२२
आइतबारको दिन जेलको अफिसमा पाभेलसँग बिदा हुन आउँदा आमाले कागजको सानो गेडा आफ्नो हातमा परेको अनुभव गरिन् । आफ्नो हत्केला आगाले पोलेजस्तो आमा झस्किन्
। उनले विनयपूर्ण दृष्टिले छोराको अनुहारमा हेरिन्, तर त्यहाँ कुनै जवाफ भेट्टाइनन् । पाभेलका नीला आँखामा त्यही चिरपरिचित शान्त र दृढ मुस्कान थियो ।

“लौ त म हिँडे !” – आमाले सुस्केरा हाल्दै भनिन् ।

पाभेलले फेरि आमातिर हात बढायो । उसको अनुहारमा एक मायालु लहर दौड्यो ।

“लौ त आमा !”

उनी छोराको हात समातेर केही बेरसम्म उभिइरहिन् ।

“चिन्ता नगर्नुहोस्, नरिसाउनुहोला आमा !” – उसले भन्यो ।

उसका यी शब्दहरू र पाभेलको निधारमा देखा परेका रेखाहरूले आमाको प्रश्नको जवाफ दिइरहेका थिए ।

“के कुरा गरेको बाबु, तिमीले ?” – आमाले टाउको निहुराउँदै बरबराइन् – “म बुझ्छु … ।”

पाभेलतिर फर्केर नहेरी उनी हतार हतार बाहिर निस्किन् । उनी चाहन्नथिन्, पाभेलले उनका आँसुले भरिएका आँखा र काँपिरहेका ओठ देखोस् । बाटामा हिँड्दा उनलाई यस्तो लागिरहेको थियो, मानौँ छोराको जवाफ भएको कागजले हातमा कसैले बेस्सरी हिर्काइदिएको छ र त्यो हात गह्रौँ हुँदैछ, निदाउँदै छ । घर पुग्ने बित्तिकै उनको निकोलाइलाई कागज दिइन् र उभिएर प्रतीक्षा गर्न थालिन्, कहिले उसले त्यो गुजुल्टाइएको कागज खाल्ने हो ? एक छिनका लागि आमाको हृदयमा आशाको किरण देखा पर्यो । तर निकोलाइले सारा आशा चूर पारिदियो ।

“अनि त, मलाई त अगाडि नै थाहा थियो, सुन्नोस् के लेख्छ ।”– ऊ भन्दै थियो – “कामरेडहरू, हामी भाग्न चाहन्नौँ । हामीमध्ये कोही पनि भाग्न चाहँदैनौँ ।

भाग्यौँ भने हामीले आफ्नो आत्मसम्मान गुमाउनेछौँ । बरु, अस्ति मात्र समातिएको किसानमाथि भने ध्यान दिनुहोला । उसलाई तपाईँहरूको मद्दतको खाँचो छ र ऊ यस्तो मद्दतको हकदार पनि छ । उसलाई यहाँ धेरै मुस्किल छ । हरेक दिन जेलका हाकिमहरूसँग झगडा गर्छ । चौबीस घण्टा काल कोठरीमा बिताइसक्यो । उसलाई सताउनसम्म सताइसके । हामी उसलाई मद्दत गर्न अनुरोध गर्छौ । मेरी आमालाई सम्झाइदिनुहोला, सबै कुरा राम्ररी बताइदिए उहाँले बुझ्नुहुनेछ ।”

आमाले टाउको उठाइन् र बिस्तारै काँपेको स्वरमा भनिन् –

“किन सम्झाइरहनुपर्यो र मलाई, मैले सबै कुरा बुझेको छु !”

निकोलाइ झट्ट अर्कोतिर फर्कायो, रुमाल निकाल्यो र जोडले सी गर्दै बडबडाउन थाल्यो –

“देख्नुभो, रुघाले समाइहाल्यो … ।”

त्यसपछि ऊ चस्माको ऐना पुछ्दै कोठामा ओहोरदोहोर गर्न थाल्यो ।

“वास्तवमा हामी सबै कुराको बन्दोबस्त मिलाउन पनि भ्याउँदैनथ्यो होला ।” – उसले भन्यो ।

“ठिक छ, मुद्दा नै चलाउन् त !” – आमाले आँखीभौँ खुम्च्याउँदै भनिन् । उनको हृदय ओसिलो बादलजस्तो उदासीले ढाक्यो ।

“टिर्सबर्गको एक जना साथीले लेखेको चिठी भर्खरै पाएँ … !”

