भरत सरकारका रूपमा परिचित गजलकार तथा कवि भरत पौडेल प्रकाशनको क्षेत्रमा आबद्ध छन् । ०७१ सालमा अङ्कुरण गजलसङ्ग्रह प्रकाशनमा ल्याएका पौडेलले हालसालै आफ्नो दोस्रो गजलसङ्ग्रह याद प्रकाशनमा ल्याएका छन् । प्रस्तुत छ, पौडेलसँग यादगजलको पेरिफेरिमा रहेर साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे संवादको सम्पादित अंश:

सुरु सञ्जालबाट गरौँ । तपाईँ नव प्रकाशित गजलसङ्ग्रहको कभर सेयर गर्दै तपाईँले फेसबुकमा स्टाटस लेख्नुभयो – ‘म यो त भन्दिनँ कि म गजल लेख्न जान्दछु …’ । यो कस्तो विरोधाभास ? पाठकमाथिको अन्याय भएन र ?

सर्वप्रथमत: यसलाई विरोधाभासको रूपमा नलिइदिनुहुन मेरो विनम्र अनुरोध छ । गजल यस्तो विधा हो जसमा कहिल्यै पूर्णता पाउन सकिँदैन । जति नै राम्रो लेखेजस्तो लागे पनि जति नै वाहवाही पाए पनि मनमा प्यास रहिरहन्छ । भनिन्छ गजल साधनाको लागि एउटा जीवन अपर्याप्त हुन्छ । म गजल पर्गेल्न सक्छु या यो विधामा मेरो निपूर्णता छ भन्ने साहस मसँग छैन र यसो भनेको हुँ । मैले झिनो प्रयास गरेको हुँ । मलाई लाग्छ म गजल सागरको किनारामा थोरै पौडिन सिक्दै छु ।

मेरा पाठकहरूले मेरो २०७१ सालमा प्रकाशित अङ्कुरण गजलसंग्रह मार्फत मलाई जान्नुहुन्छ । मैले गजल लेख्न जान्दछु भनेर म भन्दिनँ भन्नुको अर्थ उहाँहरूले मेरो विनम्रतासँग जोड्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

भरत पौडेलको याद

भरत पौडेलको याद

त्यही स्टाटसमा तपाईँले लेख्नुभएको छ – ‘… यो सङ्ग्रहमा सङ्ग्रहित गजलहरू मलाई मन पर्छ ।’ रचनाकार स्वयम् ‘मेरा रचना मलाई मन पर्छ’ भन्नुलाई कसरी बुझ्ने ?

यसमा २०७१ सालभन्दा पछाडि लेखिएका गजलहरू सङ्गृहीत छन् । यो मेरो गजल लेखनको दोस्रो चरण हो भन्ने म मान्दछु । २०७१ सालदेखि ८० सालसम्मको ९ वर्ष अवधिमा लेखिएका यी हरेक गजलका कुनै न कुनै शेरमा यथार्थ छ । यथार्थको जगमा उभिएर रचिएको हुनाले यी गजलहरू मेरो दिलको आवाज हुन् । त्यसैले मैले यी गजलहरू मन पराएको छु ।

गजलमा कुनै कुरा भन्नुपर्दा सिधा अर्थमा भनिँदैन र बिम्बको सहारा लिइन्छ । यसलाई पाठकले आफ्नो आफ्नो भोगाइ अनुसार बुझ्ने हुनाले एउटै शेरको हजारौँ अर्थ लाग्न सक्छ । यस हिसाबले पनि यहाँ मैले अलि फराकिलो आयाम समेट्न सफल भएको छु भन्ने मलाई भ्रम छ । मन पर्छ भन्नुको मतलब यसलाई भ्रम रहेछ भन्ने बुझिदिनुहुन्छ भन्ने मलाई आशा छ । बाँकी कुरा पाठकको हातमा । उहाँहरूबाट जस्तो प्रतिक्रिया आउँछ सहर्ष स्वीकार हुनेछ ।

पुस्तकको शीर्षक ‘याद’ रहेको छ जुन आफैँमा भाँचिएको देखिन्छ । यो कसको र कस्तो याद हो ? 

