पाश्चात्य दर्शनको कुरा गर्दा करिब २००० वर्षसम्म तार्किक दर्शनहरूको रजगज रहेपश्चात १९ औं शताब्दीमा फरक धारको रूपमा सोरेन किकगार्डको अस्तित्ववादी दर्शन सतहमा आयो । हुन त सुकरात, अगस्टिन अफ हिपो, अर्थर सोफेन हावर, वासिल पास्कल, जियोकामो लियोपार्दी, हेनरी डेविड थेरेउ, जिन ज्याक रूसो, मार्क्स स्टिरिङ्स, मुला सार्डा, स्टोइक जस्ता दार्शनिकहरूले आफ्नो लेखमार्फत अस्तित्ववादी छनक दिइसकेका थिए। अन्त्यमा सोरेन किर्केगार्ड १९ औं शताब्दीका विभिन्न लेख तथा विचार लिएर अस्तित्ववादको पिताको रूपमा उदाउन सफल भए ।

अस्तित्ववादले तार्किकभन्दा अनुभूतिको आधारमा मानवीय दर्शनको उजागर गर्दछ । सुकरातका दर्शनमा पनि यस्तै अनुभूति उजागर हुने दर्शन पाइन्छ। प्रश्नोत्तरले तार्किकवदको दर्शन निम्त्याउँछ भने उत्तर नभएर प्रतिप्रश्नले अस्तित्ववादको झल्को दिन्छ। सोरेन किर्केगार्डको अस्तित्ववादले जिन्दगी के हो र यसको अस्तित्व के हो भन्ने प्रश्न गर्दछ। अस्तित्ववादले व्यक्तिवाद तथा एक व्यक्तिको इच्छा तथा सो इच्छामा जिउन सक्ने अवधारणाको बारेमा जोड दिने गर्दछ। अस्तित्ववाद भनेको अस्तित्व खोज्नु हो । यथार्थमा मान्छेको अस्तित्व के हो ? प्रत्येक मान्छे कहीँ न कहीँ आफ्नो अस्तित्व खोजिराखेको हुन्छ । यथार्थमा अस्तित्ववादले मान्छे भीडभन्दा बाहिर जिउने बारेमा सल्लाह दिन्छ तर सामाजिक परिवेशको डोरीमा ऊ फँसिराखेको हुन्छ। यथार्थमा अस्तित्ववादले सबै मान्छेको स्वयं अध्ययनलाई जनाउँदछ ।

दुनियाँमा यस्ता लेखक कमै हुन्छन्, जुन मृत्युदण्ड पाउन केही मिनेट बाँकी रहँदासम्म लेखन र साहित्यकै बारेमा सोचे र त्यसै पललाई वैश्विक प्रसिद्ध साहित्य तथा दर्शन बनाएर दिएर गए । फ्योदोर दोस्तोएभस्की एक १९औं शताब्दीका एक महान् अस्तित्ववादी दार्शनिक तथा साहित्यकार हुन् । सन् १८२१ मा रसियाको मस्कोमा जन्मेका फ्योदोर दोस्तोएभस्की एक शिक्षित परिवारमा जन्मेका थिए । उनको साहित्यमा मानवीय मनोविज्ञान कसरी समाज तथा राजनीतिक वातावरणमा काम गर्दछ भन्ने देखिन्छ । उनको साहित्य यस्ता मान्छेको वरिपरि घुमेका छन् कि जस्को काम गर्ने क्षमता छ तर राजनिति पहुँच छैन । राजनीतिक पहुँच नभएका कारण मान्छे कसरी अमानवीय काम गर्न पनि पछाडि पर्दैन भन्ने कुरा जस्ता धेरै दार्शनिक कुराहरू देखिन्छन्। दोस्तोएभस्कीका डाक्टर पिता आफ्नै घरआँगनमा रहेको परोपकारी अस्पतालमा काम गर्दथे। आफ्नो बाबाको परोपकारी काम देखेर दोस्तोभोस्की पनि डाक्टर बनी गरीबको सेवा गर्ने इच्छा राखेका थिए। जब दोस्तोएभस्की १३ वर्ष पुगेका थिए, आफ्नी आमाको टि.बी.बाट देहान्त हुन पुग्यो।

