साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’का स्रष्टा दिला शाहसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

मेरो पहिलो कृति साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छोटो सूचीमा परेको खबरले हर्षविभोर भएको छु । पुस्तक विमोचनको दिन कथाकार महेशविक्रम शाहले भन्नुभएको थियो, “नेपाली साहित्यमा यस पुस्तकको आगमन, बगैंचामा नयाँ फूलको बोट टुसाएजस्तो, वसन्त ऋतुमा नयाँ पालुवा पलाएजस्तो, आकाशमा नयाँ तारा चम्केजस्तै हो ।”

साहित्यपोस्ट परिवारले गरेको यो उत्कृष्ट कार्यले उहाँको भनाइलाई पूर्ण गरिदिएको जस्तो लागिरहेको छ । अँध्यारो बस्तीकी नायिकाले साहित्यपोस्ट उत्तम आख्यान पुरस्कारको छ‍ोटो सूचीसम्मको यात्रा तय गर्नुभनेको मेरो लागि लेखन यात्रामा मिलेको ठूलो सफलता र प्रेरणा हो । म अथाह खुसी भएको छु । जुन कुरा शब्दमा बयान गर्न सक्दिनँ ।

पुरस्कारको छोटो सूचीमा तपाईंको ‘अँध्यारो बस्तीकी नायिका’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

साहित्य सृजना गर्नु मेरो खुसीको विषय हो । जुन काम गर्दा मान्छे खुसी भएर गर्छ त्यहाँ अन्य कुराको अपेक्षा गरिँदैन । धेरै अपेक्षा राखेर गरिएको कामले मान्छेलाई खुसी दिन सक्दैन । यौटा हाँसिरहेको चेहराले मात्रै अर्को चेहरालाई हाँस्न मद्दत पुग्छ । त्यस्तै यो यात्राले मेरो खुसीमा अझ धेरै खुसी हुन प्रेरित गरेको छ । म यो पुरस्कार पाउँदा खुसी या गुमाउँदा दुखी हुने आशा राखेको छैन । हो, बरु यो अपेक्षा छ, मेरो पुस्तकको यहाँसम्मको यात्रा, चर्चा, परिचर्चा र मूल्याङ्कनले अँध्यारो बस्तीकी नायिकालाई प्रिय पाठकहरूको आवश्यकता र रोजाइसम्म पुग्न सहयोग पुर्याउनेछ ।

सँगसँगैका बलिया प्रतिस्पर्धी कृतिहरू जुनसुकैले पुरस्कार जिते पनि म खुसी हुनेछु । लेखकले समाज र जनजीवनका कुराहरूलाई कसरी उठान गरेको छ ? भाषा, शैली, पात्र, परिवेश, कथानक विषयवस्तुको कस्तो प्रयोग भएको छ ? र, पुस्तकले दिन खोजेको सन्देश सबै कुरा मूल्याङ्कन समितिले गहन अध्ययन गरेरै उत्कृष्ट पाँचौँसम्म पुर्याउनु भएको छ । मेरो लागि त यहाँसम्म पुग्नु पनि पुरस्कार पाएसरह हो । बराबर स्तरका राम्रा पुस्तक भए र पनि मात्रै एक पुस्तक उत्कृष्ट छान्नु पर्ने बाध्यता मूल्याङ्कन समितिलाई छ । पुरस्कारको योग्य भएर पनि सबै कृतिलाई पुरस्कार दिन सक्ने अवस्था नहुन सक्छ । उत्कृष्ट पाँचबाट अन्तिम पुरस्कारको सूचीमा परेछु भने मेरो लेखनमा अझ धेरै जिम्मेवारी थपिएको महसुस गर्नेछु । यदि परेन भने पनि मेरो लेखन यात्रा निरन्तर अगाडि बढिरहने छ । किनकि, लेखन मेरो खुसीको विषय हो ।

‘अँध्यारो बस्तीकी नायिका’ किन लेख्नुभयो ? छोटो लेखकीय अनुभूतिसहित बताइदिनुहोस् न ।

