आचार्य पीपलमणि सिग्देल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाअन्तर्गत नेपाली संस्कृति, भाषा, साहित्य संरक्षण तथा संवर्धन समितिका संयोजक हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री तथा दर्शन शास्त्रमा आचार्य गर्नुभएका साहित्यकार सिग्देलले नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुका साथै अङ्ग्रेजी तथा हिन्दी साहित्यसम्म अध्ययनको सीमा फैल्याउनुभएको छ । नेपालको सिन्धुपाल्चोकमा जन्मिएर हाल अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाइरहनुभएका कवि सिग्देलले समय समयमा प्रकाशित सिर्जना, आलेख तथा विचार समेटिएको रचनासङ्ग्रह प्रकाशनको तयारी गरिरहनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठमा प्राध्यापनसमेत गर्नुभएका सिग्देलले आँकुरापुञ्ज कवितासङ्ग्रह प्रकाशन गरी नेपाली साहित्यको पर्खालका लागि एउटा इँटा थपिसक्नुभएको छ । आफ्नो कलमलाई साहित्यका अनेक विधामा दौडाउन चाहने सिग्देलको प्रमुख सिर्जना कविता क्षेत्रमा रहेको पाइन्छ ।

प्रस्तुत छ, साहित्यकार सिग्देलसँग भाषा तथा साहित्यका विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश :

0 0 0

तपाईंले अमेरिकाजस्तो व्यस्त ठाउँमा बसेर पनि अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनुभएको छ ?

पीपलमणि सिग्देल

पीपलमणि सिग्देल

– समयको अभावले मनको अन्तर कुन्तरबाट समय समयमा मौलाउने सबै भावनालाई समेट्न सकेको छैन । कति विचार समुद्रको तरङ्गजस्तै उठ्छन् र बिलाउँछन् । बिहान र दिनमा सोचेका अनेकौँ बिम्ब बेलुकी हराउँछन् । कतिपय लेखेका विषय पनि छाँटकाँट गर्न नपाउँदा त्यसै ओइलिएर झर्छन् । कति पय सुनाउनुपर्ने रचना र छापिनुपर्ने केही मात्र रचना तयार हुन्छन् । त्यसलाई रङ्गरोगन गरेर प्रकाशन गर्ने प्रयत्न गरिरहेको छु । पहिले कविता सङ्ग्रह प्रकाशन गरेपछि अहिले विविध समयमा प्रकाशित रचनाको सँगालो प्रकाशन गर्ने तयारी मा छु । अहिले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाअन्तर्गत नेपाली संस्कृति, भाषा, साहित्य संरक्षण तथा संवर्धन समितिले प्रकाशन गर्न लागेको साहित्यिक सँगालो साहित्य सौरभको सम्पादनमा समेत जुटिरहेको छु ।

नेपाली साहित्यको उन्नयनमा गैरआवासीय सङ्घले कसरी भूमिका खेलेको छ ?

– एक पटकको नेपाली सधैँको नेपाली भन्ने मन्त्र बोकेर अघि बढिरहेको गैरआवासीय नेपाली संघ नेपाल र परदेश जोड्ने सेतु संस्था हो । यसका विविध समितिहरू मध्ये भाषा, साहित्य एवं संस्कृति समितिको प्रधान भूमिका रहने गर्दछ । आफ्नो भाषा, पहिचान, साहित्य संस्कृति नै वास्तवमा हाम्रो परिचय हो । यो परिचयलाई बोकेर अघि बढेमा हामी नेपाली भएको सार्थकता पनि सिद्ध हुन्छ । विवाद र असमझदारीलाई तिलाञ्जली दिएर एकता र मौलिकता अङ्गीकार गर्दै अघि बढ्न सके हामी जीवित रहन सक्छौँ । यसै वास्तविकतालाई हृदयङ्गम गर्दै यस संस्थाको समितिमा आबद्ध हुँदै आएको छु ।

अमेरिकाको यस समितिमा बन्दना कोइराला संयोजक हुँदा म सदस्यको रूपमा थिएँ भने सर्वज्ञ वाग्ले संयोजक हुँदा सहसंयोजकको भूमिकामा थिएँ । सन् २०२१ मा सङ्घको अध्यक्ष बुद्धिसागर सुवेदी निर्वाचित भएपछि म संयोजकको रूपमा कार्यरत छु भने सर्वज्ञ वाग्ले संरक्षकको रूपमा हुनुहुन्छ भने वरिष्ठ सर्जकहरू समेत यसमा जोडिनुभएको छ ।

