रूसी पाठकहरू अचानक युद्धउन्मादको अवस्थाबाट वाक्क भएर मन हलुंगो बनाउने साहित्यतिर आकर्षित भएको बेलायती अखबार द अब्जर्भरले लेखेको छ । अखबारमा कला तथा मिडिया विधाको रिपोर्टिङ गर्ने भेनेसा थ्रोपीले पछिल्लो समय रूसीहरूको साहित्य स्वाद हल्काफुल्का मनोरञ्जनतर्फ आकर्षित भएको बताएकी छन् ।

त्यसो त यतिबेला रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । यो युद्धलाई रूसविरूद्ध हरेक किसिमले उपयोग गर्न पश्चिमा मुलुकहरू लागिपरेका छन् । कतिसम्म भने लेखकहरूले रूसी भाषामा अनुवाद गर्न दिनु हुन्छ कि हुँदैन भन्नेसमेत चर्चा चलाउने गरेका छन् । यस्तोमा अंग्रेजीमा लेखिएका र खासगरी बेलायती क्राइम, रोमान्स, फेन्टासी उपन्यासहरूले यो वसन्त याममा राम्रै पाठक पाएको बताइएको छ ।

पाठकहरू बढेपछि रूसी प्रकाशकहरूले राम्रै दाममा ती पुस्तक अनुवाद गराउन थालेका छन् । केही लेखकहरूले भने जतिसुकै राम्रो दाम पाएको भए पनि अनुवादको अनुमति नदिएको बताउन थालेका छन् ।

बेलायती लिटररी एजेन्ट केन टास भन्छिन्, ‘सिर्जनामाथि पहिलो अधिकार लेखकको हो । उनीहरूसँग आफ्नो सिर्जना कहाँ र कसलाई पढाउने भन्ने अधिकार छ । त्यसैले अधिकार दिनु नदिनुमा एजेन्टको कुनै भूमिका हुँदैन ।’

उनले आफ्नो एजेन्सीमा आएका विविध रूसी प्रस्तावमध्ये एउटाले बढी पैसा तिर्न राजी भएको पाएपछि उसलाई पुस्तक अनुवादको अधिकार दिएको बताए बताइन् ।

पछिल्लो समय ऐतिहासिक घटनामा आधारित, साइफाइ तथा फेन्टासी, अपराधकथा वा रोमान्सजस्ता विधाका उपन्यासको रूसी बजारमा ठूलो माग छ । बजार बढेपछि उपन्यासको अधिकार लिन रूसी प्रकाशकहरूले मोलसमेत बढाउन थालेको एजेन्ट केनले बताइन् । उनले भनिन्, ‘खासगरी इस्केपिस्ट लिटरेचरमा पाठकको रूचि बढेर गएको देखिन्छ । कोभिडको महामारी र अचानकको युक्रेन युद्धका कारण रूसी पुस्तक बजार थिलथिलो भएको थियो तर यतिबेला क्रमशः बजार सुधारिएको देखिन्छ ।’

त्यसो त केही लेखकले भने युक्रेनमा रूसले थोपरेको युद्धका विरूद्धमा आफ्ना साहित्य अनुवाद गर्ने अधिकार नदिन उद्दत देखिन्छन् । तीमध्ये ज्यादै चर्चित लेखकहरूमा स्टेफन किङ र नील गेम्यान रहेका छन् । गत महिना नै बेलायती लेखिका जेके रोलिङले रूसी भाषामा निस्किएको ह्यारी पोटर शृंखलालाई त्यहाँका दुई ठूला प्रकाशकहरूले अनलाइनमा राख्न मागेको इबुक लाइब्रेरीको अनुमतिलाई अस्वीकार गरेकी थिइन् ।

अन्य केही साहित्यकारहरूले भने निजी रूपमा आफ्ना कृतिहरूलाई अनुवादको स्वीकृति दिएका छन् ।

आरसिडब्लु नामक अन्तर्राष्ट्रिय लिटररी एजेन्ट चलाइरहेकी लरेन्स लालुयक्स भन्छिन्, ‘पछिल्लो समय कसले अनुमति दिने र कसले नदिने भन्ने जुन वादविवाद भइरहेको छ, त्यो हेर्नु निकै रोचक भइरहेको छ । एजेन्सी र लेखकले जसरी मिश्रित प्रतिक्रिया दिइरहेका छन्, त्यो रोचक छ । केहीले रूसी भाषा अनुवाद अनुमतिका लागि निकै चाख लिएर स्वीकृति दिएका छन् भने केहीले सरकारले लिएको नीतिलाई नै अनुशरण गर्दै आफ्नो गू पनि बिक्री नहोस् भन्ने चाहिरहेका छन् ।’

साहित्यले यसरी राजनीति गर्न हुन्छ कि हुँदैन, पाठकको रूचिको सम्मान गर्नु हुन्छ कि हुँदैन भन्नेजस्ता विवाद पनि उठेको लरेन्सको भनाइ छ । यस्तोमा आफ्ना सिर्जनामार्फत सत्ताको पक्षधरतामा काम भइरहेको छ कि विपरीतमा काम भइरहेको छ भन्ने पनि सोच्ने बेला भएको लरेन्स बताउँछिन् ।

रूसबाट केही पुस्तक सम्पादकहरू स्वतन्त्र रूपमा काम गर्न पाइएन भनेर देश छाडिरहेका छन् भने त्यहाँ बसेका सम्पादकहरूले पनि काम नपाउने हो भने पुटिनको स्वार्थअनुरूप काम हुन्छ भन्दै लरेन्स भन्छिन्, ‘यस्तोमा पुटिनलाई सघाउ पुर्याउने काम गराउनुभन्दा बरू अनुवादका काम दिनु नै उपयुक्त हुन्छ, हैन र ?’

सँगैमा ती पुस्तक मज्जाले बिक्री भएको खण्डमा त्यसको बिक्रीले रूसी अर्थतन्त्रलाई थोरबहुत सहयोग गर्छ, सहयोग गरेको खण्डमा युद्धलाई सहयोग गरेको देखिन्छ । त्यसैले यो काम निकै क्लिष्ट रहेको बुझाइ लरेन्सको छ ।

पछिल्लो समय रूसलाई आफ्ना कृति अनुवादका लागि स्वीकृति दिने लेखकहरूलाई केहीले नराम्रो नजरमा हेरिएको प्रति लेखिका जेके रोलिङले भने सहानुभूति राख्ने गरेकी छन् । उनले भनिन्, ‘लेखकका लागि सानो सानो रकम पनि महत्त्वको हुन्छ । एउटा ठूलो बजारबाट अप्ठेरो अवस्थामा पैसा आइरहेको छ र त्यो स्वीकार गरूँ कि नगरूँ भन्दै अन्ततः त्यसलाई कुनै लेखकले स्वीकारिरहेको छ भने त्यसलाई नराम्रो मान्न हुँदैन । पश्चिमा साहित्यप्रतिको यो रूचि सधैँ नहुन पनि सक्छ र यस्तो अवस्थामा रूसीहरूले केही पढ्न चाहिरहेका छन् भने तिनको बाटो छेक्नु चाहिँ हुँदैन ।’

यसपाला बेलायतमा भएका कयौँ साहित्य महोत्सवमा रूसी साहित्यकारहरूलाई निम्त्याइएन । यस किसिमको प्रतिबन्धलाई लरेनले भने उति राम्रो मानेकी छैनन् ।