मैले प्रयोग गर्ने धेरै सामानहरू मलेसियामा छाडेको थिए । तर, उनले पठाएका पत्रमित्रता चिनो स्वरूप राखेको छु । जसलाई मैले सात समुद्रपारीबाट ल्याएको एउटा सानो कोसेली हो त्यो ।
झल्याँस्स सपनाले जागो बनाउँदा नेपाली भूमिमा टेकिँदै थियो । नेपालीपन र नेपाली मनले मनलाई फुरुङ्ग पार्दै गयो । मनलाई फुरुङ्ग पार्दा पार्दै १७ वसन्त पार गरिसकेछ । १७ वर्षअगाडिको प्रेमपत्र पल्टाउँदा अनि त्यस वेलाको एउटा माया (स्नेह) ले भरिएको पत्रमित्रको पानामा कोरिएको उनको पत्रको यादले आज पनि सताइरहेको छ । सायद भेट होला कि नहोला । जीवनको भोगाइहरूमा नै थाहा हुँदै जाला ।
२०६० साल साउन २२ गते मेरो वैदेशिक यात्रा तय भएको थियो । मलेसिया । मलेसिया एक स्वतन्त्र मुस्लिम देश हो । जहाँ यौन, खानपान, लगायतका धेरै कुराको स्वतन्त्रता थियो । आज १७ वर्षपछि त्यस देशको स्वतन्त्रता अझ प्रगाढ हुँदै गएको हुनुपर्छ भन्ने मरो ठम्याइ छ । जे होस, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू अहिले पनि मलेसियालाई आफ्नो कर्मथलो बनाएर घरबार चलाई रहेका छन् । अनि नेपालमा रेमिटेन्स भित्र्याउने एउटा आधार तयार गरेका छन् ।
समयले कोल्टे फेरेको छ । मसँगै प्रदेश गएका धेरै साथीहरू आज पनि प्रदेशबाटै आफ्नो जीवन गुजार साथै लालावालाको शिक्षा, दीक्षाको आधार बनाइरहेका छन् । बाध्यता भएर हो या मेरो देशको अवस्थाले धेरै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरू प्रदेशिनु परेको छ । हरेक घरमा छोरा÷छोरी २० वर्षको भएपछि प्रदेशको यात्रा गर्ने कुराको छलफल सुरु हुन्छ । धेरै जनाले प्रदेशको यात्रा तय गर्नु बाध्यता जस्तै हुन्छ । मेरो पनि यस्तै बाध्यताले गर्दा २१ वर्षको उमेरमा रोजगारीको लागि मलेसिया जानु परेको थियो ।
इतिहासले कोल्टे फेर्दै गएको छ । उमेरले पनि पाको बनाउँदै लगेको छ । युवा अवस्थामा नै धेरै अनुभूति गरेको आफूलाई महसुस हुन्छ । माया, प्रेम, स्नेह, दया, धर्म, कर्म, ममता, इत्यादि शब्दको खेती गर्ने हो भने धेरै छन् । शब्दको खेतीले जीवन जलाउनेहरू पनि यही धर्तीमा छन् । आज तिनै शब्दको खेती गर्नेहरूको भिडमा आफूलाई पनि कुनै वेला कसैको माया पाउन शब्दको खेती मार्फत उपल्लो मुलुक समुन्द्रपारिबाट एउटा हुलाक टिकटको सहाराले गन्तव्यसम्म आइपुगेको पत्रमित्रताको यात्रा निकै रोमाञ्चक थियो । खै किन किन बिर्सूँ भन्छु । याद आउने गर्दछ ।
कहिलेकाहीँ प्रकाश कोविदको ‘मोती दिएर आँसु बटुले हार भएन जीत, हाँगा बाट झरेको फुलले भुल्न सकेन प्रीत’ वाक्यले झस्काइरहन्छ । साँच्चै उ बेला आजको जस्तो टेलिफोनको जमाना थिएन । टेलिफोनमा कुरा गर्नका लागि निकै लामो यात्रा तय गरेर जानु पर्दथ्यो । समुन्द्रपारि भएको हुनाले पत्रबाटै हाम्रा कुराहरू आदान÷प्रदान हुने गर्दथ्यो । यसरी हामी बिच करिब २ वर्ष भन्दा बढी समय पत्रको माध्यमबाट सूचना÷भावनाहरू एक अर्कामा आदान÷प्रदान भएको थियो ।
