बेलायती रानी क्यामिला पार्करका जीवनको उकाली-ओराली नियालेर हेर्ने हो भने एउटा बेस्टसेलर उपन्यासको स्टोरी लाइन पक्कै भेटिन्छ । उनका चित्त दुखाई, उनका भोगाई र त्यसबाट निस्कन किताबले खेलेको भूमिकाका लागि एउटा किताबै निकाल्न सकिन्छ ।

साराका सारा अप्ठेरा, एक्लोपन र चित्त दुखाईका बेला उनलाई साथ दिने चाहिँ किताबहरू नै थिए । तिनले उनलाई थुम्थुम्याएका छन् । हालै एउटा पुस्तक महोत्सवमा बोल्दै रानी क्यामिलाले भनिन्, ‘पढ्नु मेरा लागि सधैँ मुक्तिदायी क्षण रह्यो ।’

‘तपाईंले जीवनमा कसरी पढ्ने भन्ने कुरा थाहा पाउनुभयो भने, जीवनमा आइपरेका जस्तासुकै कठिन अवस्थालाई पनि झेल्न सक्नुहुन्छ । त्यस्तो बेलामा एउटा किताब उठाउने र त्यो अवस्थाबाट टाढा अर्कै संसारमा पुग्ने,’ उनले साहित्य महोत्सव उद्घाटन गर्दै भनिन् ।

रानी क्यामिलासँग कुराकानी गर्दै प्रख्यात अभिनेत्री जुडी डेन्च

उनले थपिन्, ‘किताबका पात्रहरूसँग तपाईं हाँस्न सक्नुहुन्छ, रून सक्नुहुन्छ । बाहिरी संसारमा तपाईं जे जति गनुहुन्छ, एकान्तमा ती सबै ती पात्रहरूसँग गर्न सक्नुहुन्छ । तिनले तपाईंलाई अर्कै आयाममा पुर्याइदिन्छन् ।

पठनले तपाईंलाई न्यानो दिन्छ । त्यो नानोपनको सबैभन्दा गज्जबको अनुभूति उनले कोभिड १९ को प्रकोपका बेला बुझेकी थिइन् । हुन त उनले होश सम्हालेदेखि नै पढ्नुको आनन्द जानेकी थिइन्, पढिसकेपछि त्यसको जानकारी अरूलाई दिनुको आनन्द बुझेकी थिइनन् । त्यो बेला उनले आफू मात्र पढेर हुन्न, आफूसँगै अरूले पनि यसबारे थाहा पाउनुपर्छ भनेर ‘द क्विन्स रिडिङ रूम’ कार्यक्रम शुरू गरेकी छन् । यसमा उनले आफूले पढेका किताबका बारेमा आफैँले केही धारणाहरू राख्ने गर्छिन् । यो कार्यक्रम यस्तो होस् भन्ने उनको चाहना छ कि, जसले किताब पढ्ने एउटा गतिलो, ढुक्कको स्रोत दियोस् र त्यसैका आधारमा मानिसहरू ती किताबको शरणमा पुग्न सकून् ।

गएको ११ जुनमा रिडिङ रूमको पहिलो महोत्सव निकै सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रमकी प्रमुख कार्यकारी विकी पेरिन भन्छिन्, ‘हाम्री रानीमा किताबको शक्ति परख गर्ने क्षमता छ । किताबले हामीलाई दिने खुसी, एकअर्कालाई अझ राम्रोसँग बुझ्न सक्ने खुबी, एक्लोपनसँग भिड्ने गज्जबको बाटो यसले देखाउँछ भन्ने उहाँले बुझ्नुभएको छ । किताब पढ्ने मान्छेले परिवार, साथीका भावना मात्र बुझ्ने बनाउँदैन, पूरै अञ्जान मानिसहरूप्रति पनि कारूणिक भाव जगाउँछ ।

जब रानी क्यामिलाले द क्विन्स रिडिङ रूम कार्यक्रम शुरू गर्नेबारे राजा चार्ल्सलाई बताइन्, आफैँमा केही किताब लेखिसकेका राजा चार्ल्स पनि उत्साहित देखिए । उनले कयौँ सुझावहरू पनि रानीलाई दिएका थिए । उनले कार्यक्रममा नाम लिनू है भनी मन परेका किताबको सूची पनि थमाएका थिए ।

हजुरआमा-बाका रूपमा उनीहरूको दायित्व आफ्ना नातिनातिनाप्रति पनि छ । त्यसैले दरबारमा चार्ल्सले आफ्ना नातिनातिनालाई ह्यारी पोटर कयौँ पटक पढेर सुनाएका छन् । उनी भन्छिन्, ‘चार्ल्सले पात्रहरूको नक्कल गर्दै तिनको भावभंगीसहित संवाद सुनाउँदा केटाकेटीहरू कम्ता रमाइलो मान्दैनन् !’

