कविको उमेर भए पनि कविताको उमेर हुँदैन । कविता कविकै मस्तिष्कबाट जन्मने भएकाले कवि मरेर गएको सयौँ वर्षसम्म पनि उसले रचना गरेको कृतिले एउटा युगको नेतृत्व गरेर बसेको हुन्छ । एक समय हुन्छ जुन समयमा कवि, लेखक वा अन्य केहीको कुराको बाहुल्यता बढी हुन्छ । भीडबाट कोही बाँच्छ र उसका कृतिले जीवन्तको उपाधी पाउँछ ।

कवि भूपि शेरचनलाई कसैले विसं १९९२ पौष १० वा १२ गते जन्मेको भनेर व्याख्या गर्दछन् । प्राय उनको जन्म लेखिँदा पौष १० नै लेखिने भए पनि उनको जन्ममितिमा भने विवाद अझै छ । तर मृत्युको मितिमा भने विवाद भेटिएको पाइँदैन ।

भूपिको समयमा कविहरू धेरै उदाएका थिए । केही कविहरू त्यसै बिलाएर गए । आफ्नो शब्दबाट सडकको आवाज, जनताको प्रतिनिधित्व गर्ने भाषा भूपिले लेख्ने भएकाले उनका कृतिले जीवन्त साथ पाइएको भेटिन्छ ।

 

उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ ।

कवि भूपि शेरचनले आफ्नो नाम सर्वहारा राखेका थिए । तर पछि किन हटाए यो बारे विज्ञहरू नै जानकार छन् । उनले आफ्नै परिवारलाई शोषक र सामन्त भन्दै हिँडेका घट्ना छन् । जनताको आवाज बोल्ने भएकाले उनलाई त्यस समयमा खुबै रुचाइएको. थियो । उनका कवितामा देखिएका बिम्ब वा उनका कविताले सोधेका प्रश्न अझै पनि समय सान्र्दभिक हुने भएकाले उनका रचनामा दूरदृष्टि थियो वा छ भन्न सकिन्छ ।

आज हामीले भूपि शेरचनकै हामी कविता लिएर आएका छौँ । सर्वप्रथम त उनको कविता पढेर कविता कहिले र किन लेखियो भन्ने कुरा प्रस्तु गर्नेछौँ ।

हामी

हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौ,
जतिसुकै ठूलो स्वरमा गर्जौं,
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्वलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुलेझैँ
हामी भूक्तछौं
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौँं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरूमा
निर्बदिया थोपाहरूमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउँछौ बाँकी जीवन
टर्र…टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरू पालेर
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौँ
जतिसुकैं यताउति दगुरौँ
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी भित्र भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन
हाम्रो दगुराइको कुनै लक्ष्य छैन
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ’छ्वाइयँ’ भन्दा बढी वजन छैन ।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौँ
हाम्रो बाहिरको उचाइ झूटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा
यसको बढ्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिसको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त ’गुलिभर’ झँै
आइपल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
र त हामी आफ्नो हीन चावनाका
सियो जत्रा स–साना हतियारहरूको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग–प्रत्यङ्गमा चढछौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैँ
हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी ’लिलिपुट’ का मानव हौं ।
हामी लघूमानव हौं ।

हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफुखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिडाउँनुपर्ने
हामी रङ्ग रोगन छुटेका
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मानोरञ्जक खेलका सामाग्री
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ’स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं ।

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौ
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
र द्रोणचार्यका अन्य कुलीन
चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरुदक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बूढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं
र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौ
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतलाः जसको भरमा शरीर उभिन्छ
पाइतलाः जसको आधारमा शरीर हिँडछ
पाइतलाः तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग सँगै हिँडाइरहेछ
मख्ख पर्छ शरीरको महान्तामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टिका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।

हामी केही पनि होइनौं
र सायद त्यसैले केही हौं कि!
हामी कतै पनि, केही पनि छैनौं
र सायद त्यसैले कतै, केही छौं कि!
हामी बाँचिरहेका छैनौं
तर सायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए ! शून्य पूजकहरू !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई ।

विद्रोहको आवाजमा कविता लेख्ने भएकाले कवि भूपि शेरचनलाई विद्रोही कवि पनि भनिन्छ । प्रस्तुत कविता वि.सं २०१७ ताका नै लेखिएको हो भनेर अनुमान लगाउन सकिन्छ । गतेसहित कहिले हामी शीर्षकमा कविता यसै भन्न सकिन्न । आफ्नो कविताबाट जनतालाई जागरुक बनाउन सक्ने कविको रुपमा भूपिलाई चिन्न सकिन्छ । स्वच्छन्दतावादी भावधारामा प्रगतिवादी दृष्टिकोणमा टेकेर कविता सिर्जना गर्ने भूपिसँग व्यङ्ग्यचेत भने अथाह रुपमा रहेको पाइन्छ ।

