काव्यात्मक दस्ताबेज – अन्धकारको यात्री 

आमसञ्चारको क्षेत्रमा उज्यालो र गौरवी नाम हो – पुरुषोत्तम दाहाल । उहाँको परिचय यत्तिमै सीमित छैन । पुरुषोत्तम  दाइका अनेकौँ आयामहरू छन् – कवि / प्राध्यापक / राजनीतिज्ञ / मानव अधिकारकर्मी / समाजसेवी जस्ता क्षेत्रमा पनि उहाँको उपस्थिति प्रखर रूपमा स्थापित छ ।

‘व्यक्ति एक, आयाम अनेक’ उपमा दिन सकिने श्रद्धेय पुरुषोत्तम दाहालको ‘अन्धकारको यात्री’ कविता सङ्ग्रह  हातमा छ । २०७३ सालमा प्रकाशित यो कविता सङ्ग्रहका कविताहरूको मूल ‘गुभो’ लोकतान्त्रिक मूल्य-मान्यता र आदर्श समाजको परिकल्पना हो । उहाँ कवितामा उज्यालोको खोजीमा हुनुहुन्छ । निष्ठाको खोजीमा उभिनु हुन्छ र सत्यका पक्षमा सघन भावले सम्प्रेषित हुनुहुन्छ ।

मानवीय जीवनका अदृश्य कुराहरूलाई पनि सतहमा ल्याउन सक्ने प्रखर-चेत र खुबी उहाँमा छ भन्ने प्रस्ट प्रमाण ‘अन्धकारको यात्री’ कविता सङ्ग्रह हो । आत्मानुभूति, मार्मिक-चेत, व्यङ्ग्य, मौलिक-चिन्तन, विचार र दार्शनिक चेतना उनका कवितामा आविर्भूत हुने विषय हुन् ।

कतिपय कविताहरूमा दाहालको जीवन दर्शन उजागर भएको पाइन्छ भने कतिपयमा उहाँको उन्नत चेतनाको गहिराइ प्रस्टसँग देख्न सकिन्छ ।  पाठकलाई भावको गहिराइमा चुर्लुम्म डुबाउन सक्ने सामर्थ्य राख्नु दाहालकृत काव्योपसनाको निजत्व बनेको छ । समकालीन परिस्थितिहरूबाट सिर्जित सामाजिक व्यथिति, व्यभिचार र विसङ्गतिबाट कविताको निर्माण गरिएका भए पनि उनको काव्यशिल्प युगीन यथार्थका महत्त्वपूर्ण दस्ताबेज हुन् भन्ने मेरो ठम्याइ छ ।

* * *

प्राञ्जल भाषाको औपन्यासिक कृति – यशोधरा 

म केही दिनदेखि इतिहासको एक पात्रसँग घोत्लिइरहेको छु । हामीले कहिल्यै हेक्का नराखेको र खास महत्त्व नदिएको पात्रको रोमाञ्चक कथा पढ्दै छु । जसको सुखदुःख कहिल्यै नखोजेको पात्र । जीवन दर्शन कहिल्यै नबुझेको पात्र । हेर्दा कुनै  विशेष नठानेकाे, सामान्य रूपमा लिएको पात्रको मनोविज्ञान पढ्दै छु / बुझ्दै छु ।

नेपथ्यमा रहेकी पात्रको जीवनलाई मसिनोसँग केलाउनु पक्कै सजिलो विषय होइन । तत्कालीन परिवेशको चित्र यति सुन्दर र जीवन्त तवरले गर्न सक्नु ठट्टा होइन । हरिबोल काफ्लेकृत औपन्यासिक कृति यशोधराको कथावस्तु भिन्न मात्रै छैन । तत्कालीन समय / परिस्थिति / अवस्थित र वस्तुस्थितिको आख्यानी करणको परिकल्पना जीवन्त उतार्न सक्नु निक्कै महत्त्वपूर्ण मान्न सकिन्छ । गौतम बुद्धलाई नचिन्ने संसारमा निक्कै कम मानिस होलान् । तर उनको जीवन सङ्गिनी यशोधरालाई चिन्ने भनेको सामान्य ज्ञान घोक्नेहरू मात्रै हुन् । जसको इतिवृत्तान्त निक्कै कम मानिसहरूलाई थाहा होला । यशोधराको जीवनलाई नजीकबाट नियाल्न सक्नु नै यो उपन्यासको बलियो आधार हो ।