किताबप्रति रानी क्यामिलाको मोह यसैबाट झल्किन्छ कि, उनले हालै प्रख्यात बाल साहित्यकार रोआल्ड डालका किताबहरूमा जाति-नारी विद्वेषी भएको ठहर गर्दै उनका केही शब्दलाई सम्पादन गरी पुनः प्रकाशन गर्नुपर्ने आवाज उठिरहेका बेला उनले त्यस्ता कुराको सम्पादन गर्नु भनेको अभिव्यक्ति स्वतन्त्रताविरोधी रहेको प्रतिक्रिया दिएकी थिइन् । उनले कुनै एक समय व्यक्त धारणालाई समयानुकूल नभएकै कारण सम्पादन गर्न नहुने धारणा राखेकी थिइन् ।

हालै भोग नामक मासिक पत्रिकामा उनको कभर स्टोरी प्रकाशित भएको थियो । त्यहाँ पनि उनले आफ्नो किताबमोह प्रकट गरेकी थिइन् । किताब पढ्नु आफ्नालागि आनन्ददायी मात्र नभई फरक परिवेशमा सम्वाद गर्नु रहेको र अर्कै कुनै पात्रसँगसँगै यात्रा गर्नु रहेको बताएकी थिइन् ।

भोग पत्रिकामा रानीको कोठाभरि यत्रतत्र किताबै किताब भएको उल्लेख गरिएको थियो । हरेक टेबुलमा चाङका चाङ किताबहरू रहेको, भुइँमा समेत किताब देखिन्थ्यो ।

पत्रिकाले रानीको किताब मोहको उल्लेख गर्दै उनको रूचि क्राइम थ्रिलरदेखि गम्भीरतम उपन्यास र गैरआख्यानदेखि कवितासम्मका रहेको उल्लेख गरेको छ । क्राइम थ्रिलर र रोमान्स उनको प्राथमिकताको विधा हो ।

रानीले भनेकी छन्, ‘मलाई किताबको सुगन्ध असाध्य मन पर्छ । पढ्नुभन्दा पहिले म त्यसका पाना पल्टाउँछु र सुँग्छु । किताब पल्टाउँदै गर्दा मलाई यो किताबले कुन संसारमा लैजाने हो भनेर उत्साहित हुन्छु ।’

महारानी एलिजाबेथ द्वितीया फुर्सद हुनेबित्तिकै घोडा दौडमा रमाउँथिन् । यी भने किताबमा रमाउँछिन् । नयाँ किताब के आयो र कुन किताब बेस्टसेलर भयो भन्ने सूची अखबार पल्टाउँदा उनको पहिलो प्राथमिकतामा पर्छ । हुन पनि खबर त जताततै पढ्न पाइन्छ, बेस्टसेलरको सूचीका लागि त अखबारै पल्टाउनु पर्छ ।

पढिसकेका किताबसँगै रानी क्यामिलालाई त आउँदा दिनमा के कस्ता किताब कसले लेख्दैछ र कहिले आउँदैछ भन्ने चासोसमेत लाग्ने गरेको छ । अनि, निस्किएका किताबहरू बेस्टसेलर सूचीमा पर्छ कि पर्दैन भनेर राजा चार्ल्ससँग उनले चर्चासमेत गर्ने गर्छिन् ।

पठन संस्कृति बढाउन रानीको किताबप्रतिको यो चासोले साँच्चिकै सघाउने विकी पेरिनको धारणा छ । उनी भन्छिन्, ‘हाम्रो च्यारिटीको उद्देश्य नै किताबको संस्कृतिलाई अझ घनिभूत बनाउने हो ।’

त्यसो त रानी क्यामिलाको ठूलो रूचि चाहिँ बालबालिकाहरूको पठन संस्कृति बढाउने कुरामै केन्द्रित छ । कलिलै उमेरमा पढ्ने बानी बस्नु जीवनको आधारशीला बन्नु हो भन्ने उनको धारणा छ । उनी स्वयं बालापनमा उनका पिता ब्रुस सान्डले सुत्ने बेलामा उनकी दिदी एनाबेललाई सँगै राखेर मीठा मीठा कथा पढेर सुनाउँथे । त्यही कारणले खाजा खर्चको पैसा जोगाएर अरूले लिपिस्टिक किनिरहँदा उनी चाहिँ किताब किन्ने पैसा जम्मा गर्थिन् ।

त्यही मोहका कारण उनले आफू जिम्मेवार रानी भएपछि लिखित शब्दहरूको उत्सव मनाउन द क्विन्स रिडिङ रूम नामक कार्यक्रमको शुरूवात गरिन् । कार्यक्रममा प्रख्यात अभिनेत्री जुडी डेन्च, डेम ह्यारियट वाल्टर, डेभिड ओलुसोगा, गाइल्स ब्रान्डेथ र केट मोसजस्ता नामी व्यक्तित्वको भेला भएको थियो ।

महोत्सवमा एकातिर प्रख्यात कलाकारहरूले कथाहरूलाई नाट्य रूपान्तर गर्दै आफ्नो प्रस्तुति दिएका थिए भने अर्कोतर्फ देशका विख्यात साहित्यकारहरूमाथि आफ्नो टिप्पणी कलाकारहरूले गरिरहेका भेटिन्थे । जस्तो कि, कलाकार जुडी डेन्चले आफ्नो अभिनयको करियरमा साहित्यले पारेको प्रभावसँगै सेक्सपियरमाथि आफ्नो धारणा राखेकी थिइन् ।

ह्याम्पटन दरबारमा आयोजित यो कार्यक्रमबाट उठेको रकम किताबकै परिचर्चाका लागि खर्च गरिने विकीले बताएकी छन् । तर यत्तिको राजसी कार्यक्रमका लागि भने स्वास्थ्यकर्मीहरूका लागि भने सित्तैमा प्रवेश दिइएको थियो । कोभिड कालमा उनीहरूले देखाएको साहस, उनीहरूले गरेका स्तुत्य कार्यका लागि सम्मान गरिएको विकीले बताइन् ।

यो महोत्सव पहिलो भएका कारण सानोतिनो भएको र भविष्यमा रानीकै प्रत्यक्ष निर्देशनमा यो अघि बढ्ने भएकाले अझ भव्यतम् हुँदै जाने उनी बताउँछिन्।