वर्षायामको भेलले जमिनको धुलो त जम्मै पखालेर लैजान्छ । परन्तु, मेरो आँसुको गङ्गाले न त तिम्रो बैँसको उन्मादलाई पखाल्न सक्यो, न तिम्रो कसिलो अङ्गालोको रापलाई निभाउन नै सक्यो ।

प्रिय वृष्टि,

सुमधुर सम्झना !

तिम्रो कुशलमङ्गलको कामना गर्दै, तिमीलाई मेरो अन्तिम कोसेलीस्वरूप यो पत्र प्रेषित गर्दै छु । यसलाई स्वीकार या नकार, त्यो तिम्रो इच्छा भयो । बस् यति चाहना छ कि मेरा यी शब्दले तिमीलाई कुनै आघात नपुगोस् ।

म अहिले पनि सम्झिन्छु, कति रमाइला थिए तिमीसँग बिताएका पुराना दिनहरू । फर्केर हेर्दा लाग्छ, अब फेरि कहिले आउने छैन त्यो पल, त्यो उमङ्ग र त्यो खुसी ।

कहिलेकाहीँ राम्रो गर्न खोज्दा खोज्दै पनि नराम्रो भइदिँदो रहेछ । एउटा कुरा सोच्यो अर्कै भइदिन्छ। यता सिलाउन खोज्यो उता च्यातिन्छ सम्बन्ध । सायद, सम्बन्धको परिभाषा नै यस्तै हुन्छ । असमझदारीको पर्खालले दुई पक्षलाई छेकेर राखेको हुन्छ । जो आमुन्नेसामुन्ने हुँदा हुँदै पनि हाम्रो नजरको नानीले समेट्न भ्याउँदैन, मस्तिष्कको स्नायुले टिप्न सक्दैन । केही यस्तै यस्तै भयो प्रिय तिम्रो र मेरो जीवनकथा पनि । एउटा मुस्कानको गोरेटोबाट सुरु भएको हाम्रो सम्बन्ध आँसुको खाडलमा आएर अस्तायो ।

तिमी र म अलग भएको झन्डै ६ महिनापछि आज तिमीलाई यो पत्र कोर्दै छु । एकाग्र शून्यतामा आफूलाई डोर्‍याउँदै म आजभोलि निस्पट्ट साँझको जुनेलीसँग प्रतिस्पर्धा गरिरहेको छु । नदीको बहाव कुन दिशातिर बग्दैछ, मैले ठम्याउन सकेको छैन । एकतमासले फुल्ने सुनाखरीका फूल आजकाल फुल्न छोडेका छन् । सर्वदा अविचलित उभिने आत्मविश्वासको पिलर ढलेको छ । तुफान जसरी आएको हुरीबतासले मेरो आत्मीयता लुछेर मलाई एक्लो बनाएको छ।

कास, म नक्षत्रको एउटा सितारा हुन्थेँ त आज यसरी एक्लो हुने थिइनँ । मलाई यसरी गल्नुपर्ने थिएन । न मलाई पीडा हुने थियो, न त कुनै चोट । सिताराहरू त अटल र अमर छन् । उनीहरूको उज्यालो कहिले अस्ताउँदैन । तर आज मलाई नक्षत्रको स्वरूप पनि बद्लिएको भान भएको छ प्रिया । चन्द्रमा मसिनो कलमको थोप्लो जत्रो लाग्दैछ, ताराहरू आँखै अगाडि आएर तेर्सिए जस्तो ठुल्ठुला देख्दै छु । सुनेको थिएँ, चन्द्रमा र ग्रहको बदलावले समुद्रमा ज्वारभाटा उत्पन्न गर्छ, मनुष्यको राशि र भाग्य परिवर्तन गर्छ। परन्तु, आज म यहाँ ठिक उल्टो देख्दै छु । मेरो जीवनमा आएको उथलपुथलले उनीहरूको भाग्यमा पो तुषारापात गरेछ क्यारे !