धार्मिक परिवारमा जन्मिएका दोस्तोएभस्कीकी आमाको मृत्युपश्चात १६वर्षको उमेरमा पढ्नका लागि सेन्ट पिटर्सवर्ग गए । आफ्नो पिताको निर्देशनअनुसार उनी इन्जिनियरिङ पढ्न थाले । घरानिया परिवारमा जन्मेका विद्यार्थीहरू बीच दोस्तोएभस्कीको दिनहरू सहज तरिकाले बितेका थिएनन् । संयोग, १८ वर्षको उमेर हुँदा उनका पिताजीको मृत्यु भयो । पिताको मृत्युले उनको जिन्दगीमा ठूलो वज्रपात पर्यो । इन्जिनियर उत्तीर्ण गरिसकेपछि उनी केही समय इन्जिनियर भएर काम गर्न थाले । तर साहित्यमा मन लाग्ने मान्छे इन्जिनियरिङ पेसासँग उनी खुशी थिएनन् ।

इच्छाले मात्र हुँदैन त्यसमा खुबी पनि चाहिन्छ वा त्यसमा लागिरहनु पनि पर्छ भन्ने कुरालाई हामी आत्मसात गर्नै पर्छ । इन्जिनियरिङको जागिर छोडेर उनी लेखक बन्न साहित्य लेख्न थाले । उनको पहिलो प्रकाशित Poor Folk (दरिद्र नारायण) पुस्तक त्यति प्रसिद्ध तथा व्यावसायिक हुन सकेन । यसपछि उनलाई ज्यादै चित्त दुख्न थाल्यो । उनी लेखन कार्यको अलावा जुवा खेल्न थाले । जुवा खेल्दा उनी ठूलो आर्थिक संकटमा फँसे तर पनि उनले लेखन कार्य जारी नै राखेका थिए । उनको लेखन जहिले पनि गरिब गुरूवाकै बारेमा हुने गर्छ । उनको पहिलो कृति उनले २३ वर्षको हुँदा प्रकाशित गरेका थिए । Poor Folk को प्रकाशनपछि उनले अर्को पुस्तक प्रकाशन गरे त्यो पनि त्यति चल्न सकेन । त्यस पछि उनी छोटा कथाहरू लेख्न थाले ।

लेख्ने कार्यमा रहँदारहँदै यिनी यस्तो लेखक समूहसँग मिसिन पुगे कि जसले रसियन सरकार तथा त्यहाँको तानाशाह जारको विरूद्धमा लेख्ने गर्दथ्यो । उनी जब उनीहरूको संगतमा पुगे केही समयमा नै रसियन सरकारको विरूद्धमा लाग्ने समूह अन्तर्गतमा रहेको भन्ने जानी उनलाई गिरफ्तार गरियो र मुद्दा चलाइयो। जारको विरूद्धमा लेखिएको साहित्यवापत उनलाई मृत्युदण्ड सुनाइयो ।

