अङ्ग्रेजी उपन्यासकार जेन अस्टेन १६ डिसेम्बर १७७५ मा संयुक्त अधिराज्यको स्टेभेन्टन शहरमा एउटा मध्यम वर्गीय परिवारमा जन्मेकी थिइन् । सन् १७६८ देखिनै जेनका पुर्खा ह्यामशायरको स्टेभेन्टनमा बसोबास गर्दै आएका थिए । जेन, आमा क्यासान्द्रा ली र बाबु जर्ज अस्टेनकी चौथो सन्तान थिइन्। जर्ज अस्टेन अल सोल्स कलेज, अक्सफोर्डका रेक्टर थिए। सामान्य आर्थिक अवस्था भएको उनको परिवार जेनतेन आफ्नो सामाजिक प्रतिष्ठा धान्नसक्ने अवस्थामा थियो । एघार वर्षको उमेरदेखि नै जेन कथा र कविता लेखेर परिवारका सदस्यलाई सुनाउँथिन् । सानैदेखि उपन्यास साहित्यमा रुचि राख्ने जेनले सत्र वर्ष पुगेपछि एलिनर र मेरिअन (Elinor and Marianne) नाउँको एउटा उपन्यास लेखेर घरमै थन्क्याएर राखिन् । लामो समयसम्म त्यो पुस्तक प्रकाशित हुन सकेन। आवश्यक संशोधन र सम्पादनपछि उक्त उपन्यास चेतना र चैतन्य (Sense and Sensibility) नामबाट सन् १८११ मा मात्र प्रकाशित भयो ।

बिस वर्ष नपुग्दै जेनले अर्को उपन्यास लेख्न सुरु गरिन् । दुइटा उपन्यास लेखी सिद्ध्याएर उनी प्रकाशकका ढोका घच्घच्याउन पुगिन्, ती दुवै कृतिहरू प्रकाशकबाट उपेक्षित भए। सन् १७९७ मा प्रकाशकले अस्वीकार गरेको उनको एउटा कृतिको नाउँ पहिलो प्रभाव (First Impression) थियो। त्यही कृति, आवश्यक सम्पादन गरी घमन्ड र पूर्वाग्रह (Pride and Prejudice) नाउँबाट प्रकाशित भएपछि सर्वाधिक चर्चित भयो । यो उपन्यास उनका कृतिमा सर्वश्रेष्ठ मानिन्छ। एउटा प्रकाशकले सन् १७९८ मा १० पाउन्डमा किनेको जेनको अर्को कृति नर्थाङ्ग र अब्बी (Northanger Abbey) सन् १८१८ मा उनको मृत्युपछि मात्र प्रकाशित भयो । कतिपय साहित्यकार आफ्ना कृति तुरुन्तै प्रकाशित हुन नसक्ता हतोत्साहित हुने गर्छन् । कतिले त साहित्यिक कर्मबाट नै सन्यास लिन्छन्। साहित्यिक मूल्य भएको कृति कुनै न कुनै दिन अवश्य प्रकाशनमा आउँछ । जेनको जीवनीले एउटा कृति प्रकाशित नहुँदैमा लेखकले हरेस खानु हुन्न र लेखनमा परिश्रम गरिरहनु पर्दछ भन्ने सन्देश दिन्छ ।

चरित्रको साङ्गोपाङ्ग अध्ययन शिष्ट व्यङ्ग्य, उत्कृष्ट वाक्य सङ्गठन र प्रस्तुतीकरण क्षमता जस्ता विशेषताका कारण उनका कृति पाठक बिच लोकप्रिय भएका हुन् । थोरै शब्दमा धेरै सन्देश दिन सक्ने जेनका उपन्यास सुन्दर कलाकृतिका उत्तम नमुना मानिएका छन् । उन्नाइसौँ शताब्दीका अङ्ग्रेजी उपन्यासकार मध्ये चार्ल्स डिकन्सपछि सबैभन्दा बढी पढिने उपन्यासकार जेन अस्टेन नै हुन् । उनका उपन्यासहरूले उन्नाइसौँ शताब्दीको साहित्यिक यथार्थवादसम्म पुग्न सेतुको काम गरेका छन् ।

सन् १८०१ मा जेनको परिवार बाथ नगरमा सर्‍यो । त्यसैताका उनले द वाटसन्स (The Watsons) भन्ने उपन्यास लेख्न थालिन् । यो उपन्यास उनले पूरा गर्न सकिनन् । चार वर्षपछि सन् १८०५ मा जेन अस्टेनको परिवार साउथह्याम्टन बसाई सर्‍यो र १८०९ देखि त्यो परिवार ह्यामसायरको चाउटन (Chawton) भन्ने ठाउँमा बसोबास गर्न लाग्यो । म्यान्सफिल्ड पार्क (Mansfield Park 1814), एम्मा (Emma 1816), विश्वास (Persuasion 1818) आदि उनका अन्य प्रमुख कृति हुन्। उनले अठारौँ शताब्दीको अन्यतिर पारिवारिक सम्पत्तिको अधिकार छोरामा सर्दै जाने ब्रिटिशले थोपरेको कुलीन संस्कारको चर्को आलोचना गरेकी छन्। जेनका उपन्यासले अठारौँ शताब्दीको अन्त्यदेखि उन्नाइसौँ शताब्दीसम्म बेलायतका महिलाको सामाजिक स्थान र आर्थिक सुरक्षा विवाहमा भर पर्ने तथ्यलाई उद्घाटन गरेका छन् । महिलाको उपयुक्त सामाजिक स्तर र आर्थिक सुरक्षाको खोज उनका उपन्यासका विषयवस्तु हुन् ।

बेलायतको ह्यामसायरमा जुलाई १८, १८१० मा जेन अस्टेनको देहान्त भयो।