
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक । मैनालीकाे ‘दृष्टि : दृष्टिकोण’देखि प्रोल्लास सिन्धुलीयकाे ‘भग्न भैरव’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
० ० ०
१. दृष्टि : दृष्टिकोण – युवराज मैनाली
समालोचक युवराज मैनालीकृत पुस्तक हो – “दृष्टि : दृष्टिकोण” । ३ सय १२ पृष्ठमा फैलिएको यस समालोचना सङ्ग्रहमा ‘एक अञ्जुली जूनकीरी’, ‘सन्तान’, ‘प्रकृतिमा मान्छे’, ‘उलार’, ‘नीलडाम’ आदि मुक्तक, कविता, निबन्ध, नाटक, उपन्यास २९ कृतिहरूको सूक्ष्म रूपमा मिहीन ढङ्गले समालोचनात्मक टिप्पणी गरिएको पाइन्छ ।
प्रकाशकीयमा लेखिएको छ, “कृतिविशेषलाई गहन अध्ययन गरी त्यसभित्रका सम्पूर्ण तथ्यहरूको सार खिची समीक्षात्मक विश्लेषण गर्नु नै समालोचनाको प्रमुख धर्म हो । प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठककेन्द्रित समालोचनाको बढी प्रयोग भएको छ । कृतिलाई फरक तरिकाले फरक ढङ्गबाट समालोचना गरिएको यसमा यथार्थपरक समालोचकीइ धर्म निर्वाह गरिएको छ । पाठक र पाठको भावनालाई ध्यान दिँदै सरल भाषामा नै यी समालोचनाहरू तयार भएका छन् । कथा, कविता, उपन्यास, निबन्ध आदिको कलात्मक पारामा मिथकीय प्रयोगका माध्यमबाट कृतिपरक समीक्षा गर्नु यसको प्रमुख विशेषता रहेको छ ।”
साझा प्रकाशनबाट बजारमा ल्याएको यस पुस्तकको मूल्य ५ सय ८० रुपियाँ रहेको छ ।
= = =
२. भग्न भैरव – प्रोल्लास सिन्धुलीय
लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास हो – “भग्न भैरव” । लेखकले रोचक घिमिरेलाई कथावाचक बनाएर भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई रोचक शैलीमा प्रस्तुत गरेका छन् ।
“कुशल हास्य-व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्र मात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो – भग्न भैरव ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “जीवनी र आख्यानलाई एक साथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ । समकालीन कवितको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ ।”
प्रोल्लास सिन्धुलीय लेख्छन्, “मैले सशरीर भैरव अर्याललाई देख्न-भेट्न पाउने सम्भावनै थिएन । तर, त्यो सन्नयासले मलाई उहाँसित ‘प्रत्यक्ष भेट भएको’ अनुभूति दिलायो । हृदयलाई नढाँटी भन्दा ‘भैरव आर्याल भनेका मैले देखे-भेटे-सङ्गत गरेकै मान्छे हुन्’ जस्तो लाग्न थाल्यो । एक पटक अर्यालकै प्रसङ्ग चल्दा रोचक घिमिरेको कुरा उठ्यो । मैले अनायास भनेछु, ‘उहाँलाई त मलाईभन्दा बढ्ता थाहा छ ।’”
पुस्तकलाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।
= = =
३. काँचुलीका लघुकथा – मञ्जु काँचुली तिवारी
साहित्यकार मञ्जु काँचुली तिवारीकृत लघुकथा सङ्ग्रह हो – “काँचुलीका लघुकथा” ।
९२ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘भोगाइ’, ‘मनका ढोका’, ‘एउटा कविको देहवसानपछि’, ‘राेग निदान’, ‘अचम्मको रोग’, ‘भकुण्डो कि पुतली !’, ‘नेताको परिभाषा’ लगायत ३८ थान लघुकथा सङ्ग्रहित छन् ।
‘काँचुलीका लघुकथा’मा आजको समाज छ । अव्यवस्थित राजनीतिको चित्रण छ । जीवन छ । दर्शन छ । महान् पुरुषको आडम्बरी प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । पारिवारिक समस्याहरूलाई सम्बोधन गरी वर्णनात्मक र नाटकीय शैलीको प्रयोगले लघुकथाहरू प्रभावशाली छन् ।
‘काँचुलीका लघुकथा’ले प्रेमको मिठो परिभाषा खोली विसङ्गत जीवनप्रति सकारात्मक हुन यसरी व्यक्त गरिएकाे पाइन्छ ।
‘सुख वा दुःखको चिन्ता छोड
आनन्द मनमा रहनेछौ
जिन्दगीलाई माया गर्ने गर
अनन्त माया पाउनेछौ
तथास्तु ।’
पुस्तकलाई मन्जु काँचुली तिवारीले प्रकाशनमा ल्याएका हुन् र पुस्तकको मूल्य १ सय ८० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