याद शब्दभित्र नशा छ जस्तो लाग्छ । म गजलमा नशा खोज्छु । अर्थात् गजलले धिमा नशा दिनुपर्छ भन्ने मेरो मान्यता छ । चिसो २ प्रकारको हुन्छ । एउटा चिसोले छाला चिल्छ र अर्को चिसोले मुटु कमाउँछ । गजलको शेरहरू मुटु कमाउने चिसो जस्तो हुनुपर्छ जस्तो मलाई लाग्छ । भन्न खोजेको कुरा के भने गजल सुन्दा श्रोताको छातीमा एक प्रकारको उकुसमुकुस उत्पन्न भएर बिस्तारै समाधानतर्फ जानुपर्दछ । शेरले श्रोताको अचेतनमा प्रहार गर्नुपर्छ र श्रोताले आफ्नो वास्तविक होस गुमाएजस्तो भान हुनुपर्छ । जसरी यादको करभमा द ले होस गुमाएर तल सरिरहेको छ ।

कसको र कस्तो याद हो भन्ने कुरा चैँ प्रश्न कम र ह्युमर ज्यादा भएको हुनाले यो याद तिनै पात्रहरूको हो जसको कारणले याद जन्मियो भन्न चाहन्छु ।

‘भरत सरकार’का रूपमा परिचित व्यक्ति पुस्तकाकारमा आउँदा किन ‘भरत पौडेल’ भयो ?

भरत सरकार प्रोफाइलमा डिस्प्ले हुने नाम मात्र हो । मैले हरेक गजलमा रचनाकारको नाम भरत पौडेल नै उल्लेख गरेको छु । ६० सालदेखि अहिलेसम्म रचना भएका र प्रकाशित भएका गजलहरूमा रचनाकारको नाम यहाँले भरत पौडेल नै उल्लेख भएको पाउनुहुने छ । यदाकदा आफ्नै रचनामा ट्याग हुँदा प्रोफाइलमा भरत सरकार भएकोले त्यहाँ ट्याग भएको मात्र हो । गजल भरत पौडेलकै हो ।

पछिल्लो समय, साहित्यकार, अझ युवा साहित्यकारहरूको झुकाव आख्यानतिर देखिएको समयमा किन गजलसङ्ग्रह प्रकाशनमा ल्याउनुभयो ?

आहा ! कति असल प्रश्न ।

यसमा बजारको भूमिका पनि हो कि भन्ने मलाई लाग्दछ । साहित्यको बजारमा आख्यान बिक्ने कविता, गीत, गजल त्यति नबिक्ने भन्ने एक किसिमको हुइयाँ व्याप्त छ । त्यसमा पनि गजल गाइने या सुनाइने विधा भएकोले यो पुस्तकको रूपमा आउनुभन्दा पनि सङ्गीतबद्ध भएर आउनु पर्ने खर्चिलो र रिटर्न नहुने विधा हो भन्ने मान्यताले यस्तो असर पर्न गएको हुनसक्छ ।

मेरो सवालमा म पहिलेदेखि नै गजलमा बढी झुकाव राख्ने र आफ्नो मनोभावना व्यक्त गर्दा गजल मार्फत नै गर्ने भएको हुनाले सधैँ गजल नै लेखेँ । लेखिएका गजलहरू पाठक समक्ष लैजानु मेरो कर्तव्य हो । गजलबाट जुन किसिमको आत्मसन्तुष्टि पाउँछु त्यो आत्मसन्तुष्टिको लागि अन्य विधा चुन्न नसकिरहेको अवस्था छ ।

तपाईँ त प्रकाशक पनि । वास्तवमै कविता, गीत र गजलको भन्दा आख्यानको बजार उन्नत भएकै हो ?

