ओठको डिलैमा सलबलाइरहेको छ एक हुल निराशा । कुँजिएको हाँसोको चित्कार छ कलेटीका माझ ।

अलप भए एकाएक ती हाँसोहरू

पर्यो कलेटी ती ओठहरूमा

भयवित भए आँखाहरू

किन र ?

फगत एक प्रश्न, फगत सोचाइ, फगत एक निरस जीवन…

कुमारी लामा

होइन । निराशातिर मात्र तानिनु एक कमजोरी हो आफ्नै । त्यो आफैँमा एक मस्तिष्कीय उबडखाबड । केवल ओरान पामुकीय हुजुन, मेलाङ्कोली । हुजुन, पीडाको गहिरो बोध भर्इकन पनि त्यसैभित्र आनन्द छ भन्छन् पामुक । वास्तवमा केही त छ पीडामा । पीडा मात्र पीडा कहाँ हो र ? केवल खुसीको अनुपस्थिति न हो । साहित्यसंगीत साधक गणेश रसिकसँगको एक भलाकुसारीमा उहाँले अब्दुल कलामको भनाइबाट प्रभावित भएर भन्नुभएको एक कुराले बेस्सरी मन छोएको छ ।

अँध्यारो मात्र उज्यालोको अनुपस्थिति न हो जसरी पीडा पनि केवल खुसीको गैरहाजिरी ।

कति गहन छन् यी कुरा । गैरहाजिर चीजहरू फेरि हाजिर हुन पनि त सक्छन् जीवनमा । तब त हराएको हाँसोका लागि यति धेरै चिन्ता किन गर्नू ? गएको चीज फेरि फर्कि आँउलान्, गुमेका खुसीहरू पनि फेरि आउने छन् पहिले जसै । आखिर समय न हो । समय…

यो वर्ष पनि साउन आएको छ । जीवन र सृजना भएर ।

नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा ।

मीठो लय छ यस महिनाको । संगीत छ ऊभित्र । सिमसिम छ पानी । एउटा यात्रा छ । एकजोडी आँखा छन् । धेरै उत्सुकता र खुसीहरू बोकिहिँडेकी छु । गति छ । विस्वास छ । एउटा साथ छ । नौलो, रोमाञ्चकता, यात्राको मादकता छ । किनकि लयबद्ध साउन छ । साउनसँगै म छु । मसँग मेरो मन पनि छ । मधुरता छ पातमा झरेको थोपाहरूको आवाजमा । बाटोमा या झ्यालमा टिपटिपाइरहेको यो झरीको छुट्टै मोहनी छ ।

कल्पना गरौँ न, यस्तै झरीको एक रोमान्टिक दिनमा सहरीय कोलाहालको सन्नाटाबाट अलप भई टुप्लुक्क अवतरण गरेको एक आदिम बस्तीमा । जहाँ सब थोक ठीकठाक छ र फेरि छैन जस्तो पनि । फेरि ओरान पामुकलाई नै सम्झन मन भयो यहाँ । ठ्याक्कै पामुकको सहर निसानतस्य या ज्याहान्गिरका ग्लुमी गल्लीहरूजस्तै तर पामुककै बुझाइमा मीठा समय मेलाङ्कोलीले भरिएका सडक, घर र चौबाटाहरू ।

प्रिय पामुक तिमी त्यस्तै ठाउँको कल्पनामा हराउदै गर, म भने बिल्कुलै त्यस्तै ठाउँमा पुगेको सप्रसंग व्याख्यातिर लाग्छु ।

भत्किएको मन्दिर छ । छरिएका भग्न अवशेषहरू । मुर्ति छ उभिएकै पहिले जसरी नै । एउटा फूल विगतमा जस्तै मुस्कुराइरहेको छ खुला आकाशमुनि उभिरहेको मुर्तिको शिरमा । लाग्छ अडिएको छ मायालु समय । अस्ति नै अस्ति नै जस्तै केही धर्सा अविरले रंगिएको छ उनको निधार । यति नै खेर मभित्र उर्लिन्छ भयंकर ठूलो आस्थाप्रतिको प्रेम । प्रश्न आफैँलाई, आस्थाले डोरिएका हामी या हामीले डोर्याएको आस्थालाई ?

सायद मैले गल्ती गर्दैछु (जीवनमा पहिलोपटक भने हैन) । आफैँप्रति अन्याय गर्दैछु यस्तो डरलाग्दो प्रश्न मनमा उब्जाएर । किन कि म यस्तो कुरा खुट्याउनै सक्दिनँ । तर अबुझ भर्इकन पनि कहिलेकाहीँ आफ्नो क्षमताभन्दा ठूलो कुरो सोचिदिँदो रहेछ यो बेढङ्गे खप्परले ।

ठिकै छ । सोच्दै गर खप्पर तर म त व्याख्यातिर नै लाग्छु । रोमान्टिक मनसुनमा रुझ्दै ब्ल्याक एण्ड ह्वाइट मेमोरीसँगै ललितपुरीय कोलाहलबाट भिगिपुगेको छु नेवारी बस्ती, खोकना ।

किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा ।

नेवारी सुगन्ध छ । मेट्रोपोलिटनीय दुर्गन्धबाट अझै ओझेलमै रहेको छ बस्ती । भिन्दै  अस्तित्वको सान छ । सोझा भला किसान, व्यापारी अनि शान्त बस्ती । तर अब निकै नै खल्बलिएझैँ लाग्छ त्यो शान्ति । किन कि दृश्य त्यस्तै बोल्दैछन् । हिलाम्मे छ सडक । भत्किएको मन्दिरका पुराना इटाहरू यत्रतत्र छरप्रस्टिएका छन् बाटाहरूमा । घरहरू घर जस्ता देखिँदैनन् । छाना छैन, ढोका छैन, मानिसको चहलपहल छैन, तर पनि उभिरहेकै छन् जीर्ण शरीर बोकेर आफ्नो अस्तित्वको अन्तिम पलहरू गन्दै । निश्चित छ, अब केही समयमा उसको नामोनिसाना मेटिनेछ । लामो समय आफू अडिएको जमीनबाट बिलाउनेछ । अनि ठडिनेछ नयाँ घर । बिर्सिने छ उसको इतिहास । शुरु हुनेछ नयाँ समय । सायद धेरै कालपछि नातिनातिनीको जिज्ञासा मेट्न असमर्थ हुनेछन् हजुरबुबाहरू ।

के खोकनामा तोरी पेलिन्थ्यो ?

अँ… पेलिन्थ्यो ।

अँ… खै पेलिन्थ्यो कि ?

सायद उनीहरू आफैँ हराउनेछन् धुमिल विगतमा अनि अल्मलिनेछन् ।

हुनसक्छ यसरी नै एउटा ठूलो सभ्यताको अन्त्य हुन्छ । जसरी टर्कीबाट हराएको थियो लामो इतिहास बोकेको अटोमन एम्पायरको सभ्यता र संस्कृति । जसरी एक एक गर्दै जल्दै सखाप भएका थिए अटोमन पाशाहरूको बसफरसका सान्दार याली र हरिमहरू । समय …. यही समय जसले सबैलाई आफ्नो प्रवाहमा हेलिलान्छ ।

……………

मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा ।

एउटा चिया पसल छ । खोकना मुख्य बजारमै । साह्रै सौहाद्र र भद्र छन् पसले भाइ । आफ्नो जातीय शालीनता र हिस्सी परेको मुस्कानसहित स्वागत गर्छन् । हामी चिया भन्छौँ । पुरानो घर छ, त्यही पनि घाइते । तर चर्किएको घर पनि टेको लाएर र थोरै मर्मतसहित चलेको छ यो चियापसल । घर एकदम होचो छ । अग्लो मानिसले टाउको जोगाउन मुस्किल । कही कतै लेखिएको छैन “माइन्ड योर हेड” । तर हाम्रो टाउको आफैँले जोगाएर सहिसलामत बसेका छौँ होचो घर जस्तै होचो र साँघुरो मेचमा । बाफिदै गरेको उसिनेको हरियो मकै थालभरि पारेर भित्री कोठाबाट पसलमा निस्किन्छन् अर्का भाइ । मन थामिदैन । मेरा मित्रले प्वाक्क मुख फोरी मागी हाल्छन् । हाम्रो अड्कल जस्तै उनी उस्तै मन्द मुस्कानका साथ थमाइदिन्छन् सबैभन्दा ठूलो घोगा दोस्तको हातमा ।

खोकनीय आत्मियता, वाह … म मनमनै गम्छु । त्यो वास्तवमै आत्मियता नै हो भन्ने लाग्छ जब हामी पैसा दिन खोज्छौँ तर साहु लिन इन्कार गर्छन् । जय होस् पसले भाइहरूको ।

अझै झस्काउँदै छ नेपथ्यको पराकम्पले । पृष्ठभूमिमा डरलाग्दो हाउगुजी छ २०७२ को महाभूकम्प । त्यसैले खोकना पहिलेको जस्तो छैन । पुनःनिर्माणको कार्य चल्दैछ । बजारै वरपर केही संस्थाका सहयोगी हातहरूले बनाउदै गरेका देखिन्छन् अस्थायी टहराहरू ।

खोकनाको प्राचीनता बद्लिदै छ अब । छानोबिनाको मन्दिरहरू र लेउ जमेका पोखरीहरू वरपरका भत्किएका घरहरूको चेपाइले चिच्याइरहे झैँ लाग्छ । ती पुराना घरहरूमा छानो छैन, पर्खाल र केही भित्ताहरू छैनन् तर पनि केही काठका बुट्टेदार कलात्मक सुन्दर झ्यालहरू अझै उभिरहेका छन् । यस्तो लाग्छ, ऊ हेरिरहेको छ वर्षै माइती नआएकी छोरीको बाटो । मसँगै यात्रारत मित्रको सृजनशील मगजमा एउटा कुरा टुप्लुकिन्छ । उनी भन्दै जान्छन्,