“आखिर ऊ साइबेरियाबाट पनि त भाग्न सकिहाल्छ नि !”

“किन नसक्नु र ! साथीले लेखेको छ, मुद्दा छिट्टै सुरु हुन्छ । सजायबारे निर्णय भैसकेको छ । सबैलाई अर्कै ठाउँमा धपाउँदै छन् । देख्नुभो, यी नीचहरूले आफ्नै अदालतलाई पनि एक घृणित ढोँग बनाइदिएका छन् । सोच्नोस् त, यहाँ मुद्दा छलफल हुन पाएको छैन । पिटर्सबर्गको फैसला तयार भइसक्यो ।”

“निकोलाइ इभानोभिच, भैहाल्यो अब यी सबै कुरा गरेर के फाइदा र !” – आमाले दृढतापूर्वक भनिन् – “मलाई सान्त्वना दिनुपर्दैन । केही कुरा बुझाइरहनु पनि पर्दैन । पाभेलले नराम्रो काम गर्दैन । बेकारमा आफू पनि कष्ट खाँदैन, अरूलाई पनि कष्ट दिँदैन ! मलाई पनि ऊ माया गर्छ ! देखिहाल्नुभो कति चिन्ता लिन्छ मेरो । आमालाई सम्झाई बुझाइ दिन भन्छ, हँ … ?”

उनको मुटुको ढुकढुकाई बढ्दै थियो, उत्तेजनाले टाउको रिङ्गिदै थियो ।

“तपाईँको छोरा आदर्श मान्छे छन् !” – निकोलाइले अस्वाभाविक चर्को स्वरमा भन्यो – “म उनको हृदयदेखि सम्मान गर्छु !”

“बरु, अब रिबिनको विषयमा के पो गर्ने हो, सोचौँ न !” – आमाले भनिन् ।

उनलाई तुरुन्तै केही गरिहाल्न मन लाग्यो । कतै जाने, थकाइले चूर नहुन्जेल हिँडिरहने इच्छा भयो ।

“ठिक छ ।” – निकोलाइले कोठामा ओहोरदोहोर गर्दै भन्यो – “अहिले सासा भैदिए हुन्थ्यो ।”

“उनी आइपुग्छिन् । पाभेललाई भेट्न गएको दिन उनी सधैँ आउने गर्छिन् ।”

निकोलाइ कौचमा आमानजिकै गएर बस्यो र केही सोच्दै टाउको निहुराएर ओठ चपाउन र दाह्री तान्न थाल्यो ।

“बडो दुःखको कुरा छ, दिदी अहिले घरमा हुनुहुन्न … ।”

“पाभेल त्यहीँ छँदै हामीले यो काम सिद्ध्याउन पाए कति बेस हुन्थ्यो, कति खुसी हुन्थ्यो होला !” – आमाले भनिन् ।

दुवै चुप लागे । एक छिनपछि आमाले एक्कासि बिस्तारै सानो स्वरमा भनिन् –

“म बुझ्न सक्दिनँ, किन ऊ भाग्न चाहँदैन ?”

निकोलाइ जुरुक्क उभ्यो । तर त्यत्तिकैमा बाहिर ढोकामा घण्टी बजेको आवाज सुनियो । दुवैले एक अर्काको मुखमा हेरे ।

“यो सासा हुनुपर्छ ।” – निकोलाइले बिस्तारै भन्यो ।

“कसरी बताउने हो उनलाई ?” – आमाले पनि बिस्तारै सोधिन् ।

“त्यही त … ।”

“बिचरीको असाध्यै माया लाग्छ मलाई … ।”

