
केही समयअघि प्रकाश सपुतको पीर बोलको गीत आएको थियो । त्यसमा एउटा दृश्य थियो देह व्यापारको । जुन विवादित बन्यो । भर्खरै प्रकाशनमा आएको, सबैले ‘राम्रो राम्रो’ भनिरहेको उपन्यास ‘ऐँठन’ पढ्दा त्यस्तै लागिरहेको छ ।
एक पाठकको नाताले मैले प्रस्ट बोल्नुपर्छ । कथा यति मज्जाले बुनिएको छ कि जो कोहीलाई तान्छ । उपन्यासका बारेमा धेरैले राम्रो राम्रो प्रशंसा पनि लेखेका छन् । लेखिरहेका छन् । तर राम्रो सफा बोर्डमा पनि एउटा सानो टीका कहिलेकहीँ दाग बन्न सक्छ । बनिदिन सक्छ ।
महाभारतको युद्ध सकिएपछि कुरुक्षेत्रको मैदानमा भएको हुनसक्ने संवाददेखि नै सबैको प्यारो बन्छ पुस्तक । देवासिस र वीरध्वज हुँदै बबनकुमार मार्फत भनिएको कथा भर्खरै भइरहेको जस्तो लाग्छ ।
‘दर्दनाक कथासँग कसैले प्रेम गर्ला र ?’ भन्ने प्रश्नको उत्तर हो ऐँठन । सबैको प्यार पाइरहेको छ । यसको मुख्य कारण भनेको हामी सबै कहीँ न कहीँ द्वन्द्व प्रभावित छौँ । मैले पनि आफूले नदेखेको ठुलो बुवालाई सम्झिएँ । घटना भने सुनेको थिएँ । त्यो बेला म त्यस्तै ५/६ कक्षा पढ्थे हुँला । शिक्षण पेसा गरिरहेका मेरा ठुलो बुवालाई घरबाट उठाइयो । उहाँको टाउको नभएको शरीर तीन दिनपछि फेला पर्यो । कथा पढ्दै जाँदा त्यस्तै प्रवृत्तिको घटना पाएँ । आङ जिरिङ्ग भएर आयो । कति पटक त गोडा र मुटु थरर काँपेका छन् ।
बगैँचामा फूलहरू मात्र हुँदैनन् । काँडा र केही झारहरू पनि हुन्छन् । असली कथा अस्पतालबाट सुरु हुन्छ र डाक्टरसँगको थेरापी सेसन हुँदै विगतमा पुग्छ । बबनकुमार यति बेला कुराहरू बिर्सिन थालेका छन् । उनलाई कथासँगै डुलाउने क्रममा कता कता मैले आफूलाई पनि पाउँछु । यहाँ द्वन्द्व घाउ होला, मेरो हकमा सपनाको तर घटनापछिको अवस्था कता कता मेल खान जान्छ ।
म पनि पुराना धेरै कुरा बिर्सन्छु । बबनकुमार उर्मिला र छोरोको वियोगान्त लिएर जनयुद्धका सिपाहीहरूसँगै बन्दी भएर घुमिरहन्छ । म त्यो समय घर, बुवा, आमा र साथीहरूको स्मृति लिएर बन्दी भएको थिएँ । मलाई बन्दी कोही आफ्नैले बनाएको थियो । भलै बबनकुमार र छापामारहरू बिच प्रत्यक्ष सम्बन्ध छैन तर ऊ पनि आफ्नाहरूबाट नै बन्दी भएको छ । छापामारहरू लडेका पनि त हाम्रै निम्ति हुन् ।
कसरी एउटी विधवा, एउटी बलात्कृत नारी युद्धमा होमिन्छन् । कसरी एउटा बन्दी पनि छापामार हुनसक्छ । कसरी सेनाको ब्यारेकमा हमला हुन्छ र अनुहार नचिनिने गरी कुनै मानवीय स्वरूपको कुरूप हत्या हुन्छ । द्वन्द्व जे जस्तो हुन सक्थ्यो त्यो सब हामीलाई देखाउन सकेका छन् लेखकले । यस्तो लाग्छ, त्यो बबनकुमार म हुँ र साक्षी छु सम्पूर्ण घटनाको । र कहिले मृत्युको त कहिले जिन्दगीको कामना गरिरहेको छु ।
अस्पतालमा उपचार गर्दै गरेको बबनकुमार र कहिले छापामारसँग बन्दी भएको विगतलाई मीठो गरी प्रस्तुत गरेका छन् लेखकले । मलाई विगत र वर्तमानको जुहारीमा यसरी लेखिएको कथा शैली एकदम मन पर्छ । नगरकोटीपछि मलाई कोही वास्तवमा मन परेका छन् । लेखकलाई यस पुस्तकका लागि बधाई अनि आगामी यात्राको लागि शुभकामना भन्न अन्तिमसम्म किन पर्खनु ?
