सन् २०१३ मा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) को प्रमुखमा नियुक्त भएपछि १० वर्ष उनी त्यसको प्रमुख हुनुपर्ने हो तर २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई निकाला गरे । खासमा निकाल्नु पर्ने कारण चाहिँ, उनी राष्ट्रपति हुन रूसी माफियाहरूको साँठगाँठ बलियो थियो भन्ने उनको विश्वास थियो । जब राष्ट्रपतिमाथि नै अनुसन्धान शुरू गरे, उनको जागिर ट्रम्पले खाइदिए ।

पेशाले वकिल उनी एफबिआईको साताैं निर्देशकका रूपमा चुनिएका थिए । उनका दुई बेस्टसेलर बुकहरू ट्रम्पकै बारेमा थिए, अ हाइयर लोयल्टीः ट्रुथ, लाइज एन्ड लिटरसीप अनि सेभिङ जस्टिसः ट्रुथ, ट्रान्सपेरेन्सी एन्ड ट्रस्ट । ती दुवै बेस्टसेलर साबित भए ।

पछिल्लो समय भने उनले अपराध उपन्यास सार्वजनिक गरेका छन् । यो उपन्यासले ह्वाइट हाउसभित्रका गतिविधिहरूलाई नजिकबाट नियाल्न सकिने, भित्री कुराहरू ल्याउने दाबी गरिरहेका छन् । अमेरिकामा यो उपन्यास बजारमा आइसकेको छ र यसका बारेमा मिश्रित प्रतिक्रिया अखबारहरूले दिएका छन् ।

उनै कोमीसँग गार्डियन पत्रिकाले गरेको कुराकानीः

अपराध आख्यान तपाईंको रूचिको विधा हो ?
मलाई मनपर्ने कुरा त हो तर जब म एफबिआईमा गएँ, मैले राम्रोसँग पढ्ने समय पाइनँ । एफबिआईको काम २४ घण्टे काम हो । कामका बेला म उपन्यास पढ्न चाहन्न थिएँ ।

तपाईंले उपन्यासमा साना साना कुराहरू पनि उल्लेख गर्नुभएको छ, कसरी लेख्नुहुन्छ ?
मेरो विचारमा राम्रा पत्रकार र वकिलहरूले कथा भन्न मन पराउँछन् । साना साना कुराहरूलाई उनीहरूले निकै ठूलो बनाएर सुनाउन पाउँदा खुसी हुन्छन् । बच्चा बेलामा म स्कुल वा वरिपरिका साना कुरालाई पनि थपथाप गरेर सुनाउने गर्थें । शायद यही बानी पछि राम्रोसँग विकसित भएकाले म वकिलका रूपमा पनि राम्रो कथावाचक बनेँ । जुन दिन वकालत छाडेँ, लेख्नु मेरो अर्को प्रिय काम बन्यो ।

उपन्यासमा तपाईंले न्युयोर्कको तल्लो अदालतका घटनाहरू निकै मजाले व्याख्या गर्नु भएको छ नि ?
अँ, ती दृश्य लेख्दा मैले आफूले शुरूवाती दिनहरूमा गरेको संघर्ष पुनः अनुभूत गरेँ । उपन्यास लेख्दै गर्दा कोर्ट रूम ३१८ झल्झली याद आइरहन्थ्यो । उपन्यासका कतिपय घटना त्यहीँबाट लिइएका हुन् ।

तपाईंको उपन्यासकी मुख्य पात्र नोरा छे नि ? त्यसका बारेमा बताउनुस् न ।
खासमा नोरा मेरी छोरी हो । यो लेख्दै गर्दा मेरी ठूली छोरी त्यही अदालत, जहाँ मैले धेरै वर्षअघि काम गरेको थिएँ, त्यसको ३१८ नम्बरमा बहस गरिरहेको देखेँ । उसले कुख्यात बालयाैन दुराचारी जेफ्रे एपस्टेनको कुकर्मको साथी घिस्लिन म्याक्सवेलको मुद्दा लडिरहेकी थिई । उसले जुन मनोयोगका साथ मुद्दामा आफ्नो सारा शक्ति लगाएकी थिई, त्यसले मलाई मेरो उपन्यासकी नायिका यही हो भन्ने लाग्यो ।

