पहिला तपाईंले रक्सीलाई तान्नुहुन्छ, त्यसपछि रक्सीले रक्सीलाई तान्छ र तान्दातान्दा रक्सीले तपाईंलाई तानिदिन्छ ।
एफ. स्कट फित्जगेराल्ड

१९९६ मा जन्मिएका एफ. स्कट फित्जगेराल्ड मूलतः उपन्यासकारका रूपमा प्रख्यात छन् । उनको प्रथम उपन्यास दिस साइड अफ प्याराडाइजबाटै चर्चामै रहे । उनलाई ज्याज म्युजिकको युगका प्रवक्ता भनी मानिन्थ्यो । द ब्युटिफुल एन्ड द ड्याम्ड दोस्रो उपन्यास पनि खुब रूचाइयो । तर उनको मास्टरपिस त द ग्रेट ग्याट्सबीलाई मानिन्छ । केहीले यसलाई २० औँ शताब्दीको सर्वोत्तम कृति भनी नामकरण गरिरहेका हुन्छन् । टेन्डर इज द नाइट उनले लामो विश्रामपछि लेखेको उपन्यास थियो । यो छाप्न नौ वर्ष लाग्यो । उनको मृत्युपछि द लास्ट टाइकुन उपन्यास प्रकाशित भयो । त्यसलाई पनि निकै सुन्दर कृति मान्नेहरूको कमी छैन ।

यस्ता सुन्दर कृतिका सर्जक हुनु र रक्सीप्रेम नदेखिनु भन्ने पनि कहीँ हुन्छ र ? फित्जगेराल्ड भने पेयका रूपमा जिन रूचाउँथे । जिन रूचाउनुको कारण के हो त कविज्यू भनेर कसैले सोधे भने उनको जवाफ हुन्थ्यो, ‘मस्तै मात्तिए पनि यो गन्हाउँदैन ।’

उनले जीवनका २० दिव्य वर्ष र खासगरी रक्सी खाने उमेर शुरू भएदेखि नियमित रूपमा पिए । पछि उनको जीवनमा पत्नी जेल्डा आइन् । उनी पनि पिउने मामिलामा निकै उदार थिइन् । जेल्डा र फित्जगेराल्ड पिउन थाले भने मजाक पनि अति गर्थे ।

यी दुई जनालाई रक्सीले डोर्याउन थाल्यो भने छेउछाउका मान्छेहरूको सातो जान थाल्थ्यो- अब के आतंक मच्चाउने हुन् भनेर । एक पटक प्लाजा होटलको फाउन्टेन (झरनाजस्तो ठाउँ)मा रक्सीले मातेपछि यी दुवै जना पानीमा भिज्दै रोमान्स गर्न थाले ।

एक पटक तिनले एउटा भव्य पार्टी दिएका थिए । साथीहरूसँग घडी देऊ भन्दै मागे । साथीहरूले पनि कुनै खेल खेलाउन लागे भनेर झिक्दै दिए । उनीहरूको पालो पार्टीका लागि तयार पारिँदै गरेको टमाटरको अचारमा ती सबै घडीलाई उमालिदिए ।

एक पटक जेल्डाले पार्टीमा साथीहरूलाई अलि ढिलो निम्तो गरिन् । जो जो छौ, जस्तो जस्तो अवस्थामा छौ, त्यही अवस्थामा पार्टीमा आउने उनले आदेश दिइन् । उनी आफैँ पनि पाइजामा लगाएर पार्टीमा आएकी थिइन् । त्यो रातको पार्टी निकै भव्य भयो किनभने पछि जेल्डाले बिस्तारै पाइजामा पनि खोलिन् र रक्सी लाग्दै जाँदा नाङ्गै नाच्न थालिन् ।

०००

रक्सी पिउँदै गर्दा तीन पटक त म आफैँ रक्सी नियन्त्रक अधिकारी झैँ प्रस्तुत भएर प्रहरीलाई झुक्याएँ । रक्सी खाएको बेला अरूलाई झुक्याउन मलाई कसैले सक्दैन ।
ड्यासिएल ह्याम्मेट

१८९४ मा जन्मिएका ड्यासियल ह्याम्मेट आख्यानकारका रूपमा चर्चित छन् । उनले अलि कडै विषयमा उपन्यासहरू लेखेर आफूलाई अलग्गै उभ्याए । ‘द माल्टिज फाल्कन’ उनको ज्यादै लोकप्रिय कृति मानिन्छ । उनका अधिकांश कृतिमाथि फिल्ममा रूपान्तरित गरिएका छन् । खासमा उनका पात्रहरूले गर्ने जासुसी क्रियाकलापका कारण फिल्मान्तरण बढी भएका हुन् ।

