“म तिम्रो को हुँ ?”, संवादको बिचमा तिमीले सोधिरहँदा मसँग कुनै पनि जवाफ नै थिएन ।

मलाई तिमीले सोधेको प्रश्नले मनमनै सोच्न बाध्य पार्‍यो ।

“साँच्चै, तिमी मेरो को हौ ?”, फोन राखिसकेपछि मैले यो कुरा धेरै बेरसम्म सोचिरहेँ र आफैँमा घोत्लिइरहेँ ।

“लाग्न त मलाई धेरै कुरा लाग्छ, तिम्रो बारेमा अनि तिम्रा लागि । तर लागेका सबै सही हुन्छन् र ? के लाग्छ तिमीलाई ? मलाई त तिमी आफ्नै लाग्छ तर आफ्नै मान्छे पनि कहिलेकाहीँ समयभन्दा ढिलो भेटिइँदो रहेछ र आफ्नो भन्न अलिक अप्ठ्यारो हुँदो रहेछ । अलिक धक लाग्दो रहेछ । भन त यत्रो वसन्तसम्म तिमी कहाँ थियौ ?”

सोध्न मन लागेको अनि भन्न मन लागेको कुरा कहाँ लागेअनुरूप गर्न सकिँदो रहेछ र ?

जिन्दगी बाँच्ने कला सबैको आआफ्नो हुन्छ । जिन्दगीमा कोही त हुनुपर्दो रहेछ; कोही हुनु अनि नहुनुले जिन्दगीमा निक्कै ठुलो अर्थ राख्दो रहेछ । एक्लोपनको आभास भइराख्ने यो संसारमा कोही एक्लोपन भुलाउने साथी साथमा हुनुको महत्त्व तिमीसँग हुँदा महसुस गर्छु । यो संसारमा कतै रुमलिएको मलाई मसँग नै भेटाइदिन; अनि हराएको र बाटो भुलेको मलाई बाटो देखाइदिन तिमी छौ झैँ लाग्छ । मलाई यस्तै यस्तै धेरै कुरा लाग्छ । तर लागेका कुरा कहाँ भन्न सकिन्छ र ? कहाँ भन्न मिल्छ र ? मिल्ने भए आफैँलाई रित्तो परेर भन्ने थिएँ म, के सोच्छु तिम्रो लागि । र भन्ने थिएँ, तिमी मेरा लागि को हौ भनेर । के हौ भनेर ।

तिमीलाई आँखा पढ्न आउने भए सायद तिमीले मलाई लागेका कुरा पनि बुझ्थ्यौ ।  विडम्बना ! न म भन्न सक्छु न तिमी नै बुझ्न सक्छौ मेरो आँखाको भावलाई ।

कुनै कुनै मान्छे निक्कै मिठास भरिएका अनि सुवासिला हुन्छन् । उनीहरू नजिक नरहँदा पनि आफ्नो आभास छोड्छन् । जिन्दगीमा महकाइ रहन्छन् । त्यस्तो मान्छे जिन्दगीमा कोही एक मात्रै हुन्छन् र त्यही एक मात्रै मान्छे तिमी हौ मेरा लागि । तिमीसँगको सामीप्यले लाग्छ, म भाग्यमानी छु । किनकि मेरो जीवनमा तिमी छौ ।

जीवनमा हरेक पल सम्झना बन्छन् । ती सम्झनाको पल पल्टाउने क्रममा याद आउने कोही हुनु पनि त जिन्दगी हो नि ! कोही त चाहिन्छ नै, कोही भन्दा यादमा आउने; जिन्दगीको अर्थ बुझाउने ।

यो संसारमा जेलिएको नाता अनि सम्बन्धभन्दा पनि पर, यो जन्मिँदै हामी कैद भएको नाताभन्दा माथि, कोही त चाहिँदो रहेछ ‘म छु’ भनेर साथ दिने; अनि लड्न लाग्दा हात दिने । मैले सायद तिमीलाई त्यही कोहीमा समाहित गरेकी छु ।

हरेक नाता अनि सम्बन्धभन्दा माथि, बिनास्वार्थ मेरा लागि सोचिदिने तिमी मेरो शुभचिन्तक हौ कि ? तिमी मनबाटै जोडिएको मान्छे हौ कि ? मेरो परिवार जत्तिकै नजिकैको मान्छे हौ कि ? सायद, तिमी जोसँग म खुल्न सक्छु; त्यो व्यक्ति हौ कि ? तिमीलाई मैले आफ्नो दुःख अनि सुखको पल बताउन दुईपटक सोच्न पर्दैन; त्यही मान्छे हौ कि तिमी मेरो ? भन त, त्यस्तो मान्छेलाई के भन्छन् तिम्रोतिर ?