नयाँ झयाउरे’ गीती कविता संग्रह (२०१०), ‘निर्झर’ (कविता संग्रह (२०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह (२०२५), ‘भूपि शेरचनका कविता’ कविता संग्रह (२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ नाटक (२०१०) समेत प्रकाशित गरेका भूपिको हामी कविता भने ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहमा रहेको छ । त्यसो त घुम्ने मेचमाथि अन्धो मान्छे सङ्ग्रहमा भए पनि हामी शीर्षकको कविता भने वि.सं २०१७ सालको रुपरेखा अङ्कमा समेत प्रकाशित भएको थियो ।

आधुनिक सभ्यता एवम् सम्पन्नताको नाममा आफ्नो गौरवमय इतिहास, परम्परा, संस्कृति र सभ्यतालाई बिर्सनु नै हाम्रो ठूलो गल्ती हो भन्ने कविको विचार हामी कवितामा रहेको देखिन्छ ।

अहिलेका चर्चित कवि भूपिन खड्कालाई अहिलेको पुस्ताले भूपि शेरचनको हामी कविता किन पढ्नु भन्ने प्रश्नमा उनी भन्छन्– “भूपीको ’हामी’ कविताले हरेक पछिल्लो पुस्तालाई सुझाउने एक महत्वपूर्ण पाठ हो, ’प्रिय अनुजहरू ! कृपया समाजको गहिरो अध्ययन गर । समाजको गहिरो अध्ययनबिना सार्थक कविता लेख्न सकिन्न ।’

कविता शब्द आडम्बर, कला आडम्बर र आत्मरतीको कोरा प्रदर्शन मात्र होइन यो त समाजको गम्भीर समालोचना हो । कविको प्राथमिक दायित्व मानिस र समाजको अवलोकन हो । समयको विश्लेषण हो ।

कविः भूपिन खड्का

मानिस, मानिसका जटिलतम प्रवृत्ति र समाजको गतिशीलताको अध्ययनका लागि महत्वपूर्ण सर्त हो आलोचनात्मक चेतना । क्रिटिकल कन्सस्नेस । भूपीको ’हामी’ यही चेतनाको एक दुर्गम उचाई हो । यति तिख्खर चेतना र क्राफ्टमा समकालको समालोचना गरिएका कविता बिरलै पढ्न पाइन्छ ।”

यो कविता २०१७ सालको रुपरेखामा छापियो । यो वर्ष नेपाली राजनैतिक इतिहासमा एक बदनाम वर्ष पनि हो । भूपीले कवितामा यसका कारणहरूबारे व्यङ्ग्यपूर्वक लेखेका छन् । भूपिले परिवर्तन र स्वतन्त्रताका लागि उदासिन सबै मानिसलाई पानीका निर्वलिया थोपासँग तुलना गरेका छन्, जससँग आफैलाई गतिशील बनाउने कुनै नियन्त्रण शक्ति हुन्न । जो घामद्वारा उचालिन्छ, उड्छ र पछारिन्छ ।

भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए ।

 

एक कविका लागि अध्ययन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि यस कविताले बताउँछ । ’हामी’मा भूपीले प्रयोग गरेका महाभारतका पात्रहरू द्रोणाचार्य र एकलव्यको मिथक निकै प्रभावकारी र चिरस्थायी लाग्छ । मानिस कसरी षढयन्त्रको सिकार भएर सीमान्तमा धकेलिन्छ ? भूपिले त्यसको गम्भीर विश्लेषण गरेका छन् । धनुर्वाणमा आफ्नो प्रिय शिष्य (राजकुमारहरू) लाई एकलव्यले पराजित गरिदिने भयले गुरु द्रोणाचार्यले गुरुदक्षिणा माग्छन् बुढी औँला । यो गम्भीर षढयन्त्र थियो । पात्र पूजा गर्ने समाजमा द्रोणाचार्यको छलबारे बोल्नु भूपिको आलोचनात्मक चेतनाको परिणाम थियो । अर्कोतिर जोनाथन स्वीफ्टको गुलिभर ट्वीस्टका लिलिपुट र गुलिभरको प्रसंग पनि छ, जसले बलियो कविताका लागि अध्ययनको जरुरी छ भन्ने सन्देश दिन्छ ।

