
नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको बुईपामा जन्मिनु भएकी सुगम सङ्गीत र यसमा पनि विशेष गरेर लोक सङ्गीतमा विगत २५ वर्षदेखि गायिका पार्वती राई निरन्तर लागिरहनु भएको छ । गाउँघरमा हुने विभिन्न कार्यक्रममा सानैदेखि गीत गाउने भएकोले स्कुल क्याम्पसमा हुने अधिकांश कार्यक्रममा पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिने गर्नुहुन्थ्यो । काठमाडौँ आए पछि साथी सरला राईसँगै गीतहरू गाउन थाल्नुभयो । २०५७ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरे पछि गायिका पार्वती राईको साङ्गीतिक उडान अरू फराकिलो हुँदै आयो । त्यस बेला रेडियो नेपालमा विभिन्न अवसरमा आयोजना हुने तत्कालीन राजाको जन्मोत्सव, प्रजातन्त्र दिवस तथा फूलबारी आदि कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिने गर्नु हुन्थ्यो । साङ्गीतिक प्रस्तुतिकै सिलसिलामा देशका विभिन्न महोत्सव तथा नेपाली समुदायको निमन्त्रणामा देश बाहिर हङ्कङ् , युके, द. कोरिया, बहराइन, साउदी अरब लगायत विभिन्न देशमा समेत आफ्नो प्रस्तुतिहरूका लागि भ्रमण गरिसक्नुभएको छ । एक समय अत्यन्तै चर्चित भएको र आज पनि गाउँघरमा विभिन्न अवसरमा गुन्जिने गीत “खोटाङ हलेशी” गीतकी गायिका किरात उभौली पर्वको अवसरमा आफ्नै जन्म जिल्ला खोटाङ आउनुभएको थियो । खोटाङमा भएका विभिन्न मेला महोत्सवमा प्रस्तुतिहरू पश्चात् इलाम आउनु भएको मौका पारेर पूर्वेली गायिका पार्वती राईसँग भएको सहित्यपोस्ट भेट-वार्ता…
संयोगवश इलाममा भेट भयो, के कति कारणले इलाम आउनु भयो ?
नमस्ते ! इलाम त म आइरहन्छु, रमाइलो छ, रमणीय छ र इलाम आत्मीय पनि छ । कहिलेकाहीँ यसै घुम्न पनि आउँछु । इलाम आउनु भन्दा पहिले मेरो जन्म जिल्ला खोटाङमा विभिन्न महोत्सव तथा कार्यक्रमहरू थिए । त्यहाँ पन्ध्र दिन जस्तो विविध साङ्गीतिक कार्यक्रमहरूमा सरिक भएर आज चाहिँ किरात राई यायोक्खा इलामले आयोजना गरेको साकेला उभौली कार्यक्रमको लागि यहीँ इलाम आएको छु ।
महोत्सव लगायतका कार्यक्रम बाहेक अरू साङ्गीतिक दिनचर्या के कसरी बितिरहेका छन् ?
आजभोलि नयाँ गीत सङ्गीतमा समय अलि कम भएको छ । घरपरिवार अरू व्यवहारिक कामले गर्दा सोचे जति समय दिन सकेको छैन । तर छिटफुट गीतहरू आइरहेका छन् ।
तपाईंले साङ्गीतिक यात्रा सुरु गर्दा र आजको दिनमा नेपाली गीत सङ्गीतको अवस्था कस्तो देख्नु हुन्छ ?
गीत सङ्गीतको विकास भएकै छैन, बिग्रिँदै गएको छ भन्ने पक्षमा म छैन । यो क्षेत्र त अरू परिष्कृत र परिमार्जित हुँदै आएको छ । प्रतिभावान् गायक गायिका, सङ्गीतकार, मन छुने शब्दहरू लेख्ने गीतकारहरू सङ्ख्यामा कम हुनुहुन्छ होला तर पनि आउनु भएकै छ ।
अब पहिले र अहिले को कुरा गर्दा त्यो समयमा गीत सङ्गीतमा अनुशासन थियो । कामको सम्मान थियो । अध्ययन थियो । साधना थियो । गीत लेखनको छुट्टै महत्त्व थियो । समग्रमा भन्नु पर्दा मीठो परिश्रम थियो । पैसाको लगानी पनि थियो तर त्यो भन्दा पनि कसरी गीत सङ्गीतलाई जीवित राख्न सकिन्छ भन्ने चिन्तन थियो र यसैमा समय बढी खर्च हुन्थ्यो, यसैलाई लगानीमा गनिन्थ्यो । जुन बेला म साङ्गीतिक क्षेत्रमा आउने जमर्को गर्दै थिएँ या कामहरू गर्दै अगाडि बढ्ने क्रममा थिएँ त्यस बेला आदरणीय शम्भु राई, दीप श्रेष्ठ, बुद्धवीर लामा, पारस मुकारुङ, शान्तिराम राई, बुलु मुकारुङ उहाँहरूलाई सुन्दै, धेरै गीत सङ्गीतमा उहाँहरू सँगै सहकार्य गर्दै आइयो ।
तर आजभोलि धैर्य गरेर यस क्षेत्रमा लाग्ने र आउने भन्दा चाँडो भाइरल हुने, विभिन्न सामाजिक सञ्जालहरूमा ट्रेन्डिङमा आउने र जसरी भए पनि भ्यूज सङ्कलनमा आजको गीत सङ्गीत अलि व्यस्त भएको हो कि जसो लाग्छ । पपुलर पनि हुन जरुरी हुन्छ, आर्थिक पाटो पनि महत्त्वपूर्ण हो तर गुणस्तरलाई केन्द्रमा राख्नु पर्छ भन्छु म ।
त्यसो भए आजभोलि राम्रा गीत सङ्गीत बजारमा छैनन् त ?