मेरो बसाई २०६० सालको साउन २२ गतेदेखि २०६३ साउन २२ गतेसम्म मलेसियामा रहन गयो । मलेसिया बसाइमा मैले अर्थपूर्ण अनुभूतिहरू जीवनको लागि सँगालेको छु । तिनै अनुभूति मध्ये एउटा अनुभूति प्रेमपत्र हो । जसको माध्यमबाट हामीहरूले एक आपसमा विचारहरू भावनाहरू साटासाट गरेका थियौ । यसरी हामीले २ वर्ष भन्दा बढी समयसम्म भावना साटासाट गरेर नेपाल आए पछि भावनाहरू साटासाट नभएको पनि १७ वर्ष भइसकेछ । हुन सक्छ मैले उनलाई लेखेको पत्र उनले पनि सुरक्षित राखेको हुन सक्छ । मैले उनले पठाएका हरेक पत्र व्यवहारलाई एउटा असल साथीको चिनो स्वरूप सँगालेर राखेको छु । समय आएपछि ती पोकोहरू खोल्दै जाने नै छु । जुन पत्रमा उनले नेपालको त्यस वेलामा राजनैतिक वातावरण देखी माया पिरतीको कुरा सम्म हाम्रो उल्लेख गरेका छन् ।
आज विदेशमा हुने दाजुभाइहरूले आफन्तहरूसँग कुराकानी गर्नका लागि कुनै समय कुर्नु पर्दैन । केवल केही क्षणमा नै विश्वका हरेक कुना–कुनाबाट आफन्तहरूसँग कुराकानी गर्न सकिन्छ । समयको अन्तरालसँगै हाम्रो पत्रमित्र यात्रामा विराम लागेको निकै लामो समय भयो । सायद यही नै पत्रमित्र थियो मेरो जीवनको पहिलो मित्रता । अपरिचित साथीलाई मित्रता बनाउने माध्यम । म हरेका पलमा उनलाई सम्झन्छु । अनि कल्पनामा पनि हेर्ने गर्दछु उनका हँसिलो जिउडालको परिकल्पना गर्ने गर्दछु ।
उनको पत्रले पनि अझै मेरो मुहारमा चमक ल्याउने गर्दछ । म आफै सोच्छु । किन उनको पत्रले मलाई चमक ल्याउँछ । अनि मेरा दिलमा जरा गाडेर बसेको छ । म सोचिरहेको छु । सायद उनी पनि सोचिरहेका होलान् । मलाई पठाएको पत्रहरू उनले सङ्ग्रहमा राखेका होलान् । मैले पनि उनले पठाएका पत्रको सँगालो नै राखेको छु ।
यात्रामा मिठास थियो । मलेसियाको ३ वर्षको बसाइ अनि बसाइसँगै मित्रताको डायरीमा रहेको उनैका पत्रहरूको सँगालो । मैले प्रयोग गर्ने धेरै सामानहरू मलेसियामा छाडेको थिए । तर, उनले पठाएका पत्रमित्रता चिनो स्वरूप राखेको छु । जसलाई मैले सात समुद्रपारीबाट ल्याएको एउटा सानो कोसेली हो त्यो ।
त्यही कोसेलीलाई एउटा सङ्ग्रहको रूपमा विकास गर्ने योजना बनाएको छु । मैले मित्रता जोडेको साथी कोही नभएर दिलु हुन । उनको पारिवारिक जीवनमा असर गर्न सक्ने उद्देश्य राखेर ठेगाना मात्र औँल्याउने कोसिस गरेको छु । मेरा अनन्य मित्र धनपाल राई (मोरङ टाडी धवेनी) मार्फत मलेसियाबाट पत्रमित्र सुरु भएको हो हाम्रो । मित्र अहिले कहाँ छन् मलाई त्यो त मलाई थाहा छैन । तर, दिलुसँग भेटेर एक पटक मित्रता हात बढाई मेरो पत्रहरू फिर्ता लिने योजनामा छु । यदि जतनसाथ राखिएको रहेछ भने । अनि उनले पनि पत्र मागेको खण्डमा फिर्ता दिने मोडमा छु । किनकि उनले पठाएको पत्र र मैले पठाएको पत्रको शब्दलाई मिलाएर एउटा सुमधुर प्रेम डायरी तयारी गर्ने सोचमा छु । जसलाई भावी पुस्ताले समेत अध्ययन गर्ने अवसर पाउन । प्रेमपत्रले साइनो केलाउन नपाउँदै सम्बन्धका पाटाहरू केवल अपरिचितमा सीमित हुन नपुगोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।