राजेन्द्र प्रसाद अर्याल, डा.छत्रपति दाहाल, कृष्ण गिरि, सीता अर्याल, कोमलप्रसाद भट्ट, भावना खतिवडा, गोकुल सापकोटा, राजेन्द्र खानाल, चूडामणि पाठक, गोवर्द्धन पूजा, रामकुमार सुवेदी, गुणराज लुइटेल, सुदीपभद्र खनाल, गायत्री तिमल्सिना, हरिप्रसाद काफ्ले, शान्ता घिमिरे अधिकारी, मेनका पराजुली, रीतादेवी प्रधान, रेवतीराज अधिकारी, परशुराम भण्डारी, अग्नि पराजुलीलगायतका साहित्यकारहरूले यो चौतारी मनोरम बन्ने गरेको छ र मलाई केही न केही रूपमा कलम चलाउन हौसला दिने गर्दछ ।

विगत ४ वर्षदेखि नै हरेक महिनाको अन्तिम शनिवार जुम तथा लाइभ माध्यमबाट साहित्यिक कार्यक्रम गरिरहेका छौँ । यसरी कार्यक्रम गर्दा नेपाल र अमेरिकालाई साहित्यिक पुलले जोड्ने तथा नेपाल प्रज्ञा प्रतिष्ठान एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायत भाषा, साहित्य, वाङ्गमय एवं नेपाली पहिचानसँग सम्बन्धित संस्थाहरूसँग हातेमालो गर्दै कसरी अघि बढ्न सकिन्छ भनेर विशेष ध्यान दिइरहेका छौँ । पहिलो पुस्ताको ज्ञान र कलालाई पुस्तान्तरण गर्दै नयाँ पुस्ताका लागि योग्य र प्रशिक्षित पार्नु आजको आवश्यकता हो । यस विषयमा अनेकौँ प्रयास भए पनि आगामी दिनमा एकताबद्ध रूपमा थप योगदान हुनुपर्ने देखिन्छ ।

छन्दसाधना समूह, अमेरिकामा तपाईंको के भूमिका छ ?

– मेरो यसमा कला र मिठासको आनन्द लिने नै प्रमुख भूमिका हो । यो एक साधना समूह हो, आन्दोलन हो या अझ भनौँ चौतारी हो । अमेरिकामा रहनुभएका छन्द कविता सिर्जना गर्ने सर्जकहरूmको अभियान हो । यसले सबै साहित्यका सबै विधा र शैलीलाई उच्च सम्मान गर्दै छन्दमा कविता लेख्ने, सुन्ने र सुनाउने गतिविधिलाई प्रोत्साहन गरिआएको छ ।

साहित्यकारहरू सुदीपभद्र खनाल, परशु तिमल्सिना, गोपाल रेग्मी, मोहन सिटौला, पीताम्बर दाहाल, कोमल भट्ट, दुर्गा रिजाल, गायत्री तिमल्सिना, हरि घिमिरे, प्रकाश पाण्डे, धर्म कोइराला, मधु घिमिरे, हरिप्रसाद काफ्ले, राजेन्द्र श्रेष्ठ, रश्मी भट्टलगायतका अभियन्ता यसमा साधनारत हुनुहुन्छ । कोरोना कालमा र त्यसपछि पनि समय समयमा जुम र लाइभ प्रशारण मार्फत् अनेकौँ काव्यगोष्ठी सञ्चालित भए । मैले पनि केही रचना सिर्जना गर्ने र सुनाउने अवसर पाएँ । अहिले ती सुनिएका सिर्जना सङ्कलन गरेर कृतिसमेत प्रकाशन गर्ने तयारी भइरहेको सुनाउन पाउँदा गौरवान्वित महसुस गर्दछु । यस्ता गतिविधि अनवरत चलिरहोस् भन्ने मेरो सदिच्छा रहेको छ ।

निरन्तर शनिवार अभियानसँग पनि तपाईंलाई जोडिन्छ नि ? यो कस्तो अभियान हो ?

