केही साहित्यप्रेमीले आयरल्यान्डलाई साहित्यकै राजधानी मानिदिन्छन् । मान्नेहरूलाई कसले पो रोक्ने । उनीहरूको दलिल छ, संसारमा सबैभन्दा उम्दा साहित्य त्यहीँकाले रचेका छन् । जो आइरिस छन्, तिनले साँच्चिकै राम्रा कृतिहरू संसारलाई दिएका छन् ।
अब यस्तो दाबी गर्नुका पछाडि उनीहरूको प्रमाण यस्तो छः आयरल्यान्डले चार नोबेल साहित्य पुरस्कार प्राप्त साहित्यकार जन्माएको छ । पाँच बुकर पुरसकार विजेता छन् । त्यस्तै जेम्स जोयस, स्यामुएल बेकेट र कोम टोबिनदेखि अहिलेकी स्याली रूनीसम्म यसैले जन्मायो ।
लगभग अस्ट्रेलियाको मेलबर्न वा भनौँ, तपाईंले काठमाडौँकै जनसंख्यासँग पनि तुलना गर्नुभए हुन्छ, जम्माजम्मी पचास लाख जनसंख्या भएको मुलुकले धडाधड विश्वविख्यात लेखक कसरी जन्मायो होला ? आयरल्यान्डमा त्यस्तो के छ ? साह्रै सुन्दर कथावाचक बनाउनुमा आयरल्यान्डले के खुवाउँदो हो ?
मेलबर्न विश्वविद्यालयमा आइरिस स्टडिज पढाउने रोनन म्याकडोनाल्ड पनि आइरिस लेखकहरू विश्वमै रूचाइएका साहित्यकारहरूका रूपमा स्वीकार गर्छन् । तर उनको प्रश्न छ, ‘आयरल्यान्डले साँच्चिकै सुन्दर लेखकहरू जन्माएको हो कि संसारले बढी चासो दिएको हो ?’
केहीको धारणामा भने, संसारले बढी चासो दिएको होइन कि बरू आयरल्यान्डले अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई साहित्यिक मुलुकको पहिचानका लागि बढी जोड दिइरहेको छ ।
कतिसम्म भने यसले १ लाख पाउन्डको डब्लिन लिटररी अवार्ड दिने गर्छ । यो संसारकै सबैभन्दा बढी मोलकोसाहित्य पुरस्कार हो ।
तर पहिले आयरल्यान्डले यस्तो गर्दैन थियो । उसका लागि साहित्य अनुत्पादक थियो ।
म्याकडोनाल्ड भन्छन्, ‘पहिला आयरल्यान्ड साहित्यमा यति उदार र प्रोत्साहित गर्ने मुलुक थिएन । बरू उल्टै साहित्यमा कैँची लगाउने गर्थ्यो। कतिसम्म भने आइरिस मोडर्निस्ट भनेर चिनिने साहित्यकारहरू जेम्स जोयस र स्यामुअल बेकेटले त मुलुकबाट निकालासमेत बेहोर्नु परेको थियो ।
पछि भने केही परिवर्तन देखिन थाल्यो । केही दशकयता आयरल्यान्डले लेखकहरूलाई प्रोत्साहित गर्न थालेको छ । तिनलाई राम्रो लगानी गरिरहेको छ । साथै, उनीहरूको सुन्दर कृति होहल्ला गर्न सघाइरहेको पनि छ ।
लेखकका लागि लगानी जुटाउन आयरल्यान्डले कञ्जुस्याइँ गर्दैन । त्यसमाथि किताब, कला र साहित्यका विविध विधासँगै आर्ट्स काउन्सिलहरूलाई सरकारले राम्रो रकम दिने गर्छ ।
नयाँ पुस्ताका तर कहीँकतै नाउँ बनाउन नसकेका लेखकहरूलाई पनि आयरल्यान्डका साहित्यिक पत्रिकाहरूले ठाउँ दिन्छन् । उनीहरू फल्नेफुल्ने मौका दिन्छ । त्यही मौकाबाट फुलेका फूलहरू नै स्याली रूनी हुन् र उनको २०१० मा आएको द स्टिङिङ फ्लाई उपन्यास ।
ट्रिनिटी कलेजमा आइरिस राइटिङ पढाउने क्रिस्टोफर मोरास भन्छन्, ‘पहिला निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको आइरिस कला साहित्य यतिबेला फल्नु फुल्नुमा पछि गरिएको मिहिनेतको फल हो ।’ डब्लिनः अ राइटर्स सिटी पुस्तकका लेखक मोराश थप्छन्, ‘सन् १८४५ देखि १८५२ को अवधिले देशलाई निकै नराम्रोसँग हल्लाइदियो । खासगरी त्यो बेला खान नपाएर जनताहरूले देश छाड्नु पर्यो । नछाड्नेहरूले जुन भुक्तमान भोगे, त्यो पीडाबाट नै उम्दा कलाहरू सिर्जना भए ।’
हुन पनि त्यस अवधिमा भोकका कारण १० लाख मानिसले ज्यान गुमाए । १० लाखले देश छाडे । तीमध्ये आधा अस्ट्रेलिया त आधा क्यानडा पुगे । यो मानसिक आघातको सामूहिकताको परिणामले नै आइरिस मोर्डनिज्म ल्यायो। सन् १८०० को अन्त्यताका सो कलात्मक आधुनिक चेत कलाकारितामा छिर्यो । कलाकारितामार्फत सर्वसाधारणको चेतमा पस्यो । उनीहरू विगतको सो ट्रमा नदोहोरियोस् भनेर सचेत वा एक किसिमको डर पाल्न थाले ।
