आफ्ना अनुभवहरू सुनाउन जेष्ठ चौतारीमा जेष्ठ बाहरू भेला हुने क्रम थियो । शनिश्चरे बजार चोकमा साठी नाघेका बुबाआमाहरूले केही आफ्नो र केही नगरपालिकाको सहयोगमा आफूहरू जस्ता भेला हुनका लागि देवकोटाको सालिकलाई मध्यभागमा राखेर जेष्ठ चौतारी बनाएका थिए ।
त्यो दिन पनि त्यसका लागि भेला हुँदै गर्दा म पनि पुगेँ । उमेरले जेष्ठ नभए पनि उहाँहरूको माया र सद्भावले मलाई तान्थ्यो । उहाँहरूको अनुभवले मलाई ठूलो प्रभाव पारेको थियो । बुबाआमा दुबै गुमाइसकेको मलाई उहाँहरूको अनुहारभित्र आफ्ना अभिभावक खोज्न मज्जा लाग्थ्यो ।
कहिल्यै नदेखेको अनुहार देखें त्यहाँ त्यो दिन । सत्तरीको हाराहारी पुगेका एक जना बाबै फलामको कुर्सीमा एउटा झोला राखेर बसेका थिए ।
मैले उनको परिचय सोधेँ । थाँतठेगाना सोधें । उनले आफूलाई यात्री हुँ मात्र भने । धेरै बोल्न मन नगरेको जस्तो गरे । परिवारको बारेमा सोधें । ‘छन् होला कतै कतै’ भनेर कुरालाई अन्तै बटार्न खोजे ।
‘परिवार त रहेछन् त बाबै । किन यसरी बरालिएर हिँडेको ?’ मेरो प्रश्नले उनलाई झस्कायो ।
बाबै बोल्न खोजे जस्तो गरे तर बोल्दाबोल्दै अड्किए । उनको आँखाका कोषहरू रसाएको देखियो । जिब्रो पनि लर्बराएको जस्तो आवाज सुनियो । भने– ‘बाबु ! तिमी त कलिलै छौ । पढेर ठूलो ठूला–ठूला कुरा त गर्छौ होला तर जीवनको पाठशाला म जत्तिको पढेका छैनौ नै, त्यो पक्का हो । घर भनेको परिवार होइन, परिवार हुनु भनेको घर हुनु पनि होइन । परिवार र घर त अलग–अलग हो नानी । परिवार नहुँदा पनि घर हुन्छ । घर नहुँदा पनि परिवार हुन्छ । जब यी दुबै हुन्छन् तब न घर–परिवार हुन्छ । घर–परिवार भयो भने मायाले बाँधिएको एउटा सानो स्वर्ग हुन्छ त्यो । जहाँ अल्मलिएर मान्छे बाहिरको संसार बिर्सिन्छ ।’
झट्ट हेर्दा त्यति भावुक र गहिरो कुरा गर्छन् जस्तो नलागेका झुत्रे बाबैभित्रको गहिरो भावुकताले हामी वरिपरिकालाई उनैतिर तान्यो । कसैले उनलाई त्यस चौतारीमा धेरै महत्व दिएका थिएनन्, त्यसअघि । उनका कुरा सुन्ने छेउकाहरू उनी तर्फ एकाएक तानिए । उनी र म मात्रै गफिए जस्ता थियौं, अरुका कानहरूले हाम्रा सवांद सुनिरहेकै रहेछन् । कानसँगै उनीहरूको आँखाहरू पनि पूरै अनुहार लिएर हामी तर्फ फर्किए ।
मैले नै उनलाई उक्केरा लगाएँ । अगिसम्म बाबै भनेर अलिक हेय भावले बोल्दै थिएँ, एकाएक उनको अनुभवप्रति श्रद्धा जागेर आयो । सम्बोधन फेर्दै भनें– ‘बा ! तपाईँकै केही यात्रा सुनौं आज । यो जेष्ठ चौतारीमा जेष्ठहरू मध्ये पनि बुवाहरू नै भेला हुनुहुन्छ अधिकांश । आमाहरूको जमघट त कुनै कार्यक्रम वा अवसरमा मात्र हुन्छ । हरेक दिन यहाँ एकजना बुवाले आफ्नो जीवनको भोगाइ र अनुभवहरू साँट्नु हुन्छ । आज तपाईँकै सुनौं ।’