यो कविता लामो समय बाँच्ने वा सान्दर्भिक रहिरहने कविता पनि बन्यो । भूपीले साठी वर्षअघि नै अहिलेको हामीलाई र हामीपछिका मानिसलाई पनि लेखिदिए । एक कविका लागि दूरदृष्टि कति महत्वपूर्ण हुन्छ भन्ने बोधका लागि पनि यो कविता एक सवल उदाहरण हो ।”

कवि निर्भीकजङ् रायमाझीले पढेको भूपिः

हामी भूपि शेरचनको मास्टरपिस कविता त हुँदै हो, सँगै उनको काव्यशैलीलाई निर्णायक मत दिने कविता पनि हो ।
शासन, शासक र अन्यायमाथि प्रहार गरेर कविता लेख्ने भूपिले ‘हामी’ भन्दाअघि लेखेका कविताले बृहत् तरङ्ग ल्याउन सकेको थिएन । जब ‘हामी’ कविता आयो त्यसपछि भूपिको सिग्नेचर नेपाली कविता अमीट बन्यो ।

मैले भूपिका छोटा कविता विद्यालय जीवनमै पढें । विद्यालय जीवनका १२ वर्षमा उनका तीनवटा कविता पढ्नुपथ्र्यो । ‘सहिदहरूको सम्झनामा’, ‘मेरो देश’ र ‘सुनौलो भोलि’ हामीले विद्यालयमै पढ्यौं ।

मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो ।

 

एसएलसीपछिका खाली दिनमा मैले भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ किनें । त्यही रात संग्रहभित्र भएका दुई दर्जन कविता पढ्दा पहिलोचोटि हामी कविता पढें । लामो आकारको भए पनि ‘हामी’ कविता पढ्दा कतै रोकिनु परेन ।

कवि निर्भीकजङ् रायमाझी

त्यही साता युट्युबमा ‘हामी’ कविता खाजें । उक्त कविता वाचन गरिएको भिडियो रहेछ, सुनें । त्यही वर्ष राष्ट्रिय दैनिकका परिशिष्टाङमा भूपि विशेष निस्कियो, त्यहाँ पनि हामी कविता छापियो । उक्त कवितामाथिका टिप्पणी छापिएको रहेछ । ती सबै पढें ।
जतिपटक पढ्दा पनि ‘हामी’ कविताभित्रको हामीमा म पनि पर्छु जस्तै लाग्यो । आफ्नो विवेकले काम नगर्ने, आफ्नो अज्ञानता र असभ्यतालाई नै शान ठान्ने प्रवृत्ति मभित्र पनि छ । मेरा नजिक रहेका साथीभाइ, आदर गरेका साहित्यकार र भोट हालेका नेताभित्र यो प्रवृत्ति छ । हामी सबैमाथि ‘हामी’ कविताले कटाक्ष गरेको छ ।
‘हामी’ कवितामाथि बोलिरहँदा म आफूलाई पनि मसिहा राज्यको गद्दार नागरिक हुँ भन्न बाध्य बनाउँछ । तर, मैले कविता हृदयले पढेको छु भने केही न केही राम्रो कुरा सिक्नै पर्छ । मैले पनि आफूमा नभएको गुण र सीपको आडम्बर देखाउने बानी कम गर्न खोज्दैछु । प्रतिभासम्पन्न मानिसलाई हृदयबाटै प्रशंसा गर्न सिक्दैछु । खुट्टा तान्नु अपराध गर्नुसरह हो भन्ने बुझेको छु ।
यो बानीलाई जीवनभर कायम राख्न सकें भनेँ मात्र म असल मान्छे बन्नेरहेछु । म यही गुण विकास गर्न प्रयत्न रहन्छु ।

मैले भेटेका समाजका गन्यमान्य मानिसको उचाइ त च्याउको मात्र उचाइ रहेछ भन्ने बोध यही कविता पढेपछि भयो । मेरो देश, मेरो राज्य कसैको गोटी भएर चलेको रहेछ भन्ने यथार्थ झन् बलियो पाएँ, यही कविता बुझेर ।

…………….

यी सबैकुरा बुझ्दा भूपिको हामी कविता एक पुस्तालाई नै नेतृत्व गर्ने कविता हो । भूपिको बारेमा डा. कृष्णहरि बराल भन्छन् –“भूपिलाई सरकारले मुल्याङ्कन गर्न भने नसेकै हो ।”, उनको भनाइबाट पनि प्रस्ट हुन्छ कि भूपि कति महान् थिए । उनको सोचको दायरा धेरै नै फराकिलो थियो भन्ने कुरा उनका हरेक कविताले प्रस्ट पार्दछ ।