पहिले नै भनी सकेँ यो हुइयाँ हो भनेर । स्यालको आवाजलाई हुइयाँ भनिन्छ । एउटा स्याल करायो भने एकपछि अर्को गर्दै जुन जुनले सुन्छ कराउन थाल्छ । बजार विधाले निर्धारण गर्दैन । रचनाको स्तरले निर्धारण गर्छ । स्तरीय छ भने के गीत/गजल, के कविता के आख्यान सबै उत्तिकै पाठकको प्राथमिकतामा पर्छन् ।

मानौँ तपाईँले एउटा उपन्यास पढ्न थाल्नुभयो । १० पेज २० पेज पढ्दा पनि लेखनले तपाईँको हृदय तान्न सकेन भने तपाईँलाई पढ्न अल्छी लाग्छ । हैन पछाडि केही थियो कि भन्ने जिज्ञासा उत्पन्न भयो भने त्यो पुस्तकको समीक्षा कतै छ कि भनेर खोज्न थाल्नु हुन्छ तर पढ्ने जाँगर पटक्कै उत्पन्न हुँदैन । अरू विधा पनि त्यस्तै हुन । आफ्नो रोजाइभित्र पर्दैन भने हामी १५ सेकेन्डको टिकटक त स्वीप गर्छौ भनेँ ३०० पेजको किताब पढ्ने धैर्य हुँदैन मान्छेसँग ।

भन्नुको मतलब पाठक हृदय बाँधेर राख्न सक्ने क्षमताको लेखन छ भने विधाले फरक पार्दैन । लेख्नकै लागि लेखिएका लेखहरू जुनसुकै विधा अन्तर्गत लेखे पनि पाठकको रोजाइमा पर्दैनन् । त्यसैले पाठक विधाको नभएर रचनाका हुन्छन् ।

गजलबाट पुस्तक प्रकाशन सुरु गर्नुभएका गजलकारहरू प्राय: आख्यानमा जम्ने गरेको पाइन्छ । तपाईँको तयारी के छ ?

छन्, धेरै साथीहरू आख्यानमा लाग्नु भएको छ । यो उहाँहरूको अभिरुचि हो । मलाई पनि आख्यान लेख्न मन पर्छ । कहिलेकाहीँ कथा, निबन्ध तथा उपन्यास पनि लेख्न सुरु गर्छु तर पूरा गर्न सक्दिनँ । अनि, त्यत्तिकै छोड्छु र त्यही कथा समेटेर एउटा गजल लेख्छु । आख्यानको लागि प्रशस्त रिसर्चको आवश्यकता पर्छ । पुरै काल्पनिक आख्यान त व्यावसायिक लेखन हुन्छ भन्ने डर लाग्छ । समय अनुकूल भएको खण्डमा आख्यान पनि पस्किने रहर छ तर यथार्थपरक ।

भनेपछि, तपाईँलाई आख्यानकारका रूपमा कहिलेसम्ममा पढ्न पाइन्छ त ?

यसै भनेर भन्न सकिएन । मलाई रिसर्चको लागि केही समय आवश्यक पर्छ । व्यस्तता अलि बढेको छ यो बेला । हेरौँ सकेसम्म चाँडै ल्याउने प्रयास गर्नेछु ।

नेपालको परिप्रेक्ष्यमा तपाईँले बुझेको गजल के हो ? व्यक्तिगत रूपमा तपाईँ के कारणले गजल लेख्नु हुन्छ ?

म पहिलेदेखि गीत लेख्थेँ । मेरो गीत ५४ सालतिरै रेकर्ड भएका छन् । सङ्गीतप्रति एक किसिमको रस पसेको थियो । अलिपछि एजुकेशनल पेज भन्ने पत्रिकामा म डिजाइनर थिएँ । त्यहाँ समाचार सम्पादनको काम गर्नुहुन्थ्यो नारायण गाउँले । उहाँले साह्रै मिठो र तोडिलो गजल सुनाउनु हुन्थ्यो । हुँदाहुँदै फेसबुकको प्रचलन आयो त्यहाँ धमाधम गजल भनेर साथीहरूले लेख्न थाल्नुभयो । पहिले आरआरमा पढ्दा साथीहरूसँग गजलको बारेमा चर्चा हुन्थ्यो । नेपाली विषयमा गजलको थोरै परिचय समेटिएको थियो । त्यसैताका गजल के रहेछ भनेर खोजी गरियो । मोतीराम भट्टदेखि पुनर्जागरण कालसम्मका गजलहरू हेरियो ।

