२३
पहिलो र दोस्रो दिन आमा चिन्ता र आशङ्काकै वातावरणमा घोरिइरहिन् । तेस्रो दिन सासा आइपुगिन् ।
“सबै तयार भइसक्यो, आज एक बजे … ।” – उनले निकोलाइलाई भनिन् ।
“यति चाँडै ?” – निकोलाइले अचम्म मान्दै सोध्यो ।
“विशेष के थियो र ? रिबिनका लागि लुगा र लुक्ने ठाउँसम्मको त प्रबन्ध गर्नु थियो नि ! बाँकी सबै कामको जिम्मा गोबुनले लिएको छ । रिबिनले भागेर अर्को टोलसम्म मात्र पुग्नुपर्छ । त्यहाँ भेसोभसिकोभ भेष बदलेर उसलाई पर्खिरहेको हुन्छ । ऊसँग ओभरकोट र टोपी हुन्छ र बाटो पनि उसैले देखाइदिनेछ । म अलि पर पर्खेर बसिरहेको हुन्छु र झटपट लुगा बदलेर भगाइहाल्छु ।”
“ठिक छ, बरु यो गोबुन भन्ने को पर्यो ?” – निकोलाइले सोध्यो ।
“तपाईँले चिन्नुभएको छ उसलाई । उसैको कोठामा त हो नि तपाई मिस्त्रीहरूको अध्ययन मण्डली जम्मा गर्नुहुन्थ्यो ।”
“अँ ! सम्झेँ । अलि अनौठो मान्छे त होइन … ?”
“ऊ पहिले पल्टनमा काम गर्थ्यो । हाल रिटायर छ । छाना लगाउने काम गर्छ । त्यत्ति जान्ने सुन्ने मान्छे त होइन, तर कुनै पनि किसिमको बल मिचाइप्रति भने असाध्यै घृणा गर्छ । अलिअलि दार्शनिक पनि छ ।” – सासाले झ्यालबाहिर हेरेर विचार मग्न हुँदै भनिन् । आमा चुपचाप सुनिरहिन् । उनको हृदयमा बिस्तारै एक अस्पष्ट सङ्कल्प उम्रिँदै थियो ।
“गोबुन आफ्नो भतिजोलाई भगाउन चाहन्छ । तपाई एभचेन्कोलाई सम्झनुहुन्छ ? सधैँ सफा सुग्घर र चिटिक्क परेर हिँड्ने गर्थ्यो, तपाईँलाई खुब मन पर्थ्यो त्यो मान्छे ।”
निकोलाइले टाउको हल्लाउँदै आफ्नो सहमति जनायो ।
“उसले सबै कुराको राम्रो प्रबन्ध मिलाएको छ ।” – सासा भन्दै गइन् – “तर मलाई चाहिँ हामी सफल हुन्छौँ भन्ने कुरामा शङ्का लाग्न थालेको छ । हावा खान सबै कैदीहरूलाई एकै पटक बाहिर निकाल्छन् । मलाई लाग्छ, भर्याङ देख्नासाथ सब कैदीहरूले भाग्न खोज्नेछन् … ।”
सासा आँखा बन्द गरेर एक छिन चुप लागिन्, आमा उनको अझ नजिक सरिन् ।
“सब भताभुङ्ग पारिदिन सक्छन् … ।”
उनीहरू तीनै जना झ्यालअगाडि उभिएका थिए । आमा निकोलाइ र सासाको पछाडि थिइन् । उनीहरूको छिटो छिटो कुरा गराइले उनको हृदयमा एक अस्पष्ट भावना पैदा गर्दै थियो ।
“म पनि जान्छु ।” – आमाले एक्कासि भनिन् ।
“किन र ?” – सासाले सोधिन् ।
“नजानोस्, आमा ! भेट्टाउन सक्छन्, नजानु नै बेस हुन्छ ।” – निकोलाइले सल्लाह दियो ।
आमाले उसतिर हेरिन् र बिस्तारै तर दृढ स्वरमा दोहोर्याइन् –
“होइन, म जान्छु … ।”
उनीहरूले झट्ट एक–अर्काको मुख हेरे ।
“म तपाईँको चिन्ता बुझ्छु … ।” – सासाले कुम हल्लाउँदै भनिन् र आमानजिक गएर उनको हात आफ्नो हातमा लिइन् ।
“तर म तपाईँलाई भन्छु, तपाई व्यर्थै आशा गर्दै हुनुहुन्छ … ।”
उनले कति साधारण र मायालु तरिकाले भनिन् भने आमाको हृदय नै पग्ल्यो ।
“छोरी !” – उनले काँपेको हातले सासालाई आफ्नो छातीतिर तान्दै भनिन् ।
“तपाईँहरू नै जान्नोस् !” – उसले टाउको झुकाउँदै जवाफ दियो ।
“तर हामी सँगसँगै जानुहुँदैन । तपाई खेततिर, बगैँचातिर जानोस् । त्यहाँबाट जेलको पर्खाल देखिन्छ । त कसैले देखिहाल्यो र यहाँ के गर्दैछस् भनेर सोध्यो भने के भन्नुहुन्छ नि ?”
