–अर्कासँग टाँसिएर बसेका छन् ।

त्यसपछि पाभेल उठ्यो । हलमा एक्कासि शान्ति फैलियो । आमा आफ्नो पूरै शरीर अघिल्तिर झुकाएर बसिन् । पाभेलले शान्तिपूर्वक आफ्नो भाषण सुरु गर्‍यो –

“पार्टीको एक सदस्यको हैसियतले म आफ्नो पार्टीको फैसला मात्र स्वीकार गर्न सक्छु । तसर्थ, म आफ्नो सफाइका लागि केही पनि भन्न चाहन्नँ र आफ्ना सबै साथीहरूको तर्फबाट – उनीहरूले पनि आफ्नो सफाइका लागि केही भन्न अस्वीकार गरेका छन् – म तपाईँहरूलाई त्यो कुरा बुझाउने प्रयत्न गर्छु, जुन कुरा तपाईँहरूले बुझ्न सक्नुभएको छैन । सरकारी अभियोक्ता भन्दै हुनुहुन्थ्यो, सामाजिक जनवादी पार्टीको झन्डा लिएर हामीले जुन प्रदर्शन गरेका थियौँ, त्यो सर्वोच्च सत्ताको विरुद्ध विद्रोह थियो र उहाँ प्रमाणित गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो, हामी जारको शासन पल्टाउने कोसिस गर्दैछौं । म स्पष्ट पार्न चाहन्छु, हाम्रा लागि जारको निरङ्कुश शासन त्यो एक्लो सिक्री होइन, जसले हाम्रो मुलुकलाई जकडेर राखेको छ । यो मात्र पहिलो र सबैभन्दा नजिकको बन्धन हो, जसबाट हामीले जनतालाई मुक्त गर्नु परेको छ ।”
पाभेलको दृढ स्वरले हलको मौनता अझ गहिरो बनाइदियो । यस्तो लाग्थ्यो, मानौँ हल फराकिलो हुँदैछ, पाभेल अरू मानिसहरूबाट अलग्गिएर पर पुगेको छ, ऊ अग्लो भएको छ र उसको व्यक्तित्वले पूरा हल ढाक्दै छ ।

न्यायाधीशहरू बेचैनीसाथ चलमलाए । कुलीन समाजको अगुवाले उदास अनुहार भएको न्यायाधीशको कानमा केही खस्याकखुसुक ग¥यो । उसले टाउको हल्लायो र बूढो जजलाई कानमा केही भन्यो । त्यसै बेला अर्कोतिरबाट बिरामी अनुहार भएको न्यायाधीशले पनि उसको कानमा सुटुक्क केही भन्यो । आफ्नो कौचमा कहिले दायाँ र कहिले बायाँतिर ढल्किँदै बूढो न्यायाधीशले पाभेललाई केही भन्यो, तर उसको आवाज पाभेलको दृढ र सुगम भाषणको प्रभावमा बिलाएर गयो ।

“हामी समाजवादी हौँ । यसको अर्थ हो, हामी व्यक्तिगत सम्पत्तिको विरोधी छौ, जसले मानिसहरूलाई विभाजित तुल्याउँछ, एक–अर्काबिच दुस्मनी फैलाउँछ, निजी स्वार्थका लागि मानिसहरूलाई ज्यानकै बैरी बनाइदिन्छ, अनि यस अन्तर्विरोधलाई ढाकछोप गर्न र निर्दोष साबित गर्न असत्यताको सहारा लिन सिकाउँछ । यसले मानिसहरूमा झूट, पाखण्ड र घृणा कोची कोचीकन उनीहरूलाई भ्रष्ट बनाइदिन्छ । हामी भन्छौँ, त्यस्तो समाज जसले मानिसलाई ढुकुटी भर्ने साधनका रूपमा मात्र देख्छ, अमानवीय समाज हो, त्यस्तो दुई जिब्रे र पाखण्डी नैतिक पद्धति स्वीकार गर्न सक्दैनौँ । मानव व्यक्तित्वप्रतिको उसको दृष्टिकोणमा जुन अश्लीलता र क्रूरता छ, हामी त्यसलाई घृणा गर्छौ । यस्तो समाजले मानिसहरूमाथि जुन शारीरिक र नैतिक दासता थोपरिराखेको छ, हामी त्यसको विरोधमा लड्न चाहन्छौँ र लड्दै जानेछौँ । लोभी र स्वार्थी उद्देश्यका लागि मानिसहरूलाई विभाजित तुल्याउने सबै साधनहरूविरुद्ध सङ्घर्ष गर्दै जानेछौँ । हामी मजदुर हौँ । हाम्रै परिश्रमले भीमकाय मेसिनहरूदेखि लिएर बच्चाहरूका खेलौनाहरूसम्म संसारभरिका सबै कुराहरू तयार हुन्छन् । फेरि हामी नै त्यस्ता व्यक्ति हौँ, जो आफ्नो मानवोचित मर्यादाको रक्षा गर्ने अधिकारबाट समेत वञ्चित छौँ । हामीलाई कसैले पनि आफ्नो स्वार्थपूर्तिको साधनका रूपमा प्रयोग गर्न सक्छ । अब हामी त्यो स्वतन्त्रता हासिल गर्न चाहन्छौँ, जसले हामीलाई भोलि गएर सम्पूर्ण सत्ता आफ्नो हातमा लिने सम्भावना देओस् । हाम्रा नाराहरू सामान्य छन् – “व्यक्तिगत सम्पत्ति नाश होस् ! उत्पादनका साधनहरू जनतालाई सुम्प ! समस्त सत्ता जनतालाई सुम्प ! श्रम सबैका लागि अनिवार्य हुनुपर्छ ।” तपाईँहरूले देखिहाल्नुभयो हामी विद्रोही मात्र होइनौँ !”