मृत्युदण्डका भागिदार फ्योदोर दोस्तोभोस्की मृत्यदण्ड सुनाएको ८ महिनापछि मृत्युदण्ड पाउँदै थिए । मृत्युदण्डको सजाय पाएको अवस्थालाई लिएर बाँच्नु पर्ने आठ महिना उनको जिन्दगीमा कस्तो अनुभव रह्यो भन्ने बारेमा उनले आफ्नो प्रसिद्ध पुस्तक The Idiot मा लेखेका छन् । जब उनलाई मृत्युदण्ड दिनका लागि झुन्ड्याउन लगियो तब तीन मिनेट बाँकी रहँदा जारद्वारा मृत्युदण्डको सजाय माफ गरेर सो मृत्युदण्डको सजाय १० वर्षे कैद सजायमा बदलिदिए । जेल रहँदा बस्दा दोस्तोएभस्की जेलको सजायमा पनि उनको ध्यान साहित्य सिर्जनामै मनन रहेको थियो। उनको यो एउटा सुखद् र रमाइलो जिन्दगी भएर गएको महसुस गरेका थिए । कमसेकम बीस जना एक कोठामा बन्दीको रूपमा रहँदा बस्दा सानो प्वालबाट आउने सूर्यको ज्योतिको महत्त्व, त्यस प्वालबाट आउने हावाको महत्त्व, कैदीको रूपमा गरिने कडा परिश्रम र कैदी भएकै नाताबाट पाइएका सजायबाट उनले आफ्नै जिन्दगी पढेर संसार चकित हुने साहित्य सिर्जनाको बाटो खोले। जब दस साल उनले कैद सजाय भोगे त्यसपछि उनी मस्को र पिटर्सबर्ग फर्किए । त्यसपछि उनको विश्वप्रसिद्ध Crime and Punishment, Brother Karamazov, The Demon, Note from the underground र The Idiot जस्ता पुस्तकहरू रचना गरे ।

जब उनका लेखहरू प्रकाशमा आए जार सरकारले फ्योदोर दोस्तोएभस्कीलाई इज्जत दिन थाल्यो । उनलाई प्रज्ञा प्रतिष्ठानको जिम्मा दिइयो । सैनिकमा महत्त्वपूर्ण पद दिइयो तर उनलाई त्यसको कुनै अर्थ रहेन, उनी घुम्नका लागि पश्चिम युरोपमा निस्किए । उनी धेरै घुमे र आफूलाई लेख्नमै व्यस्त बनाए ।

फ्योदोर दोस्तोभोस्कीको प्रसिद्ध पुस्तक Note from the Underground मा एक रिटायर्ड नागरिक र उसको जिन्दगीको बारेमा लेखेका छन् । मान्छेहरू कसरी आफ्नो जिन्दगी व्यस्त राखेका हुन्छन् र अन्तिमको रिटायर्ड जीवन आफैँमा कति र कसरी सकसपूर्ण हुन्छ भनी स्पस्ट लेखेका छन् । एक जिन्दगी के गर्नका लागि अगाडि बढेको हुन्छ, त्यो पूरा हुन नसके के कति र कसरी मान्छे दुःखी र पीडित भएर हिँड्छ भन्ने कुरा यसमा दर्शाएका छन् । मान्छे आफैँमा कहिले पनि सुखी नहुने प्राणी हो । शिक्षक भएमा उसको सुखी जिन्दगी व्यापारमा देख्ने गर्छ भने यहाँ जन्मनु भन्दा वहाँ कहीँ जन्मेको भएमा म खुशी हुने थिएँ होला। सीताभन्दा गीतासँग बिहे भएको भएमा म सुखी हुन्थे होला आदि इत्यादि मनका कुराका बीच मान्छे सधैँ रूमल्लिराखेको हुन्छ तर कहिल्यै खुसी हुन सक्दैन। ठीक यसैमा लेखक दोस्तोभोस्की खुशी हुने आधारहरू यसबाट नै प्रस्तुत गरेका हुन्छन् ।

The Crime and Punishment बाट लेखक गरीब जिन्दगी र धनी बीचको अन्तर र उनीहरूको हृदय स्पस्ट पार्न खोजेका छन्। पढ्नका लागि उत्सुक एक गरिब विद्यार्थी, उस्को संघर्ष र पैसाको अभावमा उसले पढ्न नपाएको क्षणलाई अगाडि ल्याएर एक अवैध धन कमाएकी बुढी दलाल महिलाको बीचको कहानी प्रस्तुत गरिएको छ। पैसाको अभावमा पढ्न नपाउनु र भोकभोकै बस्नु पर्ने बाध्यता र कुनै परिश्रमबिना अवैध कमाइएको पैसाको बीचमा युवकद्वारा बुढी दलाल महिलाको हत्या गरेर युवकको इच्छा पुरा गरिनु, बुढी महिलाको हत्या गरेको दख्ने अर्को गर्भवती महिला पनि हत्याराबाट मारिनु, त्यस हत्यालाई पश्चाताप गर्दै प्रहरीमा आत्मसमर्पणको दृश्य देखाइएको एक सजीव उपन्यासले मानवीय संवेदनशिलता के कतिसम्म निष्ठुरी छ भन्ने स्पस्ट देखाएको छ । हत्या भएर पनि हत्यारा माथि दया र करूणा देखाउन बाध्य दृश्य पस्कन सफल दोस्तोएभस्कीको जति बयान गरे पनि कमै हुन्छ ।

