गृहकार्यको मामिलामा अलि अलि अटेर गरेर पुरानै थान्कोमा पुगूँ भन्छु, उदय अधिकारी सरको अनुहार आँखाअगाडि अइपुगिहाल्छ । उहिले उहिले गृहकार्य गर्नुभन्दा साथीभाइका प्रेमपत्र लेख्नतिर जाँगर गरिन्थ्यो । न ती साथीभाइको बिहे भयो, न आफू कतै पुगियो । चेत भन्नु समय घर्केपछि खुल्छ । कस्तो भन्दा — मिलसाइँला भन्ने बस्नेतको गोरु फुकेर नागाको मकै खाएछ । कुरो मणिपुरको । नागाले मिलसाइँलालाई भन्नु नभन्नु भनेछ । उनी भने चुप । जवाफै फुरेन आरे । नागो घर गइसकेकोपछि, निकै पछि, जवाफ कस्तो फुरेछ भने नि, त्यस जवाफको बयान अरूले त के उनैले पनि गर्न सकेनन् ।
अस्तिको प्रगतिशील साहित्यबारेको गृहकार्यबाट दुई खाले प्रतिक्रिया आए । एकथरीले भने— पश्चिमको कुरो गरेर अलमल्याउन पाइन्छ ? खोइ हाम्रो प्रगतिशील साहित्यको कुरो ? अर्को प्रतिक्रिया कस्तो भने, कथै पो भयो त । एकजना मित्रले फेसबुकका लेखे — प्रगतिशीलतामाथि निर्मम प्रहार । तिनलाई पछि बानेश्वर बैङ्क्वेटमा, एउटा कार्यक्रममा भेटेँ । अनि सोधेँ— त्यहाँ उल्लेख गरेका प्रगतिशील साहित्यका कुन कुन सिद्धान्तकार पढ्नुभएको छ? पढ्नुपर्दैन ?
अनि ती मित्र फोटो खिचाएर गए । फोटोमा हामी दुवै मुस्कुराएका छौँ ।
यो भयो प्रतिक्रिया काण्ड । अब रह्यो प्रगतिशील काण्ड ।
कुरो कस्तो देखियो नेपालमा भने नि, कुरो ऐलानी जमिनजस्तो । कसैले खासै केही नछर्ने । तर जे चाहिन्छ त्यो भरसक त्यहीँबाट टिप्ने । घोडताप्रे टिप्नुपर्यो भने भट्टराई बा त्यहीँ पुग्छन् । दुवो टिप्नुपर्यो, जगन्नाथ पण्डित त्यहीँ पुग्छन् । गाई चराउन नागालैन्डबाट फर्केर ठिमीमा गाई पाली बसेका चौँलागाइँ त्यही पुग्छन् । कुकुर डुलाउनुपर्यो कुकुर लिएर छिमेकी बानियाँ त्यहीँ पुग्छन् ।
नक्सामा खै के कसो छ, तर घरछेउको ऐलानी जग्गा सबैलाई ‘मेरै हो’ जस्तो लाग्छ । नत्र छातीमा हात राखेर भन्नुस् त ।
नपत्याए देवकोटालाई हेरौँ न ।
२००८ सालमै नेपाल सांस्कृतिक परिषद् खोलेका रे । बीपी अध्यक्ष । देवकोटा पनि थिए रे । पछि त्यही नेपाली लेखक संघ भयो रे । अहिले त्यो संघ कांग्रेसको कित्तामा । बाघ करायो । यता बाख्रो हरायो । आखिर श्रीकृष्ण रहेछ एक । कसरी नपत्याउनु ?
