उपन्यास लेखनको दौरानमा मैले कुनै किताबको सहारा लिइनँ । मलाई तथ्याङ्क हैन पात्र चाहिएका थिए । त्यसैले पात्रको खोजीमा अलि बढी समय लाग्यो । कुनै कुनै पात्रलाई त उसकै अगाडि बसेर लेखेको हुँ ।

===

पेसाले इन्जिनियर महेन्द्र उपाध्यायको उपन्यास ‘मिन्झारी’ चर्चामा छ । चर्चाको विविध पाटाहरु छन् । पछिल्लो समय नागरिक उनमुक्ति पार्टीमा आबद्ध भई सक्रिय राजनीतिमा होमिएका उपाध्यायको यो उपन्यासको पृष्ठभूमि र भावभूमि टीकारपुर हो – यो चर्चाको एक प्रमुख पाटो हो । यसअघि ‘एक’ गजलसङ्ग्रह प्रकाशनमा ल्याइसकेका उपाध्याय नेपाली गजल विधामा स्थापित नाम हो । दोस्रो कृतिको रुपमा प्रकाशनमा आएको उपन्यास ‘मिन्झरी’ले उनलाई कहाँ र कसरी उभ्याउँछ, समयले नै बताउने छ ।
प्रस्तुत छ – पेसाले इन्जिनियर, राजनीतिकर्मी, गजलकार तथा नव उपन्यासकार महेन्द्र उपाध्यायसँग साहित्यपोस्टका लागि ‘मिन्झरी’को सेरोफेरोमा रहेर कृष्ण ढुङ्गेलले गरेको संवादको सम्पादित अंश:

महेन्द्रजी, कुरा तपाईँको भर्खरै प्रकाशित उपन्यास उपन्यासको शीर्षकबाटै सुरु गरौँ । ‘मिन्झारी’को अर्थ मैले शब्दकोशमा खोजेँ, तर भेटिनँ । उपन्यासलाई शब्दकोशमै नभएको शब्दको शीर्षक किन दिनुपर्‍यो ?

“मिन्झारी” शब्द नेपाली शब्दकोश नभेटिनु एक सामान्य कुरा हो । किनकि मिन्झारी शब्द नेपाली शब्द होइन, यो थारु भाषाको शब्द हो । उपन्यासको नाम उपन्यासको कथावस्तुले निर्धारण गर्छ जस्तो लाग्छ  मलाई । र नेपाली भाषामा ठ्याक्कै मैले लेख्न खोजेको शब्द थिएन । त्यसैले मैले थारु भाषाको शब्द चयन गरेको हुँ । आस गरौँ, अब कसैले नेपाली शब्द  कोष हेर्‍यो भने मिन्झारीको पनि अर्थ पाउने छ ।

महेन्द्र उपाध्याय

महेन्द्र उपाध्याय

तपाईँ ‘उपाध्याय’ कुलमा जन्मिएको बच्चो । उपन्यासमा थारु समुदायको कथा मात्र नभएर संवेदनाहरूलाई पनि ल्याउनुभएको छ । तपाईँको समीक्षात्मक चेत मलाई गज्जब लाग्छ, ‘मिन्झारी’को समीक्षा एक अनुच्छेदमा कसरी गर्नुहुन्छ ? अनि, थारु समुदायको संवेदनालाई कतिको न्याय गरे जस्तो लाग्छ ?

यस प्रश्नको उत्तर दिनुअघि केही कुरा भन्छु ।

खासमा मेरो समीक्षात्मक चेत एकदम कमजोर छ । कहिलेकाहीँ सोच्छु, खास मिन्झारी लेखियो कसरी ? एउटा विचारमा आएर कन्भिन्स हुन्छु, म उत्सुकता भएको मान्छे हुँ । किनभने  मसँगै धेरै साथी थिए । जो ठिक मेरै परिवेशमा हुर्किरहेका थिए । तर उनीहरू मध्यका धेरैलाई मिन्झारीको अर्थ थाहा छैन ? उनीहरूको उत्सुकता कतै अन्तै थियो ।  मेरो उत्सुकता समाजप्रति थियो । त्यसैले समीक्षात्मक चेतभन्दा पनि मेरो नजरिया भनौँ ।