– निरन्तर शनिवारको साहित्यिक यात्राको पनि आफ्नै कथा छ । वि. सं. २०५९ र २०६० ताका तत्कालीन राजा ज्ञानेन्द्रको उच्च महत्त्वाकाङ्क्षाले नेपाली राजनीतिको आकाशमा अचानक कालो बादल कुर्लिन थाल्यो । राजनीतिक स्वतन्त्रतामार्फत समाज रूपान्तरणको उद्घोष गर्दै मैदानमा समर्पित नौजवान युवाहरूमा थप चुनौतीको पहाड ठडियो ।

त्यही समय वर्षौंदेखि माओवादका नाममा हत्याहिंसाको राजनीतिमा विश्वास गरेर उर्लिएको शक्ति व्यक्ति हत्यामा केन्द्रित थियो । क्रूर अमानवीयताको पराकाष्ठाले हरेक दिन कुनै साथी गुमाउनुपरेको, आमाको काख रित्तिएको, नारी बिधुवा हुनुपरेको या धेरै अपाङ्ग हुनुपरेको समाचार सुन्न हरेक दिन बाध्य हुनुपर्थ्यो । त्यो समयमा प्रजातान्त्रिक समाजवादमा आस्था राखी सक्रिय राजनीति गर्नेहरूको जीवन खुकुरीको धारभन्दा पनि कठिन दरबार तथा जङ्गलबाट सोझिएका दुई नालको बिचमा थियो ।

त्यसैले प्रतिकूल परिस्थितिमा जीवन बचाउनु जति जरुरी थियो त्योभन्दा नि धेरै जरुरी विचार बचाउनु थियो । त्यो विचार केवल मशाल बोकेका, टायर बालेका र पत्थर फालेका हातहरूले मात्र पुष्पित हुने कुरा थिएन, त्यसका लागि अन्तर मनबाट प्रस्फुटित सिर्जनाको विकाश हुनु जरुरी थियो । त्यसैले आफैँ सिर्जनशील भए मात्र सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने यथार्थलाई हृदयङ्गम गर्दै केही युवाका मन धड्कन थाले । चिया पिउनका लागि बसेको समयमा पनि यस्तै चिन्तन गर्दागर्दै परिकल्पना तयार भयो — निरन्तर शनिवारको ।

आदरणीय सर्जकहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे, विष्णु पन्थी, बद्री अर्याल, केशव कोइराला, टेकनाथ दाहाल, धर्मचन्द्र नेम्वांग, मनोजमणि आचार्य, सोझो गाउँले, उर्मिला थपलिया, डिल्लीराम सुवेदी, भुपेन्द्र राई, नारायन गाउँले, नीलकण्ठ रिजाल, डा. निरजमान श्रेष्ठ, कृष्ण रिजाल, लक्ष्मण पन्थी, सुदर्शन सिग्देल, गणेश सिग्देल, चन्दा अधिकारी, विनिता अधिकारी, लगायतका सहभागीहरूसँगै म पनि शनिवार बिहान हुने कार्यक्रममा प्रायः उपस्थित हुन्थेँ । सरकारी वक्र दृष्टिबाट बच्नुपर्ने भएकाले कार्यक्रमको स्थान निश्चित हुँदैनथ्यो ।

कहिले वाल्मीकि विद्यापीठ, कहिले लैनचौर, कहिले पशुपति क्याम्पस त कहिले बागबजारको सानो कार्यालयमा, मानौँ घुम्ती साहित्य थियो त्यो । हरेक शनिवार साहित्यका अनेक विधामा नौला नौला आयामका साथ धड्किएमा भावना कोपिला बन्दै पुष्पित हुन थालिसकेका थिए । साहित्यमा राजनीतिक क्रान्तिकारितादेखि वैचारिक भावभङ्गीमा समेटिएका हुन्थे, कतै माया प्रेमका तानाबाना त कतै देशप्रेम छचल्किएको पाइन्थ्यो । कुनै दिन पहिले नै दिइएको विषय या शीर्षक त कहिले आशु लेखन, यसरी नै हरेक शनिवार गतिविधि चल्दै गए ।

