अम्बिकादेवी रिमालले आफ्ना बुबा महाकवि लक्ष्मीप्रसाद देवकोटासँग बाँचिरहेको जीवनको पाँच भागको एक भागमात्र समय बिताउन पाइन् । अर्थात्, उनी १६ वर्षको हुँदा महाकवि देवकोटाको निधन भयो । तर, माहिली छोरी रिमालसँग बुबाका धेरै यादहरु अहिले पनि ताजै छन् । कसैले नदेखेको आफ्ना मुमा–बाबुको गहिरो प्रेम उनले अनुभव गरेकी छन् ।

काठमाडौंको मैतिदेवीस्थित शास्त्रीय बस्तीमा नजिकै रहेको आफ्ना बुबाको घर हेरेर उनी मुमा–बुबाको प्रेमानुभूत गर्छिन् । एकछिन विगतमा फर्किन्छिन् अनि घोत्लिन्छिन् । कहिलेकाहीँ सोच्छिन् पनि, ‘नेपालको इतिहासले गौरव गर्ने यो भग्नावशेष घर कहिले होला संग्रहालय बन्ने ?’ सो घर र घर रहेको जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्वामित्वमा त लिएको छ तर, संग्रहालय बन्न कति समय लाग्ने हो थाहा छैन । ‘कहिले’ भन्ने प्रश्नले उनलाई कहिलेकाहिँ बिझाउँछ पनि । ७० दशक पुरा गरेकी उनी फेरि सोच्छ थाल्छिन्, ‘म जीवित छँदै संग्रहालय बनेको देख्न पाए त मन शान्त हुने थियो ।’

अम्बिकादेवी राम्रोसँग कान सुन्दैनिन् । नजिकै गएर जोडले बोलेपछि मुसुक्क हाँस्छिन् अनि कुरा सुरु गर्छिन् । उनको शरीरको फूर्ती भने कत्ति पनि घटेको छैन । उनलाई कुनै गमभीर प्रकारको रोग पनि लागेको छैन । चिन्ता छ त केवल आफ्ना दुई नातिहरुको । जसको हरेक जिम्मेवारी उनको काँधमा छ । छोरा–बुहारी र नाति–नातिनाले स्याहार गर्नुपर्ने उमेरमा उनलाई नातिहरुको स्याहार गर्नुपरिरहेको छ । तर, यसमा अम्बिकादेवीको कुनै विमति छैन । यो त सबै नियतिको खेल हो, आफ्नो जिम्मेवारी त पुरा गर्नै पर्यो ।

०००

मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो ।

केहीबेर वर्तमानबारे कुराकानी गरेपछि मलाई विषय अन्तै मोड्नु छ । म अम्बिकादेवीको नजिकै गएर उनले सुन्नेगरी बोल्छु, ‘धेरैले महाकवि देवकोटाको श्रीमती मनदेवीसँग राम्रो सम्बन्ध थिएन भन्छन् । तपाईंलाई के लाग्छ ?’
अम्बिकादेवी बुबा महाकवि देवकोटा र मुमा मनदेवीबारे सुनाउन थाल्छिन्:

आफूले लेखेका हरेक कविता मेरो बुबा मुमालाई देखाउनुहुन्थ्यो । मुमा कविता सुनेर मख्ख पर्नुहुन्थ्यो । बुबाले लयमा–लय मिलाएर सुनाएको कविताले मुमाको ह्दयमा स्पर्श गथ्र्यो । त्यसपछि उहाँहरु आफ्नो गहिरो प्रेम साटासाट गर्नुहुन्थ्यो । बुबा मन्द मुस्कानका साथ मुमालाई हेरेर टोलाउनुहुन्थ्यो । मुमा बुबामा हराउनुहुन्थ्यो ।

अम्बिकादेवीका अनुसार कहिलेकाहीँ महाकवि देवकोटा आफ्नी रिसाएकी श्रीमतीलाई कविता सुनाएरै फकाउँथे । मुमा रिसाएको र बा’ले फकाएको आफ्नै आँखाले देखेकी अम्बिकादेवीलाई त्यतिबेला उनीहरु के गर्दैछन् भन्ने हेक्का हुँदैनथ्यो । अम्बिकादेवी भन्छिन्, ‘जब बुझ्ने भएँ तब सबै कुरा चाल पाउँदै गएँ ।’

‘मुमा चाहिँ के कुरामा रिसाउनुहुन्थ्यो नि ?’ मैले अर्को प्रश्न तेर्साएँ ।
महाकवि देवकोटाको घरमा गाईहरु थिए । उनी गाईलाई निकै माया गर्थे । एकपटक घर आउँदा तीन खर्पन काउली ल्याए । घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचे । मनदेवीले काउली ल्याउनुको कारण सोधिन् । देवकोटाले गाईंलाई खुवाउन ल्याएको भन्ने उत्तर दिए ।