आमाले दङ्ग पर्दै जवाफ दिइन् –
“एक थोक लाइदिन सकिहाल्छु नि !”
“नबिर्सनुहोला नि, जेलका पहरेदारहरूले तपाईँलाई चिनेका छन् !” – सासाले भनिन् – “यदि तपाईँलाई त्यहाँ देखे भने … ।”
“देख्दैनन् !” – आमाले जवाफ दिइन् ।
आमाको छातीभित्र केही समयदेखि बिस्तारै सल्कन थालेको आशारूपी झिल्को एक्कासि दन्कन थाल्यो र उनी फेरि फुर्तिली देखिइन् ।
“हुन सक्छ, ऊ पनि … ।” – हतारो हतारो लुगा लाउँदै उनले सोचिन् ।
एक घण्टापछि आमा जेलपछाडिको खेतमा उभिइरहेकी थिइन् । जोडले बतास चलिरहेको थियो । हावाको झट्काले आमाको जीउको लुगा उडाउन खोज्दै थियो । हावाले ठन्डीले कक्रिएको जमिनमा हिर्काउँदै थियो । त्यो जीर्ण बार हल्लाउँदै थियो, जसको छेउबाट आमा पार हुँदै थिइन् । हावा जेलको पर्खालमा गएर ठक्कर खान्थ्यो, जेलको चोकबाट कैदीहरूको क्रन्दन सोहोरेर आफूसँग उडाउँदै आकाशतिर लैजान्थ्यो । आकाशमा बादलका डल्लाहरू पनि बडो बेगले दौडँदै थिए र दौडँदै नीलो आकाशमा साना साना झ्यालहरू खोल्दै जान्थे ।
आमाको पछाडि बगैँचा थियो, अघिल्तिर चिहान थियो र दाहिनेपट्टि करिब पचास हात पर जेल थियो । चिहाननजिकै एउटा सिपाही घोडा चढ्ने अभ्यास गर्दै थियो । अर्को सिपाहीचाहिँ उसैको नजिक उभिएर जोडले खुट्टा बजार्दै चिच्याइरहेको थियो । ऊ बिचबिचमा कहिले सिटी बजाउँथ्यो त कहिले हाँस्थ्यो । जेलको आसपासमा अरू कोही थिएन ।
आमा बिस्तारै उनीहरूको छेउबाट जाँदै चिहानको बारनजिकै पुगिन् । उनी आँखा बचाएर आफ्नो वरिपरि हेर्दै थिइन् । अकस्मात् उनलाई लाग्यो, उनका खुट्टा जमिनमा गाडिएजस्ता गह्रुँगा हुँदैछन् र काँप्दैछन् । जेलनजिकैको एउटा भीडबाट बत्ती मर्मत गर्ने एक जना मान्छे हतारिँदै निस्क्यो । त्यो मान्छे कुप्रो परेर हिँड्दै थियो र उसले काँधमा भर्याङ बोकेको थियो । डरले आँखा झिम्क्याउँदै आमाले झट्ट सिपाहीहरूतिर हेरिन् । उनीहरू त्यहीँ उभिएका थिए र घोडा उनीहरूको वरिपरि चक्कर लगाइरहेको थियो । उनले भर्याङ बोकेर आउने मानिसतिर हेरिन्, ऊ भित्तामा भर्याङ अड्याएर नहडबडाईकन माथि उक्लँदै थियो । माथि पुगेर उसले जेलको चोकतिर हेर्दै हात हल्लायो अनि झटपट ओर्लेर त्यही मोडमा बेपत्ता भयो । आमाको ढुकढुकाई बढ्दै थियो, प्रत्येक क्षण