आमालाई सोधेँ, त्यस्तो कुनै शब्द छैन रे ! हाम्रोतिर जसले यी सबै गुणलाई एकै शब्दमा वर्णन गर्न सकोस् त्यस्तो मान्छेलाई समाहित गर्ने शब्द बनेकै छैन रे ! तिम्रोतिर छ कि, थाहा छ र तिमीलाई ?

त्यसैले मलाई तिमीले सोधेको प्रश्नको जवाफ आएन । हुन त मसँग कहिल्यै पनि उत्तर हुँदैन । अस्ति पनि ‘हाम्रो सम्बन्ध के हो ?’ भन्ने कुरामा अनुत्तरित थिएँ म । आज फेरि ‘तिमी को हौ ?’ भन्ने प्रश्नमा अनुत्तरित छु ।

खैर, जिन्दगी छोटो छ । प्रश्न र उत्तर खोज्दैमा जिन्दगी सकिँदैन भन्न सकिन्न । छोटो  जिन्दगीमा मिठा मान्छेहरू बिरलै भेटिन्छन् । कोही मिठा व्यक्ति तीता पल जिन्दगीमा छरेर जान्छन् । कोही सधैँ मिठास बनेर वरपर छाइरहन्छन् । तिमी पनि मेरो छोटो जिन्दगीको अध्यायमा अटाएको मिठास छर्ने मान्छे हौ ।

‘म तिम्रो को हुँ ?’ भन्ने प्रश्नको स्पष्ट उत्तर मसँग थिएन । छैन । तर ‘तिमी मेरो को हौ ?’ भन्ने प्रश्नको स्पष्ट उत्तर मैले थुप्रैपटक आफूलाई कठघरामा उभ्याएर सोधेकी छु । आफैँले आफैँलाई सोध्दा लाग्छ, तिमी मेरो सबैभन्दा विशेष अनि खास मान्छे हौँ जो निःस्वार्थ मेरा लागि सोचिरहेको हुन्छौ । मेरा लागि मभन्दा बढी चिन्तित हुन्छौ । मलाई रिसाउने पारिरहन्छौ । मलाई फकाइरहन्छौ । मलाई सम्झाइरहन्छौ ।

मान्छेहरूलाई विश्वास नलाग्ला – यस्तो मान्छे नि हुन्छ र ? तर मैले त त्यस्तो मान्छे तिमीमा भेटिसकेँ । मलाई यस्तै केही लागिरहन्छ । तिमी र ममा मलाई हाम्रो एउटा कुरा भने एउटै लाग्छ – हामी भाग्यमानी छौँ ।

भन्छन्, मान्छे सफल हुन उसको पछाडि कोही न कोहीको हात हुन्छ । सायद तिमी मेरो सफलता पछाडिको त्यो हात हौ कि ?

सायद ?

सायद नै भनम् न है ! किनकि म आफूलाई सफल मान्दिनँ । तर सफलता होस् या असफलता, मैले जे गर्दा पनि मलाई थामिदिने तिमी पक्कै हौ । मेरो असफलतामा पनि धैर्य गर्न सिकाउने शिक्षक हौ, अनि मेरो सफलतामा मसँगै खुसी हुने मेरो परिवार पनि हौ । मेरो ओठमा छाउने मुस्कान अनि मेरो दुःखमा दुःखी हुने मेरो जिन्दगीको प्यारो उपहार हौ तिमी ।

मलाई सम्बन्ध सम्हाल्न आउँदैन । जान्दिनँ । तर मलाई उपहार सम्हाल्न आउँछ । तिमीलाई थाहा छ ?

मैले जिन्दगीमा पाएको पहिलो उपहार मैले अझैसम्म जतनसाथ सम्हालेर बाँचिरहेकी छु । त्यसपछि जिन्दगीमा मलाई एउटा साथीले पहिलोपटक घडी दिएको थियो, त्यो पनि अझैसम्म मसँग सुरक्षित छ । जतनका साथ अझै पनि मैले त्यो घडीलाई सम्हालेर राखेकी छु । तर साथीसँगको सम्बन्ध भने मैले सम्हाल्न सकिनँ । त्यसैले त भन्छु, तिमी मेरो उपहार हौ । त्यसैले होला, मैले तिमीलाई आजसम्म सम्हालेकी छु ।

मलाई उपहार मात्रै होइन सम्बन्ध पनि गुमेको मन पर्दैन तर नचाहेरै पनि थुप्रै सम्बन्ध मैले सम्हाल्न सकिनँ । सम्हाल्न जानिनँ । गुमे । डरले भरिएको समाजमा तिमीलाई बाहिरी दुनियासँग परिचित गराउन डर लाग्छ मलाई । राम्रो मान्छेमाथि भगवानको पनि नजर लाग्छ रे ! म तिमीलाई कुनै महँगो उपहारझैँ लुकाएर राख्न चाहन्छु । आफैँभित्र । एकदमै कसैले नदेख्ने गरी ।