
हिमालयबाट हिउँ पग्लनु कुनै अनौठो घटना होइन, एउटा प्राकृतिक प्रकृया हो । कुन गति र प्रक्रियामा पग्लिरहेको छ, यो चाहिँ पक्कै अध्ययनको विषय हो । तर के मानवीय मन र भावना पनि पग्लिन सक्लान् ? हिमालयको हिउँ द्रुतगतिमा पग्लिएजस्तै मानवीय भावनाहरू पनि पग्लन थाले भने यसको अर्थ पनि अध्ययनको विषय बन्न सक्ला वा नसक्ला ?
रीति महर्जनको ‘द मेल्टिङ इमोशन’ शीर्षकको पेन्टिङले यसैको उत्तर खोजिरहेझैं लाग्छ । उक्त चित्रमा एउटी वृद्धा ढोकामा उभिएर कसैको पर्खाइमा छिन् । ग्रामीण घरको भित्ताको पृष्ठभूमिले परम्परागत नेपाली मौलिक कलाकारिता पस्किरहेछ । ती वृद्धाका गोडाका औंलादेखि, आँखाको भाव र हिउँजस्तो सेताम्मे कपाल हिमालयको हिउँ भएर पग्लन्छ । उनको भावभङ्गिमाले भनिरहेको छ, उनी लामो समयदेखि कसैको पर्खाइमा छिन् । सायद त्यो पर्खाइको व्यक्ति वैदेशिक रोजगारीमा गएको हुनुपर्छ । अझ पग्लाईको भाषामा भन्नुपर्दा आफ्नो कोखको प्रसवपीडा बाहिरिएपछि त्योभन्दा कठिन प्रतीक्षाको घडी कुनै हुन सक्ला ?
देशको एउटा जटिल प्रश्न बन्दै गइरहेको छ वैदेशिक रोजगार । राज्य रेमिट्यान्समा रमाउँदै गर्दा परिवारभित्रका भावनाहरू पग्लिएर कमजोर बन्दैछन् । बाबुआमा, श्रीमती, बालबच्चा र आफन्तहरू अथवा भनौं एकआपसका सम्बन्धहरू कठोरताभित्र जकडिएर समाजमा असन्तुलनको खाडल बड्दै छ । भावना पग्लनु भनेको सायद शक्तिको ह्रास हो, पारिवारिक सम्बन्ध कमजोर हुनु हो । यससँगै कला, संस्कृति र मौलिकताको पनि क्षयिकरण हो । रितिका चित्रकलाहरूको एउटा मुख्य पक्ष यही हो, जहाँ आफ्ना हुर्किँदै गरेका बालक मनहरूलाई हातका हत्केलाहरूले स्पर्श गर्दै बाटो कुरिरहेका आमाका दृष्टिहरू निराश भएर क्षितिज निहालिरहेछन् ।
यो सन्दर्भ हो रितिको ‘अवेटिङ’ अर्थात् ‘पर्खाइ’ शीर्षकको चित्रकला प्रदर्शनीको । सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा अषाढ १३ गतेदेखि २० गतेसम्म यो प्रदर्शनी चल्ने छ । यस प्रदर्शनीमा स्कुले बालबालिकादेखि कला पारखी र सर्वसाधारणसम्म पेन्टिङको नजिक घोरिएर त्यसका अर्थ खोजिरहेका भेटिन्छन् ।
ललितपुरस्थित पाटनको साँगुरो गल्लीमा जन्मिएकी रितिका दृष्टिले अनेकौं मानिसका भिडभाड देख्यो । त्यो भिडभाडभित्र पसेर मानवीय ढुकढुकी छाम्दै तिनका अनुहारमा भावनाहरू उड्दै गरेको भेट्यो । आफन्तका सपनाहरू बोकेर वैदेशिक रोजगारमा गएका युवाशक्ति बाकसमा कैद भएर फर्किएको देख्यो । आफ्नो थाकथलो बास परिवर्तन गर्दै हिँडेका पाइलाहरू पछ्याउँदै बढ्ने क्रममा उनी लमजुङ जिल्लाका विभिन्न गाउँहरू पुगिन् । तुलसीका मठ र घरका भित्ताहरूमा महिलाहरूले विशेष चाडबाडमा कोर्ने गरेका चित्रहरूमा धर्म र संस्कृति मात्र