मेरो प्रस्तावलाई जेष्ठ नागरिकहरूका अध्यक्ष रामप्रसाद भट्टराईले समर्थन जनाउनु भयो । त्योसँगै सचिव नरेन्द्र तिम्सिना लगायतले मेरो प्रस्तावलाई स्वीकृत गर्दै उहाँकै कुरा सुन्नेमा एकमत जुट्यो । बाबै अन्कनाउँदै थिए, अन्त्यमा उनले आफ्नो विगत कोट्याउने भए ।
उनले विगत सम्झिए ।
बुबाले आफू बित्ने पत्तो पाएका थिए कि क्या हो त्यसबेला । त्यसको बर्ष दिन नबित्तै बुबा बिते । म भन्दा मुनि एक भाइ र दुई बहिनी थिए । म तेह्र पुगेर चौध लागेको थिएँ हुँला त्यतिखेर ।
म कुनै सम्पन्न बाबुको सम्पन्न छोरा होइन । मेरा बाबुले दुःख गरे । मलाई पनि दुःख गर्न सिकाए । दुःखमा बाँच्न सिकाए । दुःखभित्रै सुखका आधारहरू खोज्न सिकाए । दुःख भएकैले सुखको महत्व हुन्छ भन्ने बुझाए । एकदिन मेरा बुबाले मेरो टाउको मुसार्दै भने– “बाबु ! हाम्रो जीवनको सबैभन्दा सुखको दिन भनेको अरुको अगाडि हात नपसारी खान पाउनु नै हो । म प्रयास गरिरहेको छु, मैले जस्तै तिमीहरूको भागमा त्यो दुःख नपरोस् भनेर । कदाचित मैले त्यो मेलो मिलाउन नपाइकन धर्ती छाड्नु प¥यो भने पनि तिमी नआँत्तिनू है । दुःख त हाम्रो शत्रु होइन, हुँदै होइन । त्यो त साथी हो । जसले हामीलाई जीवनभर छाड्दैन, त्यसलाई त साथी बनाउनु पर्छ । त्यसले दुःख दिन छाड्छ । दुःखले तिमीलाई पनि छाडेन भने त्यसैलाई साथी बनाउन जान्नू, त्यसले तिमीलाई दुःखी बनाउन छाड्ने छ ।”
मैले बुवाका कुरा बुझिनँ । त्यतिखेर लाग्यो, दुःख कसरी साथी हुनसक्छ र ? उनले मेरो काँधमा जिम्मेवारी थप्दै भनेको कुरा आजसम्म याद छ । बुवाले त्यसबेला भने– ‘भोलि म रहिनँ भने पनि मेरो यो कुरा सम्झिरहनू र निरन्तर संघर्ष गरिरहनू, जिम्मेवारीबाट नभाग्नू, मनमा विचलन नल्याउनू । जब तिमीलाई आफू आत्तिए जस्तो लाग्छ, मेरो अनुहार सम्झिनू ।’
बुबाले आफू बित्ने पत्तो पाएका थिए कि क्या हो त्यसबेला । त्यसको बर्ष दिन नबित्तै बुबा बिते । म भन्दा मुनि एक भाइ र दुई बहिनी थिए । म तेह्र पुगेर चौध लागेको थिएँ हुँला त्यतिखेर ।
मूलघरबाट छुट्टिएर अलिक माथिपट्टि थियो हाम्रो घर । बुबा हुँदा ताप्लेजुङतिरबाट मधेश झर्नेहरू कहिले काहीं हाम्रो घरको पिडींमा बास बस्थे । फर्केर जाँदा पनि हाम्रैमा बस्थे । बास बस्न पाएकैले सबैलाई बुवा केही न केही ल्याउन पैसा दिनुहुन्थ्यो, त्यत्रो लामो बाटो बोकेर उनीहरू ल्याइदिन्थे ।