एक दिन शनिवार त एकल प्रस्तुति गर्ने मौका पनि पाएको थिएँ । लैनचौरमा सम्पन्न त्यस कार्यक्रममा मैले मेरा केही रचना तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको बहुचर्चित रचना मुनामदनको वाचन र विश्लेषण गरेको थिएँ । अर्को एक कार्यक्रम पनि अविस्मरणीय रह्यो । निरङ्कुश शासनको विरोध स्वरmप खुला कोण काव्यसभा गर्ने निर्णय भयो । स्थान इन्द्रचोक छनौट गरियो । छानिएका कविता वाचन गर्ने योजना थियो । त्यस दिन मैले श्रीपेचमा न्याय कदापि हुन्न भन्ने शीर्षकको कविता सुनाएको थिएँ । प्रहरी हस्तक्षेप हुनुभन्दा पहिले नै धेरै कवि साथीहरूले स्वतन्त्रताको चाहना राखिएका कविता वाचन गर्नुभएको थियो ।

२०६५ सालमा म अमेरिका आएपछि पनि हरेक शनिवार मेरो मानसपटलमा निरन्तर शनिवारको झझल्को आई नै रह्यो । अहिले पनि शनिवार म झस्कन्छु । यस कार्यक्रमसम्बन्धी गतिविधिको सूचना देख्दा म हर्षित हुन्छु । केही वर्ष पहिले आदरणीय विश्वप्रकाश शर्मा न्युयोर्क आउँदा त उहाँले महावाणिज्यदूत आदरणीय कृसु क्षेत्रीज्यूसँग मिलेर साहित्यिक गतिविधि गर्न हौसलासमेत दिनुभएको थियो । केही वर्ष पहिले निरन्तर शनिवारका वर्तमान संयोजक डिल्लीराज सुवेदीजीसँग न्युयोर्कमा भेटघाट हुँदा अमेरिकामा साहित्यिक गतिविधि गर्नुपर्ने विषयमा नै कुराकानी भएको म सम्झन्छु ।

कोरोना कहरको अत्यासलाग्दो समयमा पनि जुम तथा लाइभ कार्यक्रम गरेर अहिले पनि यो अभियानमा जोडिएको गर्व गर्दछु । अहिलेसम्म त सम्भव भएको छैन कुनै दिन निरन्तर शनिवारको कार्यक्रम न्युयोर्कमा समेत हुनेछ भन्नेमा म आशावादी छु । नेपाली साहित्यमा निरन्तर शनिवारको अभियान एउटा आयाम हो भन्ने मेरो ठम्याइ छ ।

कविता र साहित्यका अन्य विधालाई कसरी हेर्नुभएको छ ?

– कविताले चार हजार वर्षको यात्रा तय गरिसकेको छ । कविता साहित्यको सबैभन्दा जेठो विधा पनि हो । संस्कृत साहित्य दुई भागमा विभाजित छ: श्रव्य र दृश्य । दृश्य विधाअन्तर्गत नाटक पर्दछ भने श्रव्य विधाअन्तर्गत गद्य र पद्य विधा पर्दछन् ।

कविता पद्य विधाअन्तर्गत पर्दछ । जीवन र जगत्का सूक्ष्म अनुभूति कवि हृदयमार्फत् प्रस्फुटित हुँदा थपिने लयात्मक स्वरूपले कविता जन्माउँछ । कविता रचनाको विकास क्रमसँगै गद्यमा पनि लयात्मक छटा भेटिन थालेपछि गद्य कविताको विकास भएको हो । वर्तमानका गद्य कविताको रचना धेरै मात्रामा हुने गरेको छ । गद्य साहित्यका अन्य विधा कथा, उपन्यास, निबन्ध, जीवनी आदि भन्दा गद्य कविताको पृथक् पहिचान छ । लयले नै कविता र अन्य गद्य साहित्यमा भेद स्पष्ट पार्दछ । गीत, गजल र कवितामा केही समानता देखिए पनि गजल र गीतमा गायन पक्ष सबल हुन्छ भने कविता अनुभूतिको रागात्मक कथन लयबद्ध तवरले व्यक्त भएपछि जन्मिन्छ ।

अतः कविता नाटक, कथा, निबन्ध, उपन्यास, जीवनीका साथै गीत र गजलभन्दा पनि फरक विधा हो जस्तो मलाई लाग्छ ।

कवितालाई कसरी चिनाउन सकिन्छ ?