‘मुमाले गाईंलाई काउली किन खुवाउनुपर्यो भन्नुभयो’ अम्बिकादेवी विगततिर टोलाउँछिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईंले पनि खानुपर्यो नि भन्नुभयो ।’ त्यसपछि देवकोटाले काउली भटाभट गाईंलाई खुवाउन थाले । यता, मनदेवी रिसले आगो भइन् । अम्बिकादेवी भन्छिन्, ‘यस्तै–यस्तै सानातिना कुरामा हो उहाँहरु रिसाउने ।’

महाकवि देवकोटा र मनदेवीको सम्बन्धबारे विभिन्न चर्चा–परिचर्चा हुने गर्छ । मनदेवीको आचरणमाथि पनि बेला बेला औँला उठाइन्छ । मनदेवी कृष्ण भगवानको भक्त थिइन् । उनी प्राय भजन–कृतनमा ब्यस्त हुन्थिन् । सातामा दुई–तीन दिन घरबाट बाहिर गइरहन्थिन् । देवकोटाको घरमा कामदार बसेका लालबहादुर महाकविका प्रिय पात्र थिए । उनी मनदेवीको सुराकी गर्थे । अम्बिकादेवीको बुझाईमा लालबहादुर बक्सिस पाउने लोभमा मनदेवीबारे भए–नभएका कुरा महाकविलाई सुनाउँथे । एक पटक त्यस्तै घटना भयो । लालबहादुरले के कुरा सुनाए भन्ने अम्बिकादेवीलाई अहिले ठ्याक्कै याद त छैन तर, उनले सुनाएको कुराका कारण घरमा निकै भयावह अवस्था उत्पन्न भयो ।

लेखकः कृष्ण आचार्य

लालबहादुरको कुरा सुनेपछि महाकविले मनदेवीले सुन्नेगरी चिच्याउँदै भने, ‘ए लालबहादुर छिटो गुन्टा कस् अब हामी होटलमा गएर बस्नुपर्छ ।’

महाकवि चिच्याएर सुनेर मनदेवी घर बाहिर निस्किइन् । महाकविले मनदेवीतिर हेर्दै भने, ‘तिमीलाई महिनाको १० हजार दिन्छु । तिमी बस् म लालबहादुरलाई लिएर गएँ ।’

यो कुरा मनदेवीलाई असह्य भयो । त्यसपछि तिमीहरु बस् बरु म नै जान्छु भनेर उनी माइत लागिन् । अम्बिकादेवीले थाहा पाएदेखि कहिल्यै माइत नगएकी मनदेवी यसरी एक्कासी हिँडेपछि बच्चाबच्ची अलपत्र परे । आत्तिएर उनीहरु मामाघर गए । रोई, कराई गरेर आमालाई फर्काएर घरमा लिएर आए ।

घरमा आउनासाथ हातमा लौरो समाएर मनदेवीले लालबहादुरलाई भनिन्, ‘ए मोरा यहाँबाट निस्कन्छस् कि यै लौरोले तलाईंँ ठटाऊँ हँ…।’ त्यसपछि लालबहादुर टाप कसे । फेरि कहिल्यै त्यो घरमा देखिएनन् ।

बेलुका महाकवि आएर लालबहादुरलाई बोलाए । अम्बिकादेवी भन्छिन्, ‘मुमाले अब तिम्रो लालबहादुर आउँदैन भन्नुभयो । बुबा मुमा घरमा आएको देखेर चुप लाग्नुभयो ।’ उहाँ मुमा आएकोमा मनमनमा निकै खुसी हुनुहुन्थ्यो । मुमालाई पनि बुबाबाट टाढा बस्न निकै गाह्रो भएको थियो । सायद यहि त हो प्रेम ।

महाकवि देवकोटा निकै कोमल ह्दयका व्यक्ति थिए । सधै सबैलाई सहयोग गरिरहन्थे । कसैको दुःख पीडा हेर्न सक्दैनथे । उतिबेला मासिक ३०/४० हजार रुपैयाँको हाराहारिमा आम्दानी गर्थे । तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्थे । यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो । घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपथ्र्यो । यहि कारण मनदेवी देवकोटासँग रिसाउँथिन् ।

अम्बिकादेवीका अनुसार महाकवि देवकोटा र मनदेवीबीच कहिलेकाहिँ झगडा र असमझदारी हुन्थ्यो । त्यसकै आधारमा धेरैले उनीहरुको सम्बन्ध राम्रो नभएको अड्कल काट्थे । त्यसको पनि एएटा कारण छ । अम्बिकादेवी भन्छिन्, ‘मुमालाई पैसा जति अरुलाई बाँडेर सकेको मन नपर्ने । त्यसैले बुबासँग पैसा लिएर खान पल्केकाहरु मुमालाई मन पराउँदैनथे र उहाँको अनेकथरी कुरा काट्थे । गाउँले र साथीहरुले बुबालाई पनि अनेकथरी कुरा सुनाउँथे । उहाँ आफूभन्दा बढी अरुलाई विश्वास गर्ने मान्छे । नभएको कुरा पनि पत्याउनुहुन्थ्यो । झगडाको मुख्य कारण यहि थियो । नत्र उहाँहरुको सम्बन्ध कहिल्यै नराम्रो रहेन ।’ महाकवि देवकाटा अरुले सुनाएका कुरालाई धेरै दिनसम्म मनमा भने लिँदैनथे । मनदेवी भने अरुको कुरा सुनेर आफूलाई अविश्वास गरेको भन्दै महाकवि देवकोटासँग रिसाउँथिन् । महाकवि कविता सुनेर मनदेवीलाई फमाउँथे ।

