साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको उपन्यास ‘यशोधरा’का स्रष्टा हरिबोल काफ्लेसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

कृति ‘यशोधरा’लाई मूल्यवान निधिको सूचीमा छनौट गर्ने सहित्यपोस्टको हृदगत अभिष्टलाई सम्मान गर्दछु । ‘यशोधरा’ले प्राप्त गर्ने यश वा सुकीर्तिलाई साहित्य जगतप्रतिको शिरोभारो र जिम्मेवारीबोधको रूपमा बुझेको छु ।

पुरस्कारको छोटो सूचीमा तपाईंको ‘यशोधरा’सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

लेखक जो कोही निरपेक्ष हुनुपर्छ । अर्को अर्थ, कृतिको सिर्जना होडबाजी वा प्रतिस्पर्धा नै होइन । प्रत्येक कृतिमा आफ्नै मौलिकता, शैली, गुरुत्व, सौन्दर्य, अभिव्यक्ति, विषयवस्तु हुँदै परिवेशको प्रतिष्ठा स्थापत्य हुन्छ । तसर्थ, कृतिहरू प्रतिस्पर्धाका रूपमा बलिया वा निर्धा हुँदैनन् । सबैको अव्यक्त, मूर्त वा जीवन्त अभिव्यक्तिहरू म पढ्ने गर्छु, र सर्जकहरूलाई सम्मान गर्दछु ।

मेरो साहित्यिक यात्रा अपरिमित हुनेछ भन्ने विश्वास जागेको छ, र त्यो निष्पट पनि छैन । अर्थात जित्ने वा नजित्ने भन्ने मानोमानिल्यताको ध्याउन्नमा म छैन । तर मलाई पाठकको बेहद साथको भने अगम अपेक्षा छ, र त्यो औचित्यपूर्ण हुन्छ । पाठकको प्रेम र सद्भावको तुलनामा मेरा किञ्चीत् मनोकांक्षाहरू लाक्षणिक हुन्, र हुनेछन् ।

‘यशोधरा’ किन लेख्नुभयो ? छोटो लेखकीय अनुभूतिसहित बताइदिनुहोस् न ।

बुद्ध वर्णनातीत पात्र हुन् । सिद्धार्थ हुँदै बुद्धसम्मको कथाहरू धेरै हदसम्म बोधगम्य एवं पठनीय छन् तर कैयन विवृतिहरू अझै अप्राप्य पनि छन् । सिद्धार्थ गौतम बुद्धमा रूपान्तरण हुनुमा यशोधराको प्रेरणा र योगदान अगम्य छ, परन्तु उनी आफैँ सिँयालमा परिन् । अर्थात ‘यशोधरा’लाई नेपाली साहित्यले एकहदसम्म उपेक्षा गरिरह्यो । यो अर्थमा, पहिलो ध्येय यशोधराको जीवन चरित्रलाई उजागर गर्नु हो, जुन नितान्त जरुरी थियो ।

नेपाल देश गौतम बुद्धसहित धेरै आदिबुद्ध, सिद्धपुरूष र महायोगीहरूको जन्मभूमि र तपोभूमि हो । तर यो ऐतिहासिक तथ्य कतिसम्म उपेक्षा भएको छ भने यस्ता सिद्धपुरुषहरूको अध्ययन गर्न पाठकले साहित्यमा नै परनिर्भर हुनुपरेको छ । त्यसैगरी, कपिलवस्तूप्रतिको ऐतिहासिक विश्वासलाई वैज्ञानिक अन्वेषण गर्ने, प्रामाणिकता खोज्ने वा प्राचीन जीवनशैलीको उजागर गर्ने कार्यमा जो कोही चुकेका छन् । इतिहासको उत्खनन र उजागरको उदासीनतालाई नेपाली साहित्य एवं प्राज्ञिक क्षेत्रमार्फत छिन्नभिन्न गराउने नैतिक धरातलमा यो आख्यान उभिएको छ ।

ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो । उनी प्रेमकुण्ठा, यौनकुण्ठा र परिवारको तिरस्कार सहेर बाँचिन् । सिद्धार्थले गृहत्याग गरेको घडीमा जागृत समवेदनालाई समेत कुल्चेर समाजले उनकै माथमा खैरो टीका लगाइदियो । आफ्नो मोह पात्रलाई छोड्न उनलाई कठिन थियो नै, र त्यो पला पनि कारुणिक थियो ।

यशोधरा सिद्धार्थको प्रेमी र अर्धागिनी हुँदै जीवनको उत्तरार्धमा बुद्धप्रति नै अनुगृहीत हुँदै देहत्याग गरिन् । यशोधराको यो त्याग र समर्पणको कथा साहित्यमा धेरै रुचिकर हुने निश्चित थियो, र त्यो गहन विषयवस्तुलाई नदेखे झै गर्न सकिनँ ।

अर्को कुरा, आख्यानमा यशोधरा मात्र होइन, सिदार्थ एवं बुद्ध–चरित मानसलाई यशोधराको दृष्टिकोणबाट धेरथोर वर्णनमा उतारेको छु । विश्व शान्तिका नायक गौतम बुद्धको जीवन र निर्देशित व्याख्यानलाई नेपाली समाजले स्वीकार्नु औचित्पूर्ण छ, र त्यसलाई हलुका आँक्न मिल्दै मिल्दैन । त्यो गहनतालाई बोधगम्य गर्दै बुद्धका वाणीहरू लोकभावनामा अनुकरण गराउने थोरै अभिलाषा आख्यानले राखेको छ । आख्यान पढ्ने पाठकको ज्यादाकर चाहमा बुद्धको शिक्षालाई सँगालो पार्दै त्यसको आस्वादन गराउने आशयले आख्यानको बाटो रोजेको हुँ ।

आर्थिक विकास तथा अर्थ–राजनीतिको ज्ञाता तपाईं, साहित्यतिर झुकाव कसरी रहन गयो ?