तिमीबाट अलग भएपछिका कैयन् महिनाहरूमा, आँसु जमाएर कहिले चट्टान बनाउँथेँ त कहिले पगालेर वर्षा गराउँथेँ म । ऋतुजस्तै मेरो मन पनि बदलिरह्यो, एकदमै तीव्र गतिमा । लाग्छ, सायद अब कहिले फर्केर आउने छैनौ तिमी । किन्तु, अब तिमी फर्केर आउनु या नआउनुले मेरो अस्तित्वमा कुनै फरक पार्ने छैन । मेरो भविष्यरेखा फेरिने वाला छैनन् । मेरो चिन्तनमा परिवर्तन हुने वाला छैन । समयको बहावले अब मेरो त्यो सोचाइ सबै बदलिदिएको छ प्रिय ।

खुसी के हो ?, पीडा के हो ?, घृणा के हो ?, दिनहरू बित्दै जाँदा बुझ्दै गएँ । बारबारको बज्रपात र विफलताको भोगाइले मलाई पक्कै जीवनको अर्थ सिकाउनेछ, अझ बलियो बनाउनेछ । सम्भवतः अब म ज्यादा सपना देख्ने छैन । कसैको भरोसामा बस्ने छैन । आशालाई एक कुनामा थन्काएर राख्नेछु । म एक्लै बाँच्न सिक्नेछु ।

कति दिन त यो सहरको एक कुनाबाट अर्को कुना बिना-मतलब हिँडिरहेँ । चोक चोकका आकाशे पुलमा पलेँटी कसेर बेतोडमा कुदिरहेका लावालस्कर गाडीहरूको बथान नियाल्दै घन्टौँ घोत्लिइरहेँ । टोलाइरहेँ । मानौँ, मेरो कुनै गन्तव्य थिएन । लक्ष थिएन । मेरो जीवनको कुनै मूल्य थिएन । या भनौँ, म आफैँ थिइनँ यो दुनियाँमा । थिएँ भने पनि सजीव थिइनँ । एकदमै निर्जीव थिएँ ।

तिमीसँगको सामीप्यले तिम्रो आदत लागेको पत्तै पाइनँ । जब टाढियौ तब होस खुल्यो, डरमर्दो सपनाबाट बिउँझिए जस्तो । आदत लागेपछि त्यसलाई त्याग्न बडो मुस्किल । आदत नशा हो, यसले पोल्छ, गहिरो तरिकाले गाँज्छ, अनि मर्ने गरी पिरोल्छ । तर अब म आफूले आफूलाई चिन्ने प्रयास गर्दै छु । यो लतको नशामा बुईँ चढ्ने दुस्साहस गर्ने छैन आइन्दा म ।

मलाई बिछट्टै सम्झना छ, तिम्रा लागि पस्किएका प्रेम अङ्कित पत्रहरू । तिम्रा लागि भनेर जानी-नजानी कोरेका कविताका अनेक हरफहरू । आशा छ, कुनै न कुनै जन्ममा म तिम्रो मनभित्र पसेर कहिले नमेटिने सम्झना भर्न सकूँ । प्रिय, यो झिनो आशा भने बसिराख्ने रहेछ मुटुको एक कुनाभित्र या भनौँ मस्तिष्कको कुनै स्नायु तन्तुमा । आशा त राख्न मिल्छ, राख्दिनँ भने पनि रहिरहन्छ । आस रहेन त जिन्दगी पनि खास रहन्न, आस छैन त केका लागि सपना बुन्ने ? सपना छैनन् त मानव जीवनको सारतत्त्व के रह्यो ? सपना प्राप्तिका निम्ति त यहाँ सङ्घर्ष गरिन्छ । सङ्घर्षको अस्तित्व जोगाइराख्न भनेर त प्रकृतिले ‘मानव जीवन’ (सङ्घर्षको अर्को रूप) को उत्पत्ति गरेको छ।

जतिसुकै आस गरे पनि अब तिमीलाई आफ्नो भावना पोख्ने आँट छैन मसँग । भनौँ, डरको भयङ्कर ओडार उभिएको छ मेरो सामु, जसले अब मलाई तिम्रो समीप जान दिने छैन । अब बस् यति यकिन गर्नु छ कि, तिमी सन्चो छ्यौ, आराम छ्यौ, हाँसी-खुसी बसेकी छ्यौ, आफ्नो कर्मथलोमा सङ्घर्षरत रही सफल हुने छ्यौ । यी सबै म तिमीलाई महसुस गरेर यकिन गर्न सक्छु, तिम्रो अगाडि नपरी अन्तर-कन्दरामै तिमीसँग भलाकुसारी गर्न सक्छु ।