पाभेल बिस्तारै मुस्कुरायो र सुस्त चालले आफ्नो कपाल मुसार्‍यो । उसका नीला आँखा अझ बढी चम्किँदै थिए ।

“तपाई कृपया कामको कुरा गर्नोस् ।” – प्रधानन्यायाधीशले चर्को र स्पष्ट स्वरमा भन्यो । उसले पाभेलतिर आफ्नो छाती फर्कायो र उसको मुखमा हेर्न थाल्यो । आमालाई लाग्यो, उसको निस्तेज बायाँ आँखामा लोभ र कपटको ज्वाला सल्किरहेको छ । तीनै जना न्यायाधीशहरू यसरी पाभेललाई हेर्दै थिए, मानौँ उनीहरूका आँखा उसको अनुहारमा टाँसिएका छन्, उसको शरीरभित्र गाडिँदै छन् र उसको रगतबाट आफ्नो तिर्खा मेट्न खोज्दै छन् । यस प्रकारले आफ्ना खिइसकेका शरीरमा नयाँ शक्ति सञ्चार गर्न चाहन्छन् । तर अग्लो कदको पाभेल सिधा उभिएको थियो । ऊ एकदमै दृढ देखिन्थ्यो । उसले एक हातले न्यायाधीशहरूतिर औँल्याउँदै स्पष्ट र शान्त स्वरमा भन्दै गयो –

“हामी क्रान्तिकारी हौँ र त्यस बेलासम्म हाम्रो क्रान्ति कायम रहनेछ, जबसम्म एका थरीले हुकुम मात्र चलाएर बस्नेछन् र अर्का थरी काम मात्र गर्नेछन् । हामी त्यस समाजको विरोधमा डटेका छौँ, जसको स्वार्थ रक्षा गर्ने आदेश तपाई न्यायाधीशहरूलाई दिइएको छ । हामी त्यस समाजका कट्टर विरोधी छौँ, त्यसैले तपाईँहरूको पनि । हाम्रोबिच त्यतिन्जेल कुनै सम्झौता हुन सक्दैन, जबसम्म हामी विजयी हुने छैनौँ । हामी मजदुरहरूको विजयण् अवश्यम्भावी छ ! तपाईँका मालिकहरू त्यति बलिया छैनन्, जति उनीहरूले आफूलाई ठानेका छन् । त्यही सम्पत्ति, जसलाई बटुल्न र रक्षा गर्नका लागि उनीहरूले  आफूलाई ठानेका छन् । त्यही सम्पत्ति, जसलाई बटुल्न र रक्षा गर्नका लागि उनीहरूले आफूलाई ठानेका छन् । त्यही सम्पत्ति, जसलाई बटुल्न र रक्षा गर्नका लागि उनीहरूले आफूलाई दास बनाएर राखेका लाखौँलाख मानिसहरूलाई बलि चढाइरहेका छन्, त्यही शक्ति जसका लागि उनीहरू हामीमाथि शासन गर्दै छन्, उनीहरूको बिचमा आपसी झगडाको कारण बन्न पुग्नेछ र उनीहरूलाई शारीरिक र नैतिक रूपमा नष्ट पार्नेछन् । सम्पत्तिको रक्षा गर्न अतिशय तनावको खाँचो पर्छ र वास्तवमा भन्ने हो भने तपाईँहरू, जो हाम्रा मालिक कहलाइनुहुन्छ, हामीभन्दा पनि बढी दास हुनुहुन्छ । हामी त शारीरिक रूपमा मात्र दास छौँ, तपाईँहरू त मानसिक रूपमा पनि दास हुनुहुन्छ ।