फेरि उता, माउसेतुङमाथि कवितै लेखे देवकोटाले । कर्म नै ईश्वर हो पो भने । निमुखो भोटेलाई नायक बनाए । त्योभन्दा प्रगतिशील के हुने ? बामपन्थी लेखकहरूकै गठजोड बनाउन गठित देवकोटा–लुसुन एकेडेमीले देवकोटालाई बराजु ठानेर अपनाएको त पक्कै पनि होइन होला ! के ठानेर त भन्दाखेरीमा — प्रगतिशील ।
देवकोटाकै आत्माले चाहिँ सुखशान्ति पाओस् । लडाइँ त यहाँ गरौँला नि हामी । गरिरहेकै छौँ त ।
यस झगडालाई एकातिर राखौँ । एउटा कुरो महत्तवपूर्ण छ । सो के भने, मान्छेले साँचो बोल्नुपर्छ । जे सत्य हो, त्यही ।
नेपालको सन्दर्भलाई जोडेर केही सत्य बोलौँ न त हामी, आज ।
ससुराबाले हँसाउनुभयो हिजो । कसैको लग्नमा बृहस्पति बस्यो भने सत्ययुगमा राम्रो रे, कलियुगमा चैँ खासै राम्रो होइन रे । लग्नमा बृहस्पति बसेपछि सत्य बोलाउँछ । सत्य बोल्यो कि, कलियुगमा — एक्लो बृहस्पति झुट्टा । हैट, धन्न चिना देखाउनु पर्दैन यहाँ । तर केही सत्य बोल्नैपर्छ आज ।
त्योभन्दा अगाडि एउटा द्रष्टव्य — नेपालमा, र अन्यत्र पनि प्रगतिशीलता र वामपन्थी राजनीतिलाई गठजोडमै हेरियो । प्रगतिशीलतालाई ‘वामपन्थी राजनीतिको सामाजिक–सांस्कृतिक तर्क’ बनाइयो । दुर्भाग्य के भयो भने गाडा अघि अघि कुद्यो । घोडा पछि पछि । निक्कै पछि पो त ।
२०६० पछि नेपालको राष्ट्रिय चरित्र र चिन्तनमा केही ठोस परिवर्तन आयो । सुरू त निकै अगाडि नै भएको हो । २००७ आसपास । ३६ तिर । ४६ तिर पनि । यस परिवर्तनको श्रेय लिनेमा अचेल खपिनसक्नुको होड देखिन्छ । तर सत्य बोलौँ न एकैछिन् ।
नेपालमा, नेपाली जनमानसले बुझ्ने भाषामा, दमनकारी सत्ताको विपक्षमा जनमत तयार पारेको वामपन्थी राजनीतिकर्मीले हो र प्रगतिशील संस्कृतिकर्मीले नै हो । राजनीति त एकातिर भइगयो । संस्कृतितर्फ हेर्दा न्यून मात्रमा लेखकहरूले । ठूलो मात्रामा चैँ गायकहरूले । अन्य संस्कृतिकर्मीहरूले । घरघर गएर । गाउँगाउँ पुगेर । स्कुलकलेज पुगेर । नाचेर । गाएर । नाटक देखाएर ।
अन्य विचारका समूहले ‘जनताले बुझ्ने भाषा’ बोलेको आजसम्म सुनिएन । आफैँले पनि त्यति बुझेनन् कि क्या हो । के भन्छन् के भन्छन् !
अर्को कुरा । भन्नेले उत्तराधुनिकताको उपज हो पनि भने, तर नेपालमा पछिल्लो समय देखिएको समावेशी चिन्तन र व्यवहार धेरै दमसम्म कम्युनिस्ट आन्दोलनको देन हो । उत्तराधुनिकताको ‘अ’ पनि कुहिरोतिरै रुमल्लिएको बेला भुइँमान्छेहरूलाई मूलधारमा ल्याउनुपर्छ भन्ने कुरो उठेको हो । कुरो कसरी गाजेमाजे भयो भने, उत्तराधुनिकताले पनि केन्द्रको विघटनको कुरा गर्छ त बहुल केन्द्रको अस्तित्वको कल्पना गर्छ । अर्कोतिर, एउटै परानो महाआख्यान, अथवा सबैले मानिदिनुपर्ने खालको महाआख्यानको उपस्थितिमाथि प्रश्न गर्छ, र स–साना लघुआख्यानको अस्तित्व र मर्मको कुरा गर्छ । यहाँ ‘आख्यान’ भन्नाले कथा–उपन्यासको कुरो होइन । बरु कुरो, कुनै पनि समाजमा मानक मानिएको त्यस कथा वा चिन्तनको कुरो हो, जसले लामो समयदेखि उक्त समाजको चिन्तन र व्यवहारको नियमन गरिरहेको हुन्छ ।
होइन, लेख्दालेख्दै के सारो कठिन र चाम्रो कुरो आयो हौ !