०००

गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ ।

महाकवि देवकोटा मनदेवीले पकाएको खाना मीठो मानेर खान्थे । मनदेवीले जे दियो त्यसमै सन्तुष्ट हुन्थे । मगमग वासना आउने मार्सी चामलको भात उनलाई औधी मनपथ्र्यो । अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकु उनको मनपर्ने खाना थियो । उनलाई मन पर्ने खाना भए चरेसको थालभरी खाइदिन्थे । मनदेवीले पकाएको मनपर्ने खाना दाल, भात, डुकुको विषयमा महाकविले एउटा कवितासमेत लेखेका छन् ।

एकपटक साहित्यिक गोष्ठीमा भाग लिन भारतका महापण्डित राहुल सांस्कृत्यायान नेपाल आएका थिए । गोष्ठीमा महाकवि देवकोटालाई पनि निमन्त्रणा गरिएको थियो । उनी दाल, भात र डुकु खाएर गोष्टीमा निस्किए । अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ । बुबाले त कविता नै लान बिर्सनुभएछ । त्यसपछि त्यहीँ दाल, भात, डुकु नामक कविता लेख्नुभयो रे ।’ कविता सुनेपछि महापण्डित राहुल सांस्कृत्यायानले उनको खुबै तारिफ गरे । देवकोटाले लेखेको दाल, भात, डुकु कविताको एक अंश यस्तो छ:

पहिलो जलमा प्रथम स्फुरणको विष्णुको नै नाभिस्थलमा
यो डुकूू जन्मिएको !
दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको
दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको
भात त्यो हो जसको निम्ति अलम दुनियाँ
ढिकिच्याउँ गर्छ सारा पथभरी चामल फलेर
रौसिएर या गलेर !
ध्यनी विचारी सहमत होलान्
अन्नमय कोषको कुकू !
‘दाल, भात, डुकु ! दाल, भात, डुकु !

०००

 

घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो ।

बिरामी भएपछि भने महाकवि देवकोटालाई आफ्नो परिवारको चिन्ता थियो । छोरा–छोरीले दुःख पाउने भए भन्ने लागिरहन्थ्यो । मनदेवीले कसरी घरबार सम्हाल्ने हो भन्ने सोचिरहन्थे । उनलाई क्यान्सर भएको थियो । एक दिन उनी उपचारका लागि कलकत्ता पुगे । डाक्टरले उतै बसेर उपचार गर्नुपर्ने बताए । तर, देवकोटाले अपचार गर्न आनाकानी गरे । डाक्टरले अहिले उपचार गरे ठूलो आन्द्राको एक इन्च निकाले पुग्छ नत्र पछि थप जटिल बन्नसक्छ भनेर सम्झाए । तर, देवकोटाले मरिगए मानेनन् ।
अपरेशन गर्दा मरेपछि मनदेवी र छोरा–छोरीसँग भेट हुँदैन भन्ने डर रहेछ उनमा । सल्लाह गरेर आउँछु भनेर उनी काठमाडौं आए । अम्बिकादेवी भन्छिन्, ‘घरखर्च चलाउन मुमालाई गाह्रो हुन्छ भनेर दुई महिनालाई पुग्ने खानेकुरा किनेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्ने सोच्नुभएको रहेछ । तर, मुमालाई छाडेर जानै सक्नुभएन । यसरी एक वर्ष बित्यो ।’ मनदेवीले त्यतिबेला देवकोटाको निकै स्याहार गरिन् । हावापानी छल्न भनेर विभिन्न स्थानमा घुमाउन लगिन् । दिनरात नभनी सेवा गरिरहिन् । महाकवि देवकोटाले जीवनको अन्तिम क्षण बिताउँदा अम्बिकादेवीले बुबा र आमाको प्रेमको गहिराई नजिकबाट महसुस गर्न पाइन् । ‘त्यतिबेला त म धेरै बुझ्ने थिइन् । अहिले ती दिनहरु सम्झँदा लाग्छ, बुबा र मुमाको प्रेम धेरैको समझभन्दा बाहिर थियो । बाहिर देखिदैनथ्यो तर, निकै गहिरो थियो ।’ अम्बिकादेवीका आँखा रसाउँछन् ।