तपाईँहरू आफ्नो आदत र पूर्वाग्रहको बन्धनबाट मुक्त हुन सक्नुहुन्न । यस बन्धनले तपाईँहरूलाई मानसिक रूपमा मुर्दा बनाइसकेको छ । हाम्रो चाहिँ आन्तरिक स्वतन्त्रतामा बाधा पार्ने कुनै त्यस्तो बन्धन छैन । त्यो विष जसको सहायताबाट तपाईँहरू हामीलाई सताउन चाहनुहुन्छ, त्यो विष मार्ने औषधिभन्दा धेरै कमजोर छ, जुन तपाईँहरू नचाहेर पनि हाम्रो चेतनामा भर्ने गर्नुहुन्छ । हाम्रो वर्ग चेतना निरन्तर बढ्दै छ, त्यो अझ प्रज्वलित हुँदै छ र जे जति पनि पवित्र कुरा छ, जसको आत्मा स्वच्छ छ – सबैलाई आफूतर्फ तान्दै छ, तपाईँका वर्गभित्रका मानिसहरूलाई समेत आफूतिर आकर्षित गर्दै छ । हेर्नोस् त, आज तपाईँहरूको वर्गमा त्यस्तो कुनै व्यक्ति छैन जो तपाईँहरूको सत्ताको निमित्त वैचारिक रूपमा सङ्घर्ष गर्न समर्थ होस् । तपाईँहरूले ती सबे तर्कहरू रित्याइसक्नुभएको छ, जसले तपाईँहरूलाई इतिहासको न्यायिक प्रहारबाट जोगाउन सकोस् । तपाईँहरू विचारधाराको क्षेत्रमा कुनै नयाँ कुरा सृजना गर्न असमर्थ हुनुहुन्छ । मानसिक रूपमा तपाईँहरू बाँझो भइसक्नुभएको छ । अर्कातर्फ हाम्रो विचारधारा विकसित हुँदै छ, झन्झन् उज्ज्वल बनेर फैलिँदै छ र जनसमूहलाई एकत्रित पार्दै छ, स्वतन्त्रता सङ्ग्रामका लागि सङ्गठित तुल्याउँदै छ । मजदुर वर्गको भूमिका कति महान् छ भन्ने चेतनाले विश्वभरिका मजदुरहरूलाई एकै आत्मामा मिलाउँदै छ । जीवन नवीकरणको यस प्रक्रियाको विरुद्ध तपाईँहरू क्रूरता र कपटसिवाय अरू केही प्रयोग गर्न सक्नुहुन्न । तर तपाईँहरूको कपट परैबाट छुट्टाउन सकिन्छ र तपाईँहरूको क्रूरताले हाम्रो रोष मात्र बढाउँछ । ती हात, जो आज हाम्रो घाँटी अँठ्याउन प्रयोग गरिन्छन्, भोलि साथीहरूजस्तै हामीसँग हात मिलाउन अघि बढ्नेछन् । तपाईँहरूको शक्ति बढ्दै गएको सुनको थुप्रोको यान्त्रिक शक्ति हो । यसले तपाईँहरूलाई विभिन्न दलहरूमा विभाजित गरेको हुन्छ, जो एक–दोस्रालाई निल्न तत्पर हुन्छन् ।

हाम्रो शक्ति समस्त मजदुरहरूको एकताको जिउँदो र निरन्तर बढ्दै गइरहेको चेतनामा निहित छ । तपाईँहरू जे जति पनि गर्नुहुन्छ, त्यो अपराधपूर्ण छ किनभने त्यसको लक्ष्य मानिसहरूलाई दास बनाउनु हो । तपाईँहरूले जुन झूटो प्रचार, घृणा र लोभद्वारा एउटै छुट्टै पैशाचिक संसार खडा गर्नुभएको छ, जसद्वारा जनताहरूलाई आतङ्कित तुल्याउँदै हुनुहुन्छ, त्यसबाट विश्वलाई मुक्त गर्नु नै हाम्रो एक मात्र उद्देश्य हो । तपाईँहरूले मानवव्यक्तित्वलाई जीवनबाट अलग्याएर नष्ट पार्नुभयो, समाजवादले तपाईँहरूले नष्ट पार्नुभएको संसारलाई एउटै बनाएर त्यसलाई एक महान् पूर्णतामा परिणत गर्नेछ र यो अवश्यम्भावी छ !”

पाभेल एक छिन रोकियो र फेरि बिस्तारै तर दृढतापूर्वक दोहोर्‍यायो – “यो अवश्यम्भावी छ !”

