साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘कर्मरेखा’का स्रष्टा लालबहादुर कार्कीसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
तपाईँको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?
कहिलेकाहीँ नसोचेका कुराहरू यथार्थ बनिदिँदा रहेछन् । मेरा निजी भोगाइलाई मैले किताबको रूप दिएँ । किताब तयार हुनु आफैँमा ठुलो कुरा हो । किताब नै प्रकाशित भइसकेपछि त्यो मेरो मात्र नरहेर सबैको भयो । मेरो लेखनको एउटा सानो शक्तिलाई साहित्यपोस्टले चिनेको छ र साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको छनौट सूचिमा मेरो किताब ‘कर्मरेखा’ परेपछि लाग्यो— जीवनमा खुसी र आनन्द पनि भेटिँदो रहेछ । साहित्य लेखन र पठनमा उमेरको कुनै रोकटोक नहुँदोरहेछ ।
पुरस्कारको छोटो सूचीमा तपाईँको ‘कर्मरेखा’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?
मेरो किताब पुरस्कारको सूचिमा पर्छ अथवा पार्नै पर्छ भन्ने मैले सोचेकै थिइनँ । म मेहेनतमा विश्वास गर्ने मान्छे हुँ । शुद्ध मनले मेहनत गरिएको छ भने त्यो मेहनतको नतिजा कतै न कतै कुनै न कुनै रूपबाट प्रकट हुन्छ भन्ने मलाई लाग्छ । जीवन भोगाइ सबैसँग हुन्छ । दुःख, पीडा, आँसु, हाँसोका कथाव्यथा सबैसँग हुन्छन् । मेरा निजी भोगाइमा मैले अलिकति कलात्मकता थप्ने प्रयास गरेको हुँ । मेरो किताबसँगै छनौटमा परेका अन्य लेखकका किताबहरू झनै बलिया छन् । प्रतिस्पर्धा हो जहाँ जित मात्रै हुँदैन, हार पनि हुन्छ । प्रतिस्पर्धाको मैदानमा उत्रिएर हार्नुको मज्जा पनि हामीले महसुस गर्न जान्नुपर्दछ । मेरा लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को सूचीमा मेरो किताब पर्नु र किताब पढ्ने पाठकले सकारात्मक प्रतिक्रिया दिनु नै मेरा लागि ठुलो पुरस्कार प्राप्त गर्नु हो । म साहित्य लेखन र पठनमा झनै निरन्तरता दिन्छु ।
उमेरले सत्तरी पुगिसक्दा पहिलो कृतिस्वरुप संस्मरण लिएर आउनुभएको छ । यो उमेरमा आएर कुन तत्त्वले तपाईँ साहित्य लेख्न बाध्य गरायो ?
साहित्य, कला र सङ्गीत मेरा रुचिका क्षेत्र हुन् । हरेक मान्छेमा कुनै न कुनै प्रतिभा रहेको हुन्छ । त्यो प्रतिभालाई सबैका अगाडि सार्वजनिक गर्न पाउनु र नपाउनुचाहिँ फरक कुरा हो । मान्छेको जीवमा अनेक प्रकारका बाध्यताहरू छन्, जसले गर्दा आफूले चाहेको कुरालाई पूरा गर्न सकिँदैन । मेरो यथार्थ पनि त्यही नै हो । घर, बालबच्चा, जागिर यिनै कुराले मलाई बाँधेर राखे । अभिनय र लेखनको पाटो छायामा पर्दै गयो । जब शिक्षकको जागिरबाट रिटायर भएँ तब चाहनाका ससाना खोल्सीहरू तर्दै ठुलो नदी तर्ने साहस गरेँ । मैले मेरो भित्री रहर साहित्य लेखनलाई जोगाएर राखेकै कारण आज यो कृति लेखेँ ।
‘कर्मरेखा’ नै किन लेख्नुभयो ? छोटोमा आफ्नो अनुभूतिसहित बताइदिनुहोस् न ।
मैले जीवन नै शिक्षण पेसामा समाहित गरेँ । मैले स्कुल पढ्दाको समय अहिलेको समयभन्दा धेरै फरक छ । अहिलेको प्रविधिमैत्री समय र मैले स्कुल पढ्दाको समयमा आकाश पातालको फरक छ । म एक साधारण किसान परिवारमा जन्मिएको मान्छे हुँ । दुःख र अभाव भन्ने कुरा मसँग परिचित छन् । अभाव, पीडा अनि असहज परिस्थितिसँग डराएर होइन तिनीहरूसँग लडेर जीवनलाई फराकिलो आयाममा लैजान सकिन्छ भन्ने केन्द्रीय कुरालाई प्राथमिकतामा राखी मैलो यो ‘कर्मरेखा’ लेखेको हुँ ।
तपाईँ जिएको जीवनलाई फर्केर हेर्दा जीवन र उमेरको अन्तर्सम्बन्ध कस्तो पाउनु हुन्छ ? अनि, जीवन र साहित्यको ?
उमेरले सिँढी चढिरहेको छ । बाल्यकाल, युवावस्था हुँदाहुँदै आज सत्तरी वर्ष पुगिसकेँ । भोलिका दिनमा मेरो भौतिक शरीर नरहन सक्छ । मानव चोला नाशवान् छ । बाँचुन्जेल तेरो मेरो भन्यो, अनेक अनेक असन्तुष्टि र दौडधुपमा अरूलाई नराम्रो ग¥यो । जीवन यति मात्रै होइन । जीवनलाई सकारात्मक अनि सुन्दर पक्षबाट पनि हेर्न सकिन्छ । म खास गरी अभाव र दुःखमै आफ्नो जीवन भेट्छु । अभाव र दुःखलाई मैले राम्ररी महसुस गरेको थिएँ र न यो किताब लेखेँ । सकारात्मक सपना देख्न उमेरले रोक्दो रहेनछ । अनि मान्छेले भोगेको जीवन र मान्छेले बाँचेको समाज नै साहित्यको कच्चा पदार्थ हो । कल्पनै कल्पना मात्रै साहित्य होइन । अलिकति यथार्थ र अलिकति कल्पना मिसिएको साहित्य नै खास जीवन्त हुन्छ ।
तपाईँले ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
पहिलो कुरा त ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को सूचीमा मेरो किताब पर्नु नै मेरा लागि ठुलो पुरस्कार हो । यदि मैले यो पुरस्कार पाएँ भने मैले लामो समय शिक्षण गरेको भोजपुरको पञ्चकन्या निम्न माध्यमिक विद्यालयमा पढ्ने जेहेन्दार विद्यार्थीका लागि दिइने छात्रवृत्ति कोषको स्थापना गर्नेछु ।
अन्त्यमा, तपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।
मान्छेको जीवन योजनाबद्ध त हुँदैन तर सपना भने धेरै हुँदा रहेछन् । पहिलो किताब कर्मरेखाले दिएको यो खुसीलाई म निरन्तरता दिन चाहन्छु । ज्ञान गङ्गाको कहिल्यै अन्त्य हुँदैन भन्ने भनाइ मलाई सही लाग्छ । अझै धेरै साहित्यिक कृतिहरू पढ्ने र केही वर्षको मेहेनतमा एउटा आत्मपरक कृति फेरि लेख्ने रहर छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।