मोराश भन्छन्, ‘मेरो विचारमा जुन आघात उनीहरूले भोगे, त्यसले उनीहरूलाई यो ठाउँ परित्यक्त हुने ठाउँका रूपमा होइन, आकर्षण गर्ने ठाउँका रूपमा परिणत गर्नुपर्छ भन्ने हुटहुटी लेखक कलाकारमा उत्पन्न भयो। त्यसले नै त्यहाँका कलाकारमा केही नयाँ गर्ने हुटहुटी सधैँ रहिरह्यो र त्यसैले अहिलेको आयरल्यान्डको प्रख्याति हो ।’
सोही कुरा आइरिस कवि विलियम बटलर यिट्सका कृतिमा देखिने उनको भनाइ छ । मोराश भन्छन्, ‘सन् १९०० को दशकमा आयरल्यान्ड ठ्याक्कै मैनजस्तो नरम चिज थियो र सर्जकले त्यो मैनलाई सुन्दर कलाकृतिमा ढालिदिए ।’
जुन देशको इतिहास निकै पुरानो छ, उसले बेलाबेलामा आफूलाई नयाँ स्वरूपमा ढालिरहनु पर्छ । अनि मात्र उसले सान्दर्भिकता प्राप्त गर्नेछ । एक समय क्याथोलिक धार्मिक सम्प्रदाय र अनुदार समाजले आफूलाई सान्दर्भिक बनाउन परिवर्तन गर्न थाल्यो। उसले इतर विचार र समुदायलाई स्वागत गर्यो । उसले समलैंगिक वैवाहिक सम्बन्धलाई स्वीकार गर्यो । साथै, गर्भपातलाई स्वीकृति दियो ।
उहिलेका आइरिस साहित्य हेर्यो भने थिचोमिचो, गरिबी, सामाजिक अपचलन देखिन्छ । तिनै कच्चा पदार्थबाट त्यो बेलाका साहित्यकारले उच्चकोटीका साहित्य रचना गरे ।
बेलायती शासनकालमा त्यहाँको स्थानीय भाषा हराउँदै जान थाले । त्यहाँको स्थानीय भाषा ओल्ड गेलिक गुम्दै गएपछि सचेत वर्गले अंग्रेजीलाई अँगाल्नुको साटो बरू नयाँ भाषा सिर्जना गरे । उनीहरूका साहित्यमा त्यही नयाँ अँगालिएका भाषा, शब्दहरूको नौलोपनले पनि पाठकलाई कौतुहल जगाउने गरेको म्याकडोनाल्ड बताउँछन् ।
‘पुराना पुस्ताका चर्चित लेखक मात्र होइन, नयाँ पुस्ताले पनि राम्रै लोकप्रियता कमाएका छन् । त्यहाँ हरकोही एउटा सफल लेखक बन्न चाहन्छन् । लेखक बन्नु, महत्त्वाकांक्षा पाल्नु होइन, बरू महान् लेखकहरूको कामलाई निरन्तरता दिनु भन्ने बुझिन्छ,’ मोराशको भनाइ छ ।
जोन बोएनले २० पुस्तक लेखिसकेका छन् । उनका द ब्वाई इन् द स्ट्रिप्ड पाइजामाज् (२००६) र अल द ब्रोकन प्लेसेस (२०२२) ले पनि ती कुरालाई प्रमाणित गरेको छ ।
‘सबै महान् लेखकहरू डब्लिनर थिए,’ निकोल्सले हालै सम्पन्न एडिलेड राइटर्स फेस्टिभलमा भनिन्, ‘उनीहरूजस्तै मैले पनि डब्लिनका गल्ली गल्ली चहारेको छु । उनीहरूका दुःख मेरा पनि दुःख हुन् । उनीहरूका समस्या मैले पनि झेलेँ भने उनीहरूले जस्तो मैले किन लेख्न सक्दिनँ भन्ने हरेक राम्रो लेख्ने पुस्तालाई भाव आउने गरेको छ । त्यसैले पनि हरेक नयाँ पुस्ताले केही न केही दिइरहेकै छ ।’
अझ पछिल्लो समय त पूरै डब्लिन संसारमा परिणत भएको छ । संसारभरिका मानिसहरू डब्लिनमा पाइन्छन् । तिनका संस्कृति, धर्म, परम्परा र शैली अलग अलग छन् र तिनले फूलबारीको काम गरिरहेका छन् । विविध धर्म र संस्कृतिबाट आएका नयाँ पुस्ताका लेखकहरूले उल्कै नयाँ किसिमका लेखन शैली भित्र्याइरहेका छन् । पछिल्ला लेखकहरूमा अडिबा जयगिरिधर (हेना वार्स, २०२०), क्लारा कियोको कुमागाई (क्याटफिस रोलिङ, २०२३)ले त नयाँ पुस्तालाई अझ बढी चकित पारिरहेका छन् ।
मोराश भन्छन्, ‘आयरल्यान्डको सबैभन्दा विशेष पक्ष चाहिँ यहाँको संस्कृति र मुलुकको कल्पनाशीलतामा लेखकहरूले उल्लेख्य भूमिका खेल्ने गरेका छन् । जुन अन्त अलि कमै देखिन्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।