आजको कवि र कवितादृष्टिको शृङ्खलामा हामी कवि सम्पदा रिजाल र कवि हेमन्त शिशिर प्रस्तुत गर्दैछौँ । कवि हमेन्त शिशिरले कवि सम्पदा रिजालको कवितामाथि आफ्नो दृष्टि राख्नेछन् । प्रस्तुत छ शृङ्खला:

चेतनालाई अभिव्यक्त गर्ने सबैभन्दा सरल माध्यम नै कविता हो । कविता आफैँमा एउटा मानविय चेत पनि हो ।
जैविक कोणबाट हेर्ने हो भनेँ संसारभरका मान्छेको बनोट र उनीहरूमा हुने जीवन प्रक्रियाहरू एकै किसिमका हुन्छन् तर अन्य दृष्टिकोणबाट संसारका हरेक मान्छेहरू फरक फरक छन् । मान्छेको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाले उसको मनोविज्ञान निर्माण हुन्छ र त्यसको प्रभाव उसको जीवनकालका हरेक कार्यहरूमा पनि केही हदसम्म रहन्छन् । यहाँ भन्न खोजिएको मुख्य कुरा के हो भने कुनै पनि व्यक्तिको सृजनामा उसको वरिपरिको वातावरणले विषेश प्रभाव राख्छ । आज म यहाँ पछिल्लो समय कविता लेख्दै गरेकी झापाकी कवि सम्पदा रिजाका दुई कविताहरू माथि केही सहमति अनि केही विमति प्रस्तुत गर्न गइरहेको छु ।

कविः हेमन्त शिशिर

१.कविता “रोस्ट्रम”
सम्पदा रिजालको कविता रोस्ट्रममा उभिएर हेर्दा यस्तो लाग्छ रोस्ट्रम एउटा विद्रोह हो, विद्रोह परिवर्तनका लागि गरिन्छ र यसका अनेकौं प्रकारहरू छन् । विद्रोह गर्दा कस्तो बाटो रोज्ने त्यो व्यक्तिको इच्छामा निर्भर हुन्छ रोस्ट्रममा सम्पदाले मौनताको बाटो रोजेकी छन् रोस्ट्रम चुपचाप धेरै बोलिरहेको । रोस्ट्रम कविताको निसाना देशको विधमान अवस्था र राजनीतितिरै देखिन्छ । कविताले जातीय ,भौगोलिक र सामाजिक उत्पीडनको मुद्दालाई उठाउने कोसिस गरेपनि तर ठ्याक्कै ठाउँमा भने लागेको छैन कविताले बोकेको चेतनामा कवि शक्तिशाली भएपनि प्रस्तुतिसँग त्यो भार ब्यालेन्स हुन सकेको छैन ।
किन बजिरहन्छ यो रोस्ट्रममा ?
गाईको शोकगीत
चुच्चे नक्साको विज्ञापन
मान्छेका लासहरूमाथिको पाश्र्व संगीत
बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज,
आँसुहरूको निषेधाज्ञा ।

यसरी कवितामा अधिकारबाट बञ्चित भूइँमान्छेहरूको कथा र व्यथा उठाइएको छ र यसको उचित व्यवस्थापन गर्न सम्पदा कविताको अन्त्यसम्म सफल भएकी छिन् । यसलाई नै सम्पदाको यस कविताको सुन्दर पक्ष मान्नुपर्छ । कविता भित्रको कथ्यको तालमेल अलि राम्रोसँग मिलेको भए कविता अर्कै किसिमको हुन्थ्यो तर यो भन्नुको अर्थ कविता यो भन्दापनि शक्तिशाली हुन्थ्यो भन्ने चाहिँ होइन । कवितामा प्रयोग हुने बिम्बहरू र कविताको प्रस्तुतीकरण वर्तमान पुस्ताका सबैको कविको उस्तै उस्तै छ । फलस्वरूप सम्पदाको यो कविता पनि त्यो ठेलीबाट फरक कित्तामा उभिन असफल रहेको देखिन्छ । यो कवितामा सम्पदाका अरू कविताका हिसाबले लेखन कला अलि कमजोर रहेको छ । गलत कुराको विरोध गर्नका लागि हामीले पहिले प्रश्न गर्न सक्नुपर्छ । त्यसैले प्रश्नबाट सुरू भएको यो कविताले विद्रोहमा पुगेर विश्राम लिएको छ । जसले कवितालाई औसत कविताको सूचीमा सूचीकृत गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ ।

२ . कविता “झोला”

सम्पदा रिजालको कविता झोला विश्व समुदायमा रहेको लैंगिक विभेदका विरूद्दमा लेखिएको कविता हो । इतिहास हेर्ने हो भने पश्चिमा विश्वमा महिलाहरूले भोट गर्न पाउनुपर्ने लगायतका राजनीतिक अधिकारको लागी लडेको १९ औँ शताब्दीको आन्दोलनलाई नारीवादी आन्दोलनको पहिलो छाल भनिन्छ जुन अहिलेसम्म विभिन्न स्वरूपमा चलिरहेको छ । कवि पनि यहीँ समाजको अंग हो यो सत्यलाई हामी नकार्न सक्दैनौं तर हरेक आन्दोलन र मुद्दालाई हेर्ने कविहरूको दृष्टिकोण चैँ अरूको भन्दा पृथक हनुपर्छ भन्ने हो । कविभित्र कुण्ठा हुनुहुँदैन, कविले आफूभित्र धेरै कुण्ठा पाल्यो भनेँ उसले लेख्ने कविता, कविताभन्दा बढी नारा हुनसक्ने सम्भावना प्रवल रहन्छ ।
हो म तिमीबिना आमा बन्न सक्दिनँ
तर मैले तिमीलाई बाबू बन्ने श्रेय दिएकी छुँ ।।
कविता “ मानुषी ” पारिजात

एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ?