– मेरो विचारमा कविता पनि प्रतिभा, व्युत्पत्ति र अभ्यासको समग्र परिणाम नै हो । कविताको स्वरूप अत्यन्त वैयक्तिक हुन्छ । व्यक्तिगत भाव र विचारको प्रस्तुति कवितामा हुने भएकाले कवितालाई एउटै नामले चिनाउन कठिन हुन्छ । सिर्जनापछि समालोचनाको जन्म हुन्छ अर्थात् जन्मपछि नामकरण हुन्छ । एउटै वस्तुलाई त अनेक दृष्टिले हेर्ने गरिन्छ भने कविता जस्तो गहनतम विषयमा विद्वान्हरूको फरक मत हुनु पनि स्वाभाविक नै हो । भिन्न भिन्न कविताको भिन्न परिचय हुन सक्छ । एउटा कवितालाई मात्र सिद्धान्तको कसीमा राखेर हेर्न सकिँदैन । अतः धेरै कविताको समग्र मूल्याङ्कन गरी कविता सिद्धान्त तयार गरिएको हुन्छ ।

संस्कृत, अङ्ग्रेजी र नेपाली साहित्यको आँखाबाट कवितालाई कसरी हेरिएको छ ?

– शुक्लयजुर्वेदमा मनीषी, परिभू र स्वयम्भू भनेर कविको परिचय दिइएको पाइन्छ । त्यसै गरी वैदिक साहित्यमा भने ‘कवि’, ‘द्रष्टा’ र ‘ऋषि’लाई समानार्थीको रूपमा मानिएको पाइन्छ । संस्कृतको कोशले पनि कान्तादर्शी, मनीषी, विद्वान् आदि शब्दलाई पर्यायवाची शब्दको रूपमा उल्लेख गरेको छ । आचार्य आनन्दवर्धनले पनि कविलाई अपार काव्य संसारको प्रजापतिका रूपमा चिनाएका छन् ।

यसरी व्याख्या गरिएको कवि शब्दबाट नै कविको कर्म वा भाव भन्ने अर्थमा तल् र ण्य प्रत्यय लागेर कविता र काव्य शब्द बन्दछ । यसरी हेर्दा कविको कर्म नै कविता हो भन्ने बुझिन्छ ।

संस्कृत साहित्यमा छन्दोबद्ध पद योजनालाई पद्य भनिएको पाइन्छ । कविता कोमल र सुन्दर पदविन्यास, सुबोध, नृत्यका लागि उपयुक्त र रस निष्पत्तिका लागि गुण र सन्धियुक्त हुनुपर्छ भन्ने भनाइ पाइन्छ । संस्कृत साहित्यको जस्तै अङ्ग्रेजी साहित्यको पनि लामो इतिहास छ । पाश्चात्य साहित्य भनेर पनि चिनिने यस साहित्यका आदिकवि होमर हुन् । उनका इलियड र ओडिसी महाकाव्य नै अङ्ग्रेजी साहित्यको प्रस्थान विन्दु हो ।

यसरी होमरबाट थालनी भएको महाकाव्य परम्पराको सिद्धान्तको निरूपण या काव्य परिभाषाको आरम्भ भने ई. पू. ४ शताब्दीका अरस्तुबाट भएको हो । कविको आन्तरिक प्रतिभालाई पूर्वीय साहित्यका विद्वान्हरूले मुख्य काव्य हेतु स्वीकार गरे जस्तै होमरले पनि जादुमय शाश्वत एवं दिव्य अन्तरप्रेरणालाई मूल काव्य हेतु मान्दै कवितालाई आह्लादमय, अनुकरणात्मक तत्त्वका रूपमा स्वीकार गरेको देखिन्छ ।

त्यसै गरी होडियसले दैवी वरदानको प्रतिभा स्फुरण हुनु नै कविता हो भने । त्यसै गरी युरिपाइडिजले पनि आह्लाद र आनन्दको सिर्जना नै कविता हो भने । अरिस्टोफेनस कलात्मक, कुशलता र नैतिक निर्देशलाई कलाको मापदण्ड मान्छन् ।  सोक्रेटस कविता अस्वस्थ हुने बताउँछन् ।प्लेटोले भने साहित्य सत्यको पक्षमा हुनुपर्ने बताएका छन् ।

