
साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको कथासङ्ग्रह ‘चोभार ब्लुज’का स्रष्टा बिक्रम भक्त जोशीसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?
साँच्चै भन्नुपर्दा निक्कै खुसी छु । मेरो पहिलो प्रयासस्वरुप लेखिएको पुस्तकले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ जस्तो प्रतिष्ठित पुरस्कारको छोटो सूचीमा स्थान पाउन सफल हुनु भनेको मेरा लागि गौरवको कुरा हो । उत्कृष्ट पाँचमा पर्नु भनेको मेरो पुस्तक र त्यसभित्रका रचना रुचाइएको हो, तिनका लेखनशैली स्वीकारिएको हो भन्ने म ठान्दछु । यसले मलाई थप उर्जा दिएको छ ।
पुरस्कारको छोटो सूचीमा तपाईंको ‘चोभार ब्लुज’सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?
सबै एकसे एक छन्, र त उत्कृष्ट पाँचमा छनोट भएका हुन् । ‘चोभार ब्लुज’का प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन्, यसमा दुईमत छैन । पुरस्कारका निम्ति सबै बराबरका हकदार हुन् । सबैलाई मेरो हार्दिक शुभकामना छ !
पुरस्कारकै कुरा गर्ने हो भने मैले पुरस्कारका लागि पुस्तक लेखेको पक्कै पनि होइन । तर इमान्दारीपूर्वक भन्दा साहित्यिक यात्राको यस मोडमा आइपुग्दा अर्को कोणबाट पनि सोच्नुपर्दो रहेछ । पाको उमेरमा साहित्यमा प्रवेश गरेको हिसाबले मलाई केही छोटा बाटो अपनाउनु जरूरी छ । स्रष्टा र कृतिलाई अलि छिटो पहिचान दिलाउने विभिन्न तरीकाहरुमध्ये पुरस्कार पनि एउटा हो भन्ने मलाई लाग्छ । त्यसमाथि साहित्यपोस्ट जोडिएको यस पुरस्कारको बेग्लै महत्ता छ ।
‘चोभार ब्लुज’ किन लेख्नुभयो ? छोटो लेखकीय अनुभूतिसहित बताइदिनुहोस् न ।
‘चोभार ब्लुज’ किन लेखेँ ? खै, के भनुँ ! लाग्छ कि म ‘चोभार ब्लुज’ लेख्नलाई नैं जन्मेको हुँ ।
सानो बेलादेखिको पुस्तकप्रतिको लगावले साहित्यमा नजानिँदो पाराले तानिएको हुँ । अझ भनुँ, आख्यान साहित्यमा । कोर्स बुकलाई एकैछिन बिट मारेर अङ्ग्रेजी, नेपाली, हिन्दी, नेपालभाषा, जे जे भेट्यो त्यही त्यही पुस्तकका आख्यानमा म मग्न हुन रुचाउँथेँ । यो मेरो प्यासनका दौरान मनमा खेल्थ्यो कि मैले अरुको पुस्तक पढेर रमाए झैं मेरो पुस्तक पढेर अरु पनि रमाइदिए हुन्थ्यो नि । मलाई लागिरहन्थ्यो कि आफ्नो पनि कुनै कीर्ति रहोस् यो संसारमा । दमित रुपमा रहेको यो हुटहुटी बल्ल अहिले यो पाको उमेरमा पूरा भएको छ ।
भन्ने नै हो भने त्यही मनको हुटहुटी पूरा गर्न त साहित्यिक यात्रामा सरिक हुन पुगेको थिएँ । आफ्ना साविक प्रोफेसनलाई तिलाञ्जली दिएको थिएँ । इन्जिनियरीङ र बैंकिङ प्रोफेसनलाई बिदाई गरेको थिएँ । साहित्य सिर्जना कसरी गर्ने मेसो चलेको थिएन । त्यसैले हिँडाइका दौरान होस् या एकान्तमा बस्दा कथावस्तु मनमा खेलाउन थालेँ । अनि त फुटकर रचनाहरु रच्न थालिए । फाट्टफुट्ट प्रकाशित हुन थाले ।
जम्मा ३ वर्षको अवधिमा १९ रचना रचेँ । मेरो लेखन अवधि छोटो हुँदाहुँदै पनि त्यसको पृष्ठभूमि धेरै अघि बनिसकेको थियो । धेरै अघिदेखि मैले देखेको सपना विपनामा परिणत भएको थियो । यो मेरो कीर्ति हो, यो मेरो ‘घाँसीको कुवा’ हो । म नरहे पनि मलाई चिनाइरहने मैले बनाएको मन्दिर हो । त्यसैले त भनेको नि, सायद म ‘चोभार ब्लुज’ लेख्नलाई नैं जन्मेको हुँ । यो लेख्न जरूरी थियो, तब न लेखेँ !
‘चोभार ब्लुज’को विधा निकथा भनिएको छ । यो ‘निकथा’ भनेको के हो ?