पारिजात नारीवादी होइन समानतावादी थिइन् उनको एजेन्डा नारी पुरूष भन्दा पनि समानता थियो जुनकुरा मानुषी कविताबाट साभार माथि उल्लेखित अंशले स्पष्ट गरेको छ । यदि कवि समानताको एजेन्डामा इमानदार हुनसक्यो भने उसको कविताले समाजिक परिवर्तनमा केही भूमिका खेल्न सक्ने सम्भावनामा वृद्धि हुन्छ । नारीवादी आन्दोलनको कोणबाट सम्पदाको झोला कवितालाई हर्ने हो यसले धेरै प्रश्नहरू खडा गर्छ । एउटी नारी सफल हुनका लागि पनि त पुरूषको आवश्यक पर्ला नि ? यो कवितामा पुरूषप्रति पूरा घृणा नै घृणा छ । पितृसत्तात्मक समाजलाई ढालेर नयाँ लैंगिक विभेदमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो जसका लागि नारी पुरुष दुवैको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।
जुनकुरा सम्पदाको यस कवितामा असन्तुलित ढंगबाट प्रस्तुत भएको छ ।

तिम्रो लालपुर्जाले
मात्रै नापिएका पाठेघरहरू
तिम्रो अधिकारले मात्रै
नाम पाएका गर्भिणीहरू
तिम्रो स्वामित्वको प्रमाणले
मात्रै काटिएका
प्रसवका सालनालहरूले आज
कथित “आइमाई” हुनुको
“चेकलिस्ट”
तिम्रो अदालत अघि च्यातेका छन्

प्रश्न गरिहरेछन्
महोदय,
के स्वास्नी मान्छे तिम्रो वीर्य बोक्ने झोलामात्र हो ?

कविताको यो हरफले बोलेका कुराहरूलाई कसरी बुझ्नेँ ?  सृष्टि चल्नका लागि , सन्तान जन्मनु, जन्माउनु आवश्यक छ जुन सौभाग्य प्रकृतिले नै महिलालाई दिएको छ त्यसैले स्वास्नीमान्छेको पाठेघरलाई वीर्य बोक्ने झोला भनेर इंगित गर्नु आफैँमा विरोधाभासपूर्ण कुरा हो यतातिर कवि अलिकति सचेत बन्नुपर्ने देखिन्छ ।

कविः सम्पदा रिजाल

टिप्पणी गरिएका कविताहरू यसप्रकार छन् –

१. रोस्ट्रम

किन बजिरहन्छ यो रोस्ट्रममा ?
गाईको शोकगीत
चुच्चे नक्साको विज्ञापन,
मान्छेका लासहरूमाथिको पाश्र्व संगीत
बहुर्राष्ट्रिय कम्पनीको दस्तावेज
आँसुहरूको निषेधाज्ञा ।
रोस्ट्रमको हरेक वक्तव्यको अन्त्यमा
ताली बजाउँछन कुर्सीहरू ।
यी कुर्सीहरूको किनारामा
एउटा कुर्सी मेरो पनि छ ।
कुर्सीहरूको नेता रोस्ट्रम किन कहिल्यै मेरो कथा भन्दैन ?

मसँग पनि छन्
सडकको छातीमा
मेरो काँचो रगतले कोरेका सपनाका दस्ता ।
त्यही रोस्ट्रमका पाइतालाबाट
घिस्रदै घिस्रदै आउँदा मैले नापेको भूगोलको नक्सा ।
थाकेका पाठेघर सुम्सुम्याउँदै
हिमपहिरो थामेको काँध ।
त्यही रोस्ट्रमले कापीकलम खोसेर
कहिल्यै अक्षर घुमाउन नपाएको उपेक्षित बूढी औंलो ।
सधैं रोस्ट्रमको एकोहोरो कर्कश आवाजले तर्सिरहेको
यो सदनको एउटा किनाराकृत कुर्सी
पहिलोपटक आफैं रोस्ट्रम उभिएको छु ।
थर्थर काँपेको छ यो व्यवस्थाको जड्यौरी रोस्ट्रम
यही थरथराहटले ब्यूँझिएका छन्
हजारौं बर्षदेखि उँघिरहेका कुर्सीहरू ।

२. झोला

कसले गर्यो
बंशजको यति असन्तुलित भागबण्डा ?
कसले झुन्ड्यायो
प्रत्येक मस्तिष्कमा
अधिकारको यति असन्तुलित तराजु ?
कसले टास्यो
मैले दौडिएको जिन्दगीको म्याराथुनमा
तिम्रो स्वामित्वको प्रमाण ?
युगौँदेखि
धर्मले
समाजले
कानुनले
सोधिरहेको छ
मेरो पाठेघरको लालपुर्जा

उत्तरमा आफैँ रटाइदिएको छ
तिम्रो नामको सिफारिस !
तिम्रो लालपुर्जाले
मात्रै नापिएका पाठेघरहरू
तिम्रो अधिकारले मात्रै
नाम पाएका गर्भिणीहरू
तिम्रो स्वामित्वको प्रमाणले
मात्रै काटिएका
प्रसवका सालनालहरूले आज
कथित “आइमाई” हुनुको
“चेकलिस्ट”
तिम्रो अदालत अघि च्यातेका छन

प्रश्न गरिहरेछन्
महोदय,
के स्वास्नीमान्छे तिम्रो वीर्य बोक्ने झोला मात्र हो ?