वर्षझैँ बितिरहेका थिए । जेलको पर्खाल फोहोर दागहरूले भरिएको थियो र ठाउँ ठाउँमा प्लास्टर उप्किएकाले भित्रका इँटहरू देखिन्थे । त्यो कालो पर्खालको पृष्ठभूमिमा अड्याइएको भर्याङ छुट्याउन मुस्किलै पर्थ्यो । एक्कासि पर्खालमाथि एउटा कालो टाउको देखा पर्यो । बिस्तारै उसको पूरा शरीर नै देखा पर्यो । त्यो मान्छेले पर्खाल नाघ्यो र भित्तामा घिस्रिँदै अर्कोपट्टि ओर्ल्यो । भुवादार टोपी लगाएको अर्को टाउको देखा पर्यो र एउटा कालो डल्लो जमिनमा गुड्दै मोडमा गएर बेपत्ता भयो । मिखाइल सोझिएर उभियो, उसले चारैतिर आँखा घुमायो र टाउको झट्कार्यो ।
“भाग, भाग !” – आमाले खुट्टा बजार्दै सानो आवाजमा भनिन् ।
आमाको कान गुन्जिन थाल्यो । मान्छेहरू चिच्याएको आवाज सुनियो । पर्खालमाथि तेस्रो टाउको देखा पर्यो । आमाले छातीमा हात राखेर एकटकले हेरिरहन । सुनौलो कपाल भएको, सफाचट पारेर दाह्री खौरिएको एउटा टाउको यसरी पर्खालमाथि देखा पर्दै थियो, मानौँ ऊ कसैको पन्जाबाट आफूलाई छुटाउन चाहन्छ र फेरि अचानक त्यो टाउको पर्खालपछाडि गायब भयो । मान्छेहरू अझ जोडजोडले चिच्याउँदै थिए । सिटीको कर्कश आवाज हावाको प्रवाहले उडाउँदै ल्याइरहेको थियो । मिखाइल पर्खालमा टाँसिएर भाग्दै थियो, ऊ आमाको नजिकैबाट पार भयो । अब ऊ जेल र सहरका घरहरू बिचको खुला मैदानमा पुगिसकेको थियो । आमालाई लाग्यो, ऊ असाध्यै ढिलो हिँड्दैछ र बेकारमा त्यति माथि टाउको उठाउँदैछ । उसको अनुहारमा एकपल्ट मात्रै हेर्यो भने पनि कसैले पनि सधैँका लागि उसको अनुहार सम्झनेछ ।
“हतारो गर … हतारो गर … ।”
जेलको पर्खालभित्रबाट आवाज आयो । त्यसपछि ऐना फुटेको आवाज सुनियो । सिपाहीले बेस्सरी जमिनमा टेक्दै घोडालाई आफूतिर तान्न थाल्यो । अर्काले मुखमा हात राखेर जेलतिर हेर्दै केही चिच्यायो । जेलपट्टि कान थाप्दै सुन्न थाल्यो ।
आमा सतर्कतासाथ उभिएर आफ्नो गर्दन चारैतिर घुमाउँदै थिइन् । सबै कुरा आफ्नै आँखाले देखे तापनि उनलाई कुनै कुरामा विश्वास लागिरहेको थिएन । उनले जुन कुरा अत्यन्त कठिन र भयङ्कर ठानेकी थिइन्, त्यो काम असाध्यै सजिलोसँग र छिटो छिटो भइरहेको थियो । यो शीघ्रता देखेर उनी जिल्ल परिन् र किंकर्तव्यविमूढ भएर उभिइरहिन् । रिबिन गायब