तपाईंले त न्युयोर्कका डनहरूलाई पनि नजिकबाट नियाल्नुभयो । उनीहरूविरूद्ध मुद्दा चलाउनुभयो नि, हैन ?
वास्तवमा त्यो मेरो जीवनको सबैभन्दा शक्तिशाली क्षण थियो । फ्याट टोनी भनिने माफिया बोस र उसको सहयोगी द फिस भनिने भिन्सेन्ट कफारोविरूद्धको मुद्दा सन् १९८९ मा लडेको थिएँ । म भर्खरको वकिल थिएँ । अपराधी भए पनि तिनीहरू सगर्व अदालतमा उभिएको देखेर म छक्क पर्थें । माफिया भन्नेबित्तिकै ड्याङडुङ हान्लान् भन्ने सोचेको त, चुपचाप बहसहरू सुनिरहेका थिए । कानुनमा कति शक्ति रहेछ भन्ने मैले त्यहीबेला महसुस गरेँ । मैले त्यो साँझ घर पुग्नेबित्तिकै मेरी त्यो बेलाकी प्रेमिका (अहिलेकी पत्नी)लाई फोन गरेँ र भनेँ, ‘जीवनमा म के गर्छु भन्ने पत्तो लगाएँ ।’ किनभने, मैले त्यतिञ्जेलसम्म खासै उद्देश्य लिएको थिइनँ ।

तपाईंको अ हाइयर लोयल्टी पुस्तकमा राष्ट्रपति ट्र्रम्पको व्यवहार माफियाको जस्तो भनेर लेख्नुभएको छ नि ?
त्यो सत्य हो । त्यो मेरो सत्य हो किनभने मैले जुन बेला माफियाहरू विरूद्धका मुद्दा लडिरहेको थिएँ, त्यहाँ मैले उनीहरूका चम्चाहरूको वफादारिताको अद्भुत नमुना देख्न पाएँ । पछि ट्रम्पले पनि अाफ्ना साना कर्मचारी र नजिकका मानिसहरूसँग गलतै काम गरेको भए पनि सोही तहको वफादारिता र ज्यू हजूरीको अपेक्षा गरेको पाएँ । मलाई त्यो मन परेन । हामी उनका नोकर होइन, देशको नोकर थियाैं ।

यो नयाँ उपन्यासको प्रेरणा दिने व्यक्तिका रूपमा तपाईंले पत्नीलाई धन्यवाद दिनुभएको छ नि ?
मेरी पत्नी आइडिया मास्टर हो । उनले सुझाएकै कुराहरूलाई मैले लगभग लेखेको छु । मैले एउटा उपन्यास लेखेर छाड्छु भन्ने सोचेको थिएँ तर उनले मलाई अरू कुराहरू पनि सम्झाइन् । अब न्युयोर्कका दिनमा काम गर्दाका अनुभवलाई लिएर ट्रियोलजी लेख्छु । जसअन्तर्गत अहिले पहिलो उपन्यास बजारमा आइसकेको छ । त्यसपछि म सिआइए हेडक्वार्टरमा पनि केही समय सरकारी वकिलका रूपमा काम गरेको अनुभवलाई लिएर ट्रियोलजी उपन्यास लेख्ने छु । त्यसपछि मैले ह्वाइट हाउसभित्र र एफबिआईको न्यायप्रणाली कसरी काम गर्छ भनेर पनि लेख्नेछु ।

एक पटक त तपाईं राष्ट्रपतिका लागि पनि उठ्ने हल्ला चलेको थियो नि ?
हल्ला त चल्यो । त्यो कसरी चल्यो म भन्न सक्दिनँ तर मैले त्यै बेला भनेको थिएँ, म राजनीति गर्दिनँ । मलाई त्यो सुहाउँदैन । अहिलेका लागि सबैभन्दा ठूलो काम भनेको डोनाल्ड ट्रम्पलाई राजनीतिबाट वञ्चित गर्नु हुनेछ । ऊ प्रजातन्त्रका लागि खतरनाक मानिस हो । त्यसबाहेक मेरो कुनै राजनीतिक मुद्दा छैन । जबसम्म लेख्न सक्छु, दिमाग चल्न सक्छ, म उपन्यास नै लेखेर बस्नेछु । बूढो र पटमूर्ख भइन्जेल म लेखिरहन चाहन्छु । त्यसपछि मेरो ठूलो सोख भनेको असल हजुरबुवा बन्नुमा छ ।