मेरो यो जीवनयात्राको अवधिभर तिमीलाई नकल्पेको कुनै क्षण छैन । तिमीलाई याद नगरेको कुनै निमेष छैन । हृदयको भक्कानोहरू फुटेर हरपल तिम्रै तस्बिरहरू छरपट्ट हुन्छन् । आज म हर्ष र विस्मातको दोसाँधमा उभिएको छु । रोऊँ या हाँसौँ, मेरो अर्धचेतन मगजले ठम्याउन सकेको छैन । रोऊँ भने आँसुको कुवा रित्तिइसक्यो । हाँसौँ त कुन मुखले हाँसौँ ? जुन मुखाकृति अब वियोगको मुक्काले क्षतविक्षत् भइसक्यो । केही आक्रोश र गुनासो पोखिएको मेरो त्योबेलाको आवेगलाई क्षमा गरिदिनेछ्यौ भन्ने आशामा तिमीलाई यो चिठी लेखेको छु ।

प्रिय, तिम्रो प्रेरणाको साहसले प्रायः मेरो हार्न लागेको हिम्मतलाई समेत निस्तेज पारिदिन्छ । परन्तु, तिम्रो र मेरो अस्तित्ववादको लडाइँमा म हारेको छु। तिम्रो मायारूपी ब्रह्मास्त्रले मेरो अङ्ग अङ्ग उजाडेर लगेको छ । तिम्रो र मेरो आत्मीयताको युद्ध, हाम्रो अपनत्वको लडाइँ, जुन लडाइँ आइन्दा कुनै पनि युगमा दोहोरिने छैन । यो महासङ्ग्रामले अब नयाँ महाभारतको जन्म गराउनेछ । जुन महाभारत इतिहासको बगलबाट उछिट्टिएर तिम्रो पोल्टामा उभिएको छ । तिमी ‘देउता’ अनि म ‘दानव’ । यहाँ उप्रान्तको स्वर्णीम युगले तिम्रो जयजयकार गर्नेछ, गुणगान गाउनेछ । तिम्रो पूजा अर्चना गर्नेछ, सर्वश्रेष्ठ मान्नेछ। तिम्रो प्रतिविम्बलाई फूलमाला र अबिरले झकिझकाउ बनाउनेछ । एउटा स्वाभिमानी ‘देवी’को उदय गराउनेछ ।

म सन्तुष्ट छु । म प्रफुल्ल छु कि तिमीलाई यो रणभूमिमा जित सुनिश्चित गराउन सक्षम भएँ । तिम्रो अस्मिताको पर्दा च्यातिन दिइनँ । म प्रसन्न छु कि मेरो पराजयले तिम्रो विजयको झन्डा फहराएको छ । प्रेमको लडाइँमा तिम्रो जित भएको छ । तिमी ढुक्क बस्नु प्रिया, अबको दिनदेखि तिमीलाई डस्न आउने छैन । तिम्रो सर्वजयी वीरताको लालकिल्लामा ममताको धावा बोल्ने आँट गर्ने छैन । स्नेहको शूर-वीर गद्दीमा तिम्रो एकलौटी राज हुनेछ । अज्ञानी त म थिएँ, जो तिम्रो विशिष्टताको भाव बुझ्न असमर्थ रहेँ । अल्पज्ञानी त म थिएँ, तिम्रो शीलस्वभावको श्रेष्ठता पहिल्याउन सकिनँ । अनजान त म थिएँ, तिम्रो दूरदर्शी चिन्तन शक्तिलाई ठम्याउन सकिनँ । मेरो हार त सुनिश्चित थियो । अरूजस्तो म जाली थिइनँ, स्वार्थी थिइनँ, असभ्य थिइनँ । सर्वज्ञानी थिइनँ । म भाग्यमानी थिइनँ।

