अलेक्सेइ माक्सिमोभिच पेश्कोभको लेखकीय नाम माक्सिम गोर्की हो। समाजवादी यथार्थवादी साहित्यका जन्मदाता विश्व प्रसिद्ध रसियाली साहित्यकार गोर्की २८ मार्च १८६८ का दिन भोल्गा नदीको किनारामा पर्ने निइनी नोभ्गोरोद भन्ने ठाउँमा जन्मेका थिए । उनका पिता माक्सिम पेश्कोभ सिकर्मी थिए। गोर्की चारै वर्षको हुँदा उनका पिताको मृत्यु भयो र उनी सात वर्षको पुग्दा नपुग्दै आमा चाहिँले पनि उनलाई छाडेर गइन् । टुहुरा गोर्की आफ्ना निर्दयी हजुरबाका संरक्षणमा हुर्के। उनकी हजुरआमा भने उनलाई ज्यादै माया गर्थिन् । सन् १८८० मा उनी घरबाट भागेर कामको खोजीमा रसियाली साम्राज्यका विभिन्न ठाउँको पैदल यात्रा गरे। गोर्कीले बालखैदेखि भाँडा माझ्ने, जुत्ता सिउने, खाना बनाउने जस्ता काम गरेर आफ्नो खर्च आफै जुटाउनु पर्थ्यो ।

गोर्कीले भोल्गा नदीमा चल्ने जहाजको भुईँ सफा गर्ने र भाँडा माझ्ने काम गरेका बेला उनको जीवनमा एउटा सुखद अवसर प्राप्त भयो । यो उनको जीवनको अति महत्त्वपूर्ण क्षण थियो । जहाजमा खाना बनाउने भान्सेले गोर्कीलाई पढ्न सिकाई दियो र ऊ आफैँ राम्रा-राम्रा पुस्तक पढेर गोर्कीलाई सुनाउने गर्थ्यो । भान्सेसँग रसियाली साहित्यका उत्कृष्ट पुस्तक थिए। ती पुस्तक गोर्कीले अध्ययन गर्ने सुअवसर पाए । उनका बाल्यकालका यी अनुभव नै भविष्यमा उनका लेखनका विषयवस्तु बने ।

सानै उमेरमा काम खोज्दै, अनेक किसिमका हण्डर खाँदै गोर्कीले रसियाका विभिन्न ठाउँ चहारे । जीवन धान्न बाल्यकालदेखि अनेकौँ काम गर्न सक्ने परिश्रमी गोर्कीलाई शारीरिक श्रमको महत्त्व राम्रोसँग थाहा थियो । सन् १८८४ मा घुम्दै उनी कजान पुगे । कजानमा उनको प्रगतिशील बुद्धिजीवी र क्रान्तिकारी युवकसँग भेट भयो । त्यसै बेला उनले कार्ल मार्क्सको प्रसिद्ध कृति पुँजी (Capital) पढे । सन् १८८९ सम्ममा उनले विभिन्न उत्कृष्ट विदेशी कृति पढिसकेका थिए । १८९१ मा गोर्कीले सर्वप्रथम रुसको लामो पैदल यात्रा पूरा गरे। यसै यात्राको अनुभवबाट उनले मकार चुद्रा (१८९२), बुढी इत्सेर्गिल (१८९४), चेल्काश (१८९४) जस्ता कथा लेखे । सन् १९०१ मा जीवन भन्ने पत्रिकामा गोर्कीको आँधिमय पेत्रेल चरो (The Stormy Petrel) छापियो । यस कथाले रसियामा कान्तिको सङ्केत गरेको भन्ने आरोपमा उनी थुनामा परे र पत्रिका पनि प्रतिबन्धित गरियो ।