यो कुरा यत्तिको जटिल छ, देखिहाल्नुभयो । अब यसै जटिल दर्शनलाई आत्मसात गरेर नेपालका राजनैतिक–सामाजिक आन्दोलन हाँकिए र महाआख्यानको विघटन भयो भनेर कसैले भन्यो भने त्यसलाई पत्याइहाल्न दिलले अलि नमानेकै हो । किन कि, पचासदेखि साठीको दशकमा समावेशिताको जुन चिन्तनले नेपाली राजनीतिको मूलधारलाई परिवर्तन गरिदियो, र हिजो भुइँमान्छे भनिएकाहरूलाई पनि संविधानसभाको वा संसदको पटलसम्म पुर्यायो, त्यो चिन्तन माक्र्सवाद थियो, र त्यसको ऊर्जा नेपालको वामपन्थी आन्दोलन थियो भन्नुमा कुनै आइतबार, मङ्गलबार, एकादशी, औँसी, पूर्णे…केही बार्नु पर्ने म देख्दिनँ । अँ, अस्तिदेखि ज्योतिषीले शनिबार पनि थपिदिएको भने ठीक साँँचो छ । शनि अलि निचो देखियो रे, बार्नू भनेर भन्दिए ।
माथिको कुरो पचाउन नसक्नेले अब अर्को कुन बेङ्क्वेटमा छिर्का हान्नेहुन् । होइन सधैँ बेङ्क्वेटै मात्र धाइरहन्छ कि क्या हो यो मान्छे भन्ने पनि पर्ला । तर कुरो त्यसो होइन । संयोग भनम न ।
प्रगतिशीलताको कुरा गर्नु छ । ताँदो बिर्सिहालेको होइन । तर यी कथा पनि भनिहालम् न भनेर । कथै त हो ।
यसो सोचौँ त आजभन्दा तीन दशकअगाडिको नेपाल । विशेष गरी समाज । समाजलाई चिरा चिरा पार्ने जातपात । यो जातपातको सवालमा आउनुपर्ने जति परिवर्तन आइसकेको छैन । तर, पुरानो चिन्तन, धेरै हदसम्म हल्लिएको छ । अचेल, जात हेरेर गरिने गालीका शब्द धेरे कम भएका छन् । अचेल, जातलाई मुछेर प्रयोग गरिने उखान वा आहानलाई ‘पोलिटिकल्ली इन्करेक्ट’ भन्न थालिएको छ । अचेल कुनै पनि सीमान्तकृत वर्गको मर्ममा, इज्जतमा, पहिचानमा, नाममा वा भावनामा चोट लाउने कुरो गर्न करिब करिब वर्जित छ, र धेरै हदसम्म यो स्वचेतनाले भएको छ । हाम्रो गतिकुण्ठित, राहुग्रसति समाजलाई झकझक्याएर यहाँसम्म ल्याएको कसले हो?
अब यहाँनेर नि, ‘हामीले हो’ भन्नेको ताँती सानो हुँदैन त ! सानो ठिमीबाट तानेको ताँती, बूढानिलकण्ठभन्दा पनि पर कता हो कता, कलकत्तै पो पुग्छ त । तर, साँचो बोल्ने भनेर बाचाकसम गरेका छौँ हामीले । यो भएको श्रेय माक्र्सवादी राजनीति र प्रगतिशील सांस्कृतिक आन्दोलनलाई दिँदा हाम्रो आँगन कत्ति पनि साँघुरो हुँदैन । अन्य धेरै समूहले यस्ता विषयलाई आफ्ना आन्दोलनहरूको एजेन्ड बनाएकोसम्म देखिएन । पछि पछि, समयको अनुभूतिको संरचना नै फेरिएपछि होमा हो मिलाउनैपर्ने बाध्यता आइपरेपछि किन्तु परन्तु गर्दै उनीहरू धेरैले पनि यस्ता मुद्दालाई आत्मसात गरेको देखिन्छ । तर, श्रेय लिने क्रममा भने अग्रपंक्तिमा ।
जरुरी छैन । जे हो, त्यो हो । सिन्को नभाँचेको काममा पगरी गुँथ्न आउनेलाई ढेडु भनिन्छ । ढेडुको अपमान पो भयो कि, हजुर, यहाँनिर?
