हलिउडमा पुस्तकमा आधारित टेलिशृंखला तथा फिल्मको संख्या बर्सेनि वृद्धि भएको छ । सन् २०१९ मा ३३ उपन्यास शृंखला वा फिल्म बनेर दर्शकलाई मनोरञ्जन दिलाए भने २०२० र २१ मा ४८ वटा उपन्यासले पर्दा पाए । सन् २०२२ मा भने यो संख्या बढेर ७७ पुगेको थियो । यो वर्ष अर्थात् २०२३ मा भने संख्या स्वात्तै घट्ने देखिएको छ ।

हलिउडका लेखकहरूको आन्दोलनका कारण फिल्म उत्पादक ठूला स्टुडियोहरूले लेखकसँग आफूले फिल्म वा टेलिभिजनका लागि लिएको स्वीकृति समय बढाउन, रकम घटाउन वा नघटाए पनि रकम दिन ढिलाई हुनसक्ने भन्दै पत्राचार गरेका छन् ।

तीमध्ये एक हुन्, जोसुआ फेरिस । उनको उपन्यास पर्दाका लागि रूपान्तरित होला भन्ने अपेक्षा गरिरहेका थिए तर जब उनको सम्झौता हुनै लागेको थियो, हलिउडका पटकथाकारहरूले आन्दोलन शुरू गरे । यो आन्दोलनले उनको उपन्यास टेलिभिजनको पर्दामा पुग्न पूरापूर ढिला हुने सम्भावना रहेको निराश हुँदै उनले बताए । अब आन्दोलन नरोकिउञ्जेलसम्म उनको उपन्यास पर्दामा ननाच्ने भयो ।

यसअघि हलिउडका लेखकहरूले गरेका आन्दोलनले उनीहरूलाई मात्र असर गरिरहेको थियो, यता साहित्यिक क्षेत्रमा भने खासै असर गरेको थिएन । यसपाला भने साहित्यक्षेत्रलाई पनि राम्रैसँग असर पुर्याएको जोसुआ फेरिसले बताए ।

साहित्यकारसँग आफ्नो सम्झौता रोक्नेहरूमा नेटफ्लिक्स, अमेजन प्राइम र वार्नर ब्रदर्सजस्ता ठूला निर्माता रहेका छन् । यी ठूला कम्पनीले धडाधड आफ्ना वकिलमार्फत साहित्यकारहरूलाई तत्काल उपन्यासलाई फिल्मीकरण गर्नेबारे सम्झौता रोकिएको र आन्दोलनको निष्कर्षपछि मात्र सम्झौता गर्न सकिने भन्दै जानकारी गराएका छन् ।

यस्ता ठूला कम्पनीले उपन्यासलाई फिल्मीकरण गर्दा कम्तीमा पन्ध्र सय डलरदेखि ९ लाख डलरसम्म तिर्ने गरेका छन् । साहित्यकारका लागि यो अतिरिक्त आम्दानी हो ।

‘मेरोजस्ता उपन्यासको एउटा विशेष समय हुन्छ । त्यो समयमा यो फिल्मीकरण भएन भने उपन्यासको काम छैन,’ फेरिसले भने, ‘म आफैँ आन्दोलनमा छु । घाटा मलाई पनि छ तर पनि यो आन्दोलन हाम्रै लागि भएकाले यति घाटा त सहनै पर्यो ।’

फेरिस राइटर्स गिल्ड अफ अमेरिकाका सदस्य हुन् ।

गएको मे २ तारिखयता हलिउडका लेखकसँग त्यहाँका फिल्म स्टुडियोहरूले नयाँ सम्झौता गर्न असफल भएपछि लेखकहरू आन्दोलनमा लागेका हुन् ।

पहिले पहिले लेखकहरू स्टुडियोका जागिरे हुन्थे । कामको सुरक्षा हुन्थ्यो । अचेल नेटफ्लिक्स, अमेजन प्राइमजस्ता स्ट्रिमिङ कम्पनीको उदयपछि स्टुडियो प्रणाली ध्वस्त भएको छ । अझ पछिल्लो समय त आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उदयपछि लेखकहरू सन्दर्भहीन नै हुन पुग्ने हुन् कि भन्ने आशङ्कासमेत बढेर गएको छ ।

