पिउनका लागि मात्र नपिउनोस्, जीवनलाई उत्सव बनाउन पिउनोस् ।
ज्याक केरोउक
सन् १९२२ मा अमेरिकामा जन्मिएका ज्याक केरोउकले अमेरिकी संसारलाई दिएको एउटा शब्द हो, बिट जेनरेसन । सन् १९५० को परम्परावादीभन्दा फरक जीवन बाँच्न खोज्ने पुस्ता नै बिट जेनरेसन हो । यो जेनरेसनले सांस्कृतिक रूपमा धेरै उथलपुथल ल्याएको थियो । संगीतमा बिटल्स लगायतका पुस्ता यही बेला जन्मिएर संसारभर तहल्का मच्चाएको थियो । उनको अन द रोड उपन्यासले बब डाइलन, हन्टर एस. थम्सन, केन केसीजस्ता सर्जकहरूलाई ठूलो प्रेरणाको काम गर्यो।
जिन्दगीलाई उत्सव बनाउनुपर्छ भन्ने मान्यता राख्ने ज्याक केरोउक हरेक दिन उत्सव र जोश जाँगरले भरिएको जिन्दगी चाहन्थे । त्यसैले यस्तो त खाली सेनाको जीवनमा मात्र हुन्छ भन्ने उनको मान्यता थियो । सेनाहरू जुनसुकै बेला जस्तोसुकै साहसका लागि तयार हुनुपर्छ भन्ने उनलाई लाग्थ्यो। त्यसैले अमेरिकी जलसेनामा भर्ति हुने इच्छा गरेका थिए । जलसेनामा उनको भर्ति नभए पनि सीमा सुरक्षा बलमा उनी छानिए ।
त्यहाँ उनको खास काम हुँदैनथ्यो । पानीमा कोही डुब्न लागेको थाहा पाए तिनलाई बचाउने बाहेक उनको काम हुँदैनथ्यो । यति दिक्कलाग्दो काम पनि हुन्छ भन्ने थाहा थिएन । त्यसैले उनले कोस्ट गार्डको जागिरको बेला एउटा गज्जबको काम गरे, पहिले अलिअलि रक्सी पिउँथे भने यो बेला रक्सीको मात्रा यति थपे कि गज्जबैसँग थपे ।
उनको रक्सी खाने कामले उनका साथीहरूलाई पनि दिक्क लाग्न थाल्यो । छेउको रक्सी भण्डारले पनि दिक्क भएर उनका वरिष्ठ अधिकारीलाई गुनासो गर्न भ्यायो । हुँदाहुँदा उनका अन्य कोस्ट कार्डले उनलाई ‘साइजोइड पर्सनालिटी’ भएको व्यक्ति ठान्थे । उनको यही रक्सीले उनको जागिर धरापमा पर्यो । हुन त उनलाई त्यसको मतलब पनि थिएन ।
जागिरबाट निकालापछि उनले सबैभन्दा महत्त्वपूर्ण काम चाहिँ कहिल्यै छाडेनन्, पिउने काम । यही पिउने क्रममा उनले प्रख्यात कृति जन्माए र अन द रोडले उनलाई अझैसम्म चिनाइरहेको छ ।
०००
संसारका मान्छेहरूले धाक लगाएर अमेरिका पिउने कुरा भर्खरै सिक्दैछ भने मसँग प्रतिस्पर्धा गरे हुन्छ, पक्कै तिनले आफ्नो हातमा ह्याम्मर ठोक्ने छन् ।
रिङ लार्डनर
सन् १८८५ मा अमेरिकामा जन्मिएका रिङ लार्डनर खेलकुद पत्रकार थिए । पछि उनका खेलमाथिका टिप्पणी ज्यादै पढिने स्तम्भ बन्न पुगेको थियो । उनको अखबारमा छापिएका कोलमहरूको संग्रह यु नो मि, एल प्रकाशित भएको थियो । उनले पछि कथासंग्रह पनि बजारमा ल्याए । त्यसको रोचक शीर्षक थियो, हाउ टु राइट सर्ट स्टोरिज् (विद् स्याम्पल्स) । यो किताबले उनलाई एकै झमटमा लेखकमाझ उभ्याएको थियो । जून मून नामक नाटक उनले जर्ज एस. कफम्यानसँग लेखेका थिए । यही मात्र उनको एक मात्र सुपरहिट ब्रोडवे नाटक थियो ।