The Brother Karamazov लाई त दार्शनिक उपन्यास नै भने हुन्छ । लेखक दोस्तोभोस्कीले स्वर्गमा रहेका जिसस पृथ्वीमा आएको र चर्चका पादरीले जिससलाई जेलमा हालेको अवस्था देखाइएको छ। धर्मका नामबाट पादरीहरू कसरी आम जनतालाई दुःख दिएका छन् भन्ने दर्शन यस उपन्यासमा देखाइएको छ ।

The Idiot मार्फत लेखक दोस्तोएभस्की मान्छेको जिन्दगी प्रस्तुत गरेका छन्। आफूलाई एक मुर्ख पात्र बनाई लेखकले आफ्नो मृत्युदण्ड पाइसकेपछि मान्छेको जिन्दगीले पाएको सुख खोलेका छन्। मान्छे जन्मिसकेपछि मान्छे कति स्वर्गमा रहेको हुन्छ भन्ने कुरा उनी मृत्युदण्डको खबर पाएपछि थाहा पाएको अनुभव गर्दछन्। मान्छे भगवान हो, हामीले व्यवहार गर्न नजानेकाले मान्छेसँग हाम्रो तर्कवितर्क हुने गरेको छ । हामी सबै मान्छेमा भगवान् देख्न सक्नु पर्छ भन्ने सन्देश लेखक दिएका छन् । मान्छे जन्मिसकेपछि उसको शारीरिक परिवर्तनको सुगन्धलाई सजीव तरिकाले प्रस्तुत गरेका छन् । आफू बाँचेका प्रत्येक क्षण कति सुन्दर र कति महत्त्वपूर्ण छ । यस जिन्दगीभित्र हामी मानवीयताका लागि कति काम गर्न सक्छौँ भन्ने कुरा लेखकले बयान गरेका छन् । मान्छेको जिन्दगी २४ घण्टाको एक दिन। बिहान उठ्ने बित्तिकैको चिसो हावा, चराको चिरबिर, घामको पहिलो झुल्का, बिस्तारै घर्केको बिहानी, दिउँसोको लोभलाग्दो सूर्य, साँझको ढल्किदो घाम, अस्ताउँदो सूर्य तथा साँझको समय सधैँ नाची राखुँ, सधैँ गाइराखुँ, सधैँ सबैलाई साथमै राखूँ । यो जीन्दगी त भयो हाम्रो जिन्दगी, त्यस्तै चरा जिन्दगीको कल्पना विरूवाको जिन्दगीको कल्पना, सबै ऋतु र समय अनुसारको परिवर्तित प्रकृतिको सम्झना तथा टोलाइने रमाइलो जिन्दगीको सुगन्धमा The Idiot रमेको छ ।

लेखक दोस्तोएभस्कीको जिन्दगी एक अवस्मरणीय जिन्दगी हो । हुन त हामी ईश्वरीय जिन्दगी भन्दा पनि फरक नपर्ला तर अस्तित्ववादी दार्शनिकलाई ईश्वरको उपमा नदिइहालौँ । उनको लेख तथा रचनाले रसिया तथा पश्चिमा मुलुकहरूमा पादरीको हुकुम, चर्चको वर्चस्वता तथा तानशाहहरू धेरै कम हुँदै गए । उनका लेखहरू यी सबैलाई प्रजातान्त्रिक बनाउन धेरै सहयोग गर्यो । लेख, रचना तथा दर्शनको रचना गर्न तथा प्रोत्साहित गर्न पनि उनले दुनियाँलाई राम्रो सन्देश दिएर बिदा भएका छन् ।