बुवा खसेपछि पनि केही समय उनीहरू हाम्रोमा बास बस्न आइरहन्थे । तर बिस्तारै उनीहरू मध्ये धेरैले बास बस्ने घर फेरे । ती मध्ये एक जना गहतराज थरका थिए । हाम्रोमा बस्न उनलाई सहज थियो । अलग्गै खाए पनि बुवाले होचोहेलो नगर्ने भएकाले उनको बास भने हाम्रोमा नै हुन्थ्यो । उनी हाम्रोमा बास बस्ने गरेकाले बिस्तारै गाउँमा आमाप्रति अर्कै किसिमको हल्ला चल्न थालेछ । पँधेरामा कुरा गर्नेहरूले आमालाई गहतेनी भनेर खिसिट्युरी गर्न थालेछन् । मलाई पनि वल्लाघर–पल्लाघरतिर सोध्ने गर्थे ।
आमा चिन्तित देखिनुहुन्थ्यो । काका–बडाउहरूले पनि आमालाई अलिक छिछि–दूरदूर गरेको जस्तो लाग्थ्यो । आमा बिस्तारै गाउँमा एक्लै हुँदैगएको महसुस गर्न थाल्नु भएको जस्तो लाग्थो । एकदिन आमा धेरैबेर रुनु भयो मसँग । धेरै केही भन्नु भएन । भन्नु भयो– ‘बाबु, तँ जेठो छोरो होस् घरको । घर बनाउने जिम्मा छोरो मान्छेकै हो । छोरो मान्छे बिटुलियो भने घर बन्दैन कहिल्यै । म रहे–नरहे पनि यो घरको बाबुपछिको बाबु तँ नै होस् । मूल खाँबो भएर भाइबहिनीहरूको संरक्षण गरेस् है ।’
त्योबेला म झस्किएको थिएँ । अर्ति दिएको बर्ष दिन नबित्दै बाबु बितेका थिए । आज फेरि उसै गरी आमाले अर्ति दिंदै थिइन् । त्यस ंबेला लाग्यो– ‘के अब आमा पनि बित्दैछिन् ?’
त्यो भएको पन्ध्र दिनपछि एक दिन बिहान आमा घरमा थिइनन् । आमासँगै कान्छी बहिनी पनि थिइन । बहिनीलाई लिएर घाँस–दाउरा गर्न गइन् होला लाग्यो । मैले भात–तिउन पकाएर भाइबैनीलाई खुवाएँ, आफूले पनि खाएँ । आमालाई कसौडीमा नै छोपेर राखिदिएँ । गाई–बाख्रा फुकाएर भाइलाई जंगल पठाएँ छिमेकीहरूसँगै । बडिबा आए । आमाको बारेमा सोधीखोजी गरें, तर केही नभनी फर्केर गए । म पनि गाउँ घुम्न निस्किएँ, गाउँभरि आमा पोइल गएको हल्ला फैलिएको रहेछ । तिनै गहते काकासँग तमोर तर्दै गरेको घाटेहरूले देखेको रे भन्ने हल्ला गाउँभरि व्याप्त भइसकेको रहेछ ।
त्यस्तो सुनेपछि शिरमाथिबाट आकाश र पाइतालामुनिबाट धर्ती एकैपटक हराए जस्तो भयो । आँतेस लागेर आयो । कता कुद्नु कि, बस्नु कि, भाग्नु कि, रुनु कि, के गर्नु–गर्नु जस्तो भएर आयो । ओरालैओरालो तमोरतिर कुदेर आमालाई फर्काएर ल्याउनतिर पो लागौं कि जस्तो पनि लाग्यो । मेरो आँखाअगिबाटै मेरो ज्योति हराए जस्तो भयो । भनऽऽऽ रिंगटा लागेर आयो, वरिपरि सबै कालो भयो ।
बुवा मर्दा पनि त्यति रोइनँ होला, जति आमाले छाडेर हिँड्दा रोएँ । मरेर जाने बुबाप्रति त श्रद्धा थियो तर छोडेर जाने आमाप्रति धेरै नै गुनासो भरियो मनमा । हिँड्नै थियो भने हामीलाई पनि साथै लिएर हिँडेको भए हुन्थ्यो भन्ने लागिरह्यो । कान्छी बहिनीलाई लान हुनेले हामीलाई किन छाडेकी होलिन् भन्ने प्रश्न मनभरि उब्जियो ।