नभएर भागवत गीताका दर्शनहरू भेटिन्, जहाँ महिलाहरूले ससाना थोप्लाहरू जोड्दै त्रिभुज र आयताकारलाई जोडेर मण्डपदेखि मण्डलाकार चित्रहरू कोरेका थिए । तर रितिका मनले भूकम्पसँगै जिर्ण हँुदै गएका ती चित्रहरू सायद बसाइंसराइसँगै रित्तिने क्रम अनुभूत ग-यो र ती मौलिकतालाई टिप्दै ऐतिहासिक दस्तावेजको रूपमा स्वस्ती, हरिहर मण्डल, मगरमचो आदि शीर्षकमा क्यानभासमा उतार्यो ।
ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक रीतिले सन् २०१६ मा चिनियाँ सरकार र नेपाल ललितकला क्याम्पसको दुईपक्षीय छात्रवृत्ति पाएर नान्जिङ युनिभर्सिटी अफ आर्टबाट एमएफए गरिन् । नेपाल फर्केपछि ‘द हिमालयन लाइट स्कलरशिप’बाट स्वतन्त्र कला कर्मका निम्ति आर्थिक सहयोग प्राप्त गरिन्, जसले यो प्रदर्शनी गर्न उनलाई प्रोत्साहन मिल्यो । नेपाल फर्केपछिको यो उनको पहिलो एकल प्रदर्शनी भएपनि चाइना जानुपूर्व नै उनले दुइृओटा एकल प्रदर्शनी गरिसकेकी थिइन्भने थुप्रै सामूहिक प्रदर्शनीमा आफ्ना कलाहरू प्रदर्शन गरिसकेकी छिन् । चित्रकला आफैँमा जादूको छडी होइन यसमा त्यत्तिकै मेहनत र धैर्यताको आवश्यकता रहेको उनको बुझाइ छ । त्यस्तै क्यानभासमा चित्र उतार्नुपूर्व अनुसन्धान गर्ने बानीले उनलाई काम गर्ने शक्तिका साथै त्यत्तिकै आत्मा सन्तुष्टि मिलेको अनुभूत गर्छिन् रीति महर्जन ।
सिद्धार्थ आर्ट ग्यालरी एनेक्स, बबरमहलमै उही ऋतु, समय र संयोग परेको छ मन गुरुङको ‘लस्ट इन ट्रान्जिसन सेकेण्ड’ शीर्षकको प्रदर्शनी । ग्यालरीमा छिर्नेबित्तिकै अवलोकनकर्ताको आँखामै ठोक्किन्छ एउटा भित्ताभरिको पेन्टिङ । पेन्टिङको पृष्ठभूमिमा विभिन्न मनी रेमिट कम्पनीका लोगोले भरिएका छन्भने सामुन्ने देखिन्छन् चार ग्रामीण महिला र बालिकाहरू । यो तस्वीर निहाल्दै गर्दा लाग्छ बहुराष्ट्रिय कम्पनीले दुर्गम क्षेत्रलाई समेत निल्दै गैरहेको छ । यो चित्रमा मनले महिला र बालिकालाई नै किन उतारे भन्नै पर्दैन, चित्रले नै बोलिरहेझैं लाग्छ । आजका दिनमा वैदेशिक रोजगारीले कसैलाई पिरोलेको छ भने त्यो महिला नै हो । यसको मतलव फेरि यो पनि होइन कि पुरुष आनन्दमा छन् । दुवैका पीडा उत्तिकै छन् तर घर र बालबच्चा सम्हाल्नु झन् कम पीडा छैन । दैनिक गुजारा टार्ने खर्चबर्च र श्रीमान् या परिवारका सदस्यहरूको पर्खाइ यो तस्वीरले स्पष्ट बोल्छ । यसरी हेर्दा रिति महर्जन र मन गुरुङका चित्रकलाका भाव वा विचार मिल्दाजुल्दा छन् तर कलाको शिल्पशैली फरक छ ।
