पुराना, युनिक चिजहरू किन्ने र बेच्ने संस्था क्रिस्टीजले आफ्नो संग्रहमा रहेका दुर्लभ पुस्तकहरूको बिक्री गर्ने भएको छ ।

ब्रुस लिसम्यानसँग संकलनमा रहेका दुर्लभ पुस्तकहरू बिक्रीका लागि खुला गरिएको हो । क्रिस्टीजको सो घोषणासँगै पुराना, युनिक र दुर्लभ पुस्तकहरूका संकलन गर्ने सोखिनहरूबीच यतिबेला चासो, चर्चा र दौडधुप शुरू भएको छ ।

क्रिस्टिजसँग रहेका अनेकन् दुर्लभ चिजहरूमध्ये ३०० वटा ऐतिहासिक साहित्यिक किताब र चिठ्ठीपत्रहरू बेच्ने तयारी भइरहेको हो ।
दुर्लभ साहित्यिक कृति वा चिठ्ठीहरूमध्ये केही ह्यारियट बीचर स्टोवी, वासिङ्टन इर्भिङ, वाल्ट ह्विटम्यान र फिलिस ह्विटलीजस्ता साहित्यकारहरू छन् ।

लिसम्यान दुर्लभ साहित्यिक चिजबिज संकलन गर्नका लागि निकै ख्यातिप्राप्त व्यक्ति हुन् । उनीसँग अमेरिकी संविधानको पहिलो संस्करणको पहिलो प्रति पनि छ । संविधानको मूल्य यतिबेला बजारमा चार करोड ३० लाख डलर पर्छ । त्यस्तै उनीसँग रहेको दुर्लभ हिब्रु भाषाको बाइबलको मोल ३ करोड ८१ लाख डलर मूल्य तोकिएको छ ।

ब्रुस लिसम्यान

कोभिड महामारीपछि युवापुस्ताहरूको रूचि यस्ता दुर्लभ वस्तुमा सरेको चाल पाएपछि यस्ता चिजको मूल्य पनि बढ्न थालेको क्रिस्टीमा दुर्लभ पुस्तक विज्ञ क्रिस्टिना गेइजर बताउँछिन् ।

लगभग हराउने अवस्थामा पुगेका ती पुस्तकहरूमाथि नयाँ पुस्ताको चासोका कारण एक पटक पुनः दुर्लभ पुस्तकको बजारले नयाँ उचाइ लिएको गेइजरको धारणा छ ।

यतिबेला १८५५ ताका वाल्ट ह्विटम्यानको शुरूवाती संघर्षका दौरान प्रख्यात साहित्यकार राल्फ वाल्डो इमर्सनले ह्विटम्यानको प्रतिभाको प्रशंसा गर्दै लेखेको चिठ्ठी पनि बिक्रीका लागि राखिएको छ । इमर्सनले ह्विटम्यानको प्रख्यात कविता संग्रह लिभ्स अफ ग्रासका केही कविता पढेपछि आफू प्रभावित भएको भनी लेखेको पत्रको मूल्य २ लाख डलर तोकिएको छ ।

यस्तै अर्का साहित्यकार वासिङ्टन इर्भिङको व्यंग्यात्मक आलेख, जसमा उनले न्युयोर्क सहरलाई गोथम भनी नामकरण गरेको पत्र ४० हजार डलरमा बिक्री गरिने भएको छ ।

यसैगरी अश्लील साहित्यको उपमा पाएर कुनै समय प्रतिबन्धसमेत झेलेको द स्कार्लेट लेटरको पहिलो संस्करणको प्रुफ हेरिएको संस्करण पनि बिक्रीका लागि राखिएको छ । उपन्यासकार नाथनेल हथोर्नकी खनातिनी एलिसन हथोर्न डेमिङले सन् १८५० ताका प्रकाशित सो मास्टरपिसको १४४ पृष्ठमा हातैले प्रुफ हेरिएको किताब बिक्रीमा रहेकोमा आश्चर्य व्यक्त गरेकी छन् । हाल एरिजोना विश्वविद्यालयकी क्रिएटिभ राइटिङकी अवकाशप्राप्त प्राध्यापकले सो पुस्तक किन्न नपाएकामा चुकचुकी गरेकी छन् । यद्यपि, सो पुस्तकको बिक्रीको भिडियो लाइभ स्ट्रिमिङ भने हेर्ने बताएकी छन् ।

