साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७९”का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कविता-शृङ्खला ‘प्रिय दुश्मन’का स्रष्टा मिलन समीरसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

मोफसलको पनि मोफसलमा रहेर नेपाली भाषा साहित्यको सन्दर्भमा सदैव आफ्नो क्षमताले भ्याएसम्म केही न केही अर्थपूर्ण कामहरू गर्नैपर्छ भनेर वर्षौंदेखि लागिपर्दै आएको एउटा भुइँमान्छेको रूपमा मेरा लागि यो साँच्चिकै अविस्मरणीय अर्थपूर्ण सन्दर्भ हो । त्यसैले एकातिर धेरै नै खुसी लागिरहेको छ भने अर्कोतिर अझै बढी जिम्मेवार भएर उत्कृष्ट काव्य लेखनमा निरन्तर रूपमा लागिरहनुपर्छ भन्ने गहन जिम्मेवारीको बोध पनि भएको छ ।

पुरस्कारको छोटो सूचीमा तपाईंको ‘प्रिय दुश्मन’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

मैले यो गरिमामय पुरस्कार जित्नु वा नजित्नु दुवैले मेरो आगामी साहित्यिक यात्रामा विशेष अर्थात अविस्मरणीय अर्थ राख्छ । पुरस्कार जितेको अवस्थामा मेरो दोस्रो काव्य कृति पहिलो काव्य कृतिभन्दा पनि अझै उत्कृष्ट हुनै पर्छ भन्ने कुरामै म केन्द्रित भएर लागिपरेको हुनेछु भने पुरस्कार नजितेको अवस्थामा त झन् मेरो दोस्रो काव्यकृति पहिलो काव्यकृतिभन्दा पनि अझ धेरै उत्कृष्ट हुनै पर्छ भन्ने कुरामै केन्द्रित भएर उत्कृष्ट काव्य लेखनको दीर्घ साधनामा लागिरहेको हुनेछु । यही र यस्तै अर्थ राख्छ ।

‘प्रिय दुश्मन’ किन लेख्नुभयो ? छोटो लेखकीय अनुभूतिसहित बताइदिनुहोस् न ।

प्रिय दुश्मन लेखिनुको पछाडि एउटा लामो कथा रहेको छ । जुन कथा अलिक पछि रचना गर्भको सन्दर्भमा केन्द्रित रहेर विस्तारित रूपमा लेख्ने नै छु । अहिले छोटो रूपमा भन्नै पर्दा – जीवन यात्राको दौरानमा सर्वाधिक प्रिय सम्झिएका पात्रहरू नै कालान्तरमा बिनाकारण ख्यालख्यालमै साँच्चिकै खतरनाक दुश्मन बनेर निस्किन सक्दा रहेछन् । कतिपय सन्दर्भमा दुश्मन ठानिएका पात्रहरु साँच्चिकै प्रिय पनि हुँदा रहेछन् ।

अझ स्पष्ट रूपमा भन्नुपर्दा, अहिलेसम्म सबैले घृणाको नजरले मात्रै हेरिने दुश्मन भनिएकाहरूलाई प्रेमको नजरले पनि हेर्न सकिन्छ र उनीहरूलाई प्रिय दुश्मनको रूपमा सम्बोधन गर्न सकिन्छ भन्ने लागेर नै प्रिय दुश्मन लेखिएको हो । नेपाली काव्य लेखनको सन्दर्भमा मेरो यो एउटा प्रयोग पनि हो ।

‘प्रिय दुश्मन’लाई कवितासङ्ग्रह नभनेर शृङ्खला कविता भनिएको छ । खासमा शृङ्खला कविता भनेको के हो ? यसमा कविता वा कवितासङ्ग्रहभन्दा के फरक छ ?