भइसकेको थियो । ओभरकोट लगाएको एउटा अग्लो मान्छे बाटामा जाँदै थियो । एउटी केटी दगुर्दै थिइन् । जेलको कुनाबाट तीन जना पहरेदारहरू दौडँदै आइरहेका थिए । उनीहरू एक–दोस्रासँग टाँसिँदै दौडिरहेका थिए र सबैले आफ्नो दाहिने हात अघिल्तिर बढाएका थिए । एउटा सिपाही उनीहरूसित दौडियो । अर्कोचाहिँ घोडाको वरिपरि घुम्दै चढ्ने कोसिस गरिरहेको थियो । घोडा नमानेर उफ्रिरहेको थियो । यस्तो भान हुन्थ्यो, मानौँ घोडा सँगसँगै वरिपरिका वस्तुहरू पनि उफ्रिरहेका छन् । बारम्बार हडबडाएर सिटी बजाइरहेको आवाज आइरहेको थियो । सिटीको यो कर्कश ध्वनि आमालाई कुने आपत्तिको सङ्केतजस्तो लागिरहेको थियो । आमा काँप्दै चिहानको छेउछाउ हुँदै पहरेदारहरूबाट आँखा नहटाई हिँड्न थालिन् । तर ती पहरेदारहरू र सिपाहीहरू जेलको अर्को कुनामा पुगेर बिलाए । उनीहरूको पछिपछि त्यही परिचित सहायक जेलर दौडँदै गयो । उसले आफ्नो बर्दीको टाँकसम्म पनि लाउन भ्याएको थिएन । कताबाट हो पुलिसहरू देखा पर्न थाले, भीड जम्मा हुन थाल्यो ।
बतास यसरी नाच्दै र घुम्दै थियो, मानौँ कुनै कुराको खुसीयाली मनाउँदै छ । हावाको झोक्का सँगसँगै आमाको कानमा लडबडिएको चिच्याहट र सिटीको आवाज पुगिरहेको थियो । यो कोलाहल सुन्दा आमालाई रमाइलो लागिरहेको थियो । आमा छिटो छिटो हिँड्दै सोचिरहेकी थिइन् –
“त्यसो भए ऊ पनि यसै गरी भाग्न सक्थ्यो !”
एक्कासि सडकको अर्को कुनाबाट दुई जना पुलिसहरू देखा परे ।
“पर्खी !” – एक जना पुलिस स्वाँस्वाँ गर्दै चिच्यायो – “दाह्री पालेको मान्छेलाई देखिनस् ?”
आमाले हातको इसाराले बगैँचातिर देखाउँदै भनिन् – “ऊ त्यता लाग्यो, के भएछ हँ ?”
“एभोरभ ! बजा सिटी !”
आमा घरतिर लागिन् । उनलाई केही कुराको दुःख लाग्दै थियो, मुटुमा कटुता र खेदको भाव थियो । उनी खुला मैदान पार गरेर सडकमा निस्किन् । एउटा एक्कानजिकबाट बाटो काटेर गयो । आमाले टाउको उठाएर हेरिन्, एक्कामा एक जवान केटो बसेको थियो । युवकको जुँगा सुनौलो थियो । उसको अनुहार पहेँलो र थकित देखिन्थ्यो । उसले पनि आमालाई हेर्यो । ऊ टेढो परेर बसेको थियो, त्यसले उसको दायाँबायाँ बाँधभन्दा अग्लो देखिन्थ्यो ।
निकोलाइले खुसी हुँदै आमाको स्वागत गर्यो ।
“भन्नोस् त, कस्तो भयो ?”