मेरो नजरमा मिन्झारीलाई एक अनुच्छेदमा भन्नुपर्दा,  मिन्झारी यस्ता मान्छेका कथा हो जो हिजो र आज एउटै समय बाँचिरहेका छन् । एउटै समयको गतिसँगै हिँडिरहेका छन् । खासमा आजसम्म नलेखिएका पात्रहरूको कथा हो मिन्झारी । लेखिन छुटेका पात्रको कथा भनौँः

– आफ्नो समस्या अरूलाई भन्न डराउने केशरीको कथा हो । केशरीजस्ता पात्र जो औषधि उपचार नपाएर आफ्ना रहर मार्न बाध्य छन्, उनीहरूको रहरको कथा हो मिन्झारी ।

– दाइजो नपाउँदा मान्छे मारिएका कथाहरू बिचमा दाइजोले अशान्त पारिरहेको समयको कथा हो मिन्झारी ।

– मालिकले दुखमात्रै दिइरहेका कथाबिचमा मालिक्नीले कमलरीमाथि देखाएको मानवताको कथा हो मिन्झारी ।

– देश गृहयुद्धमा फसेको बेला फस्टाएका नव धनाढ्यको कथा हो मिन्झारी ।

– कमैयाले अझै लड्नुपरेको आत्मसम्मानको कथा हो मिन्झारी ।

– मालिकको अन्तिम अहम् टुट्दै गरेको कारुणिक अवस्थाको चित्रण हो मिन्झारी ।

खासमा मैले मिन्झारी भनेर टीकापुरलाई जनाएको हुँ । मिन्झारी भन्नाले देउता बस्ने कोठा । टीकापुरलाई देउता बस्ने कोठा मानेर (यसको छुट्टै पाटो छ, त्यो कुनै दिन चर्चा गरौँला) । बाँकी यताउताका कोठामा पनि  के के भइरहेको छ त्यो देखाउन खोजेको हुँ । देखियो देखिएन ?

अब रह्यो थारु संवेदनालाई कत्तिको न्याय गरेँ भन्ने कुरा । उपन्यासमा संवेदनामाथि न्यायको कुरा गर्ने हो भने – यदि म एक पहाडी/थारु भएर लेखेको भए सायद मैले थारु संवेदनालाई न्याय/अन्याय गर्ने कुरा रहन्थ्यो होला । म लेखक भएर लेखेको हुनाले यो भन्न सक्दिनँ । कतै अन्याय पनि भएको हुनसक्छ । अन्याय अरू पात्रहरूको हकमा पनि भएको हुनसक्छ । यति नै भनौँ ।

उपन्यासले थारु समाज, परिवेश र संस्कृतिका साथै टीकापुर घटनालाई समेत प्रतिनिधित्व गरेको छ । विशेषतः उपन्यास लेखनका सिलसिलामा टीकापुर घटनाको सत्य–तथ्यका बारेमा राम्रै अध्ययन गर्नुभयो होला ! यसका लागि के–कस्तो मिहिनेत गर्नुभयो ?

यस उपन्यासको समुदाय, संस्कृति, परिवेशमै म जन्मेको हुँ । त्यसैले यो अध्ययन गर्नु परेन, भोगेर आएँ । मेरो घरको हरेक पूजामा गुरुवालाई ध्वजा छुटाइन्थ्यो  । मेरो घरको आँगनमा बसेर  गुरुवाले  धेरैपल्ट मसान खेदेको छ । लर्चाको अचार र डिकृको स्वादसँगसँगै मैले डासुल्लो र फाडोको स्वाद थाहा पाएको हु  । त्यसैले टीकापुर घटनाअगाडिको कुरा लेख्नमा कुनै  अध्ययन गरिनँ ।

टीकापुर घटनापछि म जागिरै छोडेर टीकापुर पसेको हुँ । जे जे भेटाए, टिपेँ । त्योबेला यति कुरा भेटाएकी  सबै लेख्दै जाने हो भने मिन्झारी अहिलेको भन्दा तीन गुणा मोटो हुन्थ्यो ।