अलि सानो आवाजमा फेरि घण्टी बज्यो । यस्तो भान हुन्थ्यो घण्टी बजाउने मान्छे हिचकिचाइरहेछ । निकोलाइ र आमा दुवै ढोकातिर लागे, तर भान्सा कोठाको ढोकामा पुगेर निकोलाइ पछि हट्यो ।

“तपाई एक्लै जानुभए राम्रो होला ।” – उसले भन्यो ।

“मानेन उसले ?” – ढोका खुल्नासाथ केटीले आमालाई ठाडै सोधिन् ।

“मानेन ।”

“मलाई पहिल्यै थाहा थियो !” – सासाले भनिन्, तर उनको अनुहार पहेँलो भैसकेको थियो । उनले ओभरकोटको टाँक फुकालिन्, फेरि दुइटा टाँक लगाइन् र काँधबाट कोट फुकाल्ने कोसिस गरिन् । तर कोट सरेन ।

“हुरी र झरी चल्दै छ, कस्तो नराम्रो मौसम छ !” – सासाले भनिन् – “सन्चो छ उसलाई ?”

“ठिक छ ।”

“त्यसो भए स्वस्थ छ र प्रसन्न छ ।” – सासाले आफ्नो हात हेर्दै बिस्तारै भनिन् ।

“रिबिनलाई छुटाउन मद्दत गर्नु भनेर लेखेको छ ।” – आमाले सासातिर नहेरीकनै भनिन् ।

“ए ! त्यसो भए त्यही पुरानो उपाय लगाएर उसलाई छुटाउनुपर्छ ।” – केटीले बिस्तारै भनिन् ।

“मलाई पनि त्यस्तै लाग्छ ।” – निकोलाइले ढोकामा देखा पर्दै भन्यो – “नमस्कार सासा !”

केटीले उसतिर आफ्नो हात बढाउँदै सोधिन् –

“के भयो ? हाम्रो योजना ठिक छ भन्ने कुरामा सबै सहमत छन् ?”

“सबै बन्दोबस्त कसले मिलाउँछ ? सबै व्यस्त छन् … !”

“मलाई सुम्पनोस् !” – सासाले झट्ट उभिँदै भनिन् – “मलाई फुर्सद छ !”

“हुन्छ, म सोधेर हेरुँला । म अहिल्यै हिँडिहाल्छु ।”

यति भनेर उनी फेरि आफ्ना मसिना औँलाले फुर्तिलो चालले टाँक लगाउन थालिन् ।

“अलि आराम गर्नुभए हुन्थ्यो नि !” – आमाले भनिन् ।

उनी मुस्कुराइन् र नरम स्वरले भनिन् – “धन्दा नमान्नोस्, म थाकेकी छैन ।”

दुवै जनासँग हात मिलाएर उनी चुपचाप बाहिर निस्किन् । उनको अनुहार फेरि सधैँजस्तो कठोर र भावहीन देखियो ।

आमा र निकोलाइ झ्यालनेर गए र सासा चोक पार गरेर मूल ढोकापछाडि नबिलाउन्जेल हेरिरहे । निकोलाइले बिस्तारै सुसेल्यो र टेबुलनेर बसेर केही लेख्न थाल्यो ।

“यस काममा व्यस्त भएपछि उनलाई अलिकति हलुको हुनेछ ।” – आमाले चिन्ता मग्न हुँदै बिस्तारै भनिन् ।

“हो !” – निकोलाइले सही थाप्यो र आमातिर फर्केर मुस्कुराउँदै सोध्यो – “निलोभ्ना, तपाईँलाई त यस्तो पिर सहनुपरेको थिएन ? आफ्नो प्रेमीबारे यसरी छटपटिनु परेको थिएन होला ।”

“कहाँ र ! – आमाले हात हल्लाउँदै भनिन् – “कहाँको प्रेमीका लागि छटपटिनु ? मलाई त सधैँ एउटै डर थियो – कहीँ बिहे त गरिदिने होइनन् !”

“अनि कोही पनि मन परेको थिएन ?”