“सबै ठिक भएजस्तो छ … ।”
आमाले एकएक कुरा सम्झने कोसिस गर्दै निकोलाइलाई सबै वृत्तान्त सुनाइन् । उनी यसरी सबै कुरा बताउँदै थिइन्, मानौँ उनी कथा हाल्दै छिन् र आफ्नो कथामा उनी आफैँलाई विश्वास छैन ।
“भाग्यले साथ दिएछ !” – निकोलाइले हात मल्दै भन्यो – “साँच्चै तपाई बारे चाहिँ मलाई असाध्यै पिर परेको थियो । निलोभ्ना, एक साथीको हैसियतले मेरो सल्लाह मान्नोस् – मुद्दाबारे केही धन्दा नमान्नोस् । जति चाँडो मुद्दा फैसला हुन्छ, त्यति चाँडै पाभेलले भाग्ने मौका पाउँछ, विश्वास गर्नोस् ! हुन सक्छ, निर्वासनमा जाने बाटैमा ऊ फुत्कन सक्ला … जहाँसम्म मुद्दाको कुरा छ, के हुन्छ म तपाईँलाई अगावै सबै कुरा बताउन सक्छु … ।”
उसले आमालाई अदालतमा कसरी मुद्दा सुनुवाइ हुन्छ भन्ने कुरा बताउन थाल्यो । उनी ध्यानपूर्वक निकोलाइको कुरा सुन्दै थिइन् । उनी बुझ्दै थिइन, हुन त निकोलाइ उनलाई ढाडस दिन चाहन्छ, तर ऊ आफैँ केही कुरादेखि डराइरहेको छ ।
“हुन सक्छ, तपाईँलाई यो डर त छैन, म अदालतमा न्यायाधीशहरूलाई केही कडा शब्द भनिदिन सक्छु ?”
ऊ जुरुक्क उभियो, अनि झर्किँदै हात हल्लायो र भन्यो –
“के कुरा गर्नुभएको तपाईँले ?”
“हो, मलाई डर लाग्दै छ ! थाहा छैन, किन हो मलाई डर लाग्दै छ … !” – उनी एक छिन चुप लागिन् र कोठामा यताउता हेर्दै फेरि भन्न थालिन् –
“कहिले मलाई यस्तो लागेर आउँछ, उनीहरू पाभेललाई जिस्क्याउन थाल्नेछन्, उसको हाँसो उडाउन थालेनछन् । ए तँ देहाती, किसानको बच्चो ! किन यस्तो गडबडी गरेर हिँड्छस् त भन्ने होइनन् । पाभेल बडो स्वाभिमानी केटो छ । उसले न्यायधीशहरूलाई जवाफ दिन थाल्नेछ । हुन सक्छ, आन्द्रेइले नै उनीहरूको हाँसो उडाउने विचार गर्ला । केटाहरू छिटो तातिन्छन् । सोच्न थाल्छु, केही भएर केटाहरूले सहन सकेनन् भने … यस्तो सजाय दिनेछन्, जसले गर्दा जिन्दगीभर मुख हेर्न पाइन्न !”
निकोलाइ चुपचाप उनको कुरा सुन्दै थियो । खालि आफ्नो दाह्री मात्र सुमसुम्याइरहेको थियो ।
“के गर्ने यदि दिमागमा यस्ता विचारहरू आउँछन् भने !” – आमाले बिस्तारै भनिन् – “त्यसैले मलाई यो मुद्दा देखेर अति डर लाग्छ ! यदि उनीहरूले एक एक कुरा खोतलेर केलाउन थाले भने के गर्ने ? मलाई त असाध्यै डर लाग्छ ! मलाई सजायको त्यति डर लाग्दैन, जति अदालतको ! खोइ, कसरी बताउने हो तपाईँलाई मेरो मनको पिर, जान्दिनँ … !”
आमा, अनुभव गर्दै थिइन्, निकोलाइ उनको कुरा बुझ्न असमर्थ छ, त्यसैले आफ्नो यो मानसिक उथलपुथल शब्दहरूमा व्यक्त गर्न उनलाई झन् मुस्किल पर्दै थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 










