(सबै देब्रेहरूमा समर्पित)

ढुङ्गाको हरमुनि च्यापिएको
घाँसको पहेँलो पातजस्तो
शरीरको कोखामुनि च्यापिएको छ
श्रापित देब्रे हात
मानौं यो हात
कुनै कामको लागि योग्य थिएन
कुनै सफलताको हकदार थिएन

पोसिलो खाना लिएर
मुखसम्म पुग्ने काम केवल दाहिने हातको
खेलहरूमा विजेता हुन
भर केवल दाहिने हातको
कविता लेख्न, हस्ताक्षर गर्न
विश्वास केवल दाहिने हातको

कहीँ विजेता बनेर
उत्सवहरूमा उठाएँ दाहिने हात
राष्ट्रिय गीत बज्दा कतै
मुटुमाथि गर्वले राखेँ दाहिने हात
कसैलाई सलामी दिँदा
निधारमा जोडेँ दाहिने हात
मैले आफ्नो देब्रे हात
दाहिने हातले पाएको सफलतामा
ताली बजाउन मात्र प्रयोग गरेँ
कि त
फोहोर पुछ्न मात्र
कि त
फोहोर टिप्न मात्र

देब्रे हात
डिप्रेसनको रोगी बनिरह्यो
सुनिरहेँ उसका प्रलापहरू–
‘के तिम्रो संसार दायाँ हातको मात्र देन हो ?
किन तिम्रो धर्मसमेत मेरो मजाक उडाउँछ ?
मलाई किन अपराधी, कमजोर र बेइमानीको बिम्ब मान्छौं ?
ए मानिस, मलाई पनि चलाऊ । मलाई पनि गतिशील बनाऊ ।’

चलाउँदै नचलाएको त होइन है मैले
यो देब्रे हात
तर दाहिने हातलाई सधैं शिरमाथि चढाएँ
र यो देब्रे हातलाई
जुत्ताको फोहोर मात्र पुछ्न लगाएँ

देब्रे हातको रोग निको पार्न
त्यसलाई एउटा महँगो घडी उपहार दिएँ
सुनका औंठीहरू पनि लगाइदिएँ औंलाहरूमा
र शरीरको सम्पूर्ण सत्ता
सुम्पिदिएँ केवल दाहिने हातलाई

तर एकदिन अचानक
पक्षघातले ढलेँ म
बेकाम भयो मेरो दाहिने हर
त्यही दिनदेखि थर्थराउँदै हिँड्न थालेको छु
देब्रे हातले लठ्टी टेकेर

यो भयानक दुःखको कुरा हो
कि पृथ्वीकै शरीरको एउटा कुनामा
सधैं श्रापित छ देब्रे हात
र दाहिने हर नचल्ले निश्चित छ
ओहो, कुन हातले लट्ठी समाउला पृथ्वीले
जब पक्षघातले यसको दायाँ पाटो हान्नेछ ?