रियालिस्टिक आर्ट मन गुरुङको शैली हो । त्यसमा पनि खैरो अर्थात् लिसाइलो माटो जुन पहाडी क्षेत्रमा घर लिपपोत गर्न प्रयोग गरिन्छ, त्यो र त्यसै रङको छायाँको प्रयोगले चित्रलाई दुरुस्त उतारिएको छ । हुन त यो रङको मात्र प्रयोग गर्नुको आसय पनि आफ्नै किसिमको होला कलाकारको । तर एउटा जिज्ञासु कला पारखीले आआफ्ना अर्थ भेट्न सक्छन् । चित्रमा पोतिएका महिला हुन् या पुरुष मन गुरुङका पेन्टिङका महत्त्वपूर्ण भावाव्यक्ति आदिवासीका संस्कार, संकृति, भाषा, ज्ञान र शिपजस्ता कुराको संक्रमणकालीन अवस्थालाई उजागर गर्नु हो । दिनप्रतिदिन पाश्चात्य प्रभावमा मौलिकताको समाप्ति हो ।
युवाजति विदेशको भूमिमा, बृद्धाबृद्ध र बालबालिका गाउँघरमा । आज नेपाली ग्रामीण परिवेशको यही यथार्थ चित्र नै मन गुरुङका मनोक्रोममा संघर्ष गरिरहेछन् ।
ललितकला क्याम्पसबाट प्रारम्भ भएको मन गुरुङको चित्रकलाको औपचारिक यात्रा अमेरिकी सरकारबाट प्राप्त रियल आर्टस् छात्रवृत्तिमा पुगेर साकार रूप लियो । र, आज उनी यही कलामा रमाइरहेका मात्र छैनन् कैयौंमाझ कलाकै भाषामा चेतना बाँडिरहेका छन् । उनको यो प्रदर्शन अषाढ १३ गतेदेखि श्रावण २ गतेसम्म चल्ने छ । प्रदर्शनीमा अवलोकनकर्ताको उपस्थिति र प्रोत्साहनले सन्तुष्टि मिलेको बताउँछन् उनी ।
गोरखाको खोर्लामा जन्मिएका मन गुरुङले आफ्नै जन्मस्थान खोर्लादेखि उहिया, सिंगला, लाप्राक, यमगाउँ, रुन्चेट जस्ता दुर्गम गाउँका स्थानीयवासीलाई आफ्नो चित्रमा प्रतिनिधित्व गराएका छन् । दुर्गमका हरेक जटिलताहरूलाई झेल्दै परिस्थितिसँग आत्मसमर्पण गर्नुपर्ने विवशताका मार्मिक परिस्थिति चित्रले बोलिरहेका छन् ।
यसरी समग्रतामा भन्नुपर्दा रिति महर्जन र मन गुरुङले आज आफू जन्मिएको भूगोलभित्र जे देखिरहेका छन्, भोगिरहेका छन् त्यो उनीहरूको व्यक्तिगत अनुभूति वा संयोग मात्र नभएर आम नेपालीको प्रतिनिधि भोगाइ हो । यो प्रभाव चित्रकलामा मात्र नभएर कलाका अन्य विधाहरू सङ्गीत, साहित्यमा बढी सुनिने, लेखिने विषयवस्तु बन्दै गइरहेका छन् । अझ बढी साहित्यका गीत, गजल र कविता विधामा प्रस्फुटित भएको देखिन्छ । अर्थात् हरेक क्षेत्रमा यसको प्रभाव दिनप्रतिदिन बढिरहेकै छ । वर्तमानको यस संक्रमणलाई खोस्न वा हरण गर्न सक्ने ताकत कसैको हातमा छैन । आखिर समय आफैंमा शक्तिशाली छ । परिवर्तन प्रकृतिकै नियम हो । तर यसो भन्दैगर्दा अभाव र विवशतामाथि परिवर्तनका नाममा विविध क्षेत्रका शक्तिसम्पन्नहरूले कतिन्जेल खेलिरहने हो ? कलाकार, साहित्यकार वा बौद्धिक बहसले टाउको दुखाएर मात्र हरेक क्षेत्रमा भइरहेको संक्रमण अझ स्पष्ट भाषामा भनौं यो आक्रमणको समाधान निस्केला ? सम्बन्धित निकायहरूले धेरै बोलिसके अब पनि स्पष्ट हुन सकिएन र बेलैमा समाधानको बाटो हिँडिएन भने यसले समाज र राष्ट्रमा धेरै किसिमका द्वन्द्वहरू फैलाउने अवस्था आउन्न भन्न सकिन्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