अमेरिकाको सिकागोको एउटा अखबारमा खेलपत्रकारका रूपमा परिचय बनाउँदै गर्दा पनि रिङ लार्डनर कुख्यात पियक्कड थिए । उनले त अफिसमै मज्जाले पिउँथे । उनको जागिर जोगाउन कति पटक त उनका साथीहरूलाई हम्मे पर्थ्यो। सुधबुध गुमाउँथे कहिलेकाहीँ र उनका साथीहरूले ट्याक्सीमा कोचेर घरको ठेगानामा पुर्याइदिन आग्रह गर्थे ।
कहिलेकाहीँ रक्सी खाएपछि ट्याक्सीलाई घर पुर्याउन भन्थे तर घर कहाँ हो भन्ने थाहा नपाएर ट्याक्सीले शहर घुमाएको घुमायै गर्दा १३० डलर उठाइदिएको थियो । त्यो बेलाको १३० डलरको मूल्य कति थियो होला, तपाईं आफैँ कल्पना गर्न सक्नुहुन्छ ।
तपाईंले रक्सी कति घण्टासम्म लगातार पिउन सक्नुहुन्छ ? एक, दुई, तीन ? ल, भैगो आठ घण्टासम्म । यति चाहिँ मान्न सकिन्छ । तर रिङ लार्डनरले एक दिन आफ्ना सारा कीर्तिमान भङ्ग गर्दै ६० घण्टासम्म न्युयोर्कको एउटा बारमा बिताइदिएका छन् । त्यो क्लबको नाम थियो, फ्रायर्स क्लब । अहिले पनि सो क्लबले यी लेखकलाई हामीले ६० घण्टासम्म थेग्यौँ भन्नेमा गर्व गर्ने गर्छ ।
०००
रक्सीको प्रतिबन्ध छँदैछ, नोबेल पुरस्कार पाएर के गर्नु ?
सिन्क्लेयर लेविस
१८८५ मा अमेरिकामा जन्मिएका सिन्क्लेयर लेविस प्रख्यात नाटककार तथा उपन्यासकार थिए । उनको निधन सन् १९५१ मा भएको थियो ।उनले अमेरिकी मध्यम वर्गीय जीवनमाथि निकै चर्चित व्यंग्य गरेर रचनाहरू लेखेका छन् । उनको छैटौँ उपन्यास मेन स्ट्रिटले संसारभर चिनाएको थियो । एरोस्मिथ उपन्यासले उनलाई पुलित्जर पुरस्कार जिताएको थियो । तर उनले सो पुरस्कार लिन अस्वीकार गरे । सन् १९३० मा उनलाई साहित्यमा नोबेल पुरस्कार दिइएको थियो । उनी यो पुरस्कार प्राप्त गर्ने प्रथम अमेरिकी लेखक थिए ।
यो कुरा चाहिँ नोबेल साहित्य पुरस्कार पाएलगत्तैको कुरा हो । २१ क्लबमा रक्सीले चूर भएपछि सिन्क्लेयर लेविस पिसाबले च्यापेर ट्वाइलेटतिर लागे । त्यहाँ अर्को कुनै साथीसँग उनी अर्का प्रतिस्पर्धी जोन ओ’हाराका बारेमा कडा आलोचना गरिरहेका थिए । खासमा जोनले हालै निस्किएको अप्वाइन्टमेन्ट इन् सामारा किताबको चर्को आलोचना गरेर लेखिएको आलेख भर्खरै छापिएको थियो । बजारमा त्यसको होहल्ला भइरहेका बेला ओ’हारा पनि त्यही पिसाब फेर्न टुप्लुक्क आइपुगे ।
भर्खरै आफ्नाबारेमा मुख बङ्ग्याउँदै अभिनय गर्दै आफैँलाई जिस्क्याउने सिन्क्लेयरले लेखेको आलोचनाबाट चित्त नबुझेकाले त्यही ठाउँमा ठूलो स्वरमा तैँले साहित्य के बुझ्या छस् भन्दै गाली गर्दै कुट्नै छोप्न लागेपछि पेन्ट नै राम्रोसँग नलगाई ट्वाइलेटबाट उनी टाप कसे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।