सन् १९०२ मा गोर्की रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानका सदस्य निर्वाचित भए। जार सरकारले गोर्कीको निर्वाचनलाई अस्वीकार गरेको हुँदा प्रतिष्ठानका विशिष्ट सदस्य देखो र कोरोलेङ्कोले पनि प्रतिष्ठानबाट राजीनामा दिए। १९०५ को रसियाली कान्तिमा पूर्णरूपले भाग लिएको र सरकार विरोधी रचना छपाएको हुँदा गोर्कीलाई गिरफ्तार गरियो। उनी थुनामा परेपछि देश र विदेशमा समेत गोर्कीलाई मुक्ति दिने चर्को आवाज फैलिन थाल्यो । प्रसिद्ध फ्रान्सेली साहित्यकार अनातोले फ्रान्सले लेखे, गोर्कीको समस्या हामी सबैको समस्या हो। गोर्की जस्ता प्रतिभा कुनै एउटा देशका मात्र नभएर सम्पूर्ण विश्वकै हुन्। सारा सन्सार उनको मुक्ति चाहन्छ आखिर रसियाली जार सरकारले गोर्कीलाई कारागारबाट मुक्ति दिनुपर्‍यो ।

सन् १९०५ को कान्ति असफल भएपछि पार्टीको आदेश लिएर गोर्की विदेश भ्रमण गर्न भनी रुसबाट निस्के। कान्तिको निम्ति चन्दा उठाउन उनी फिनल्याण्ड, स्विडेन, जर्मनी र फ्रान्स घुम्दै संयुक्त राज्य अमेरिकातिर लागे । त्यसैताक उनले विश्वविख्यात उपन्यास आमा पनि लेख्न थालेका थिए। संयुक्त राज्य अमेरिकाको भ्रमणको अवसरमा १९०७ को गृष्ममा उनले आमा लेखेर सिद्ध्याए। यो उपन्यास सर्वप्रथम एपल्टन म्यागजिनमा अङ्ग्रेजी भाषामा क्रमशः प्रकाशित भयो। १९०७ मा गोर्की एसियाली सामाजिक प्रजातन्त्र दलको अधिवेशनमा लन्डन गए, त्यही लेनिनसँग उनको भेट भयो । लेनिनले आमा को प्रशंसा गरे र यसलाई अत्यन्त आवश्यक र सामयिक पुस्तक भने । लभ तल्सतोइ र अन्तोन चेखोवसँग पनि उनी निकटतम सम्पर्कमा रहन्थे ।

आमाले बिसौँ शताब्दीको प्रारम्भमा रसियाली मजदुर र कारखानाका मालिकका बिचको वास्तविक वर्ग सङ्घर्षको चित्र प्रस्तुत गरिएको छ। यसको मुख्य पात्र पाभेल भ्लासोभको जीवन सोर्मोभोको कारखानामा काम गर्ने मजदुर प्योत्र जालोमोभको जीवनमा आधारित छ। पाभेलकी आमा निलोभ्ना आफ्नो छोरा र उसका अरू मजदुर साथीले गरेको कान्तिलाई सघाउ पुर्याउँछे र सारा सोभियत जनतालाई आफ्नै सन्तान ठान्दछे । वास्तवमा पाभेल र उसकी आमा निलोभ्नानै निम्नवर्गीय एसियाली जनताका साँचा प्रतिनिधि र समाजवादी क्रान्तिका प्रेरणाका स्रोत हुन् । पाभेलका कान्तिकारी भाषण छापेका पर्चा बाँड्न भनी उसकी आमा रेलमा चढ्छे। उसलाई चारैतिरबाट गुप्तचर प्रहरीले घेरिसकेका हुन्छन्। उसका टाउकामा प्रहरीका फलामे डण्डीहरू जतिसुकै बर्से पनि ऊ सचेत र निर्भीक भएर धैर्यपूर्वक पर्चाहरू बाँडिरहन्थे । यसरी उपन्यासको अन्त्य हुन्छ ।