यस दौरानमा मैले कुनै किताबको सहारा लिइनँ । मलाई तथ्याङ्क हैन पात्र चाहिएका थिए । त्यसैले पात्रको खोजीमा अलि बढी समय लाग्यो/लगाइयो । कुनै कुनै पात्रलाई त उसकै अगाडि बसेर लेखेको हुँ । एक हिसाबले भन्ने हो भने २०७२ देखि २०७५ सम्म मिन्झारीलाई नै भयो ।

नसुतेका रात पनि छन् । यसैलाई लेख्छु भनेर जागिर छोडेको हुँ । फेरि यसैलाई अघि बढाउनका लागि जागिर खान पर्ने देखियो र जागिर पनि खाएँ । यसैको कारण गरिरहेको पेसामा हेल्चेक्याइँ पनि भयो होला  । मलाई त लाग्छ, एउटा किताब लेख्दा भोगिने सबै पल मैले भोगेको छु  ।

मलाई के लाग्छ भने, टीकापुर घटना खोज–अनुसन्धानमा आधारित गैरआख्यानको विषय हो । तपाईँले उपन्यासमा अटाउनु भयो । आख्यानले त सत्य–तथ्यभन्दा बढी कल्पना र पात्रतामा ध्यान दिन्छ होला ! भनेपछि, ‘मिन्झारी’ले टीकापुर घटनाजस्तो संवेदनशील घटनालाई कल्पनाशीलता र पात्रताका माध्यमबाट चित्रण गरेको हो ?

टीकापुर घटना एक खोजको विषय हो, यसमा म सहमत छु । तर मिन्झारीले टीकापुर घटनाको विषयमा बोलेको छ भन्ने कुरामा म सहमत हुन सक्दिनँ । मिन्झारीले त आफ्नो उपन्यासको  पृष्ठभूमिमा भइरहेका घटनाबारे बोल्छ । फरक यत्ति हो कि टीकापुर घटनापछि उपन्यासका पात्रमा केही फेरबदल आएकाले त्यो घटनाले उपन्यासको दिशा मोडिदिन्छ । त्यो घटनाको असर प्रधान छ । यसर्थ मिन्झारी यथार्थ र कल्पना  मिश्रित एक उपन्यास हो ।

अर्को कुरो के भने महेन्द्रजी, नागरिक उन्मुक्ति पार्टीबाट सक्रिय राजनीतिक कर्ममा होमिनु भएको छ – राजनीतिक सफलताको शुभकामना । ‘मिन्झारी’मा थरुहट आन्दोलन र तपाईँ आबद्ध पार्टीको संरक्षक रेशम चौधरीको प्रभावचाहिँ कतिको छ ?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी दाइ र मेरो भेट उपन्यास सकिएको करिब दुई वर्षपछि दोहोरो परिचय भएको हो । त्यसैले पार्टी र उहाँ दुवैको प्रभाव शून्य छ । किताब नपढी त्यसो ठानिरहेकालाई त मेरो भन्नु केही छैन । तर किताब पढ्ने मान्छेले यो कुरा बुझेको छ  । किनभने यो उपन्यासमा रेशम चौधरी पात्रसम्म पनि छैनन् । यो उपन्यास कुनै पनि राजनीतिक विचारको नजिक छैन । त्यसैले यस्तो भ्रममा नपर्न हुन अनुरोध गर्दछु ।

हेर्नुहोस् न, त्यसै पनि साहित्यसँग राजनीति जोडिइरहेकै हुन्छ । तपाईँ त साहित्य र राजनीति दुबैसँग जोडिनु भयो । तपाईँले ठिक टिकसँग बताउन सक्नुहुन्छ – राजनीति र साहित्य के–कस्तो अवस्थामा समान र के–कस्तो अवस्थामा भिन्न हुँदो रहेछ ? बताइदिनुहोस् न !

साहित्य र राजनीति के कस्तो अवस्थामा समान र के कस्तो अवस्थामा भिन्न भन्नुभन्दा पनि राजनीतिको पहिलो आधार भनेको साहित्य हो । यदि उद्योगका मजदुरको कथाहरू न आएको भए रुसमा क्रान्ति हुन्थ्यो होला र ?