साहित्य सत्यभन्दा दुई गुना टाढा हुन्छ भन्ने आरोप लगाउने प्लेटो भाषाको माध्यमबाट प्रकृति वा जीवनजगतका काल्पनिक र वस्तुपरक पुनः सिर्जन नै साहित्य वा काव्य हो भन्दछन् । डा. जोन्सनको विचारमा छन्दोबद्ध रचना नै काव्य हो ।

पुनर्जागरण काल पछिका वर्डस्वर्थ, हड्सन, शेली आदि विद्वानहरूले कविताको परिभाषा गरेका छन् । त्यसमध्ये वर्डस्वर्थ कविताको परिभाषा गर्ने क्रममा सशक्त अनुभूतिको निरवच्छिन्न उच्छ्वलनता हो, यो शान्त क्षणमा पुनः सङ्कलित संवेगबाट जन्मिन्छ भन्दछन् । त्यसै गरी कलरिज सर्वश्रेष्ठ पदावलीको सर्वश्रेष्ठ गुम्फन नै कविता हो भन्ने धारणा राख्छन् । यसरी अङ्ग्रेजी साहित्यमा पनि कविताको व्याख्यामा एकरूपता पाउन सकिँदैन ।

कसैले अनुभूति हो भन्छन् भने कसैले सत्यभन्दा टाढा हुन्छ भन्छन् । कति कविले श्रेष्ठ पदावली चाहिन्छ भनेका छन् भने कतिले कल्पना र संवेगको प्रस्तुति हो भनेका छन् । यसरी हेर्दा सबैको धारणामा केही न केही सहमत हुन सकिन्छ भने केही असहमति पनि रहन सक्छ । पूर्वीय एवं पाश्चात्य साहित्यको प्रभावका रूपमा नेपाली साहित्यको विकास हुँदै आएको छ । ११ औँ शताब्दीबाट नेपाली भाषाको विकास प्रारम्भ भएता पनि साहित्यिक स्वरूप भने उन्नाइसौँ शताब्दीको पूर्वार्द्धमा मात्र तयार भएको पाइन्छ । नेपाली साहित्यमा प्रथम कविता सुवानन्द दास (वि.सं.१८२६)ले लेखेका हुन् ।

यसपछि भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, मोहन कोइराला जस्ता कविहरूले नेपाली कविताको रथ हा“केका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दर्शन भ्रम हो, कविता सत्य हो, जहाँ मानवका आँसुहरू प्राकृतिक भावनामा पग्लन्छन् त्यही नै कविता हो भनेका छन् ।

देवकोटा यान्त्रिक बन्धन र सिद्धान्तको परिधि स्वीकार गर्दैनन् । उनी त कल्पनाको नौलो संसारमा स्वच्छन्दता, हार्दिकता, कल्याणकारिता, सत्यता, सौन्दर्य एवं कलाले भरिपूर्ण अभिव्यक्ति नै कविता हो भन्दछन् । त्यस्तै कवि बालकृष्ण सम कविता भावनाको बौद्धिक कोमलता हो भन्ने विचार व्यक्त गर्दछन् । कवि सिद्धिचरण श्रेष्ठको मतमा कविताले भावनाको बादलमा कल्पनाको मन्दिर बनाउँछ । कवि माधवप्रसाद घिमिरेले शब्द र सङ्गीत, अर्थ र अभिप्राय तदाकार भएर जो अनौठो अनुभूति हुन्छ त्यही नै कविता हो भनेका छन् । केदारमान व्यथितले तीव्र गामी कल्पनाको घोडामाथि अनुभूतिको काँटी कसी विचारको लगाम पक्रेर भावुकता चढेको नै कविता हो भने ।

समालोचक डा. वासुदेव त्रिपाठीले मानव मनका अनुभूतिहरूको लयात्मक, भाषिक कलात्मक कथन नै कविता हो भनेका छन् । यसरी विचार दिँदै जाँदै वाद, प्रणाली तथा सम्प्रदायको पनि जन्म भएको पाइन्छ । साहित्य सिद्धान्तको मूल्य, मान्यता, तथा परिभाषाको आधार र नवीन सोचको परिणामस्वरूप कविताको जन्म हुन्छ । अधिकांश विद्वानहरूको परिभाषा हेरेर कविताको पहिचान गर्न सकिन्छ । यस अर्थमा जीवन र जगतका विविध अनुभव र अनुभूति तथा मानवीय संवेदनालाई कलात्मक भाषाद्वारा सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गरिएको सङ्गेयात्मक अभिव्यक्ति नै कविता हो भन्न सकिन्छ भनेर मैले बुझेको छु ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?