पाठकको नाताले मैले प्रस्ट भन्नुपर्छ भनेर राम्रो कुरा मात्र लेख्दा पाठकीय धर्म नष्ट हुनसक्छ । मलाई अस्पतालबाट भागिसकेपछि कथा सकियो भन्ने लागेको थियो । त्यसमै मजा थियो । अब के भयो ? भनेर आफ्नै हिसाबले कथा बुन्न मिल्थ्यो तर लेखक त्यतिमै रोकिन मानेनन् । उनले छापामारले छोडेपछि कसरी सेनाले उनलाई बन्दी बनाए, त्यो लेखेर कथा थप लम्ब्याए । हुन त सेनाले दुख दिने अवस्था त्योभन्दा अगाडि पनि आइसकेको थियो, त्यसैले त्यो जरुरी लागेन मलाई । तर लेखिएर कथा त्यहाँ बिग्रेको छैन । द्वन्द्वको समयमा त्यस्तो पनि हुनसक्ने सम्भावना थियो तर लेखेर नलम्ब्याएर त्यसको अनुमान स्वयं पाठकलाई गर्न छोड्नु राम्रो हुन्थ्यो ।
द्वन्द्व सकिएपछि आज पनि धेरै छापामारको अवस्था दयनीय छ, त्यो हामी सबैलाई थाहा छ । मैले सुरुमा भनेजस्तै त्यही कुरा सपुतले देखाएका थिए । यहाँ त्यही कुरा अलि फरक तरिकाले नाटकीय रूपान्तरण गरेर देखाइएको छ । एउटा सिङ्गो गाउँ बनाएर त्यहाँ पिडा नै पिडा देखाउँदैमा पिछडिएका छापामारमाथि न्याय हुन्छ अथवा उनीहरूको बुलन्द आवाज उठ्छ भन्ने हैन । घाउहरू बाँकी नै छन् तर त्यतिसम्म पनि हैन । कथाको सबैभन्दा बिग्रेको पाटो नै यही लाग्यो मलाई । कुरूप दृश्य देखाएको भएर हैन, देखाउने शैली उपयुक्त नभएर । भएभरका पीडित भेला पारेर एक ठाउँमा राख्दैमा, उनीहरूलाई आसावादी देखाउँदैमा, कथा सकिने मोड आउने हैन तर आयो । कथा बरू अगाडि भनेजस्तै छापामारबाट र अस्पतालबाट आजाद भएपछि सकिएको भए धेरै राम्रो बन्ने थियो ।
लेखकले ऐँठन देखाए तर उन्मुक्ति दिएनन् । घाउहरू निको भएका भए जाती हुन्थ्यो । कथा तन्काएर पर लगिसकेपछि उनले त्यो गर्नुपर्थ्यो । कथा र लेखक सगर चढेको अनुभूति हुन्थ्यो । तर यति बेला उनी हिमाल चढ्दाचढ्दै फर्किएको अवरोही लागे मलाई । कास, उनी आरोही बनेर आरोहण गर्न सक्थे । कास, घाउमा मलम लाग्थ्यो । कास, बबनकुमार पूर्ण रूपमा स्वस्थ हुन्थ्यो । यस्ता थुप्रै कासहरू छोडेर यो कथा मीठो हुँदाहुँदै पनि केही खल्लो बनेको छ । जस्तो, लिची पाकेको त छ तर किरा लागिसकेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