सिन्को भाँँचेको भए ठीक । तर सिन्को गएर गलाको अड्केला, त्यतातिर सोचैँ ।
भन्छन्, ‘यो मान्छेले सिन्को भाँचेन ।’ अब, सिन्कै मात्रै भँँचेर बस्नु कि काम पनि गर्नु? हैट, भाषामा उखानले कसरी काम गर्छ, र प्रतीकात्मकताको कुन हद छुन्छ, मनन गरौँ न ।
यी तीनवटै एजेन्डा — पुरानो व्यवस्थाका विरुद्ध जनमतको तयारी, सीमान्तकृतहरूलाई मूलधारमा ल्याउने काम र उपेक्षित वर्गप्रति सम्मानको भाव केही हदसम्म भए पनि नेपालमा आएको देखिन्छ भने, त्यो नेपालको वमपन्थी राजनीतिक आन्दोलन र प्रगतिशील सांस्कृतिक आन्दोलनले नै हो । अँ, श्रेय लिने होडबाजीमा यस कुरालाई पनि हाइज्याक गरिदिने शक्ति वा चिन्तनधारा नभेटिएलान् भन्न मुस्किल छ ।
एउटा स्पष्टीकरण । पुरानो व्यवस्थामा शासक को थियो, र शासक छान्ने पद्धति के थियो? हो, त्यसलाई फेरौँ, उनीहरूलाई फालौँ र त्यसमा हामी पनि बस्न मिल्ने थिति बसालौँ भन्ने चैँ धेरै अरू पनि थिए । तर तिनको एजेन्डामा वर्गीय असमानता हटाउने कुरो थियो वा थिएन, थाहा पाउन सकिएन । त्यो राजनीति, मूल रूपमा एलिटकै चक्रमा घुमेको ठीक साँचो हो ।
राजनीतिको वृत्तमा गरिनुपर्ने छलफल चैँ के भने, प्रचण्ड इच्छाशक्ति र बुलन्द हौसला भएको बेला ल्याइएका यी ऐतिहासिक राजनैतिक–समाजिक परिर्वनलाई दिगो बनाउने सवालमा, सुरवालको इजार बिस्तारै बिस्तारै खुकुलिँदै गएको पनि सत्य हो । दिनैपिच्छेको विर्सजनवाद, संशोधनवाद, नैतिक–अनैतिक गठबन्धन्, रातारात हुने नियक्ति र सारसङ्ग्रहवादले जमिनमा रोपेको परिवर्तनको बिरुवालाई उखेलेर दरबारहुँदी पो सारिदियो कि? दरबार माने नयाँ दरबार ।
अलिकति कुरोकन्थो प्रगतिशील सास्ंकृतिक आन्दोलनतिरको, जसमा साहित्य पनि पर्ने नै भयो । तर, साहित्यको कुरो अलि पछि । प्रभावको क्रममा अलि पछि छ पनि साहित्य ।
हुन त साहित्य अलिक बौद्धिक हतियार भएकोले यसले सधैँ, सजिलै आम जनमानसलाई छोइहाल्छ, र त्यसले आफ्नो काम गरिहाल्छ भन्ने हुँदैन । अँ, लोकसाहित्य, र संस्कृतिका अन्य लोक बान्कीलाई जनचेतनको हतियार बनाउन सकियो भने त्यसले तत्काल, निमुखाहरूकै निकटमा रहेर काम गर्छ । नेपालमा पनि लोकभाकाहरूमा जागरणका गीत आए । जनवादी गीत आए । ती घरघर पुगेँ, द्वारद्वार पुगे । आम मान्छेको मर्म छोए । बसे दिलमा । एउटा समयातीत प्रभाव छोडे ।
सम्झौँ न — राल्फा आन्दोलन । रक्तिम सांस्कृतिक समूह । रामेश । रायन । मञ्जुल । जेबी टुहुरे । रामकृष्ण दुवाल । जीवन शर्मा । खशीराम पाख्रिन । थपौँ न ।