न्यायाधीशहरू आपसमा कानेखुसी गर्न थाले । उनीहरू नाना थरीको अनुहार लाउँदै पाभेलको अनुहारमा आफ्ना लोभी आँखाले एकटक हेरिरहेका थिए । आमालाई लाग्यो, उनीहरू पाभेलको स्वास्थ्य, बल र स्फूर्तिप्रति ईर्ष्याको भावनाले हेर्दै छन् र आफ्नो यस हेराइले उसको हृष्टपुष्ट शरीरलाई दूषित पार्दै छन् । अभियुक्तहरू ध्यान दिएर उसको भाषण सुन्दै थिए । उनीहरूका अनुहार फिका थिए तर आँखा हर्षले चम्किरहेका थिए । आमा छोराको एक एक शब्द अमृतको थोपाझैँ निल्दै थिइन् । यी शब्दहरू उनको दिमागभित्र पस्थे र त्यहाँ टम्म मिलेर बस्थे । बूढो न्यायाधीशले दुई– चारपल्ट पाभेललाई रोकेको थियो र उसलाई केही कुरा बुझाउने कोसिस गरेको थियो । एकपल्ट त ऊ उदास भावले मुस्कुरायो पनि । पाभेल हरेकपल्ट चुपचाप उसको कुरा सुन्थ्यो र फेरि त्यही दृढ, तर शान्त स्वरमा बोल्न थाल्थ्यो । उसको यो शान्त भावले गर्दा त्यहाँ बसेका मान्छेहरू, न्यायाधीशहरू सबै उसको कुरा सुन्न बाध्य हुन्थे । उसले सबैको इच्छाशक्ति आफ्नो वशमा राखेजस्तो देखिन्थ्यो । तर, अन्त्यमा बूढो न्यायाधीशले पाभेलतिर औँला तेर्स्याउँदै चिच्यायो । प्रत्युत्तरमा पाभेलको व्यङ्ग्य मिसिएको स्वर सुनियो ।

“म आफ्नो भाषण टुङ्ग्याउँदै छु – तपाईँहरूलाई व्यक्तिगत रूपमा चोट पुर्‍याउने मेरो कुनै उद्देश्य थिएन । उल्टो, आफ्नो इच्छाविरुद्ध यस हास्य नाटकमा उपस्थित हुँदा जसलाई तपाईँहरूले अदालतको नाम दिनुभएको छ, मलाई तपाईँहरूमाथि दया लागेर आउँछ । जे भए पनि तपाईँहरू पनि मान्छे नै हुनुहुन्छ र मान्छेलाई, चाहे ऊ हाम्रो लक्ष्यको दुस्मने किन नहोस्, पशु बलको सेवामा यति लाजलाग्दो तरिकाले पतित भएको देख्दा मानवोचित स्वाभिमानको भावनाबाट यति पर पुगेको देख्दा धेरै दुःख लागेर आउँछ ।”

यति भनेर पाभेल न्यायाधीशहरूतिर नहेरीकनै बस्यो । आमा सास रोकेर एकटकले न्यायाधीशहरूलाई हेर्दै थिइन् । उनी पर्खिरहेकी थिइन् ।
आन्द्रेइको अनुहार खुसीले चम्किरहेको थियो । उसले पाभेलको हात आफ्नो हातमा लिएर बलियोसँग थिच्यो । सोमोइलोभ, माजिन र अरू सबै कैदीहरू झटपट पाभेलतिर बढे । साथीहरूको यो उमङ्ग देखेर पाभेलले अलि असजिलो मानेजस्तो देखियो, ऊ मुस्कुरायो । उसले आमा बसेको ठाउँतिर हेर्दै टाउको हल्लायो । यस्तो लाग्थ्यो, मानौँ ऊ आमालाई सोध्दै छ –

“यसै होइन त ?”

आमाले उत्तरमा खुसीको गहिरो सुस्केरा हालिन् । उनी प्रेम प्रवाहमा चुर्लुम्मै डुबेकी थिइन् ।

“बल्ल साँच्चैको सुनुवाइ सुरु भयो !” – सिजोभले सानो स्वरमा भन्यो – “क्या गजबले बोल्यो त हँ ?”

आमाले चुपचाप टाउको हल्लाइदिइन् । छोराले त्यति निडर भएर बोलेको देख्दा उनलाई धेरै खुसी लागिरहेको थियो । हुन सक्छ, उसले आफ्नो भाषण सिद्ध्याएकामा उनलाई अझ बढी खुसी लागिरहेको थियो ।

दिमागमा एउटै प्रश्नले बारम्बार घचघच्याइरहेको थियो –

“लौ त, अब तपाईँहरू के भन्नुहुन्छ ?”