भनिन्छ नि, समयले आफ्नो गतिसँगै परिपक्व बनाउँदै लैजान्छ मानिसलाई । तर तिम्रो प्रेममा मेरो समय त कहिले परिपक्व भएन । मेरो दुधे-बालक समयले तिम्रो ममता छोड्न जानेन । मेरो अनन्तः नजरमा तिम्रो मुस्कान कहिले अल्पमतमा परेन । सोचेको थिएँ, समयको घडीसँगै एक दिन पक्कै तिम्रा यादहरू पनि विलीन भएर जानेछन् । तिम्रो चुम्बनले लतपतिएका मेरा ओठहरू अवश्य पनि ओसिलो भएर जानेछन् । अपसोच, न त सम्झनाका पत्रहरू नै विलय भए, न त तिम्रो चुम्बनको घनिष्ठता नै फिक्का भएर गयो । सायद, कसैको न्यानो स्पर्श नै जिन्दगी चलाउने बहाना हुनुपर्दछ । कसैको अनिश्चित पर्खाइ नै जीवनको बेग्लै अनुभूति गराउने प्रेरणाको श्रोत हुनुपर्दछ ।

वर्षायामको भेलले जमिनको धुलो त जम्मै पखालेर लैजान्छ । परन्तु, मेरो आँसुको गङ्गाले न त तिम्रो बैँसको उन्मादलाई पखाल्न सक्यो, न तिम्रो कसिलो अङ्गालोको रापलाई निभाउन नै सक्यो । सोचेँ, गोरेटो सकिएसँगै पूर्णविराम लाग्नेछन् मेरा अतीतका पाइलाहरू । वैराग्य, न त पूर्णविराम नै लगाउन सके मेरा अतीतका स्मृतिहरूले, न त वसन्त रित्तिएसँगै अभिलाषाका कोपिलाहरू नै ओइलाए । सायद, मलाई नै चुट्न चाहेको हुनुपर्छ तिम्रो असिनाका डल्लाहरूले, जो यति गाढा सम्झना बनेर अनवरत बर्सिरहेका छन् ।

हडबडाएर बत्तिएको चैतमासको बतासले जङ्गलको सोत्तर सबै उजारेर लैजान्छ । तर, तिम्रो प्रतिबिम्बको अवशेषले कहिले नि उजार्न सकेन मेरो धड्कनको व्यग्रतालाई । तिम्रो पर्खाइको अनिश्चितताले कहिले भत्काउन सकेन मेरो अभिमानको सम्पूर्णतालाई । सोचेँ, गौँथलीका गुँड जस्तै सर्लक्क सरेर जानेछन् एकपल्ट पक्कै तिम्रो स्मरणका तरेलीहरु । हिउँदमा झरेको हिउँ पग्लिए झैँ तरल भएर जानेछन् तिमीले मेरो दिलमा ठड्याएका हिमशिखरहरु । परन्तु, न त गौँथलीका बथानहरू नै कतै सरे, न यो महासागरका हिमशिखरहरू नै पग्लेर गए । कतै तिम्रो सुकोमल औलाहरूले मलाई नै सुमसुम्याइरहेका पो छन् कि ? तिम्रो सम्झनाका डोबहरूले मलाई नै कुरिरहेका पो छन् कि ? किन्तु, कत्ति पनि नहडबडाउनु तिमी, हाम्रो भेट अवश्य हुनेछ, अर्को जुनीमा । यो पल्टलाई बिदा ।

परिस्थितिले जुराएन क्या हामीलाई !
मैले त कुर्नुसम्म कुरेकै हो
तिमी पनि हिँडेकै थियौ
हाम्रो गन्तव्य नै भिन्न भएपछि
भेट भएन त क्यार्नु केटी ?

सयपत्रीको कोपिला फक्रेन क्या लाटी !
मैले त जेनतेन स्याहारेकै हो
तिमीले नि मलजल गरेकै थियौ
हाम्रो गमला नै अलग परेपछि
झ्याङ्गिएन त बोट क्यार्नु केटी ?

यो जुनीमा यस्तै भो केटी
अर्को जुनी कुर है ?
प्रिय, अर्को जुनी भेटम्ला है ?

उही तिम्रो शुभेच्छुक,

एन. सी.