फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले पछिल्लो समय उपन्यास लेखेका छन् । अर्थमन्त्री छँदा नै उनले कसरी उपन्यास लेख्न भ्याए भन्ने टिप्पणी त केहीले गरिरहेकै छन्, सबैभन्दा चाख चाहिँ सामाजिक सञ्जालमा छ । उनले अश्लील गतिविधिसमेत उपन्यासमा लेखेको हुनाले राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई त्यो उपन्यास कस्तो लाग्यो होला भन्नेसमेत टिप्पणी गर्न भ्याएका छन् ।

त्यसै पनि फ्रान्समा यतिबेला आन्दोलन चर्किएको छ । अन्न र ऊर्जाको भाउ यति बढेको छ कि सर्वसाधारणको दैनिक गुजारा निकै अप्ठेरो बनेको छ । उता अर्थमन्त्री चाहिँ अर्थमन्त्री छँदै अश्लील उपन्यास लेखेर बसिरहेका छन् ।

५४ वर्षे ले मायरले यसको जवाफमा भनेका छन्, ‘मैले अर्थमन्त्रीका रूपमा जिम्मेवारीपूर्ण काम गरेकै छु । लेखन चाहिँ मेरो भित्री चाख हो । त्यसैले फुर्सद पाउनेबित्तिकै केही न केही लेखिरहेकै हुन्छु । यो लेख्दा मैले मज्जा मानेँ ।’

अर्थमन्त्रीका रूपमा उनले दिनभरि व्यापार घाटा, आम्दानीका स्रोतहरू फराकिलो बनाउने जस्ता काम गरे भने मन्त्रालयबाट घर पुग्नेबित्तिकै दुनियाँदारीका पार्टीहरूमा जानु भन्दा उपन्यास लेख्नतिर ध्यान दिए । उनी भन्छन्, ‘वास्तविक काम र मनको सन्तुलन यसरी नै मिल्ने हो । मलाई लेख्दा जत्तिको मज्जा मन्त्रीको कुर्सीमा आउँदैन ।’

‘म जे हुँ, म त्यै गर्न रूचाउँछु,’ उनले भने, ‘मैले लेख्दा आफूले सक्दो १०० प्रतिशत दिएको छु । पक्कै पाठकले रूचाइरहेका होलान् ।’

‘फुगे अमेरिकाने’ शीर्षकको सो उपन्यास भ्लादिमिर होरोवित्ज नामक एक जना पियानोवादकसँग क्युबामा सन् १९४९ ताका भेट्ने दुई दाजुभाइको कथामा आधारित छ । पियानोवादक चाहिँ वास्तविक हुन् तर ती दाजुभाइ भने काल्पनिक हुन् ।

सो उपन्यास गत महिना गलिमार्ड नामक प्रकाशकले बजारमा ल्याएको हो । गलिमार्ड मार्सल प्राउस्ट तथा अल्बर्ट कामुका उपन्यासहरू प्रकाशन गर्ने नामुद प्रकाशक हो । किताबको पृष्ठ संख्या ४७१ छ । उपन्यासले पूर्व र पश्चिमको भेद के हो भनी खोतल्ने प्रयास गरिएको छ ।

‘उसले एउटा गोडा आराम कुर्सीमा गढेको मेरो कम्मरमा बेरी, अर्को गोडाले भने मेरो कुर्कुच्चामा बेस्कन थिचिदिई र आफ्नो जिउ हल्का मतिर ढल्काई,’ ले मायरले लेखेको उपन्यासको ७४ औँ पृष्ठमा छ । यसपछि जस्तो भाषा आउँछन्, जे जे त्यहाँ बोलिन्छन्, त्यही भाषा र शैलीले उपन्यास घरमा लैजान नमिल्ने बन्न पुगेको केहीको प्रतिक्रिया छ ।

यसपछि अर्को एउटा दृश्य त अझै गज्जबको छ, अश्लील हर्कत रूचाउनेहरूका लागि । उपन्यासको एउटा पात्रले जुलियाको सर्टलाई बिस्तारै उतार्छ । त्यसपछि ऊ अश्लील हाउभाउका साथ ओछ्यानमा डङ्ग्रङ्ग लडिदिन्छे । र, यो दृश्य यति रसिलो छ कि पाठकहरू यो उपन्यास अश्लील हो कि रोमान्टिक हो भन्ने दुविधामा पर्छन् ।

फ्रान्सको सबैभन्दा लोकप्रिय रेडियो कार्यक्रमका प्रस्तोता सोफिया अरामले यस्ता केही दृश्यहरू पढेर रेडियोका स्रोतालाई सुनाइन् । यो सुनेपछि इतिहास र भूगोलका प्राध्यापक ओलिभर भर्लान सोफियासँग ज्यादै रिसाए । र, ट्वीटरमा झाँको झारे । झार्नुपर्ने चाहिँ मन्त्रीलाई थियो ।

ओलिभरले त केसम्म लेख्न भ्याए भने, ‘हामी फ्रान्सेलीहरू राजनीतिज्ञहरूले उपन्यास लेखे भने ज्यादै खुसी हुन्छौँ । खुला हृदयले त्यो उपन्यासलाई स्वीकार गर्छौँ तर जब खराब लेखिन्छ, त्यो चाहिँ क्षम्य हुँदैन ।’