मेरो एउटा बानी छ । हिँड्दाहिँड्दै कथावस्तु पहिल्याउने, पात्रहरु खडा गर्ने । यस्तोमा बाटोमा भेटेका पात्रको वरिपरि कथा बुन्न थाल्छु । चित्तबुझ्दो पात्र नभेट्दा भने काल्पनिक पात्र नैं पनि खडा गरेर तिनका वरिपरि कथा बुन्छु । त्यसैले मेरा कथामा नियात्राका स्वाद मिसिन पुग्थे । अनि फेरि, हिँड्दै पुगेका ठाउँको भूगोल, संस्कृति, बनोटबारे छोटै भए पनि लेखुँ झैं लाग्थ्यो, ताकि पाठकलाई केही कुरा सुसूचित गर्न सकुँ । विकासका नाममा छियाछिया पारिएका डाँडाकाँडा देख्दा मन छियाछिया पथ्र्यो, त्यसकै बारे पनि केही लेखुँ झैं लाग्थ्यो । यसरी तिनमा कतै निबन्धका हल्का छनक पनि भेटिने भए ।
यसरी लेखिएका रचनाका वरिपरि कथाको माखेजालोले छोपछाप गरेपछि यो न नियात्रा रहने भयो, न निबन्ध, न कथा नैं । यो हाइब्रिड रचनालाई नै निकथा भनियो ।
अतः निकथालाई म दुई किसिमले परिभाषित गर्न खोज्छु । संरचनाका आधारमा र विषयवस्तुका आधारमा । संरचनाका आधारमा व्याख्या गर्ने हो भने अघि भने झैं निकथा भनेको नियात्रा, निबन्ध र कथाको सम्मिश्रण हो भने विषयवस्तुका आधारमा भन्दा निकथा भनेको तथ्य, कथ्य र सन्देशको घुलन हो । अर्थात् फ्याक्ट, फिक्सन र मेसेजको मिक्स्चर । यसमा यात्राका तथ्यपरक वर्णन रहने नैं भए, काल्पनिक कथनहरु पनि भेटिने भए । र, म यो चाहन्छु कि रचनाले केही न केही सन्देश देओस्, केही न केही मुद्दालाई सम्बोधन गरोस्, चाहे त्यो सामाजिक होस् वा वातावरणीय वा धार्मिक । अँ, राजनैतिक मुद्दाबाट तर्किन खोज्दाखोज्दै पनि एउटा निकथा भने पोलिटिकल एलगोरी बन्न पुग्यो ।
जे होस्, समग्रमा भन्दा मेरो यो प्रयोग रुचाइएको हो भन्ने मलाई लागेको छ । नत्र यो अन्तर्वार्ताको मौका मैले कहाँ पाउँथेँ र ? हैन त ?
तपाईंले ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ पाउने भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
(लामो हाँसो) यो त बच्चो जन्मिनु अघि भोटो सिलाउने कुरो भएन र ? उता अङ्ग्रेजीमा पनि त एउटा उखान छ नि, डोन्ट काउन्ट योर चिकेन्स् बिफोर दे आर ह्याच्ड ! सिरियस्ली, मैले यस बारे सोचेकै छैन । पाए सोचुँला ! यत्ति भन्छु, असल काममा खर्च गर्ने मेरो बानी छ ।
अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरु के के छन् ? बताइदिनुहोस् न ।
अघि पनि भनेँ नि, मनको आवाज सुन्दै यो क्षेत्रमा आएँ । अरु ढोकाहरु बन्द गरेर यहाँ आएँ । अब यही बाटो अघि बढ्नुछ । सफल होला नहोला समयले बताउला । तर आफ्नो कर्तव्य निर्वाह गर्दै अघि बढ्नुछ ।
अबको दिन मैले तुरुन्तै लेख्नुपर्ने भनेको अर्को निकथा–सङ्ग्रह नै हो जस्तो लाग्छ, किनकि निकथा विधालाई मैले न्याय दिनुछ । यस अर्थमा ममाथि जिम्मेवारी थपिएको छ । साथसाथै नियमित कथाहरु लेख्ने त छँदैछ ।
यस बाहेक उपन्यास लेखनमा पनि प्रयास गरुँ जस्तो लाग्छ । किनकि आख्यान लेखनको चुरो भनेको उपन्यास लेखन भनिन्छ । त्यसमाथि मेरो लेखनशैली यस्तो छ कि कथामा प्रयुक्त प्लटको दायरा प्रायः फराकिलो हुने गर्छ, जसलाई सब–प्लटहरुमा इलाबोरेट ग¥यो भने उपन्यास नैं बन्छ भनेर अरुले भन्छन् । मेरो लेखनशैलीका कारण मलाई उपन्यास लेख्न मद्दत पु¥याउँछ कि जस्तो लाग्छ । हेरुँ, के हुन्छ !
जे होस्, आगामी साहित्यिक यात्रामा सरल, सरस, कम बोझिलो र गुणात्मक लेखनलाई प्राथमिकता दिँदै अघि बढ्ने मेरो योजना छ । किनकि नपढिने, झिँजो लाग्ने दर्जनौं पुस्तक लेख्नु भन्दा पढुँपढुँ लाग्ने ‘रिडर–फ्रेन्डली’ दुई–चार पुस्तक लेखेर पाठकहरुमा पठनसंस्कृति बसाउन÷बढाउन मद्दत पुर्याउन सके यो मेरा लागि ठूलो उपलब्धि हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