अँध्यारो बस्तीकी नायिका जन्मनुको प्रस्रव पिडा लामो छ । मेरो बुवाले क पनि जान्नु भएन तर सधैं कथा सुनाउनु हुन्थ्यो । म सानो छँदा बुवाले सुनाएका कथाहरू कुनै प्रख्यात कथाकारका लिखित कथाभन्दा कम हुँदैनथे । मेरो क पनि नजान्ने बुवा नै मेरा लागि संसारको सबैभन्दा ठूलो गुरु हुनुभयो । हामी ठूलो हुँदै गर्दा गाउँमा माओवादी द्वन्द्वले चरम सिमा नाघेको थियो । आफ्ना हुर्कँदै गरेका छोरीहरूलाई एकातर्फ माओवादी, अर्कोतर्फ आर्मी पुलिसले दोहोरो चपेटामा पार्ने पिडाले बुवालाई धेरै चिन्तित बनाउँथ्यो । तैपनि बुवाले हामीलाई सदैव हिम्मत दिनुभयो । सत्यको मार्गमा निडर भएर अगाडि बढ्न मेरो बुवाले सिकाउनु भयो । समस्यामा परेकाहरुलाई सहयोग गर्न सक्ने, कठिन समयमा पनि आशाको दियो जगाइराख्न सक्ने एक असल नायिका बन्न सक्नुपर्छ भन्ने जुन ज्ञान दिनुभयो त्यसकै उपज एक कथा बन्यो, “अँध्यारो बस्तीकी नायिका” र त्यही नै पुस्तकको शीर्षक बन्यो ।

मानिस खाना नखाएर केही दिन बाँच्न सक्छ तर आशा बिना पलभर पनि बाँच्न सक्दैन । मलाई सदैव आशा, उत्साह र खुसीले भरिएका कथाहरू लेख्न मन लाग्छ । हामीले आफ्नो शक्तिलाई चिन्न नसके र नै कमजोर भएका हौँ भन्ने कुरा बुझाउन चाहन्छु, अझ बिशेष गरेर दिदीबहिनीहरूलाई । यसर्थ पनि अँध्यारो बस्तीकी नायिका लेखेको हुँ ।

तपाईंका कथाहरु नारी भावना र संवेदनाका नजिक छन् । यसमा तपाईंका आफ्नै भावना र संवेदनाको अंशचाहिँ कति छ ।

अवश्य पनि, म आफू एक नारी हुनुको अनुभूतिले नै नारी संवेदनशीलता, नारी शक्ति, नारीका पिडा, खुसी, सङ्घर्ष र वात्सल्यतालाई दर्साउन सजिलो भएको होला । हुन त साहित्यकारको दिव्यदृष्टिले अनन्तः गहिराइ, भीमकाय स्थुलता, मापन गर्न नसकिने उचाइ, सुषुप्त सुष्मता र सारा जगत्का अवयवहरूलाई पनि नियाल्न सक्छ । यस कृतिमा कथा बनेर लहराएका, सुक्सुकाएका, सरसराएका भावनाहरूमा मेरो जीवनका केही अंशहरू पनि समेटिएका छन् ।

बुवाले सुनाउने कथाको प्रभावले होला, मेरी आमा जसलाई म सानैदेखि कथा सुनाउँथेँ र भन्थेँ, ‘एकदिन म किताब लेख्नेछु र धेरै जनाको माझमा बुवाआमालाई सँगै राखेर हजुरहरूको हातबाट पुस्तक विमोचन गर्ने छु ।’ तर विडम्बना ! पुस्तक छपाइमा जानुपूर्व नै आमाले संसारबाट बिदा लिनु भयो । त्यो असह्य पिडा, आमाको अभावको समयमा आमाका सम्झनाहरू पनि कथामार्फत पोखिएका छन् । सँगसँगै, मैले बाँचेको समाज र म जस्तै धेरै प्रतिनिधि नारी पात्रहरूले अँध्यारो बस्तीकी नायिकालाई सार्थक बनाउन भूमिका खेलेका छन् ।