– वास्तवमै हो, संस्कृतमा त साहित्य, सङ्गीत र कला नभएको व्यक्ति पशु समान हो भनिएको छ । साहित्य तथा कलाले वास्तविक मानव बनाउँछ । जीवनमा भावनात्मक ऊर्जाको विशेष महत्त्व रहन्छ । कतै हाँसो त कतै रोदन देखेर नव रसको आस्वादन गर्दागर्दै जीवनलाई उचाइतिर लम्काउँछ ।

तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्छन् नि किन ?

– त्यसरी भन्दा अतिरञ्जना पनि हुन सक्ला । म कलम तिखार्ने प्रयत्नमा छु । नेपाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी साहित्यको विद्यार्थी हुँ, अध्ययन गर्ने कोसिस गरिरहेको छु । म साहित्यको बामे सर्दै गरेको बालक हो भनेर बुझिदिनुभयो भने यथार्थ परीक्षण हुन्छ । अहिलेसम्म सिर्जनाका तीतेपाती, बनमारा या उत्तिसका पालुवा पलाए होलान्, कुनै दिन साधना गर्न सके पीपलका पालुवा पलाउलान् भनेर प्रयत्न गरिरहेको छु, बाटो हेरिरहेको छु ।

तपाईंले लेखनका लागि अनुभव र प्रेरणा कसरी कोबाट पाउनुभयो ?

– संस्कृत साहित्यका महाकवि कालिदास, भारवि, दण्डी, माघ आदि नक्षत्र अनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य, सम, देवकोटा, बिपी, टाइगर, रिमाल, घिमिरे, आदि आदि नेपाली साहित्य आकाशका मूर्धन्य नक्षत्र नै मेरा लागि पनि प्रेरणाका स्रोत हुन् ।

कलम दौडाउन, बोल्न र विचारको सिलसिला मिलाउन सिकाउने प्रातस्मरणीय अग्रजहरूमा उप प्रा. दुर्गामणि सिग्देल, प्रा.डा. नवराज कट्टेल, मोदनाथ खनाल, प्रा. डा. मुकुन्दप्रसाद लामिछाने, प्रा.पुरुषोत्तम दाहाल, प्रा.डा. धनेश्वर नेपाल, प्रा.डा. शान्तिकृष्ण अधिकारी, प्रा.डा.श्रीराम लामिछाने, प्रा.डा.जीवन अधिकारी, प्रा.डा. जयराज आचार्य, प्रा.डा. सनतकुमार वस्ती, स्व. श्रीभद्र शर्मा, हेमराज ज्ञवाली, प्रा.डा. श्रीराम अधिकारी, प्रा.पीताम्बर दाहाल, प्रा.डा. नीलमणि ढुङ्गाना, आचार्य पूर्णचन्द्र ढुङ्गेल, माननीय बद्री पाण्डे, नवराज लम्साल, प्रा.डा. जगन्नाथ रेग्मी, स्वामी बालगोपालको नाम अग्रपङ्क्तिमा आउँछ ।