यहाँबाट के बुझियो भने गजल भनेको गेय विधा हो र यसमा समान लय, रदिफ, काफिया इत्यादि हुने रहेछन् । यसै अनुसार प्राक्टिस गरियो । फेसबुकमा पोस्ट गरियो । साथीहरूले राम्रो मानिदिनु भयो ।

फेसबुकमा करुण थापा, रवि प्राञ्जल, दीपककुमार खड्का, नारायण गाउँले आदिसँग जोडिने मौका मिल्यो । उहाँहरूकै प्रेरणा पाएर, उहाँहरूकै चेला भएर गजल लेखियो ।

नेपाली साहित्यको परिप्रेक्ष्यमा गजलमा अत्यधिक विवाद (बहस) देखिन्छ । किन यसो भइरहेको छ ?

विवाद भने पनि बहस भने पनि यो गजलको श्रीवृद्धिको लागि सुरु भएको हो तर यहाँ निचोड निस्किएन । पहिलेजस्तो बहसको लागि कार्यक्रम आयोजना गरेर खर्च गर्नुपर्ने अवस्था भएको भए त्यति विवाद आउने थिएन । अहिले सामाजिक सञ्जालमा छुस्स लेखिदिए पुग्छ । कुन बेला कुन मनोदशामा के कुरा दिमागमा आउँछ छुस्स सञ्जालमा पोस्ट गरिदिए पुग्ने भएर पनि यसो भएको हो ।

अर्को पाटो के छ भने गजल बहरमा हुनुपर्छ भन्ने मान्यता बोकेर केही साथीहरू उदाए । केही साथीहरू हामीले जसरी गजल लेखिरहेका छौँ त्यही गजल हो भन्ने अडान लिएर उदाए । मजस्ता केही साथीहरू पनि छौँ जसले यी दुवै गजल हुन र लेखिनु पर्छ भन्छौँ । यसको निरूपण हुने देखिँदैन । सत्य के हो भने यही विवाद र बहसलाई टेकेर नेपाली गजल उकालो चढिरहेको छ र म खुसी छु । चाहे जे होस् नेपाली गजल लेखिइरहनु पर्छ ।

तपाईँको मतलब, गजलमा जुन विवाद (बहस) भइरहेको छ त्यो एकदमै सही भइरहेको छ भन्ने हो ?

जुनसुकै कुराको बहसले सकारात्मक निचोड निकाल्नु पर्छ भन्ने मान्यता हो मेरो । यदि लक्ष्य त्यही हो भने सही नै हो । तर, निचोडको गन्तव्य देखिँदैन र यो विवादबाट धेरै राम्रा गजल लेख्ने गजलकारहरूले गजल लेख्न छाड्नुभएको छ योचाहिँ राम्रो भएन ।

खासमा गजलमा विवाद नहुनु पर्ने हो । समान लयधर्मिता र गजलका अन्य अवयवहरूलाई अङ्गीकार गरेर उत्कृष्ट सिर्जना गर्न सके पुग्ने हो । शतप्रतिशत शास्त्रीय बहरमा गजल हुनुपर्छ भन्नेहरूको पक्षबाट पनि शतप्रतिशत गजल बहरमा आएका छैनन् । अहिले प्रचलनमा रहेको बहरका गजलहरू भन्दा गायन, भाव तथा भाषाको हिसाबले समान आक्षरिक लय बोकेका गजलहरू उत्कृष्ट छन् ।

गजल गेय विधा भएकोले समान लय हुनुपर्छ भन्नेतर्फ प्राय: सहमति भैसकेको छ र सबैले यसलाई अङ्गीकार गर्न थाल्नुभएको छ यो राम्रो पक्ष हो । लयलाई बेवास्ता गरेर भावप्रधान गजल लेख्ने एक किसिमको प्राक्टिस थियो कुनै बेला त्यसको अन्त्य भैसकेको छ । यसमा म आदरणीय अग्रज ललिजन रावलसँग पूरै सहमत छु । उहाँ भन्नुहुन्छ गद्यमा गजल हुँदैन र यसले अँगालेको समान लयधर्मिता नै बहर हो ।