तपाईंले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

मेरो पहिलो रुचि भनेको समाज सेवा गर्नु हो । म पेसाले उद्योगी व्यवसायी पनि हुँ । बुवाआमालाई जिउँदो हुँदा नै सम्मान गर्नुपर्छ भन्ने सोचका साथ आजभन्दा पाँच छ वर्ष पहिले उहाँहरूको नामबाट “मानदेवा परोपकारी अक्षयकोष” स्थापना गरेको छु । उक्त कोषमा पटकपटक गरेर पाँच लाख रकम जम्मा भएको छ । यही रकमको ब्याजबाट बर्सेनी अनाथ, असहाय बालबालिका, महिला र अन्य आवश्यक व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको छु । आमाबुवालाई आफ्नो वरपर राखेर सगर्व समाज सेवा गर्नु मेरा लागि अथाह खुसीको कुरा थियो । आमा नहुँदा पनि आमाको सम्झना र सम्मान भइरहने काम गर्ने सोच बनाएको छु । आफ्नो प्रियजन गुमाउँदाको पिडाले अझैसम्म पनि मर्माहत भएको छु । यदि मैले यो पुरस्कार प्राप्त गरे भने त्यसमा अरू केही रकम थप गरेर आमाको नामबाट यौटा साहित्यिक कोष खडा गर्छु भन्ने सोचेको छु । उक्त कोषबाट साहित्य र समाजको जगेर्ना गर्न सहयोग मिल्ने छ । सामाज सेवाभन्दा अर्को ठूलो धर्म केही छैन जस्तो लाग्छ । यसर्थ, म मैले पाएको पुरस्कारलाई  सेवामूलक काममा नै लगाउने छु ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न । 

मैले आगामी साहित्यिक यात्राको बारेमा केही त्यस्तो तयारी त गरेको छैन । तर मलाई उपन्यास लेख्न रहर छ । जन्मस्थान सल्यानमा म सानो छँदादेखि नै मलाई कथा र उपन्यास पढ्न र लेख्न खुब मन पर्थ्यो । मेरा हस्तलिखित केही उपन्यासहरू पनि छन्, चौधपन्ध्र वर्षको उमेरमा लेखेका । त्योबेला जागेको लेख्ने हुटहुटीलाई पूरा गर्ने समय बल्ल जुर्दै गरेको छ जस्तो लाग्छ । अहिलेको समाज नकारात्मकता, निराशा र भ्रष्टाचारको मार्गमा लिप्त भइरहेको भान हुन्छ, र साहित्य पनि त्यस्तै लेखिन्छ । तर समाजमा अरू राम्रा पाटोहरू पनि छन् । मलाई मानव जीवनका सुन्दर पाटाहरू, यहाँको प्राकृतिक सुन्दरता नदी, खोला, झरना, यो अलौकिक चराचर जगत् र सकारात्मकताले भरिएका मानिस, त्यसमा पनि अझ महिलाहरूको अदम्य साहस, आँट र सङ्घर्षलाई समेटिएका विषयवस्तुको उठान गरेर उपन्यास लेख्ने रहर छ । जुन कुरा पढ्दै गर्दा निराशा, आँसु र करुणा होइन उर्जा, कुसलता र कठिनाइमा पनि जीवन जिउनुको मज्जा लिएर मानिसले यो महत्त्वपूर्ण जीवनको अर्थ बुझोस् र हरपल उत्साहित होस् ।

साहित्यपोस्टले मेरो लेखनमा थपिदिएको हौसलाका खुड्किलाहरू चढ्दै चढ्दै धेरै अगाडिसम्मको यात्रा तय गर्न सकुँ । हजुरहरू सबै सबैको शुभेच्छा माया र मार्गदर्शनले मेरो आगामी लेखन यात्रा अझै सशक्त बनोस्, कामना गर्छु ।