मातृभूमि
तिमी कति दयालु छौ
सुधामयी वात्सल्यमयी छौ
जनमनकी वैभवशालिनी विश्वपालिनी
शान्तिकर्ता सुख समृद्धि प्रदायिनी
हामीले पूजित प्यारा पुर्खाको पुण्यभूमि
ग्रेटर नेपाल बचाउन सकेनौं
अपसोच छ
कहिले कालापानी कहिले सुस्ता
अझै सुस्तरी गुमाउँदै छौ
वीर पुर्खाको गौरवशाली इतिहास लुटायौं
अस्ताउने घामसँगै अस्तित्वविहीन भयौं
माउसुली राष्ट्रवादीले छोरा अमेरिकन बनाउँछन्‌
छोरी क्यानेडियन बनाउँछन्‌
अनि कट्टर राष्ट्रवादी हुन्छन्‌
पुर्खाको खेत पटबाँझो राख्दै
सबथोक विदेशी खान्छन्‌
स्वाभिमान स्वावलम्बी गीता गाउँछन्‌
पिज्जा खाँदै गीता अन्यत्रै गाउँछन्‌
बफादार पराइका हुन्छन्‌
स्वदेशी रोजगार पिराइ खान्छन्‌
आँगनदेखि भान्सासम्म
मेड इन चाइना र इन्डिया राख्छन्‌
सुनदेखि नुनसम्म किनाइ खान्छन्‌
सडकदेखि सदनसम्म
व्यापारदेखि अपारसम्म
दलाल पूँजीपतिको गादी ताक्छन्‌
जागिरे फकिरे कमिशनखोर
झोले, डोके, धुपौरे प्रभुका आज्ञापालक हुन्‌
हेर्दा हेर्दै देश खण्डहर भयो
माटाले मिठो सुगन्ध दिनै छाड्यो
खेत गह्रा बगैंचा बन्जर छ
घरआँगनाँ कोपिला मुस्कुराउन छाडे
राजकाजमा दक्षिणे फूलमाला भेँट छ
उत्तरे खादा घाँटीमा उपहार छ
भेषभुषा शिक्षा खिचडीमिचडी छ
आयातित संस्कृति प्यारो छ
पहिचान गुमाएर पहिचान खोज्दैछौ
दक्षिण उत्तरले सीमा मिचेको नाटक गराइ
सन्धि सम्झौता मार्फत्‌ सुम्पन्छन्‌
कथित राष्ट्रवादी पालैपालो शरणागत हुन्छन्‌
पितापुर्खाको बहादुरी अवमूल्यन गराइ
कलङ्के हिमायती कूटनीतिको गवाइ
सीमा नाका सुम्पेर हर्षबढाइँ
नयाँ नक्सा कोर्दै राष्ट्रवादी बन्छन्‌
हिमाली आँगन सुनौला किरण
अपहरित गराउँछन्‌
अब दाबी गर्नै पर्छ
ग्रेटर नेपाल हाम्रै हो
जहाँ नेपालीको वीरताको गाथा छ
पुर्खाको पौरख शान झल्कन्छ
धर्तीमा चन्द्र सूर्य उदाएसम्म
ढिँडो पिठो फाँडो गिँठा खाएरै होस्‌
खस्रो घरेलु गादो गादेर होस्‌
एकपटक टाउको उठाउनु पर्छ
बल बर्कत सामर्थ्य लगाउनै पर्छ
गुमेको राष्ट्रियता फर्काउनु छ
मातृभूमि प्रति नतमस्तक भएकाहरु
आफ्नो शुभ सम्पतिको रक्षार्थ गर्न
नयाँ युगलाई आह्वान गर्न उठ
उठौं जुटौ देशका अमर सन्तान हो
पुनः निर्माणमा जुट्न अगाडि बढ्नु छ

# महालक्ष्मी-०१ ललितपुर