निक लायर्ड आयरल्यान्डका कवि तथा उपन्यासकार हुन् । १९७५ मा जन्मिएका उनले क्याम्ब्रिज विश्वविद्यालयमा कानुन अध्ययन गरे र पूर्णकालीन वकिल बन्ने ध्येयले काम शुरू गरे ।
उनले त्यसपछि कानुन व्यवसायीका रूपमा काउन्टी टाइरोनमा काम थालिरहँदा अचानक उनलाई कविताको सोख चढ्यो । ख्यासख्यास लेख्दालेख्दै उनले सन् २००५ मा टु द फल्ट कविता संग्रह निकाले । पहिलो किताबमा नै उनले कयौँ पुरस्कार हात पारे । दुःखको कुरा, उनको त्यत्रो चर्चित र पुरस्कृत किताब भने लाजैमर्दो तरिकाले बिक्री भएन । त्यसपछि उनले कानुन व्यवसाय पनि छाडिदिएर पूर्णकालीन कवि भए र दनादन काव्य संग्रह निकाले । सन् २०१८ मा फिल फ्री र गो जायन्ट (२००३) निस्केपछि भने उनलाई कविता बिक्री हुने कुरामा भरोसा नै हुन छाड्यो ।
बरू त्यसको साटो उनले उपन्यास लेखेर भर्पाई गरिरहेका छन् तर उनी तिनको नाउँ लिन लजाउँछन् । उनको भनाइमा, ‘मैले कुनै गतिलो उपन्यास लेख्न सकेको छैन तर बिक्रीका हिसाबले ती राम्रै छन् । आफूलाई कविता संग्रह मनपर्छ तर ती बिक्री हुँदैनन् । जबकि, कसैको बिहेमा कविता वाचन गरिन्छ, कसैको मृत्युमा पनि कविता वाचन गरेर आफ्नो श्रद्धा व्यक्त गरिन्छ । तर कोही पनि किनेर कविता पढ्न चाहँदैन, अचम्म छ !’
क्याम्ब्रिज पढ्दाताका उनले आफ्नी पत्नीलाई नभेटेको भए आफ्नो के हाल होला भन्ने सोच्छन् किनभने, कानुन पढे पनि कानुन व्यवसायी हुन सक्दिनँ भन्ने लागेर कवि भएका हुन् । कविता पनि बिक्री नहुँदा घरव्यवहार कसरी चल्छ होला भनेर उनी कहालिन्थे । तर श्रीमती जेडी स्मिथको व्यस्तताले उनलाई सजिलो पारिदिएको छ ।
द टाइम्स पत्रिकासँग कुरा गर्दै भने ३० को उमेर टेक्नेबित्तिकै कामबाट छुट्टी लिएकामा उनलाई कुनै पछुतो छैन । छुट्टी लिएर कविता लेखेकामा पनि उनलाई पछुतो छैन । कविता चल्तीको नभएपछि उनले ख्याति पनि पाएका छैनन्, त्यसमा उनलाई झन् पछुतो छैन । पुरस्कार पाउने तर अनुहार नचिन्ने समस्यालाई उनले पचाइसकेका छन् ।
उनका कविताहरू प्रायः निजत्वबारे हुन्छन् र स्वघोषणा गरिरहेका हुन्छन् । त्यसैले कविता धेरै लेखिएका भए पनि निकै कम छापिएकामा उनी दुःखी छैनन् ।
‘मलाई धेरैले कविता केका लागि लेख्नुहुन्छ भनी सोध्छन् । मलाई लाग्छ, केही कुराहरू मान्छेसँग गर्नुभन्दा पानासँग गर्दा मन हलुङ्गो हुन्छ । पानाहरूले तपाईंको कमजोरीलाई मान्छेलेझैँ खिल्ली उडाउँदैनन् । ढुक्कसँग जे कुरा गरे पनि हुन्छ ।’
मान्छेलाई सबैभन्दा सजिलो गरी सपना बेच्न सकिन्छ र सबैभन्दा गाह्रो चाहिँ कविता बेच्न हुन्छ भन्ने उनको भनाइ छ ।
कविता बिक्री नभएकामा धेरै कविहरू कुण्ठित भएकामा उनलाई आश्चर्य लाग्छ । उनी भन्छन्, ‘कविता बिक्री नहुँदा तपाईं बजारको पासोबाट मुक्त हुनुहुन्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।