प्रिय दुश्मनलाई कवितासङ्ग्रह नभनिएकै हो किनभने यो एउटा शृङ्खला काव्य कृति हो । शृङ्खला अर्थात कुनै वस्तुको क्रम वा सिलसिला…, त्यसैले कुनै एउटा विषय, सन्दर्भ र प्रसङ्गमाथि केन्द्रित रहेर शृङ्खलाबद्ध रूपमा लेखिएका कविताहरूलाई नै शृङ्खला-कविता भन्न सकिन्छ । शृङ्खला-कविता भनिसकेपछि यी प्रत्येक कविताहरू एकआपसमा अन्तर्सम्बन्धित छन् र फेरि आफैंमा पूर्ण पनि रहेका छन् । यही नै शृङ्खला कविताको विशेषता हो ।

प्रिय दुश्मनभित्र समावेश गरिएका कविताहरूलाई जुनसुकै क्रममा राखेर पनि पढ्न सकिन्छ । यो कवितासङ्ग्रहभन्दा के फरक रहेको छ भने कविता वा कवितासङ्ग्रहमा विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरूमाथि केन्द्रित रहेर लेखिएका फुटकर कविताहरू समावेश गरिएको हुन्छ भने यसमा समावेश गरिएका ३१ ओटै कविताहरू एउटै विषय अर्थात् प्रिय दुश्मनमाथि केन्द्रित रहेर शृङ्खलाबद्ध रूपमा लेखिएको छ ।

युवा साहित्यकारहरुको झुकाव उपन्यास तथा कथातिर देखिएको समयमा तपाईंले चाहिँ किन शृङ्खला–कविता ल्याउनु भयो ?

काव्य मेरा लागि सर्वाधिक प्रिय विधाको रूपमा रहेका हुनाले अनि काव्य विधामै केन्द्रित रहेर केही नयाँ अनि केही फरक किसिमको अर्थपूर्ण काम गरौँ भन्ने कुरा मेरो मनमा लागिरहेको हुनाले नै यो समयमा मैले शृङ्खला कविता ल्याएको हो ।

तपाईंले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

मेरो यो कुरालाई यदि अन्यथा रूपमा सोचिँदैन भनेदेखि मलाई यो कुरा स्पष्ट रूपमा भन्न मन लागेको छ ।

मैले साहित्यपोस्टको सुरूवातदेखि नै अहिलेसम्म आफ्नो क्षमताले भ्याएसम्म साहित्यपोस्टलाई सक्दो सहयोग गरिरहेको छु र आगामी दिनमा पनि सहयोग गरिरहने छु । यसै सन्दर्भमा साहित्यपोस्ट उत्तम काव्य पुरस्कार प्रिय दुश्मन (शृङ्खला कविता कृति – २०७९) ले प्राप्त गर्न सफल भएको अवस्था भयो भनेदेखि साहित्यपोस्टले नेपाली भाषा साहित्यको श्रीवृद्धिको सन्दर्भमा अहिलेसम्म पुर्‍याएको अनि आगामी दिनमा यसैगरी पुर्‍याउन सक्ने विशेष महत्त्वपूर्ण अद्वितीय योगदानको उच्च कदर गर्दै पुरस्कारस्वरुप साहित्यपोस्टलाई नै विशेष सहयोगस्वरूप प्रदान गर्न चाहन्छु ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।

मेरा आगामी साहित्यिक यात्राका योजनाहरू धेरै नै रहेका छन् ।

बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जालाई माध्यम बनाएर नेपाली भाषा साहित्यको क्षेत्रमा अझै विशेष सक्रियताका साथ अगाडि बढ्ने योजना रहेको छ ।

मेरो दोस्रो काव्य कृति “मिलन समीर र मिलन समीरहरू”लाई एउटा उत्कृष्ट काव्य कृतिको रूपमा सार्वजनिक गर्नेदेखि लिएर मेरो तेस्रो काव्य कृति प्रकाशनका लागि समेत पूर्व तयारीमा लाग्ने योजना रहेको छ । र यी योजनाहरूलाई सफल, सार्थक, अविस्मरणीय र अर्थपूर्ण हुनेगरी पूरा गर्दै निरन्तर रूपमा अगाडि बढिरहने सन्दर्भमा नै म केन्द्रित रहेको हुनेछु ।