लेखकहरूको हडतालका कारण अमेरिकामा सबैभन्दा बढी रूचाइएका जिम्मी किमेल लाइभ, द लेट सो विद स्टिफन कोल्बर्टजस्ता सोहरू हराएका छन् । विशेष याममा विशेष किसिमका टेलिभिजन कार्यक्रमहरू बनाइन्छन् । जस्तो कि, गर्मी यामको दुई महिने छुट्टी हुन्छ । त्यो बेला गज्जबका सोहरू, पारिवारिक सोहरू प्रथम प्रदर्शन गरिन्छन् । फिल्महरू पनि गर्मी यामकै लागि भनेर रिलिज गर्दा बम्पर व्यापार गर्छन् । तर आन्दोलनले ती सबै कुरा रोकिएपछि सम्झौताका लागि ठिक्क परेका लेखकहरू विचल्लीमा परेका हुन् ।

रोमान्स उपन्यास लेखेर अनि आफैँ ती उपन्यास प्रकाशन गरेर पनि राम्रै बिक्री हुन सफल मेरी ओल्डहामको पहिलो उपन्यास द सिल्भर लाइनिङ्स वेडिङ ड्रेस अक्सन अघिल्लो वर्ष नै स्टुडियोले टेलिभिजन शृंखलाका लागि पैसा तिर्यो । पैसा त उनले राम्रै पाइन् तर सुटिङ शुरू हुनै सकेन । उनका थप आठ वटा उपन्यासहरू पनि यो प्रदर्शन भइदिए धडाधड बिक्री हुन्थे । तर आन्दोलनले यो अवसर गुमाएको उनको भनाइ छ ।

‘समय त खराबै हो तर भविष्यमा यसले लेखकहरूलाई राम्रै गर्ने आशा छ,’ ओल्डहामले भनिन् ।

प्रायः उपन्यासहरूलाई फिल्म वा टेलिभिजन अधिकारका लागि एकदेखि डेढ वर्षको अवधिभित्र फिल्माङ्कन गरिसक्नु पर्छ । यसका लागि राम्रै शुल्क तिरिन्छ । यदि टेलिभिजन सो लम्बिने भयो भने मूल उपन्यासकारले थप रकम पाउँछ ।

फेरिसको पहिलो उपन्यास देन वि केम टु द इन्ड सन् २००७ मा प्रकाशित भएको थियो । फिल्म नेसन इन्टरटेन्मेन्टले यसलाई फिल्म बनाउने भनी २०२० मा अधिकार किन्यो । उनले २०१० मा लेखेको द अननेम्ड उपन्यासलाई २०२१ मा फिल्मका लागि अधिग्रहण गरे । तर पछिल्लो समय त्यस्ता अधिग्रहण रद्द गरिएका अनेकन चिठ्ठीहरू उपन्यासकारहरूले हात पारिरहेका छन् ।

लेखकहरूको हडतालका कारण ठूला फिल्म निर्माता कम्पनीहरू अघि बढ्नै नसक्ने अवस्थामा पुगेका छन् । यस्तोमा अधिकार ओगटेर मात्र के गर्नु ?

हलिउडले किताबमाथि लामो समयदेखि फिल्म तथा टेलिभिजन कार्यक्रम बनाइरहेको छ । ती निकै लोकप्रिय पनि भएका छन् । लोकप्रिय नभएका भए पनि ती एउटा संकलनयोग्य भिजुअल लाइब्रेरी बनेका छन् ।

हालै वार्नर ब्रदर्स डिस्कभरी कम्पनीले जेके रोलिङको विख्यात उपन्यास ह्यारी पोटर पनि यही बेला सुटिङमा लैजानुपर्ने थियो । यति मात्र होइन, नेटफ्लिक्सको ज्यादै लोकप्रिय शृंखला ब्रिजरटन यति लोकप्रिय भयो कि हालै त्यसलाई फिल्ममा समेत रूपान्तरण गरियो ।

उपन्यासहरूमाथि गरिएको यस किसिमको प्रयोगको लोकप्रियताकै कारण हरकोही सुन्दर उपन्यासलाई फिल्म वा टेलिभजन शृंखला बनाउन खोजिरहेका छन् । लेखक र फिल्म निर्माता स्टुडियोहरूको अडानका कारण केही समय भने सुन्दर उपन्यासको एडप्टेसन यतिबेला धरापमा परेको छ । यो आन्दोलनका कारण दर्शकले अझै केही वर्ष सुन्दर फिल्म तथा शृंखला हेर्नबाट वञ्चित हुने आशंका केहीको छ ।