संस्कृत माध्यमिक विद्यालय, रानीपोखरीमा अध्ययन गर्दा विद्या दान दिने गुरुवर्ग, वाल्मीकि विद्यापीठमा संस्कृत साहित्यमा तथा दर्शन शास्त्रको परिचय गराउने गुरmवर्ग, तीनधारा संस्कृत छात्रावासमा एक दशकभन्दा बढी सम्य बस्दा अग्रज र अनुजसँगको सामीप्य, अनेकौँ विधाका अतिरिक्त क्रियाकलापमा पदक प्राप्त गर्दा, अरुणोदय साहित्यिक पत्रिका, विद्यापीठमा नियमित प्रकाशित भित्तेपत्रिका, स्वतन्त्र विद्यार्थी युनियनको सम्पादन गरेको स्मारिका, जयतु संस्कृतम् संस्थाद्वारा प्रकाशित दर्जनाैँ कृतिमा कतै प्रत्यक्ष र कतै परोक्ष सहभागिता, अनि वादविवाद, वक्तृत्वकला, निबन्ध, कविता आदि प्रतियोगितामा उपत्यका प्रथम र नेपाल प्रथमसमेत हुँदा, त्रिचन्द्र क्याम्पसमा नेपालीमा स्नातकोत्तर पढ्दा प्रा.कोषराज न्यौपाने तथा अन्य गुरुवर्गसँग ज्ञानले नुहाउन पाउँदा, रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्दा बाटो देखाउने गुरुहरूसँग सामीप्य राख्दा, नेपाल संस्कृत विश्वविद्यालयको एक वर्षे बि एड कक्षाको सिकाई ग्रहण गर्दा, पत्रकारिताको अध्ययनको समयमा विविध सञ्चार माध्यममा पत्रकारिता गर्दा, आफ्नै साप्ताहिक पत्रिका प्रकाशन गर्दा, नेपाल ब्रिटेन डटकममा नेपाल सम्पादक भएर केही वर्ष चिरन शर्मासँग कार्य गर्दा, न्युयोर्कबाट प्रकाशित विश्व सन्देश साप्ताहिकमा नियमित लेखन गर्दा पनि केही न केही साहित्यिक बीज त रोपिएको हुनुपर्छ ।

यस्तै यस्तै गतिविधिले अनेकौँ मोडमा अनेकौँ गुरु थापेर शिक्षा लिने प्रक्रिया अनवरतरूपमा चलिरहेको छ ।

खाली समय कसरी बिताउनुहुन्छ ?

– अमेरिकाको बसाइ साहित्यिक रूपमा गतिविधि गर्न उराठलाग्दो नै छ मेरा लागि । काममा नै अधिक समय खर्चिनुपर्ने र बाँकी समय परिवार र देशको सम्झनाले र मायाले आँखा टिलपिल हुने परिस्थिति हुने भएकाले यथोचित समय दिन सकिएको छैन । लेखनका लागि साधना गर्न सकिएको छैन । विश्वका धेरै विषय चिन्ताको रूपमा मानसपटलमा उदाउने तर सिर्जनाको रूपमा पस्किन नसक्ने कमजोरी ममा रहन गएको छ । यस्तै जटिलताका बिच समय बित्दै गएको छ ।

राम्रो लेख्न के गर्नु पर्छ ? किन ?

– राम्रो लेख्न निरन्तर साधना गरेर कलम तिखार्नुपर्छ जस्तो लाग्छ । कुनै दिन आफैँलाई आनन्द अनुभव हुने राम्रो रचना पस्कन सकेँ भनेँ थप अनुभव सुनाउँला । अहिले बामे सर्दै गरेको व्यक्तिले म्याराथनको अनुभव सुनाउनु किमार्थ सुहाउँदैन । कुनै दिन मेरा सिर्जनाले अभावले दुखिरहेको आर्तनाद घाउमा मलम लगाउन सके भने, सिटामोल नपाएर छटपटाइरहेकाहरूका लागि सहयोगी भूमिका खेलेमा या हरेक दिन मातृभूमिलाई छोडेर पराइ भूमिमा रगत र पसिना बगाउन बाध्य परदेशीको आँखामा टिलपिलाउने आँसु पुछ्न सकेको दिन अनि समाजमा मानवता, अध्यात्म, इमानदारिता, दया, करुणा, परोपकार जस्ता भाव मौलाउन सकेको दिन राम्रो रचना निस्केको सोच्नेछु ।

व्यापारीकरणमा जाकिन लागेको वर्तमान समाज र सत्ता साहित्य र अध्यात्मद्वारा निर्देशित भएको क्षण दस हात उफ्रिएर राम्रो लेखेको उत्सव मनाऔँला ।

प्रयत्न जारी छ, जारी राखौँ । साहित्यपोस्टले साहित्यमार्फत समाज रूपान्तरणका लागि गरेको सत् प्रयत्नमा सबैले हातेमालो गरौँ, सँगै बढौँ । एक दिन अवश्य सफलताको सगरमाथा चुम्न सकिने छ ।