त्यो झ्यालमा एक वृद्धा उभिएर निह्याल्दै छिन् पर…. कतै क्षितिजमा केही खोजिरहे जसरी…

उनको कुरोले एउटा भिजुअल तरङ्गीत हुन्छ मेरो आँखामा । त्यो भत्किएको घरको झ्यालबाट आफ्नै जीवन र अतीत निह्याल्दै गरेकी एक वृद्धा । वास्तवमा जीवन भन्नु नै केवल सम्झनाहरूको संगालो न हो जसलाई हामी एक्लोपनामा यसरी नै सम्झन्छौँ कसैलाई र एकोहोरो टोलाउछौँ ।

यी मित्रको उटपट्याङ् कुरोले झण्डै अर्कै लोकमा पुर्याएको मेरो बेठेगान मनलाई । म मेरो बेपत्ते मनलाई सम्हाल्छु ।

त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ?

घरहरूमा अझै पनि झुन्डिरहेका छन् लसुनको झुत्ता र राता खुर्सानीको लामो माला । खेतमा मुन्टो उठाउँदै गरेका धानका बोटहरू पनि त हो खोकनाको परिचय । सबैथोक पहिले जस्तै जस्तै देखिए पनि फेरि पहिले जस्तो रहेन भन्ने एउटा नमीठो आभासले अलि दुःखी पार्दोरहेछ । त्यो प्राकृतिक प्रकोप र उथलपुथलपश्चात् सायद खोकनाबासी पनि उही रहेनन् । के त्यो एकप्रकारको ढुक्क मन, शान्ति, मस्त निन्द्रा, रिस, झगडा या तँ र म जस्ता मनको अमिलो उस्तै होलान् र ?

पलपल अघि बढिरहेको छ घडीको काँटा । समयसँगै बग्दै गरेको छ हाम्रो उमेर, आकांक्षा, आशा र निराशाहरू पनि । आखिर बग्नु त छ नै समयलाई । अडिन्छ कहाँ र हामीले चाहेको बखत रोक्न सके जस्तो हाम्रो हाँसो या मन । तर मन पनि कहाँ अडिन्छ र एक ठाउँ । अडिने त यही शरीर मात्रै हो । तर यो शरीर पनि अडिन्छ र ?

उसको आफ्नै लय छ, भाषा छ र यात्रा छ । अडिन्छ अनि अडिदैन पनि । क्या कन्फ्युजन । आफ्नै गंजागोल दिमागको उपज ।

अडिन्छ भनौँ भने हामी यात्रामा नै छौँ निरन्तर शरीर र मन दुवैको । जस्तो कि फ्लानर गुरु अभि सुवेदी । भर्खरै पढिभ्याएको अभि सुवेदीको निबन्ध कृतिले निकै तरंगित पार्यो मन । खासमा उनको फ्लानरीको बखानले । उनी केवल यात्रा गर्छन्, यात्रा देख्छन् र यात्रा बुझ्छन् । आफ्नो मात्र हैन साँढेको यात्राको पनि बखान गर्छन् । बागमतीको यात्राको पनि । यात्रामा त रहेछौँ हामी सबै सबै । खोकनाको आफ्नै यात्रा छ अनि छ खोकनाबासीको पनि । दुवैले आआफ्नै युगको यात्रा गरेका छन् । एउटा समानता भने हुन सक्छ यात्रीहरूमा ।

खोज, उत्सुकता, चिन्तन र समयबोध ।

भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको ।

हामीले बाँचेको युगको आफ्नैखाले यात्रा छ । राजनैतिक उथलपुथल, भोक, अभाव, द्वन्द, रक्तपात, बेपत्ता नागरिक, असहमति, सहमति, शान्ति अनि महाभूकम्प । भत्किएको धरहरा, ढलेको देवल, मन्दिर, मृत्यु, उही विनाशसँगै उर्लिएको मानवता, सहयोग, माया । आखिर यी सबै एक यात्रा न हुन् हाम्रो अनि हाम्रो युगको ।

अझै साउनमय छ मौसम । निरन्तर छ मसिनो झरी । पटक्कै दिकदारी लागेको छैन । यो उसको धर्म हो । साउन बग्नु पर्छ, साउन दर्कनु पर्छ, साउन उर्लिनु पनि पर्छ । चिरा परेको खेत र उजाड पाखाहरूमा ल्याउनुपर्छ हरियाली । कलेटी ओठहरूमा ल्याउनुपर्छ मुस्कानको संगीत । समयसँगै फेरि ठडिनुपर्छ धरहरा र उठ्नुपर्छ बसन्तपुरका मन्दिर देवलहरू । यात्रामा छ साउन महिना । र उनीसँगै छ मेरो पनि यात्रा, मसँगै छ मेरो मनको पनि यात्रा ।

अचम्म लाग्छ, हामी कसरी जानअन्जानमै एकअर्कासँग सधै सँगै यात्रामा हुने रहेछौँ ।

यात्रा निरान्तर छ…

(निबन्ध संग्रह उज्यालो अन्धकारबाट)