साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘राँको बालेर यात्रामा’का स्रष्टा डा. शिवराज भट्टराई सँगको संवाद प्रस्तुत गरिएको छ ।
===
तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?
यो किताब मेरो पहिलो प्रयास हो । यसरी छोटो सूचीमा पर्ला भन्ने ठानेको थिइनँ । दूरदराजमा बसेर लेखेको पहिले कृतिले यो स्थान पाउँदा म धेरै उत्साहित छु ।
पुरस्कारको छोटो सूचीमा तपाईंको ‘राँको बालेर यात्रामा’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?
मैले कुनै पुरस्कार जित्नका लागि यो पुस्तक लेखेको होइन । संयोगले पुस्तक साहित्यपोस्टको पुरस्कार सूचीमा परेछ । यो पुरस्कार जित्नु मेरो लागि धेरै ठुलो उपलब्धि साबित हुने भए पनि, यी ५ मध्येका उत्कृष्ट कृतिले नै त्यो पुरस्कार पाउनुपर्छ । पुरस्कार जिते वा नजिते पनि मेरो साहित्यिक यात्रा भने जारी नै रहनेछ ।
तपाईंले लामो समयबाट अध्यापन गराउँदै आउनुभएको छ । फुटकर रुपमा सिर्जनाहरु गर्नुभएको । पुस्तकाकारका रुपमा चाहिँ किन यति ढिलो गरी आउनुभयो ।
सही प्रश्न गर्नु भयो । धेरै अगाडिदेखि नै किताब लेख्ने भुटभुटी थियो । ढिलाइको विशेष कारण चैँ कामको व्यस्तता नै हो । अर्को चैँ, भुटानमा नेपाली भाषामा पाठकको धेरै कमी भएकाले अलिक मन खुम्चिएको पनि होला ।
भुटानमा बसेर नेपाली साहित्य सिर्जना गर्नुहुन्छ । भुटानभित्रको नेपाल कस्तो छ ?
मलाई लाग्छ, १९९० को दशक अगाडि नेपाली र भुटानीबिच साथै दुई देश बिचको सम्बन्ध धेरै नजिक र प्रगाढ थियो । मानिसबिच यातायात हुने गर्थ्यो । तर ९० को दशक यता केही हदसम्म नेपालप्रति भुटानीको माया घटेको चैँ पक्कै हो । तर अहिले आएर क्रमशः घनिष्टता बढ्न थालेको छ । मलाई लाग्छ, निकट भविष्यमा हामीले यो सम्बन्ध पुरानै अवस्थामा पुगेको देख्ने छौँ । आम नागरिकको पनि यो नै चाहना छ ।
‘राँको बालेर यात्रा’मा किन लेख्नुभयो ? लेखकीय अनुभूतिसहित छोटोमा बताइदिनुहोस् न ।
यो किताब लेख्नमा विभिन्न कारण छन् । पहिले ता माथि भने झैँ धेरै अघिदेखि नै मलाई लेख्ने इच्छा थियो, र परिवारबाट पनि समय समयमा घच्घच्याई भई नै रह्न्थ्यो । अर्को विशेष कारण चैँ, भुटानले विकासको तीव्र गति लिइरहँदा ती ४०-५० वर्षअघिका भोगाइ, परिस्थिति अब रहेनन् । आजका र भविष्यका सन्तानले ती कुरा थाहा पाउनुपर्छ र मात्र आजको सुबिधा सम्पन्न अवस्थालाई कदर गर्न सिक्छन् ।
अर्को कारण ता नेपाली भाषाको सेवा गरेर केही हदसम्म भए पनि यहाँका नेपाली भाषाप्रति चेतना पुर्याउन सकिन्छ कि भन्ने पनि हो ।
तपाईंले ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
अहिले केही सोचेको छैन, तर यसले अर्को साहित्य सिर्जनाका लागि सहयोग मिल्छ ।
अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरु के के छन् ? बताइदिनुहोस् न ।
अहिले पनि म मेरो सक्रिय जागिर मै छु । तर समय पाउँदा लेख्ने गर्छु, दुबै नेपाली र अङ्ग्रेजीमा । भर्खरैदेखि म पर्यासाहित्यमा पनि जोडिएको छु र केही लेख, कविता आदि पनि लेखेको छु । म प्रशस्तै यात्रा गर्ने भएकाले नियात्रा पनि लेखेको छु । त्यो क्रम जारी रहनेछ । अब अरू ३ वर्षपछि म सेवानिवृत्त हुन्छु अनि मेरो कलम अलिक द्रूत गतिमा बढ्ला भन्ने विश्वास छ ।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।