एकाएक हामी टुहुरो भयौँ । भाइबहिनीका लागि बाबु भने पनि आमा भने पनि अब म नै थिएँ । ममाथि थिए काका–बडिबाहरू । तर, उनीहरू छुट्टिएका थिए । बुबा खसेपछि आमाप्रति गरेको दुव्र्यवहारका कारण उनीहरुप्रतिको मेरो श्रद्धा निक्कै घटेको थियो । कुरा बुझ्ने भइसकेको थिएँ म, त्यसैले उनीहरूकोमा शरण पर्न चाहिं जान्न भन्ने भावनामा मनमा उठ्न थालेकै थियो ।
आमा हिँडेपछि वरपरकाहरू सहानुभूतिका स्वरहरू दिनहुँ घरमा आउन थाले । कसैले हामीप्रति सहानुभूति जगाउँथे । कसैले आमाप्रति सहानुभूति जगाउँथे । कहिल्यै नसुनेका कुराहरू पनि सुन्नु पर्ने भयो, कहिल्यै थाह नपाएको कुराहरू पनि थाह पाउन थालियो । बुवा खसेपछि आमा कति पीडामा हुनुहुँदोरहेछ भन्ने बल्ल बुझ्न थालेको थिएँ । आमामाथि लागेका आरोपहरू, आमामाथि वरपरका पुरुषहरूले लगाएको कुदृष्टिहरू, आमाले आफूलाई सग्लो बनाउनका लागि बगाएका आँशुका भलहरू, हामीले देख्दै नदेखेका हाम्रो लागि आमाले गरेका संघर्षहरू सबै–सबै हरेक दिन किताबको पाना जस्तै खुल्न थालेका थिए । कोही न कोही आएपछि केही न केही बताएरै जान्थ्यो ।
सबैका कुरा सुनेपछि घटनाहरू र आमालाई मनको तुलामा राखेर तौलिंदा मात्र थाह पाएँ, आमा त मर्न नसकेर पो हिँडेकी रहिछन् । आमालाई बाँच्ने अभिलाषाले मात्र ठाउँ छोडाएको रहेछ । यहीं बसिरहेकी भए व्याँसो जस्तो समाजले परिवन्धमा पारेर लुछेर सक्ने रहेछ । आमाप्रति श्रद्धा जागेर आयो । आमाले ठीकै गरिछन् जस्तो लाग्यो कुरा बुझ्दै जाँदा । मनबाटै कामना गरें, आमा जहाँ हुन्छ्यौ हामीलाई आशीर्वाद दिइरहनु, हाम्रो प्रेमको अनुभूतिले तिम्रो मलिन अनुहारमा खुसीका रेखाहरू सधैँ देखा परिरहुन् ।
व्यवहारको मेलो मिलाउन समय लाग्यो । त्यो बीचमा काका–बडिबाहरूले आफैसँग बस्न नभन्नु भएको होइन, तर मलाई नै उनीहरूकोमा जान मन लागेन । बिस्तारै दिन, हप्ता, महिना र बर्षहरू बित्न थाले । बुबाले दिएको अर्तिले मलाई ठूलो ढाडस दियो । जब अभावले घेरेर सारै विरक्त चल्थ्यो, बुबाको अनुहार सम्झिन्थें । उहाँले मलाई भनेका वाक्यहरू सम्झिन्थें– ‘दुःख त हाम्रो साथी हो, उसलाई साथीको रुपमा स्वीकार्नू’ ।
दिन उस्तै रहेनन् । म पनि जवान हुँदै आएँ । भाइ–बहिनी पनि बढे । बहिनीले सत्र काटेर अठार लागेकी थिई । मूलघरकाले कुटुम्ब लिएर आए । परिवार राम्रै लाग्यो, विवाह गरिदिएँ । आफूलाई पनि एउटी मन परेकी थिई, उसैसँग विवाह गरें । बहिनीका पनि नानी भए, मेरा पनि सन्तान बढे । भाइले पनि एक दिन एउटी शुशील केटी भित्र्यायो । बाबु–आमाले टुहुरा छाडेका हामी बचेराहरू बढेर अब एउटा ठूलो गोठ भइसकेका थियौं ।