यशोधरा उपन्यासमा प्रमुख नायिकाको रूपमा यशोधरा देखिन्छन् भने नायकका रूपमा सिद्धार्थ गौतम रहेका छन् । यशोधरा जसले पार्श्वमा रहेर  सिद्धार्थ गौतमलाई विश्वको महान् आदर्श बुद्ध बनाउन सफल भइन् । आफ्ना सम्पूर्ण सपनालाई पार्श्वमा राखिदिइन् अनि अगाध प्रेम र स्नेहले सिद्धार्थलाई विश्वको महान् र आदर्श पात्र बनाउने अहम् भूमिका निर्माण गरिन् । त्यही पात्रको सामाजिक जीवन, हार्दिकता, सौन्दर्य र प्रेमका बारेमा लेखिएको सुन्दर पुस्तक हो – यशोधरा ।

सिद्धार्थ गौतमको गृहस्थ जीवनकी सहधर्मिणी यशोधराको जीवनमा आधारित अनुसन्धानात्मक औपन्यासिक कृति हो – यशोधरा । अनुसन्धानमा आधारित यो औपन्यासिक कृति एक उत्कृष्ट अनुसन्धान हो । राजकुमार सिद्धार्थ / गौतम बुद्ध एवम् राजकुमारी यशोधराको प्रेमिल कथाको गम्भीर उद्घाटन यो उपन्यासको आधारशिला बनेको छ । यो कृति निक्कै महत्त्वपूर्ण दस्ताबेजका रूपमा आएको छ । यशोधराको पाटोबाट सिद्धार्थ गौतम चिह्याउने यो उपन्यासको कथा शिल्प जत्ति कौतूहलपूर्ण छ, उत्तिकै यसको बुनौट प्रक्रिया पनि सुन्दर लाग्छ ।

भाषा प्राञ्जल  र लयात्मक छ । हरेक पृष्ठले पाठकको मनलाई चुम्बकीय आकर्षण गराउन पुग्छन् । लेखकीय रूपबाट हेर्दा उपन्यासकारको पहिलो पुस्तक भए पनि निक्कै खारिएको लेखनको अनुभव गर्न सकिन्छ । उपन्यासको हरेक पन्नाहरू पढ्दा कहीँ कतै नयाँ लेखक हुन् भन्ने अनुभूति हुँदैन । भाषिक प्रयोग उम्दा र उदाहरणीय लाग्छ । हरिबोल काफ्लेको   आरम्भिक उपस्थितिलाई शैली, शिल्प र सौन्दर्यका हिसाबले परिपक्व र प्रखर लेखकीय व्यक्तित्व हुन् भन्दा अत्युक्ति हुँदैन ।

समकालीन साहित्यमा उपन्यासको प्रवाह निक्कै महत्त्वपूर्ण मानिएको छ । यद्यपि नेपाली उपन्यासका क्षेत्रमा हरेक वर्ष जत्ति पनि उपन्यास आएका छन् त्यसले मात्रै सन्तुष्ट हुन सकिन्न । आख्यान विधाको सङ्ख्यात्मक उपस्थिति हेर्दा अपेक्षाकृत मुखर हुन सकेको देखिँदैन । यद्यपि हरिबोल काफ्लेको ‘यशोधरा’ नेपाली आख्यान भण्डारमा सङ्ख्यात्मक उपस्थिति मात्र नभई गुणात्मक उपस्थिति पटाक्षेप गर्ने सामर्थ्य राख्छ । आख्यानकार हरिबोल काफ्लेलाई हार्दिक बधाई तथा सतत शुभकामना ।