साहित्य र राजनीतिलाई लिएर जवाहरलाल नेहरु र भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरबिचको एक घटना छ । एकपटक जवाहरलाल नेहरु स्टेजमा जाँदै थिए, उनको खुट्टा कार्पेटमा अल्झेर लड्दै गर्दा दिनकरले लड्नबाट जोगाएछन् । अनि नेहरुले दिनकरलाई – धन्यवाद भनेछन् । त्यसपछि दिनकरले भनेछन् -” धन्यवाद भन्नु पर्दैन प्रधानमन्त्रीज्यू, जब जब राजनीति लड्न खोज्छ तब तब साहित्यले काँध थापेको छ ।”

सायद यसबाट साहित्य र राजनीतिको सम्बन्ध स्पष्ट हुन्छ होला ।

अब राजनीतिलाई बिर्सिदिऔँ । तपाईँ गजलबाट साहित्य क्षेत्रमा प्रवेश गर्नुभयो । ‘एक’ शीर्षकमा गजलसङ्ग्रह नै निकाल्न भयो । फुटकर रूपमा केही कथाहरू पनि प्रकाशित भए । र, दोस्रो कृतिका रूपमा उपन्यास लेख्नुभयो । बताउनुहोस् त, गजलबाट साहित्यमा प्रवेश गरेकाहरूको दोस्रो कृति प्राय: गजल किन हुने गर्दैन ?

अरूको बारेमा त्यति त जान्दिनँ तर मेरो दोस्रो गजलसङ्ग्रहको नाम “दुई” हुनेछ । तर दुई निस्किन लामै समय लाग्न पनि सक्छ  ।

गजलको कुरो आइहाल्यो, एउटा प्रश्न के भने नि – नेपाली साहित्यमा गजलमा किचलो देखिइरहन्छ । यस्तो कारण के होला ? अनि निवारण ?

खासमा राम्रोसँग हेर्ने हो भने गजलले १६/१७ औँ शताब्दीमा आफ्नो परिभाषा बदल्यो । त्यसभन्दा पहिले  गजल भन्नाले – प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो, भन्ने थियो ।

१६/१७ औँ शताब्दीमा मीर तक मीर, बहादुर शाह ज़फर, मिर्जा गालीब, जौक, दाघ देहलवीको क्षमताले गजलको आत्मा नै बदलिदिए । त्यसपछिका गजल भनेको – समाजका विषयमा लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो ।

नेपालमा पनि दुईथरी गजल मान्नेहरू छन् । एक १६ शताब्दीअगाडिका र अर्का त्यसपछिका । १६औँ शताब्दीमा गजलको आत्मा मात्रै बदलिएन, संरचनामा पनि केही खुकुलो बन्यो । मिर्जा गालीब जस्ता महान् सायरका गजलमा पनि कहीँ मिटर तोडेको भेटिन्छ । यस्ता धेरै सायर छन् ।

१६ औँ शताब्दी पछाडि गजल लेख्नेहरू १६ औँ शताब्दी अगाडिको बहर खोजिरहनु भएको छ । अनि अर्कोथरी बहरलाई निषेध गर्दै छ ।  मुख्य कारण यहीँ हो जस्तो लाग्छ । अनि उहाँहरूले आफैँले  कुन गजल लेख्दै छु भन्ने थाहा भएको दिन यो समस्याको आफैँ निवारण हुन्छ कि !

अन्त्यमा, फेरि राजनीतिलाई सम्झौँ । गजलबाट कथा लेखन हुँदै उपन्यासकार भइहाल्नुभयो । पेसाले इन्जिनियर । अब त राजनीतिकर्मी पनि । साहित्य, इन्जिनियरिङ र राजनीति – अबको प्राथमिकता कुन ?

म साहित्य सिर्जना गर्ने चिज हुँ । म इन्जिनियर हुँदा पनि साहित्य लेखिरहेको थिएँ । राजनीतिमा आएपछि पनि म लेखिएको छु । बरु इन्जिनियरिङ काम अलि कम गर्न थाले जस्तो लाग्छ, आफैँलाई । सायद साहित्य र राजनीतिलाई नै अगाडि लिएर जान्छु ।