समयले गुँड फुटायो । भाइलाई आफू बसेको घर छाडेर मैले अर्कै कटेरो हालें । संगोल हुँदा कामको भरअभर हुन्थ्यो । एउटाले सकेन भने अर्कोले कामको मेलो सक्थ्यो । मैले एक्लै थामेको घरमा भाइ बढेपछि हल गोरु जस्तो भएका थियौं, जस्तोसुकै मेलो पनि मिलिक्कै सक्थ्यौं । फेरि नयाँ सिर्जना गर्नुपर्ने भयो । परिस्थितिले बाबुको भूमिका निर्वाह गर्नुपरेको थियो पहिला, अब चाहिँ जैविकरूपमा नै बाबु बनेर फेरि समेट्नु थियो नयाँ संसार ।
स्वास्नी संघर्षशील भेटें । मभन्दा सम्पन्न परिवार हो उसको माइती । सायदै उसले अभाव देखेकी होलिन् विवाह हुनुअगि । किन म जस्तोलाई मन पराएर बिहे गरेकी हो मैले कहिल्यै बुझिनँ । बैंसको आँखाले अभाव, समस्या र भविष्य खुट्याउन सक्दैन होला सायद । त्यसैले लठ्याएर उसलाई मेरो भागमा हालिदियो समयले ।
अभावको निरन्तरताले धेरै थोक फुटाउँछ व्यावहारमा । जसरी निरन्तर झरेको पानीको थोपाले ढुङ्गा फुटाउँछ । उनको धैर्यताका बाँधहरु धेरै पटक फुटे मूल बनेर आँखाबाट । मनको बाँध फुट्दाका आवाजहरु गला च्यातेर निस्किए दुई ओठका बीचबाट सयौं पटक । तीरजस्तो तीखा लाग्ने बचनहरूले लागेर कयौं पटक मेरो मन छियाछिया भयो, कयौं पटक म बेहोसी भएँ । समय भन्दा ठूलो औषधि केही रहेनछ, त्यसैको मल्हम लगाएर बिसेक बनाएँ हरेक पटक ती चोटहरू ।
बिस्तारै सन्तानहरू जन्मिए, बढ्दै पनि गए । मेरो परिश्रम र श्रीमतीको साथले सन्तानहरू हामीभन्दा शिक्षित र सभ्य हुँदै आए । आर्थिक अभाव पनि पहिला जस्तो रहेन । भाग्य र कर्म दुबैले साथ दियो । आफ्ना र सन्तानका लागि गरेको संघर्ष दुःख थिएन, त्यो त जिम्मेवारी थियो । जिम्मेवारी अनुसारको फल पनि प्राप्त हुँदै थियो । सन्तानप्रति बाबुको जिम्मेवारी एक पटक हुन्छ, मैले एउटै जीवनमा दुई पटक निर्वाह गरें । सन्तान जस्ता लाग्ने भाइबहिनीहरूले खुट्टा टेके । मेरो कर्म सफल भयो ।
संघर्षका कथा नसुनाऊँ जस्तो लाग्यो । किनकि हरेकले आफ्नो जीवनमा आफ्नै किसिमको संघर्ष गरिरहेको हुन्छ । तीहरू मध्ये मेरो संघर्ष पनि एक हो । भूगोलको बनावट, समाजको अवस्था, आफ्नो चेतनाको स्तर, पारिवारिक वातावरण अनुसार संघर्षका कथा फरक हुने मात्र हुन् ।
एकदिन परिवारबाट विरक्त चल्यो । आफ्नै सन्तानहरू आफ्ना जस्तो लागेनन् । श्रीमती पनि आफ्नै जहान हुन् जस्तो लागेन । उनीहरूको मप्रतिको गुनासो थुप्रै होलान्, छन् । किनकि उनीहरूको गुनासो सुन्नका लागि म छु, तर मेरो गुनासो सुन्ने कोही थिएन । आफूभन्दा सानाका अगाडि आँसु देखाएर आफैँलाई कमजोर देखाउन सक्दिनथें । मलाई मानसिक र शारीरिक रुपमा परेको बोझको भारी उनीहरू अनुभूति गर्दैनथे ।