* * *

‘सत्याग्रह’मा सह-अस्तित्वको खोजी 

कुनै पनि कुरा ‘कथ्नु’ आफैँमा जटिल विषय हो । ‘देख्नु र ‘लेख्नु’ फरक कुरा हुन् । नेपाली साहित्यका अथक साधक प्रिय मित्र सूर्यप्रसाद लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रह हातमा छ । उनका कथाहरूको जग नेपाली समाज नै हो । तथापि समाजको सबै घटनालाई ‘कथा’ बनाउन सकिँदैन । समाजबाट प्राप्त गरेका हरेक कच्चापदार्थ नै सत्याग्रहको प्रमुख स्रोत हो भन्ने लाग्छ । यद्यपि काठको मुढाे पाउने सबैले हलो बनाउन सक्छन् भन्ने हुँदैन । हरेक व्यक्तिसँग आ-आफ्नै विशिष्टता हुन्छ । हलो ताछ्ने सीप भएकाहरूले मात्रै मुढोलाई सुन्दर हलोमा परिणत गर्न सक्छन् ।

हरेक कुरामा आ-आफ्नै सीप र दक्षता हुन्छ । समाजका हरेक विषयलाई सुन्दर कथा निर्माण गर्न सक्ने सामर्थ्य बोकेका सूर्यप्रसाद लाकोजूको सत्याग्रह कथासङ्ग्रह आफैँमा एक महत्त्वपूर्ण दस्ताबेज हो । लाकोजू यति बेला कथाकारको रूपमा आएका छन् । उनको परिचय नेपाली साहित्यका अनेकौँ विधामा देखिएको छ । साहित्यका अलावा संस्कृति र शिक्षाका क्षेत्रमा समेत सक्रिय लाकोजू व्यक्ति एक,आयाम अनेक भएका बहुप्रतिभा सम्पन्न स्रष्टा हुन् ।

सत्याग्रहभित्र एघार ओटा सामाजिक कथाहरू सङ्ग्रहित छन् । हरेक कथामा नेपाली समाज प्रतिबिम्बित भएको पाइन्छ । सङ्ग्रहको शिर्षककथा ‘सत्याग्रह’ एउटा प्रजातन्त्रप्रति निष्ठावान् पात्र नसनाको गौरवी कथा हो । उनले आफ्नो विवाहभन्दा सम्पूर्ण नेपालीको मुक्तिका लागि सङ्घर्ष स्वीकार गरिन ।

‘सत्याग्रह’, ‘कमाल’, ‘अव्यक्त प्रेम’, ‘घडेरी’, ‘लाले’, ‘आमा’, ‘स्मृतिका’, ‘उद्दार’, ‘उपहार’, ‘बुनू’ र ‘छविलाल काका’ गरी  जम्मा एघार कथा रहेको यो कथासङ्ग्रहमा समाज हरेक पाटा-पक्षको गहिरोसँग उधिनिएको पाइन्छ । उनका सबै कथाहरू सह-अस्तित्व र लोकतान्त्रिक धारका छन् ।

लाकोजूको कथा सामाजिक यथार्थ र युगीन चेतनाले राम्रोसँग भिजेका छन् । समाजको सूक्ष्म मनोविज्ञानलाई पर्गेल्न सक्नु र मानिसभित्रका सामाजिक सौन्दर्यलाई पात्रमा प्रतिबिम्बित गर्न सक्ने सामर्थ्य देखिन्छ । लाकोजूका कथाले समाज, संस्कृति, सभ्यता र सौन्दर्य जोड्ने महत्त्वपूर्ण रसायनको काम गरेका छन् ।

नेपाली कथा भण्डारमा सूर्यप्रसाद लाकोजूकृत ‘सत्याग्रह’ कथासङ्ग्रह महत्त्वपूर्ण सम्प्राप्ति हो भन्ने ठानेको छु ।