गोर्की विश्वका निम्न वर्गीय जनताका अत्यधिक प्रिय व्यक्ति, रसियाली सर्वहारा कान्तिका अगुवा के महान् साहित्यकार हुन्। उनको युग रसियाली समाजवादी कान्तिको युग र जनताको पुनर्जागरणको युग थियो। जीवनभर व्यथै व्यथा बोकेका गोर्कीले आर्थिक र राजनीतिक रूपले पिल्सिएका बहुसङ्ख्यक रसियाली जनताको उत्पीडनलाई आफ्ना रचनामा औधी मार्मिक ढबले चित्रण गरेका छन्। लण्डनको अधिवेशनपछि उनले स्वीकारोक्ति, बाल्यकाल, मात्भेइ कोझेम्याकिनको जीवन र इटालीका कथा लेखे । त्यसपछि उनी स्वदेश फिरे। उनले बोल्सेभिक दलका कान्तिकारी कार्यमा पूर्णरूपले भाग लिए। १९१७ को अक्टोबर कान्ति सफल भएपछि तुरुन्तै सम्पूर्ण कार्यको व्यवस्था मिल्न नसकी हुन गएका बेथितिप्रति गोर्की विक्षुब्द भए र उनीबाट रसियाली निर्दयता (Russian Cruelty, 1922) जस्ता रचना लेखिए। त्यसपछि उनी फेरि विदेश हिँडे। साम्यवादी रुसको प्रथम पाँच वर्षे योजना सफल भएपछि १९२८ मा उनी रुस फिरे र फेरि साम्यवादी दलमा सम्मिलित भए।

सन् १९३४ मा उनी सोभियत लेखक सङ्घका सभापति चुनिए। लेनिनको मृत्युपछि स्टालिनको नीतिलाई पूर्ण समर्थन गर्दै गोकीले रचना लेखिरहे। पाँच पटकसम्म विश्व प्रसिद्ध नोबेल पुरस्कारको मनोनयनमा परेका गोर्कीको मस्को अस्पतालमा उपचार हुँदाहुँदै १८ जुन १९३६ का दिन अकस्मात् रहस्यात्मक निधन भयो । उनलाई स्टालिनका मुखपात्र ठानी ट्राट्स्की पक्षीय षड्यन्त्र अन्तर्गत मारिएको भन्ने शङ्का गरिएको छ। निम्नलिखित उनका विश्वविख्यात कृति हुन्

उपन्यास: १) फोमा गर्देएभ (Foma Gordeyev, 1899), २) तीन मान्छेहरू (The Three, 1901), ३) आमा (Mother, 1906), (४) क्लिम साम्गिनको जीवन (The Life of Klim Samgin, 1938) (५) मेरो विश्वविद्यालय (My Universities) र (६) मान्छेहरूका माझमा (My Apprenticeship) । Mother को नेपाली अनुवाद आमा शीर्षकमा राजेन्द्र मास्केले गर्नु भएको छ भने My Apprenticeship को नेपाली अनुवाद मान्छेहरूका माझमा शीर्षकमा सुदर्शन देवकोटाले गर्नु भएको छ। दुवै पुस्तक सोझै रसियाली भाषाबाट नेपालीमा अनुबाद गरिएका हुन् ।

नाटक: १) निकृष्ट खाल्टो (The Lower Depths, 1902), येगोर बुलीचेभ (Negor Bulychev, 1932) र भास्सा झेलेजोब्ना ( Vassa Zheleznova ) | भास्सा झेलेजोब्ना को नेपाली अनुवाद त्यही शीर्षकमा खगेन्द्र सङ्ग्रौलाले गरेका छन् ।

नुनिलो सिम्सारमा (१८९३), चेल्काश (१९९४), बाजको गीत (१८९५), कलुशा (१८९५), कवि (१८९६), भान्का मानिज (१८९७), छब्बिस लोग्नेमान्छे र एउटी केटी (१८९९), आँधिमय पेत्रेल चराको गीत (१९०१) आदि गोर्कीका विश्वविख्यात कथाहरू हुन् । उनको संस्मरणात्मक उपन्यास My Universities को नेपाली अनुवाद मेरो विश्वविद्यालय शीर्षकमा कृष्णप्रकाश श्रेष्ठले गर्नुभएको छ। माक्सिम गोर्कीको बाल्यकाल (The Childhood of Maxim Gorky) नाउँको फिल्म समेत बनेको छ।