आफ्नै सन्तान र परिवारको बद्ख्याइ गर्न चाहान्न म । उनीहरूलाई जीवन बुझाउन नसक्नुमा मेरो अभिभावकत्वबाट नै केही कमी भयो होला । माया त ओरालो बग्दोरहेछ । मबाट श्रीमती, सन्तान हुँदै बगेको माया, श्रीमतीबाट पनि ओरालै बग्यो । मतिर फर्किन सकेन । प्रविधियुक्त समयचक्रभित्र म गैरजिम्मेवार पुरातनवादी हुँदै गएछु । उनीहरुको प्रेमको आरोलो संसारभित्र म अटाउनै सकिनँ ।
त्यो दिन आमाको धेरै याद आयो । बुवाको पनि याद आयो । उनीहरु भइदिएको भए उनीहरुको काखमा शिर राखेर मनभरिका मैलाहरू आँखाबाट बगाइदिन्थें होला । उनीहरू पनि आफ्ना आशीर्वादका हातहरू मेरो शिरमा सुम्सुम्याउँदै मनको पीडा धुन सहयोग गरिदिन्थे होला । त्यो सम्झिंदै गर्दा लाग्यो– म पनि मेरै सन्तान जस्तो उनीहरूको व्यथा अनुभूति गर्न नसक्ने पो हुन्थें कि सायद ।
पहाड छाडेर आमा र गहते काका आसाम पसे भन्ने सुनेको हो । आसामबाट आउनेहरुले उनीहरूको थाँत–ठेगाना समेत बताउने गरेकोले आमालाई भेट्न जाने रहर जाग्यो । जीवनमा धेरै संघर्ष गरियो बाँच्नका लागि । आफूभन्दा सानाहरूको जिम्मेवारीको डोरीले बाँधेर राख्यो । परिवारको मोहले गजुल्ट्याएर राख्यो । अब सबै बन्धनबाट मुक्त भएर संसार हेर्नुपर्छ लाग्यो । नपुगेको ठाउँ पुग्नु पर्छ लाग्यो । त्यसैले आफूलाई जन्म दिने आमाको चरण एक पल्ट ढोगेरै नयाँ यात्राको थालनी गर्नुपर्छ भावना जाग्यो ।
एकदिन बिहान घरमा कोही उठेकै थिएनन् । आफूलाई आवश्यक लुगाहरू र केही पैसा बोकेर घर छाडें । कतै नअल्मलिइ म आसाम पुगें । आमा त पाँच बर्षअगि नै खसिसकेकी रहिछन् । गहते काका पनि खसेछन् । उनीहरूका सन्तानसँग भेट भो, चिनजान भो । बडो सत्कार गरे । हामीपट्टिकी कान्छी बहिनीसँग भेट भो । उसको पनि परिवार ठूलै भएको रहेछ । बडो कठिनले चिनी । धेरै रोई, मेरा आँखा पनि ओभानो रहन सकेनन् ।
सानो छँदा काँधमा बोकेर गाउँ डुलाएकी बहिनीको अनुहार नै सम्झिरहेको थिएँ मनभरि । फेरिएर अर्कै बूढी आइमाई जस्ती भइसकिछे ऊ । उसलाई बोकेर फेरि गाउँ घुमाउँ लाग्यो मनमा । तर म आफै शरीरले आधा गलिसकेको थिएँ त्यतिखेर । ऊ पनि त मैले बोक्न सक्ने जस्तो रहिनछे । कति धेरै माया गरी उसले । सायद उसको जति माया त मैले पनि गर्न सकिनँ होला ।
झण्डै छ महिना जति आसाम बसें । आसाम सबै घुमें । नेपालीहरूको घर–घर गएँ, उनीहरूकोमा नै बसें, त्यहीं खाएँ । नेपालबाट आएको भनेपछि उनीहरूले सुम्सुम्याए, माया गरे, सद्भाव दिए । आसाममा बसेर पनि नेपालप्रतिको उनीहरूको भावुकताको कहीं मूल्यांकन हुनसक्दैन । नेपालप्रतिको त्यो असीमित मायाको महत्व कसले बुझ्न सक्छ र ?
