‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ का लागि अन्तिम सूची जारी भएको छ । पहिलो पुस्तकको रूपमा आख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।

पुरस्कारको अन्तिम सूचीमा बिक्रम भक्त जोशीको निकथा सङ्ग्रह ‘चोभार ब्लुज’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिक’ र हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका ४४ आख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४४ आख्यान विधाका कृतिहरूबाट १२ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यान कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजन अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन आख्यान विधाका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ दर्बिलो गरी उभिएका छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’

कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । र, त्यही समारोहमा विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

अन्तिम सूचीका समावेश तीन कृतिः

१. चोभार ब्लुज – बिक्रम भक्त जोशी

बैङ्करसमेत रहिसकेका इन्जिनियर बिक्रम भक्त जोशीको पहिलो कृति निबन्धात्मक कथा (निकथा) सङ्ग्रह ‘चोभार ब्लुज’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ । ।

नेपाली साहित्य लेखनमा जोशी मात्र नयाँ होइन, विधागत रुपमा ‘निकथा’ पनि आख्यान अन्तर्गत कमै लेखिएको विधा हो । जोशीका कथाभित्र बागमती सभ्यताको इतिहास भेटिन्छ । बागमती सभ्यताको केन्द्रमा रहेको काठमाडौंको आञ्चलिकता कथाहरुको प्राण बनेर रहेका छन् । सङ्ग्रहित कथाहरुमा नेवारी जनजीवन, सभ्यताका अंश छन्, र आधुनिकता पसेसँगै काठमाडौंले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।

१९ थान कथा सङ्ग्रहित ‘चोभार ब्लुज’लाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो ।

 

२. यशोधरा – हरिबोल काफ्ले

आर्थिक विकास तथा अर्थ–राजनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय हरिबोल काफ्ले पहिलो उपन्यास ‘यशोधरा’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।

उपन्यासले गौतम बुद्धकी पत्नी, ऐतिहासिक पात्र यशोधरा जीवन चरित्र उजागर गर्दै उनकै दृष्टिबाट तत्कालीन समयको कथा कहेको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्राका क्रममा यशोधराले गर्नुपरेको त्याग–तपस्या उपन्यासको कथानकको केन्द्रमा छ । उपन्यासमा तत्कालीन समाज, समाजिक प्रचलन र विविधता आदिलाई सचित्र उतारिएको छ ।

२ सय ८६ पृष्ठमा बुनिएको उपन्यासलाई लिपि बुक्सले प्रकाशनमा ल्याएको हो ।

 

३. अँध्यारो बस्तीकी नायिका – दिला शाह

कथाकार दिला शाहको पहिलो पुस्तक, कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।

शाहको कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरु नारीका भावना र संवेदनासँग नजिक छन् । छोरी, बुहारी, आमा, श्रीमती, प्रेमिका लगायतको स्वरुपमा कथाहरुमा देखा पर्ने नारी पात्रहरुको दुख, पीडा र बाध्यतामात्र छैन कथामा, सँगै विद्रोही चेत पनि छ । बिम्ब र प्रतीकको प्रयोगमा खप्पिस शाहका प्रायः कथाहरु नारी प्रधान रहे तापनि सँगैसँगै बाल र प्रौढ मनोविज्ञानको उपस्थिति पनि भरपुर छ ।

१८ थान कथा सङ्ग्रहित पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।