उनले उपन्यास खराब लेखनीको उदाहरण भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘ज्यादै प्रतिभाशाली लेखकले पनि यौनदृश्य लेख्दा निकै मिहिनेत गर्नुपर्ने हुन्छ, बुडबकले लेख्यो भने त्यो पढिसक्नुको हुँदैन । हाम्रो अर्थमन्त्री राजनीतिमा गज्जब होलान् तर लेखनीमा बुडबक नै हुन् ।’

ठीक यही बेला उनले किन उपन्यास ल्याए भनी केहीले खोजिनिधि पनि गरेका छन् । यतिबेला फ्रान्स आन्दोलित छ । उनले फ्रान्सेलीहरूको अवकाश समय बढाइदिएका छन् । ६० वर्षमा पहिले अवकाश लिइरहेका फ्रान्सेलीहरूले थप दुई वर्ष काम गर्नु पर्ने भयो भनेर आन्दोलन गरिरहेका छन् । तर विरोधले उनलाई खासै फरक पारेको छैन । सन् २०१७ यता अर्थमन्त्री रहेका उनी २०२७ मा हालका राष्ट्रपति इम्मानुएल म्याक्रोंको सट्टामा निर्वाचित हुने अपेक्षा गरिएको छ ।

‘लाखौँ फ्रान्सेलीले दुई छाक राम्रोसँग खान पाएका छैनन्, तिनले घरभाडा तिर्न सकिरहेका छैनन्, हाम्रा अर्थमन्त्री भने पूरै उपन्यास लेखिरहेका छन्,’ बामपन्थी सांसद थोमस पोर्टेसले असन्तुष्टि जनाए ।

फ्रान्सेली राजनीतिज्ञहरू आफूलाई साहित्यप्रति रूझान भएको देखाउन लालायित हुन्छन् । फ्रान्सेली राजाहरूसमेत आफू साहित्यकार हुँ भन्दै साहित्य लेख्थे । सम्भवतः कुनै प्रतिभाशाली लेखकबाट गोस्टराइटिङ गराउँथे ।

म्याक्रों फेरि कति साहित्यप्रेमी छन् भने उनको मन्त्रीमण्डलकी एक जना मन्त्री मार्लिन सियाप्पाले सन् २०१७ मा सरकारमा कनिष्ठ मन्त्री पद पाउनेबित्तिकै आफ्नो नाउँ परिवर्तन गरेर यौनका विषयमा सेल्फहेल्प पुस्तक लेखेकी थिइन् । सन् २०१९ मा बजारमा आएको ‘डेयर टु ह्याभ अ फिमेल अर्ग्याजम’ निकै चासोका साथ पढिएको थियो । उनले यो पुस्तक चाहिँ अर्कै नाउँमा छपाएकी थिइन् ।

यी अर्थमन्त्री चाहिँ यसअघि पनि विद्यार्थी छँदै उपन्यास लेखिसकेका थिए । उनको उपन्यासको विषय एक जना विवाहित चिकित्सक अर्कै महिलाको मोहजालमा कसरी फस्छ भन्नेबारे थियो ।

सन् २००५ देखि २००७ सम्म प्रधानमन्त्री भएका डोमिनिक डि भिलेपीको कार्यकालमा उनी सहायकका रूपमा काम गरिरहेका थिए । भिलेपी फ्रान्सका राम्रा कवि तथा उपन्यासकारका रूपमा परिचित छन् । त्यो बेला ब्रुनो विदेशमन्त्रीका रूपमा कार्यरत थिए । त्यही बेला उनले द मिनिस्टर नामक गैरआख्यानात्मक कृति बजारमा ल्याएका थिए । इराकयुद्धका बेला पर्दापछाडि के के भयो भन्ने बारे सो पुस्तकमा लेखिएको थियो । सो पुस्तकमा उनले आफ्नी श्रीमतीले आफूलाई नुहाइदिने गरेको र मैलो पखाल्न जिउ माडिदिने गरेको दृश्यसमेत मज्जाले लेखेका थिए ।

उनको लेखनीलाई समीक्षकहरूले निकै रूचाउने गरेका छन् । कतिपय साहित्य पुरस्कारसमेत उनले हात पारिसकेका छन् । उनी अमेरिकी साहित्यकार फिलिप रोथ र साउल बिलोबाट ज्यादै प्रभावित रहेको बताउने गरेका छन् ।

उनको यो पुस्तकको विवाद झिकिएकामा दुःखी छन्, ‘मैले यो उपन्यास लेख्न आफ्ना कयौँ रहरहरू मारेको छु । मेरो परिवारको समय चोरेको छु । बिहान सखारै उठ्नु र लेख्नु, बिदाका दिनहरू कुर्दै लेख्नु कम्ता गाह्रो छैन । मैले जनताको काम नगठी लेखेँ त के बिराएँ ?’

यो पुस्तकका लागि उनले पाँच वर्ष अनुसन्धान गरेको र लेख्न थप पाँच वर्ष लागेको दाबीसमेत गरेका छन् ।