आसाम धेरै बस्नु हुँदैन लाग्यो । म त देश–देशान्तर घुम्न निस्किएको मान्छे, उनीहरूको प्रेमको जालोले फेरि बाँधिए जस्तो भएछु । एउटा प्रेमको डोरी चुँडाएर अर्को डोरीमा पो बाँधिदै गएछु जस्तो लाग्यो एक दिन ।
अब मैले आसाम छोड्नु पर्छ लागेको एकदिन घर सम्झिएँ । परिवार सम्झिएँ । आमाको फोटो हेरेर एक्लै रोएँ रातभर । म किन रोएँ त्यो दिन आफैलाई थाह छैन । सायद मैले परिकल्पना गरेको घरको व्याख्या भेटिनँ होला, त्यसैले घरको अभावमा रोएँ कि जस्तो लाग्छ आज सम्झिँदा ।
मलाई लाग्थ्यो– घर भनेको छानो भएको चारभित्ता हुँदै होइन । झ्याल–ढोका लगाएर आँधी, हुरी र शत्रुबाट बाँच्नका लागि बनाइएको संरचना पनि होइन । घरको छानो र भित्ताहरू भनेको त मनले बनेको पो हुनुपर्ने रहेछ । जुन सन्तुष्टिको जगमा विश्वासको डोरीले कसिलो गरी बाँधिएको हुन्छ । समर्पणका ढोकाहरुबाट छिरेर एकअर्काको सुरक्षाका लागि आपसमा त्यागका कोठाहरु बन्न सकेमात्र एउटा पूर्ण घर बन्ने रहेछ । परिवारका सदस्य एकअर्कामाथि ती कुराहरू हुने हो भने घरको कुनै स्वरुप आवश्यक पर्दैन ।
तर म गलत रहेछु । घर भनेको त सिमेन्ट र रडले ठडिएको आडम्बर पो रहेछ । घरभित्र घर नभेटिएपछि पो म हिँडेको रहेछु ।
त्यो दिनपछि मेरो मनमा रहेको मैला सकियो क्यारे सायद । भोलिपल्ट सबैसँग बिदा मागेर म हिंडे । मलाई रोक्न खोजिरहेका थिए सबै । मैले बाँधिनु हुन भन्ने लागेर मायाको त्यो डोरी पनि चुँडाएर निस्किएँ । त्यहाँबाट हिंडेपछि मात्र मैले नीलो र खुल्ला आकाश देखें । मान्छेका खुसी र अभावहरू देखें । आग्रह र पूर्वाग्रहरू देखें । देवता र राक्षसहरू देखें । कुवेर र फकिरहरू देखें । बल्ल मैले संसार देखें । हेर्दै हिँडने क्रममा आज तपाईँलाई देखें । यहाँ बस्नु भएका आदरणीय व्यक्तित्वहरू देखें । र, शनिश्चरे बजारमा भएको यो जेष्ठ चौतारी देखें ।
त्यति भनेर ती बा चुप भए । उनका कुराले हामी सबैले आ–आफ्ना घर सम्झियौं ।
(प्रकाशोन्मुख उपन्यास ‘बुवा’ बाट कथांश)
kubha001@yahoo.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