आमाले एक छिन सोचिन् र जवाफ दिइन् –

“सम्झन्नँ बाबु ! कसरी मन नपर्नु र … ? कोही न कोही त अवश्य मन परेको थियो होला, तर सम्झन मात्र सम्झन्नँ ।”

निकोलाइतिर उदास दृष्टिले हेर्दै आमाले भनिन् –

“लोग्नेले यति कुट्थ्यो कि ऊसँग भेट हुनुभन्दा अगाडि घटेका सबै घटनाहरू बिर्सिसकेँ !”

निकोलाइ फेरि टेबुलतिर फर्कियो । आमा एक छिनका लागि बाहिर निस्किन् । उनी फर्केपछि निकोलाइले बडो प्रेमपूर्वक आमातिर हेर्दै आफ्नो पुरानो सम्झना बताउन थाल्यो । ऊ यति बिस्तारै मायालु ढङ्गले बोल्दै थियो, मानौँ ऊ प्रत्येक शब्द सुमसुम्याउँदै थियो ।

“जहाँसम्म मेरो कुरा छ, मसँग पनि सासाकै जस्तो कहानी घटेको थियो । एउटी केटीलाई प्रेम गर्थे – असाध्यै असल केटी थिइन्, गजबकी ! उनीसँग भेट हुँदा म भर्खर बिस वर्षको मात्र थिएँ र साँच्ची भन्ने हो भने म अझै पनि उनलाई प्रेम गर्छु ! त्यत्तिकै प्रेम गर्छु आन्तरिक हृदयदेखि, ठुलो कृतज्ञतासाथ !”

आमा उसको नजिकै उभिएकी थिइन् । उनी उसका आँखामा न्यानो र निर्मल ज्योति देख्दै थिइन् । उसले मेचमा हात राखेको थियो र हातमा टाउको अड्याएर कतै टाढा हेरिरहेको थियो । लाग्थ्यो, उसको दुब्लो पातलो तर बलियो शरीर कतै खिँचिँदै छ, जसरी बिरुवाहरू सूर्यतर्फ खिँचिन्छन् ।

“तपाई पनि कस्तो मान्छे ? किन बिहे नगर्नुभएको त !” – आमाले सोधिन् ।

“चार वर्ष भैसक्यो उनको बिहे भएको … ।”

“अगाडि नै के हेरेर बस्नुभएको थियो नि ?”

उसले एक छिन सोचेर जवाफ दियो –

“त्यस्तै प¥यो हेर्नोस् न, क्यै गरे पनि ताल मिलेन । म जेलमा हुँदा, उनी बाहिर हुन्थिन् । म बाहिर हुँदा उनी जेलमा अथवा निर्वासनमा हुन्थिन् । ठ्याक्कै सासा र पाभेलको जस्तो हालत होइन त ? अन्त्यमा उनी दश वर्षका लागि साइबेरियामा निर्वासित भइन्, कता हो असाध्यै टाढा ! म पनि उनी सँगसँगै जान चाहेको थिएँ । तर हामी दुवैलाई असजिलो लाग्यो । त्यहाँ अर्को व्यक्तिसँग उनको भेट भयो – मेरै साथी हो, धेरै असल मान्छे छ ! पछि दुवै जना सँगै भागे । अहिले विदेशमा बस्छन् … !”

निकोलाइले आफ्नो करा सिद्ध्याएपछि चस्मा फुकाल्यो र ऐना पुछ्यो । उज्यालामा एकपल्ट ऐना जाँच्यो र फेरि पुछ्न थाल्यो ।

“कठै, बाबु !” – आमाले टाउको हल्लाउँदै बडो प्रेमपूर्वक भनिन् । आमालाई उसमाथि दया लाग्दै थियो । साथसाथै किन हो उनको ओठमा न्यानो ममतापूर्ण मुस्कुराहट देखा पर्दै थियो । ऊ चलमलायो, फेरि कलम समात्यो र फेरि बोल्न थाल्यो । ऊ शब्दको तालमा कलम हल्लाउँदै थियो ।

