(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)
१. आहालमुनिको हिमाल
(मञ्जुल)
तिमी यति सानो आहालमा सुतिरहेको देखेर
माया लाग्यो
तिमी त आकाशको विशालतामा सुत्नुपर्ने !
तिमी तल तल नुहेको देखेर
दुःख लाग्यो
तिमी त माथि माथि उठेर जानुपर्ने !
आकाशलाई पनि उल्ट्याएछौ तिमीले
रुखलाई पनि घोप्ट्याएछौ तिमीले
तिमी यसरी उँधोमुन्टिएको देखेर
दुःख लाग्यो
आहालमुनिको हिमाल !
२. सहर
(शैलेन्द्र साकार)
सहरभरि एउटा बौलाहा हात्ती हिँडिरहेछ
ऊ बोल्न सकिरहेको छैन
आफूलाई मन पर्ने कुनै फूलको नाम !
ऊ गाउन सक्दैन मन परेको कुनै गीतको टुक्रा
हेर्न सक्दैन टाउको उठाएर आकाश !
गुनगुन मात्र गर्छ, भयले काम्दो हात उठाएर
स्वस्ति मात्र गर्छ,
ऊ कतै गएर भन्न सक्दैन आफूले देखेको कुरा !
मान्छेहरूले उसलाई
शान्तिभङ्गको आरोप लगाउनेछन्
सहरभित्र एउटा बौलाहा हात्ती घुमिरहेछ !
३. अझै मासुले छेकेको छ
(ध्रुवकृष्ण दीप)
कस्तो लुगैमा अल्झिएको तिमी !
निस्क लुगाबाट ।
छि—छि—छि !
अझै मासुले छेकेको छ ।
निस्क मासुबाट पनि !
अनि छर्लङ्ग देख्नेछौ तिमी—
आफू कति सुन्दर छौ,
सत्य छौ र
शिवमय छौ भन्ने कुरो ।
ऐनाको खाँचो पर्दैन तिमीलाई,
ऐना त केवल
नदेख्नेले हेर्ने
मात्र एउटा माध्यम हो !!
४. आकाशभित्र पसेका छौ ?
(मञ्जु काँचुली)
आकाश एक्लो छैन,
ताराहरूका साथ
त्यसभित्र पस, अझ पस
स्वप्नझैँ हुनेछ तिमीलाई
त्यहाँ मैदान छ, स्वर छ
उज्यालो छ अर्कै तहको
लय र स्वादको
टुकीबत्तीको उदास चेहराभन्दा बेग्लै
सायद अमृत छ त्यहाँ मह मिलेको
तिमी कहिल्यै आकाशभित्र पसेका छौ ?
उज्यालै उज्यालोको गाउँ
र बस्ती छ त्यसभित्र,
के तिमी गाउँको बस्तीभित्र पसेका छौ ?
५. मूर्तिकार
(जीवन आचार्य)
थुप्रै मूर्तिशिल्पका
कलाकृतिहरू वरिपरि घुमेर
म ती हातहरूको प्रशंसा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर
अर्थात् त्यो कलाकार खोज्छु !
एउटा मूर्ति चलमलाउँछ
म छक्क पर्छु—
कलाकृति सुन्दर मात्र होइन, सजीव पनि रहेछन्,
हेर ! मूर्ति त बोल्न पो लाग्यो
मूर्तिहरूको बीचबाट—
‘‘मलाई पहिले किन्नुस् हजुर !
म ज्यादै भोको छु ।’’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।