साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको उपन्यास ‘जौवा’का स्रष्टा विष्णु ढकालसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?
जौवा पढेका हरेक पाठकले उत्साहपूर्ण प्रतिक्रिया दिनुभएको छ । यसले मलाई लेखनमा थप अगाडि बढ्न प्रोत्साहन गरेको छ । ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा परेपछि पाठकहरूले अझ बढी चासो देखाउनुभएको मैले महसुस गरेको छु । निश्चय पनि यो मेरा लागि सुखद संयोग वा हौसला बनेर आएको छ । यसका लागि म छनौट समितिलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
पुरस्कारको छोटो सूचीमा तपाईंको ‘जौवा’सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?
अवश्य पनि उत्कृष्ट पाँचमा परेका कृतिहरू राम्रा कृति हुन् । ती केही कृतिहरू मैले पनि अध्ययन गरेको छु । नयाँ लेखक भएको नाताले पुरस्कारको चर्चा परिचर्चाले पाठकको नजरमा पर्न अवश्य सहयोग पुग्ला तर पनि निरन्तर राम्रो लेख्न सक्नु र पाठकको मनमा बसिरहन सक्नु सबैभन्दा ठुलो चुनौती हो । पुरस्कार जित्नेलाई चुनौतीको यात्रामा अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने मेरो अपेक्षा छ ।
‘जौवा’ किन लेख्नुभयो ? छोटो लेखकीय अनुभूतिसहित बताइदिनुहोस् न ।
जौवा म जन्मे हुर्केको गाउँको कथा हो । गाउँमा रहँदा हुर्कँदा मैले मेरो बाल्यकालमा थुप्रै घटना परिघटनाहरूसँग साक्षात्कार हुने मौका पाएँ । गाउँमा हुने हरेक घटनाले धेरैपल्ट मलाई हँसाएको छ । उफारेको छ । खुसी तुल्याएको छ । त्यसैगरी धेरैपल्ट म बेसरी भाँचिएको छु । दुखेको छु । रोएको छु । अन्यायमा परेका निमुखा मान्छेहरूको चीत्कार र रोदनले मेरो मुटु छियाछिया भएको छ । मलाई साहित्य पढ्ने रुचि थियो । पढ्दा पढ्दै कुनै दिन लेख्ने रुचि पलायो । मैले तिनै घटना परिघटनाहरूलाई बटुलेर आम मान्छेको कथा समेटिएको जौवा उपन्यास लेखें । मलाई आम मान्छेको कथा लेख्नमा औधी रुचि छ । भविष्यमा पनि तिनै मान्छेहरूको कथा लेखिरहन सकें भने मेरो लेखकीय स्वाभिमान उँचो हुनेछ भन्ने मेरो मान्यता रहेको छ ।
तपाईं ग्रामीण विकास तथा बैङ्किङ क्षेत्रमा आबद्ध व्यक्त, साहित्यतिर कसरी डोहोरिनु भयो ?
मैले आफ्नो जागिरको अधिकांश समय ग्रामीण परिवेश र त्यहाँका मान्छेहरूको नजिक रहेर बिताउन पाएँ । बाल्यकाल गाउँमै बिताएको थिएँ । गाउँसँगको मेरो लगाव अझै पनि निरन्तर जारी छ । जागिरका आफ्नै सीमाहरू हुन्छन् । त्यहाँ बसेर गर्न नसकेको सेवा, सर्मपण र न्याय सहित्यमार्फत गर्न सकिन्छ कि भन्ने लागेर म यतातिर फर्किएको हुँ । गाउँका कथाहरू मार्फत गाउँलाई चिनाउन र त्यहाँ हुने कुरीतिहरूलाई उजागर गर्न सकेँ भने मेरो फर्काइ सार्थक हुनेछ भन्ने मेरो विश्वास छ ।
तपाईंको उपन्यासको केन्द्र तराईको ग्रामीण क्षेत्रमा विद्यमान शोषण र दुर्व्यवहार छ । के कति कारणले यो गम्भीर विषयलाई आख्यानमा उतार्नु भयो ?
हाम्रो ग्रामीण सामाजिक संरचनाका बारेमा हामी सबै जानकार नै छौं । गाउँ हाम्रो सभ्यता र जीवनको केन्द्र पनि हो । तर तिनै गाउँहरूमा विभिन्न आवरणमा शोषण र दुर्व्यवहार विद्यमान रहेको हामी सबैलाई थाहा पनि छ । देखेका सुनेका पनि छौं । एउटा सचेत नागरिकको नाताले आख्यानमार्फत अन्याय र विभेदमा परेका आम मान्छेहरूको आवाजलाई न्यायको मार्गमा पुर्याउने जमर्कोमा मैले एउटा मात्रै इँटा थप्न सकें भने पनि त्यसले मेरो जीवनलाई सार्थक बनाउने छ भन्ने लागेर नै मैले गाउँका कथाहरूलाई आफ्नो लेखनको केन्द्र बनाउँदै आएको छु ।
तपाईंले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
ओहो ! यो त अपेक्षा नै नगरेको प्रश्न भयो । पुरस्कार नै पाइहालें भने सहित्य क्षेत्रलाई योगदान हुने कुनै न कुनै काममा अवश्य लगाउने छु भन्ने लाग्छ । तर यो त चल्ला कोरल्नु भन्दा अगाडि नै कुखुरा गने जस्तो भयो होइन र !
अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।
मसँग लेखनलाई निरन्तरता दिनेबाहेक अरू कुनै योजना छैन । अहिले पनि म केही न केही लेख्ने कोसिस गरिरहेको छु । समय जरुर लाग्ला, अर्को कुनै कृतिमार्फत पुनः पाठकमाझ आउन सकें भने सबैभन्दा ठुलो खुसी त्यही हुने छ मेरा लागि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।