“पारिवारिक जीवनले क्रान्तिकारी शक्ति घटाउँछ – यसबाट उसलाई केही मद्दत हुँदैन । बालबच्चा, आर्थिक अभाव, पेट पाल्नका लागि धेरै काम गर्नुपर्ने बाध्यता आदि मात्र थपिन्छन् । क्रान्तिकारीले चाहिँ आफ्नो शक्ति बढाउँदै लैजानुपर्छ र यस शक्तिलाई अझ गहन र व्यापक तुल्याउँदै जानुपर्छ – किनभने हामी मजदुर हौँ र इतिहासले हामीलाई पुरानो संसार नष्ट पारेर नयाँ जीवन सुरु गर्ने अभिभारा सुम्पेको छ । यदि हामी पछि पर्‍यौ भने, थकाइ मार्न थाल्छौँ भने अथवा सानातिना विजयहरूमा सन्तोष मानेर बस्न थाल्छौँ भने धेरै नराम्रो हुनेछ । यो झन्डै आफ्नै उद्देश्यप्रति गद्दारी ठहरिनेछ । कुनै त्यस्तो व्यक्ति हुन सक्दैन जसको साथ हिँड्दा हामी कुनै न कुनै मात्रामा आफ्नो उद्देश्यलाई हानी नपुर्‍याऔँला, तर सानातिना सफलताहरू होइनन्, पूर्ण विजय नै हाम्रो एक मात्र लक्ष्य हुनुपर्छ भन्ने कुरा हामीले कदापि बिर्सनुहुन्न ।”

अहिले उसको आवाज दृढ थियो, अनुहार फिका थियो र आँखामा सधैँजस्तो त्यही गम्भीर चम्का हट थियो । फेरि कसैले जोडले ढोकाको घण्टी बजायो – निकोलाइ बोल्दाबोल्दै बिचैमा थामियो । यसपल्ट लुद्मिला आएकी थिइन् । उनले हलुको, मौसम नसुहाउँदो ओभरकोट लाएकी थिइन् । चिसाले उनका गाला राता भएका थिए । आफ्ना फाटेका रबरका जुत्ता फुकाल्दै उनले रुष्ट स्वरमा भनिन् –

“अर्को हप्ता मुद्दा सुरु हुँदैछ !”

“पक्का हो ?” – अर्को कोठाबाट निकोलाइको चर्को आवाज सुनियो । आमा हतारिँदै उसतिर लागिन् । खुसी लागिरहेछ अथवा डर लागिरहेछ भन्ने कुरा उनीहरूले बुझ्न सकिरहेका थिएनन् । लुद्मिला आमा सँगसँगै हिँड्दै थिइन् र उनले आफ्नो मसिनो व्यङ्ग्यपूर्ण स्वरमा भनिन् –

“हो, पक्का भैसक्यो ! फैसला पहिले नै तयार भैसकेको छ भन्ने कुरा अदालतमा खुल्लमखुल्ला गर्छन् । क्या हो यस्तो ? सरकारलाई आफ्ना कर्मचारीहरूले उसको शत्रुप्रति मोलाहिजा देखाउँछ भन्ने डर छैन ? यत्रा दिनसम्म, यत्रो मेहनतसाथ आफ्ना नोकरहरूको मगज भुटेर पनि अझै उनीहरूको नीचतामा शङ्का मान्छ ?”

लुद्मिला दुवै हातले आफ्ना पातला गाला मल्दै कौचमा गएर बसिन् । उनका फुस्रा आँखामा असह्य तिरस्कारको भावना चम्किरहेको थियो । उनी झन्झन् क्रोधित हुँदै गइरहेकी थिइन् ।

“लुद्मिला, तिमी बिनसित्ति आफ्नो शक्ति खेर फाल्दैछ्यौ ।” – निकोलाइले उनलाई शान्त पार्न खोज्दै भन्यो – “तिमीले यहाँ कराएर उनीहरूले सुन्ने हुन् र … ।”

आमा बडो ध्यान दिएर लुद्मिलाको कुरा सुनिरहेकी थिइन्, तर उनले केही पनि बुझिनन् । उनको दिमागमा एउटै कुरा घुमिरहेको थियो –

“एक हप्तापछि मुद्दा सुरु हुन्छ !”

एक्कासि उनलाई कुनै क्रूर अमानवीय शक्ति आफूतर्फ बढ्दै आइरहेको छ जस्तो लाग्यो ।