बेलायती प्रधानमन्त्री तथा दर्जनौँ पुस्तकका लेखक विन्स्टन चर्चिल २१ वर्षको उमेरमा भारतमा हुँदा एउटा गम्भीर प्रेममा परेको हालै खुलासा भएको छ ।

भारतमा सन् १८९६ ताका जुनियर अफिसरका रूपमा काम गर्दै रहँदा त्यहीँका एक उच्च अधिकारीकी छोरीसँग गम्भीर प्रेममा परेको हालै प्राप्त पत्रहरूले खुलासा गरेको हो ।

भारतको हैदराबादस्थित बेलायती प्रतिनिधिकी छोरीलाई देख्नेबित्तिकै मन पराएको र उनीसँग बिहे गर्न आफू व्यग्र भएको उनले लेखेका कयौँ पत्रहरू फेला पारिएको छ । उनले ती पत्रहरू बेलायतस्थित आफ्नी आमालाई लेखेका थिए ।

उनले मन पराएकी युवती पामेला प्लोडेन थिइन् । उनलाई चर्चिलले पहिलो पटक सिकन्दराबादस्थित एउटा खेलकुदको कार्यक्रममा देखेका थिए । त्यसपछि दुवैबीच परिचय आदानप्रदान भयो भने दुवैले सँगै बसेर पोलो प्रतियोगिता हेरेका थिए ।

चर्चिलले आमालाई लेखेका थिए, ‘मैले भन्नै पर्छ, उनी मैले अहिलेसम्म देखेका सर्वोत्तम सुन्दरीहरूमध्ये पहिलो नम्बरमा पर्छिन् ।’

चर्चिलकी आमाले पामेलाको परिवारलाई पनि चिन्थिन् । त्यसैले पनि यस कुराको जानकारी दिन चर्चिल लालायित थिए ।

शुरूशुरूमा भारत पुग्नेबित्तिकै उनले पामेलालाई भेटेको मात्र होइन, केही ठाउँमा हात्तीमा चढाएर घुमाएकी पनि थिइन् । पामेलाले उनलाई पैदल गाउँगाउँ नडुल्न सुझाएकी थिइन्, ‘तिमी पैदल कतै पनि नजानू किनभने भारतीयहरू युरोपेलीलाई घृणा गर्छन्, थुक्छन् । यस्तो अवस्थामा कहिलेकाहीँ झडपको अवस्था आउँछ र झडपले दंगा फैलिने सम्भावना हुन्छ ।’

पछि पामेलाले चर्चिलका निजी सचिवसँग कुनै समय भनेकी थिइन् रे, ‘जब पनि कोही विन्स्टन चर्चिललाई देख्छ, शुरूमा उसका सारा दोष मात्र देख्छ । संगत गर्दै जाँदा जीवनभर उसले सारा गुणहरू मात्रै फेला पारिरहन्छ ।’

पछि चर्चिलले पामेलालाई बिहेको प्रस्ताव राख्दा उनले अस्वीकार गरेकी थिइन् । तथापि यी दुवै जीवनभर साथी भने रहिरहे ।

पहिलो भेटपछिका ६० वर्षसम्म पनि उनीहरू साथी रहिरहेको प्रमाण हालै फेला परेका चिठ्ठीहरूमा देखिने एक संकलक बताउँछन् । पछिल्लो पटक १९५७ मा लेखिएको एउटा चिठ्ठीमा चर्चिलले पामेलालाई माई डियर पामेला भनेर सम्बोधन गरेका छन् ।

चर्चिलका प्रमुख विज्ञान सल्लाहकारको निधन भोजमा पामेला र चर्चिलको भेटको अन्तिम चिठ्ठी आदानप्रदान भएको देखिन्छ । सो पत्रमा चर्चिलले पामेलालाई माई डियर पामेला भनी सम्बोधन गरेका हुन् । उनले सो कार्यक्रममा आफूसँग जान सहमत भएकामा पामेलालाई धन्यवाद दिएका छन् ।

एक जना संकलकले आफ्नो नाम नखुलाउने शर्तमा स्पेनको मालागास्थित अन्तर्राष्ट्रिय अटोग्राम अक्सन्समा बिक्रीका लागि यी निजी चिठ्ठीहरू राखेका छन् । प्रत्येक चिठ्ठीको मूल्य पन्ध्र सय पाउन्ड राखिएको छ ।

पामेलाले चर्चिलको प्रस्ताव त्यागेर भेक्टर वुलवेर लिटनसँग सन् १९०२ मा विवाह गरेकी थिइन् । उनको निधन १९७१ मा भएको थियो ।