अहिलेको अहिल्यै, यहीँनिर, अहिले नै, इः यहाँनेर प्रभाव पार्ने प्रस्तुति नाटक हो । घरघर, द्वारद्वार सजिलै पुर्याउन सकिने नाट्य प्रभेग भनेको लोकनाटक । सडक नाटक । कचहरी नाटक । एकल नाटक । आदि । तर यी नाटकको ल्याकतलाई प्रगतिशील आन्दोलनले प्रयोगमा ल्याउन सकेको खासै देखिएन । लोक नाटकलाई त सायद पुरानो भनेर छोडिदियो । अलि पुरानो भयो कि पूरातन वा यथास्थितिवादी भनेर हनुमन्तेमा मिल्क्याइदिने पुरानो रोग पनि अद्यापि छ नि त । त्यसो भएको हुन सक्छ । तर, जनमानसको स्मृति र मर्ममा भिजेको पुरानो बान्कीमा नयाँ सोचको पाइन हाल्नु हो भने त्यो कुरो आम मान्छेमा तत्कालै पुग्ने संभावना बढी हुन्छ । आखिर, जनवादी भनिए पनि, जागरण भनिए पनि मान्छेलाई जगाउने गीतले प्रयोग गरेको लोकगीतकै विरासत होइन र? होइन भने होइन भनौँ । हो भने त भन्ने परेन ।
गीतलाई प्रगतिशील आन्दोलनले राम्रैसँग प्रयोग गरेको देखियो नेपालमा । पार्टीसँग असम्बद्ध तर वाल्टर बेन्जामिनले भनेजस्तो विचारप्रति ‘प्रतिबद्ध’ कलाकार वा समूहले गाउँसहर थर्काएकै हुन् । त्यस्ता गीत आज पनि नेपालीका स्मृतिमा एउटा कहिल्यै नमर्ने ऊर्जाको श्रोत बनेर बसेकै छन् । लोकनाटकलाई प्रयोग गर्न सकिन्थ्यो, खासै भएन । गरिएन भनौँ । आधुनिक नाटक त ठूला नाटकघरहरूमा हुन्छन्, तिनको त कुरो अर्कै भइगयो ।
अब चैँ अलिकति साहित्यतिरको घोत्ल्याइँतिर लागौँ होला ।
स्वीकार्नुपर्ने एउटा कुरा छ । सो के भने, बौद्धिक विधा भएका कारण साहित्यले लोकगीतकै जस्तो घरघर पुगेर झकझक्याउँछ भन्ने चैँ हुँदैन । यसले बिस्तारै बौद्धिक बहस सिर्जना गर्ने हो । अपवाद केही होलान्, तर अधिकांह अवस्थामा सुरूमा, जसले आफूलाई जति नै प्रगतिशील भने पनि, साहित्य ठोक्किने एलिटकैमा हो । एलिटले जनमत निर्माणमा सहयोग गर्छन् ।
नीतिनिर्मातालाई खबरदारी गर्छन् वा बाटो देखाउँछन् । त्यहाँबाट गरिव, शोषित, वञ्चित र पीडितहरूको पक्षमा नीति बन्छ । कानुन बन्छ । व्यवस्था बन्छ । र, क्रमशः असमानता हट्दै जान्छ ।
सायद कुरो यो हो ।
तरै पनि, साहित्यमा आधुनिक बान्कीहरूको स्वभावको सीमाका कारण, प्रगतिशील आन्दोलनले लोक बान्कीको भरपूर प्रयोग गरेको भए हुन्थ्यो । तर गरेन । सायद, लोक भन्नाले पुरानो, र पुरानो भनिसक्दा यथास्थितिवादको रूपक अलङ्कार भन्ने बुझ्यौँ कि क्या हो ? छन्द कविताले, सबाईले, कथाले, गाथाले, भारतले…खोइ यस्तो काम गरेको देखिनुपर्ने जति परिमाणमा देखियो त? देखिएन नि ।
अब बानेश्वर बेङ्क्वेट गइन्नँ बाइ केही दिन ।
नेपालको प्रगतिशील भनिएको आधुनिक साहित्य पनि एलिटकै साहित्य हो । एलिटका लागि हो । एलिटको पाठ्यासामग्री हो । एलिटले पढ्छन् । एलिटले बहस गर्छन् । एलिटले विश्लेषण गर्छन् । अँ, ती एलिट, विचारले प्रगतिशील हुन् । अँ, ती साहित्यमा कथाव्यथा वञ्चितहरूको छ ।
हामीले यत्ति कुरा स्वीकार गरेर जाँदा हुन्छ — एलिटमार्फतै व्यवस्था परिवर्तन गर्ने प्रयोस हो यो सायद । यसले सिधै सर्वहारालाई तातो लाउँदैन । घुमाउरो पाराले लाउँछ सायद ।
बहसको अर्को एउटा पाटो पनि छ ।
प्रगतिशीलताको राजनैतिक धरातल माक्र्सवाद । जरुरी त छैन, तर कसो कसो यसै त बनाइयो । कि होइन?
