म सानै छँदा मेरी हजुरआमा मोरङ जिल्लाको दक्षिण, भारत सीमा नजिक बस्नुभएका दाइलाई भेट्न सात-आठ घण्टाको पैदल यात्रामा एक-दुई वर्षमा एकपटक निस्कनुहुन्थ्यो । यी यात्रमा म केहीपटक हजुरआमाको साथी बनेको छु ।

तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुरआमा

प्रायः मङ्सिर या पुष महिना हुन्थ्यो, बस्तीहरू पातला थिए, आँखाले देख्नसकुन्जेलसम्म भर्खर धान काटेका पराल रङ्गका फाँटहरू हुन्थे । बस्तीछेउको बाटोमा किलामा ठोकर गाईवस्तु बाँधेका हुन्थे । तीनको दाम्लो कुल्चिनु हुँदैन, नाघ्नु हुँदैन भन्नुहुन्थ्यो हजुरआमा ।

सात आठवटा खोला तर्दै, आराम गर्दै, कुनै कुनै घरबाहिर हुने ट्युबवेल वा इनारको पानी खाँदै बिहान हिँडेका हामी साँझमा हजुरआमाको दाइलाई भेटन पुग्थ्यौँ । त्यति लामो बाटो हिँड्दा हामी के गफ गर्‍थ्यौं ? कि हामी चुपचाप हिँडिरहन्थ्यौँ ? हजुरआमासँग भएको गफ त केही पनि सम्झनामा छैन । तर निक्कै ठूलो भएपछिको भएको गफको एउटा सम्झनाले छक्क पार्छ, र दिमागमा त्यो कुरा खेलिरहन्छ । यो कुराको समय, मिति र खास प्रसङ्ग के थियो चाहिँ सम्झन सकिएनँ ।

कुराको लगभग प्रसङ्गचाँहि मरेपछि कता पुगिन्छ भन्ने थियो । भगवान् छन् की छैनन् ? नभए यो सृष्टि कसरी रचना भयो ? भए कता छन् ? किन देखिन्नन् ? अन्याय, असमानता थिचोमिचो जताततै हुँदा पनि भगवान् यदि हुन्थे भने तीनलाई चुप बस्न केले बाध्य बनाएको होला ? वा प्रजातिको पनि व्यक्तित्व तहसम्मको खोजखबर गरी राख्ने काम भगवान्को तहबाट हेर्दा अलि झर्कोलाग्दो पो हुँदो हो कि ? व्यवस्थापन गर्न अलि झन्झटिलो पो हुँदो हो कि ?

योगेन पौडेल

योगेन पौडेल

भगवान् भए कुन स्वरूपमा होलान् ? हिन्दु धर्मले भने जस्तो शिवलोक, ब्रम्हलोक, बिष्णुलोकतिर विभिन्न स्वरूपमा अथवा अन्य धर्महरूले कल्पना गरेको अन्य स्वरूपमा ? धर्म धेरै गरेरै कसैको जीवनलीला सकिएको रहेछ भने देवताहरू बस्ने स्वर्गलोकमा राख्ने कि भगवान्हरू बस्ने यी लोकहरूमा राख्ने, यसको निधो कसरी लाग्छ ? जिउँदै हुँदा चाहिँ सागर-महासागरतिर घुम्दै जाँदा मध्यसागरमा शेष नागमा सयन गरेका बिष्णु-लक्ष्मीलाई भेट्ने सम्भावना कति प्रतिशत छ ? अनि कति प्रतिशत सम्भावना छ कैलाश पर्वततिर हाइकिङ्ग गयो भने शिव-पार्वतीलाई भेट्ने ? खासमा भगवान् अव्यक्त तत्व हुन् कि व्यक्त स्वरूप हुन् ? या, आफ्नो ईच्छानुसार दुवै हुन् ? अथवा केही पनि होइनन् ? बरू मान्छेको पुस्तौँ-पुस्ताले सुल्झाउन नसकेका प्रत्येक रहस्यको मान्छेले नै निर्माण गरेको एउटा सहज उत्तर हुन् ? र, यिनको बसोबास मष्तिस्कले निर्माण गरिदइएको हृदयमा वा आत्मामा होइन, बरू मष्तिस्क आफैँमा मात्रै हुन्छ ?

थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ ।

केही वैज्ञानिकले भगवान् नहुँदा पनि सृष्टि सम्भव हुने तर्क गरेर पुस्तकहरू निकाले पनि यस्तो विश्वास गर्ने प्रतिशत सायद धेरै छैन । हुन पनि शून्यबाट पदार्थ आएर तारा, ग्रह, उपग्रह आए भन्ने कुरा पत्याउन गाह्रो । र, त्यति नै गाह्रो- कुनै एउटा सुन्दर दिन अणु र परमाणु, तापक्रम र चाप, जीवन बन्नको निमित्त चाहिने अन्य अनेकौँ बाह्य चीजबिजहरू एकआपसमा नजिक आइपुगे र तीनमा एउटा अद्भूत नास्तिक चमत्कार भयो, जसले निर्जीव पदार्थबाट सजीव पदार्थ बन्यो भन्ने सिद्धान्त बुझे जस्तो र पत्याए जस्तो गर्न । थोरै संशय हुँदाहुँदै पनि कम विकसित प्राणी क्रमिक रूपमा विकास हुँदै गएर मान्छे बन्यो भन्ने सिद्धान्तचाहिँ बरू पत्यारिलो लाग्छ । विश्वास गर्न त पाइहालियो नि ! रमाइलोचाहिँ यो सिद्धान्तले हाम्रो हिन्दू धर्मले मानेका भागवान्का अवतारहरूको विकासक्रमलाई समर्थन गरे झैँ लाग्ने । भगवान्का अवतार पनि त समुद्रबाट शुरू भएर बिस्तारै मानव अवतार भएको पढिएको छ । सबैभन्दा शुरुमा समुद्रमा बस्ने माछो, त्यसपछि पानी-जमीन दुवैतिर बस्ने कछुवा, पुर्णरूपमा जमीनमै र जनवारको स्वरूपमा बस्ने बँदेल, आधा जनावर र आधा मानव स्वरूपको नृसिंह, लघुमानव स्वरूप वामन र बल्ल पूर्ण मानव स्वरूपका, परशुराम र त्यसपछिका कृष्ण, बुद्ध र कल्की अवतारहरू ।

महाभारत, रामायण र भागवतका कथा सानैदेखि पढ्दै, सुन्दै आएरपछि ‘पाश्चात्य’ शिक्षा लिने-दिने कर्मबाट जीवन धान्ने धेरैका मनमा एकअर्काका परस्पर विरोधी र कुनै निर्क्यौलमा पुर्याउन नसक्ने यस्ता बेवारिसे खिचडी विचार आउनु मलाई स्वाभाविक लाग्छ । जति सोच्यो उति बिकराल, उति दुर्भेद्य, जति बुझ्यो उति जटिल । एकपटक मान्छे मर्ने, स्वर्ग नर्क जाने कुरा चलिरहेको बखत हजुरआमाले भन्नु भयो, “मलाई मान्छे मरेपछि सकिन्छ होला जस्तो लाग्छ । स्वर्ग पनि पुग्दैन नर्क पनि पुग्दैन जस्तो लाग्छ । आज छ, भोलि छैन त्यस्तो मात्र हुन्छ होला जस्तो लाग्छ ।

मानौं उज्यालो बत्ती कोठामा बलेको छ, अकस्मात् स्वीच अफ भयो, त्यो उज्यालो कता गयो ? त्यो उज्यालो सक्किए जस्तै सबै कुरा एकैपटक सक्किन पनि त सक्छ ? हजुरआमाले भनेको कुरा मैले करिब किरब यसरी नै बुझेँ ।

मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् ।

हुन पनि हजुरआमामा धार्मिक कर्मकाण्डमा अतिशोक्तिपूर्ण लगाव कहिल्यै नभएजस्तो लाग्छ । मधुरो, सुस्त तर निरन्तर चलिरहने पूर्वी हावाजस्तो अनुशासित दैनिकी देखिन्छ, जसभित्र केही क्रिया बिना कुनै छुट्टै यत्न आफैँ आउँछन् र पूर्ण हुन्छन् । र, कुनै स्व-सञ्चालित प्रणाली जस्तो दोहोरिइरहन्छन- दिन, हप्ता, महिना, वर्ष र वर्षौँवर्ष ।

हजुरआमाले गाउँघरमा सामान्य लाग्ने कुराहरू, जस्तैः धामी बोक्सीको कुरा, भूत प्रेत पीशाचको कुरा गरेको, चिना-टिप्पण मिलाउने, साइत जुराउने, ग्रह-दशा मन्साउने, शनीको साढेसाती दशा कटाउने कुरा गरेको कहिल्यै सुनिएन । के चाहिँ देख्छु भने, आफन्त बित्दा नून बार्नु हुन्छ, तुलसीको मोठमा बिहान र साँझ दुबैपटक नबिराई पानी हाल्नुहुन्छ, दियोलाई चाहिने बाती कात्नु हुन्छ, साँझ बिहान दियो बाल्ने र एकादसीको व्रत राख्नुहुन्छ । र, एउटी बिराली र त्यसका बेतैपिच्छेका छाउरा छाउरीलाई भोजनको प्रत्येक छाक खाने कुरा छुट्याएर राख्नुहुन्छ।

भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो ।

कहिलेकाहिँ सोच्छु धार्मिक पुस्तक र ‘पश्चिमा शिक्षा’को अघुलनशील कक्टेलले हाम्रो विचारमा कुनै निश्चित आकार लिन सकेको छैन । त्यसैकारण निचोड र निर्क्यौलबिहिन विरोधाभाषी वचारबाट हाम्रो पुस्ताको दिमागमा भरिएको छ । तर के हजुरआमाहरूको पुस्ता पनि बेलामैका यस्तै विरोधाभाषी विचार बोकेर बाँच्दछ ? संस्कार र परम्पराले ईश्वरको अस्तित्व सिकाउने तर विपत् पर्दा दसी प्रमाण उपलब्ध नहुने । त्रयो जिन्दगी पर्तिर केही छैन भन्ने सोच्ने हो भने हजुरआमाले गर्ने दैनिक धार्मीक कर्म के पाउनको निमित्त ? तर हजुरआमाहरू यी कर्म प्राप्तिको लालचसँग कुनै सम्बन्ध नभए जस्तो, बिना कुनै तर्कना, बिना कुनै यत्न, स्वाभाविक, स्वचालित हिसाबले गरिरहन्छन् । भगवान् हुनु र नहुनु, केही पाउनु र नपाउनुसँग सायद यिनको कुनै सम्बन्ध छैन । अझ खुलेर भन्नुपर्दा यस्तो लाग्छ, सायद यी स-साना दैनिकीका हिस्सा भगवान् खुसी पार्न गरेकै होइन, आफ्नै चित्त प्रसन्न बनाउन गरेको जस्तो । खासमा धेरैजनाका आमा र हजुरआमाहरूको दैनिकी यस्तै हुन्छ होला । कुनै कुरा लिनुपर्ने पनि हुँदैन, कसैसँग कुनै गुनासो, रिसराग र ठूलो वैमनस्य पनि हुँदैन । सन्तानहरूसँग एकोहोरो प्रेम गर्ने र आफूले गर्दैआएको कुरा प्रेमपूर्वक, निष्ठापूर्वक गर्ने र गरिरहने ।

प्राप्तिको कुरा कहिल्यै केही दिन नजान्ने एकोहोरो लिनुमात्र पर्ने आधुनिक जमानाका हामीहरू जस्ता प्राणीको दिमागले धेरै सोच्दो हो सायद । बृद्धावस्थाले शरीर कमजोर नै भए पनि बुलन्द जोश, उच्च आत्मविश्वास लिएर निरन्तर जीवनयात्रामा आफ्नै लयमा हिँडिरहेको हजुर आमाहरूलाई हृदयदेखिको सलाम ।