मेरो अध्ययनको सिलसिला विधागत रूपमा अलि विस्तारीत छ । व्यवस्थापकीय अर्थशास्त्र, शैक्षिक नेतृत्व र अङ्ग्रेजी साहित्य हुँदै अहिले बुद्धिजमको दृष्टिकोणबाट व्याख्यात्मक विश्लेषणमा आधारित भई नेपालको प्राकृतिक स्रोत व्यवस्थापनमा विद्यावारिधि गर्दैछु ।

पुस्तक ‘यशोधरा’ मेरो पहिलो कृति हो । तर मेरो लेखनयात्रा साहित्यभन्दा बढी नेपालको आर्थिक एवम् विकास क्षेत्रको विश्लेषण गर्दै थालनी भएको थियो । आर्थिक तथा विकासका विषयमा लेखक वा विश्लेषकको उपमा भने पहिले नै पाएको छु । पेसाले आर्थिक क्षेत्रको अध्ययन तथा अनुसन्धानमूलक कार्यहरूमा संलग्न भएसँगै त्यसको अभ्यस्तताले साहित्यतर्फ स्वतः आर्कषित हुने माहोल मेरा खातिर खडा भयो । यो अर्थमा, मैले आफ्नै गहिरो खोज, शोध र अध्ययनलाई नै आख्यानको नूतन प्रारूपमा परिस्कृत गरेको हुँ ।

पहिलो कृतिका रूपमा नै उपन्यास लिएर आउनुभयो, त्यो पनि ऐतिहासिक विषयमा । कतिको चुनौति महसुस गर्नुभयो ?

ऐतिहासिक पात्रको विषय उठान नै सम्वेदनशील हुन्छ, र त्यसको सबै कथानक आवृतिहरूमा प्रमाणिकताको चुनौति थपिन्छ । तथ्यभन्दा बाहिर पुगेर ऐतिहासिक पात्रबारे बोल्नु वा लेख्नु इतिहासप्रतिको अक्षम्य अपराध हुन्छ, र त्यो समाजले पनि स्वीकार्दैन । आख्यानमा प्रामाणिक विषय र भूमिकालाई मात्र पछ्याउने गरी चरित्र वर्णनको दृष्टान्त ‘यशोधरा’ हो ।

अध्ययन र अनुसन्धानमा भूगोल र ऐतिहासिक अवशेष वा पदचिन्हहरूको अन्वेषण गर्दै तथ्य फेला पार्नु असाधारण चुनौति हो । तथ्यहरूको प्रशोधन वा निष्कर्षहरूको सामान्यीकरणमा समेत अनुसन्धानमा प्रयोग हुने विधिहरू सान्दर्भिकता वा महत्त्वस्तरको परीक्षण हुँदै विषयहरूको पुष्टि र पुनःपुष्टि गर्नुपर्ने हुन्छ । तथ्यहरूको सम्परीक्षण, प्रशोधन एवं विश्लेषण गरी आख्यानको निम्ति प्रयोग गर्नु चूनौतिपूर्ण कार्य नै हो । अध्ययन र अनुसन्धानमा स्रोतहरूको सीमितता त हुन्छ नै, तुलनात्मक रूपमा यस्ता विषयहरू उपर अनगिन्ती निमिषहरू घोत्लनु र बढी मिहेनत गर्नु आवश्यक हुन्छ ।

तपाईंले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

म निरन्तर अध्ययन र अनुसन्धानमा क्रियाशील र रम्ने मान्छे हुँ । मेरा कैयन सोध, अध्ययन वा अनुसन्धानका कार्यहरू धेरै अधुरा पनि छन्, र कैयनलाई टुटाएको, रोकेको र कार्यस्थलबाट फर्केको पनि छु । यसर्थ, मलाई प्राप्त हुने प्रोत्साहनले मेरा अगाडिका अध्ययन साधनाहरू नैरन्तर्य हुने विश्वास मलाई जाग्ने देख्दछु ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।

म पेसागत सिलसिलमा नेपालका अधिकतर पहाडका भूगोलहरू हिँडेको छु । म आफैँ पहाडमा जन्मेर हुर्केको हुँ । पहाडी भूगोलको जीवन आफैँमा सङ्घर्षमय छ, र त्यहाँको सजीवतामा हाँसो, पीडा र खुसीहरू असङ्ख्य छन् । तसर्थ पहाडी जवजीवनका कथाहरूलाई सौन्दर्यपूर्ण ढङ्गले समेट्ने गरी सिर्जनात्मक आख्यानको तयारीमा छु, तर समयको निर्क्यौल गर्न सक्दिनँ । सँगसँगै ऐतिहासिक चरित्रमा आधारित अर्को आख्यानको पनि एकसाथ तयारीमा छु ।