ड्यासिएल ह्याम्मेटले जीवनको उत्तरार्द्धमा नाटककार लिलियन हेलम्यानसँग प्रेमिल सम्बन्ध जोडे । सम्बन्ध जोडिनुमा पनि रक्सीको ठूलो योगदान थियो । दुवै जना ज्यादै रक्सीप्रेमी थिए । त्यसैले पनि दुवैको जीवन ३० वर्षसम्म प्रेमपूर्ण रह्यो ।

एक साँझ दुवै जना एउटा रेस्टुराँमा पिउँदै गफ गरिरहेका थिए । अचानक ड्यासिएलले पिउँदै गरेको चुरोटको ठुटोलाई आफ्नो गालामा झोसे । र, पूरै निभाए ।

आतङ्कित भएकी लिलियनले ड्यासिएलको हात समाउँदै रोक्न खोजिन्, ‘के गरेको यस्तो ?’

ड्यासिएलले जवाफमा भने, ‘भर्खरै मलाई यो चुरोट तिम्रो गालामा निभाइदिऊँजस्तो लाग्यो । म त्यस्तो गर्न सक्दिनँ । मैले मेरै गालामा निभाइदिएँ ।’

०००

पिउने कुरा कति सुन्दर चिज हो भने झ्याप्प लाग्दै जाँदा र रात छिप्पिँदै गएपछि अगाडिको मान्छे के हो, को हो भन्ने खासै महत्त्वको हुँदैन ।
लिलियन हेलम्यान

१९०५ मा जन्मिएकी लिलियन हेलम्यान नाटककार, संस्मरण लेखक र फिल्मको पटकथाकारका रूपमा पनि निकै चर्चित व्यक्ति हुन् । उनको पहिलो नाटक द लिटल फक्सेस् यति लोकप्रिय भयो कि फिल्मका लागि चुनियो भने त्यो वर्ष नौ वटा पुरस्कारका लागि नामांकित पनि भयो । उनले जब जब कुनै संस्मरण निकाल्थिन्, नेसनल बुक अवार्ड हात पारिहाल्थ्यो ।

द चिल्ड्रेन्स आवर नाटक उद्घाटनका बेला लिलियनले आफ्नो प्रिय साथी ड्यासिएल ह्याम्मेटलाई निम्तो दिइन् । ड्यासिएल बस्थे, क्यालिफोर्नियामा । यता नाटकको उद्घाटन थियो, न्युयोर्कमा । नाटक मञ्चन हुनुअघि हल्का पेय खाने क्रम शुरू भयो । यसपछि नाटक मञ्चन भयो । नाटक पनि सकियो तर ड्यासिएल आइपुगेनन् ।

भोलिपल्ट लिलियन उठ्दा जिउ भारी भइरहेको थियो, हिजोको ह्याङ अझै उत्रिसकेको थिएन । उनलाई एउटै कुरा सम्झना भइरहेको थियो कि हिजो ड्यासिएल आएनन् ।

त्यसपछि ड्यासिएलको घरमा फोन लगाइन् । फोन उठेन ।

‘यो मुर्दार सेक्रेटरी कहाँ मरिछे ?’ गनगन गर्दै बेला बेलामा फोन उनले लगाइरहिन् ।

यसबीचमा नाटकको सफलतामा उनले बेलाबेलामा रक्सी पिई नै रहेकी थिइन् । दुई दिनपछि उनलाई अचानक याद आयो, ड्यासिएलको त कुनै सेक्रेटरी नै छैन । पक्कै कहीँ जाँड खाएर लडिरहेको होला !

यसपछि उनी न्युयोर्कबाट हुर्रिंदै क्यालिफोर्निया पुगिन् । त्यहाँ उनी नियमित रूपमा रक्सी पिउने पसलमै ढुन्मुनिदै गरेको फेला परे । त्यसपछि त उनले आँखा नै देखिनन् । यत्रो खुसीको अवसरमा नआउने भन्दै पूरै बार तोडफोड गरिन् । उता ड्यासिएललाई पनि मुक्कालात प्रहार गरिन् ।

पछि ड्यासिएलले गुनासो गर्दै भन्थे रे ! ‘तिमीले अन्ततिर लात हाने पनि ‘त्याँ’ चैँ नहानेको भए हुन्थ्यो !’

जवाफमा लिलियनले भनिन् रे, ‘मलाई पनि थाहा छ, कहाँ हान्ने कहाँ नहान्ने तर कुन बेला हान्ने चाहिँ निश्चितै थाहा छ ।’

(स्रोतः हेमिङ्गवे एन्ड बेलीज् बारटेन्डिङ गाइड टु ग्रेट अमेरिकन राइटर्स, लेखकः मार्क बेली)