गर्मीबाट निस्केको पसिना

श्रमबाट निस्केको पसिना
यौटा पसिनाले
घिन पैदा गर्छ
यौटा पसिनाले
श्रध्दा पैदा गर्छ
आखिर पसिना त
पसिना नै हो
यौटा पसिनाले एकक्षण
नाक बन्द गराउँछ दुर्गन्ध
यौटा पसिनाले
लामो सास तानेर फोक्सोभित्रै राख्छ सुगन्ध
आखिर
पसिना त पसिन नै हो
पसिनामा यो भेद किन
तपाईं यो बुझ्नुस्
पसिनाले
आफ्नो रङमा भेद गरेको छैन
पसिनाले बसी खाने
र कर्म गरी खानेमा भेद गरेको छ
पसिनाले
आफ्नो गन्धमा भेद गरेको छ
पसिनाले आफ्नो सुगन्धमा भेद गरेको छ श्रमिकको
किसानको श्रमबाट निस्केको
पसिना सुगन्धित हुन्छ
त्यो सुगन्ध
तपाईंको कोठेबारी
खेतबारी हुँदै
पुरै राष्ट्र सुगन्धित भएको छ
पसिनाले पर्यावरण दूषित हुन दिएको छैन
जस्तो कि
यो भूमिमा
रुद्र भगवानको आँशु झरेर
रुद्राक्ष उम्रेजस्तो
यो भूमिमा किसानको
पसिना झरेर
असंख्य रुखहरू उम्रिएका छन्
गर्मीको पसिनाले दुर्गन्धबाहेक
केही सिर्जना गर्दैन
आलस्य सिर्जना गर्छ
श्रमको पसिना
आहा ! त्यसमा ऊर्जा छ
हो, त्यही ऊर्जामा
सिर्जन शक्ति छ
र, यो ब्राह्माण्ड यसैमा अडेको छ।