र माक्र्सवादका केही मान्यता छन्, जसले यता अप्ठ्यारो पारिरहन्छ । जस्तो कि, धर्म र आस्थाका कुरा । एउटा सोह्र वर्षे बालकलाई लभ पर्यो भने एक जोडी मोजामध्येको एउटा चैँ ‘उनी’ लाई दिन्छु भन्नेसम्मको भावुकता देखाउँछ । यहाँ पनि, यो माक्र्सवादले सुरु सुरुमा छुँदाको ज्वरो १०४ डिग्रीभन्दा माथि हुन्छ सायद । नापिएन । थाहै भएन । समस्या कहाँनेर देखिन्छ भन्दा, पलपलमा, कदम कदममा, धर्म र आस्थाले अनुप्राणित देशमा छौँ हामी । मुहार फेर्नु छ यहाँ यी धार्मिक प्रकृतिका जनताहरूको । यहाँको संस्कृति भन्नु पनि, कहीँ न कहीँ धर्मकै मियो वरिपरि घुमेको देखिन्छ । कुरो नि, धर्म वा आस्थाको कुरो मान्छेको मर्मस्थलमा यसरी बसेको हुन्छ नि, मानाँै त्यो मुटुकै माथि टुपुक्क बसेको हुन्छ । त्यसलाई गरिने आक्रमणलाई सायद उनीहरू मुटुमाथिकै आक्रमण ठान्छन् । त्यसो भयो भने धेरै राजनैतिक वा बौद्धिक तर्कलाई स्वीकार्ने स्थितिमा उनीहरू देखिँदैनन् ।
अनि कि, हुन त धर्म वा आस्था एउटा शासक–निर्मित ‘अधिसंरचना’ होला । इडियोलजी होला । तर एक शताब्दी खुर्किँदा पनि गएन भने त्यो जाला? रामनामी त हामी नै ओढ्न थाल्यौँ त अचेल?
आगोले पोलेको ठाउँ आगैमा सेकाउनुपर्ने हुन्छ ।
यो धार्मिक अस्पृशर््ताको कुरो नेपालको प्रगतिशील साहित्यको शिरमै सवार छ एकातिर । अर्कोतिर, नेतादेखि जनता पूजापाठमा । लेखकहरू पनि दशैँको टीकोतिर, फूलपातीतिर । यो हाम्रो सांस्कृतिक बाध्यता हो । यसलाई किन सिद्धान्ततः अस्वीकार गरेजस्तो गर्नु, र व्यवहारतः यसैमा बाँच्नु ? म ठान्छु, हाम्रो माक्र्सवाद यहाँको हाम्रो धरातलीय स्वभाव र आवश्यतकामा अनुकूलित हुनु जरुरी छ । भएको पनि छ । त, भयो भनेर भन्नु चैँ हामीले नै पर्छ । त्यसो भयो भने, यहाँका जनताको मर्ममा भिजेका धार्मिक वा सांस्कृतिक निधीहरूलाई पनि त उनको चेतनाको स्तर उठाउन, अन्ययाका विरुद्ध लड्न, अथवा समानताको पक्षमा वकालत गर्न प्रयोग गर्न सकिन्छ । तर गरिएन कि? गर्न दिएन कि? केले दिएन, त्यो पत्तो लाउन कठिन छ । तर जेले दिएन, त्यो समस्याग्रस्त वाह्य तन्तु हो ।
अब अन्त्यमा दुइटा कुरा कोट्याऔँ ।
१. समकालीन प्रगतिशील साहित्यको एउटा परिणति के भएको देखिन्छ भने ‘मिसन राइटिङ’ खूबै फस्टाएको छ । लेखक जुनै कित्ताको होस् वा जुनै जात वा धर्मको होस्, ऊ नेपथ्यका पात्र वा समुदायको कुरा लेख्नतिर तल्लीन छ । यो स्वागतयोग्य कुरा हो । स्तुत्य कुरा पनि पनि हो । यसले, एकै प्रकारका मान्छेको वर्चस्व अथवा नायकत्वबाट साहित्यलाई जोगाउँछ । तर यसमा ध्यान दिनुपर्ने दुईतीन कुरा देखिन्छन् । पहिलो, यसमा समयको गर्तमा