नाथनेलले जीवनको अधिकांश समय निकै आर्थिक समस्या झेल्नु परेको थियो । त्यसैले परिवारसँग पुराना कुराहरू निकै कम रहेको प्रतिक्रिया एलिसनले बताइन् । तथापि, सो पुस्तक कुनै एक साहित्यकारका परिवारको सम्पत्ति मात्र नभई संसारकै सम्पत्ति भएकाले त्यो आफूसँग हुनु वा नहुनुले खासै फरक नपर्ने बताइन् ।

बाल्यकालदेखि नै दुर्लभ किताब मोह हुर्काएका लिसम्यान अमेरिकाको भर्मन्टस्थित बर्लिङटनमा हुर्किएका हुन् । उनीसँग सधैँ सुत्ने ठाउँमा किताबको चाङ हुने गर्थ्यो । खासगरी उनका बुवाले आफ्ना सन्तानहरूलाई पुराना संस्करणका किताब किन्न, तिनलाई पढ्न प्रोत्साहित गर्थे । सोही कारणले उनीसँग सन् १८०० ताकाका धेरै किताबहरू संकलित हुन पुगेको बताउँछन् ।

आफूसँग संकलित भएका किताबको त एउटा कथा भयो, अर्को कथा पनि कम रोचक छैन । उनी सन् १९८८ ताका बियर स्टर्न्स नामक सेयर बजारको कारोबारी कम्पनीमा काम गर्थे । त्यो बेला कम्पनीले उनलाई पुस्तक प्रदर्शनीमा केही दुर्लभ चिज पाइन्छ कि भनेर हेर्न पठायो । त्यसै पनि पुराना किताबका सोखिन उनले छानीछानी केही किताबहरू हात पारे ।

यसपछि त उनी पुराना किताब संकलन गर्ने अनेकन पुस्तकालयहरू पनि धाउन थाले । उनले हेनरी ब्राडली मार्टिनको पुस्तकालयलाई आँखा चिम्लेर किने । त्यहाँ अमेरिकी साहित्यका शुरूवातकर्ताहरूका थुप्रै चिजबिज भेटिए । यसबाट उनी ज्यादै उत्साहित भएर दुर्लभ पुस्तकहरूको संकलन गर्ने कुरालाई पूरा समय दिन थाले । यसपछिका ४० वर्ष उनले यही कामलाई समय दिएका थिए ।

सन् १७६५ मा बजारमा आएको नाटक द प्रिन्स अफ पार्थियालाई उनले एक हजार डलर मूल्य तोकेका छन् । जबकि यसका लेखक थोमस गडफ्रे खासै चलेका होइनन् तर दुर्लभताले उनको यो पुस्तक स्वाट्टै बिक्री हुने उनको विश्वास छ । त्यस्तै अमेरिकाको पहिलो जासुसी उपन्यास द अल्जेरिन स्पाई इन पेन्सिलभेनियालाई भने १० हजार डलरमा बिक्री गर्ने अपेक्षा गरेका छन् । यो त्यो बेला भर्खरै स्थापित भएको अमेरिकाको प्रपोगन्डाका लागि निकालिएको उपन्यास थियो ।

लिसम्यानले बिक्रीमा राखेका पुस्तकहरूमध्ये अर्को रोचक पुस्तक चाहिँ सुसाना रोअसनको चारलोटीः अ टेल अफ ट्रुथ पनि हो । सुसानाले सन् १७९४ ताका यो उपन्यास बजारमा ल्याउँदा पुरूषको नाउँ राखेर निकालेकी थिइन् । एक त महिलाले लेखेका उपन्यास पढ्न लायक हुँदैन भन्ने भाव प्रवल थियो । यो उपन्यास महिलाले लेखेको पहिलो अमेरिकी बेस्टसेलर उपन्यासका रूपमा पनि प्रख्यात छ । यसलाई करिब १२ हजार डलरमा बिक्री गर्ने लक्ष्य लिसम्यानको छ ।