हराएर नजाने गुण के छ? त्यसमा ध्यान दिनु जररी देख्छु । दोस्रो, यसमा विषयको पट्टेरलाग्दो पुनरावृत्ति हुन्छ नै, त्यसमा नयाँपन कसरी दिने, त्यो लेखकको भारमा छ । र तेस्रो, आफूले नभोगेको कुरो, देखेको वा सुनेको भरमा लेख्दा कुरा कसो होला? धेरै किताब जलाइएको, अथवा कतिपय प्रसङ्ग्रलाई पछि संशोधन गरिएको वा हटाइएको पनि देखियो । त्यो दिन नै नआओस् ।
२. एउटा लेखक पोलिटिकल्ली के थियो, त्यो एउटा कुरा होला । तर, उसले लेखेर हाम्रो वाङ्मयको ढुकुटीमा छोडिगएको कुरो देशको हो । हामी सबैको हो । बीपी कांग्रेसका नेता । उनको साहित्य कसको? पारिजात वामपन्थी । उनको साहित्य कसको? अन्य उदाहरण जोड्दै जाऔँ । हामीले नकाम कहाँ गरेको छौँ भने हामी संस्था बनाउँछौँ, प्रतिष्ठान बनाउँछौ । बीपी प्रतिष्ठान । पारिजात स्मृति केन्द्र । बीपी भन्नु वा पारिजात भन्नु अब कांग्रेस वा कम्युनिस्ट होइनन् भन्ने म बुझ्छु । ती लेखक हुन्, र साझा हुन् भन्ने बुझ्छु । अब तिनका नाममा बनेका प्रतिष्ठानतिर रहेका हामी, हाम्रो कार्यक्रममा कित्ताकाट गरेर बसेका छौँ । बीपीका नामको संस्थामा मन्तव्य राख्ने, सम्मानित हुने, पुरस्कृत हुने, प्रतियोगिता वा छनोटको कुरोकन्थो छ भने त्यसको निर्णायकमा बस्ने अनिवार्यतः कांग्रेस । लेखक बीपी कांग्रेस हुन्? पारिजातका नाममा कथा उस्तै । कृष्णसेन इच्छुकका सन्दर्भमा कुरो उस्तै । सायद, रूपचन्द्र विष्टसम्म हान्ला यस रोगले । भानु प्रतिष्ठान र सिद्धिचरण प्रतिष्ठानको स्वभाव अलि भिन्न भएको बुझेको छु । यहाँ टिप्पणी गरिनँ ।
आफ्नो विराट प्रतिभाले साझा बनेका यस्ता प्रतिभालाई राजनीति गर्ने नाममा हामीले चुलोचौकोमा खुम्च्याउँदै गरेको ठीक साँचो हो । मेरो यस कुराले कसै कसैलाई अवश्य पनि ग्लनि होस् । होस् नै भन्छु ।
अन्त्यमा एउटा टिप्पणी नै भनौँ । पुँजीवादको भुमरी छ । भूमण्डलीकराणको लहर छ । नचाहेर पनि हामी यसलाई नकार्न सक्दैनौँ । यस्तोमा, प्रगतिशील चिन्तन र यी दुई वैश्विक याथर्थको गठजोड कहाँनेर संभव छ? विरोधै मात्रै गरेर चैँ कतै पुग्दैन । अतिशय शोषणका संभावनाप्रति सचेत गर्ने होला । अथवा, यिनका फाइदा आम मान्छेसम्म कसरी पुर्याउन सकिन्छ, त्यसको अनुसन्धान गर्ने होला । यानि, हाम्रो प्रगतिशील चिन्तनमा, प्रगतिको पक्षमा एउटा पाराडाइम सिफ्ट जरुरी देखिन्छ । र, यो आउँदैछ पनि । म यसलाई स्वागतयोग्य रुझान् ठान्छु ।
यसलाई स्वागत गर्न दुबोकै माला चाहिन्छ भन्ने होइन । चाहिँदैन । पार नलाग्ने ‘सैद्धान्तिक एङ्क्जाइटी’ मा बसिरहनु पनि पर्दैन हामीले ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।