त्यसो पनि होइन । आज भोलि पनि राम्रा गीत सङ्गीत आइरहेका छन् । नयाँ आउने भाइ बहिनीहरू पनि मिहिनेत गरेर आउनु भएको देखेको छु, भेटेको छु । सिकेर आउनुभएको छ । उहाँहरूको पनि राम्रो छ । र अर्को कुरा पनि आजभोलि गीत सङ्गीत अरू व्यावसायिक बनेका छन् । राम्रो आर्थिक आर्जनको एउटा माध्यम पनि बनेको छ । तर मैले जोड्न खोजेको चाहिँ जसरी वर्षौंसम्म पनि स्मरणमा रहने, गायक, सङ्गीतकार, रचनाकार लाई सम्झिने गीत सङ्गीतको सिर्जना हुन्थ्यो त्यो बेला, जसलाई हामी अजर अमर सिर्जना भन्ने गर्छौं । त्यस प्रकारका सिर्जनाहरू आजभोलि कम हुँदै गएका छन् कि भन्ने मेरो निजी विचार हो ।
अहिले विभिन्न टेलिभिजनहरूमा रियालिटी शोहरु आउने गर्छन् यसबारे तपाईंको धारणा के छ ?
म यसलाई दुई पाटाहरूबाट हेर्छु । एक त यस्ता शोहरूले हरेक साल नयाँ नयाँ प्रतिभाहरूलाई मौका दिएर साङ्गीतिक क्षेत्रमा ल्याएको छ । विजेता, उपविजेता के कसरी हुन्छन्, शोहरूको फर्म्याट के छ, सही छ-छैन यसबारे मेरो कुनै टिप्पणी छैन। गर्न पनि खासै मन लाग्दैन । तर केही राम्रा प्रतिभाहरू आउनु भएको छ यस अर्थमा राम्रो लाग्छ ।
साथै त्यस्ता शोहरूबाट विजेता भएर आउनु भएका भाइ बहिनीहरू शो पश्चात् धेरै त साङ्गीतिक बजारबाट हराउनु भएको जस्तो पनि लाग्छ । रियल ब्याटलमा पर्फमेन्स कम भएको, सङ्गीतको आधारभूत सिकाइ नपुगेको, थप अध्ययनको जरुरी भएको हो कि जस्तो लाग्छ । गीत सङ्गीतको क्षेत्रमा आउन चाहने भाइबहिनीहरूले निरास नभई अध्ययन र साधनामा समय दिनु भयो, कमीकमजोरीहरूमा काम गर्नु भयो भने राम्रो कलाकार बनेर उदाउनेमा म विश्वस्त पनि छु ।
बजारमा आएका नयाँ गीत सङ्गीतहरू कतिको सुन्नु हुन्छ ?
सुन्छु । सके सम्म समय मिलाएर सुन्ने गर्छु ।
अहिले आउनु भएका तपाईंलाई मन पर्ने गायक गायिकाहरूको नाम लिनु पर्दा क-कसको लिनु हुन्छ ?
सबैको नाम त मलाई याद छैन पनि । गीत सुन्छु, राम्रो लाग्छ । धेरै नयाँ भाइबहिनीहरू राम्रै हुनुहुन्छ । सम्झेका नामहरूमा – अस्मिता अधिकारी, मेलिना राई , एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी, विकास लिम्बु, निशान भट्टराई, प्रताप दास, प्रविशा अधिकारी, सुनिता थेगिम आदि राम्रो लाग्छ । मैले अरू पनि राम्रा भाइबहिनीहरूको नाम भुले यसको लागि म उहाँहरूसँग माफी पनि माग्छु । सबैलाई आशीर्वाद, माया छ र राम्रो गर्नुहोस् शुभकामना पनि ।
तपाईं विभिन्न महोत्सव मेला तथा स्टेज कार्यक्रमहरूमा गइरहनु हुन्छ, त्यस्ता कार्यक्रमहरूमा नयाँ कलाकारहरूले गर्ने व्यवहार कस्तो पाउनु भएको छ ?
राम्रो छ, सबैले आदर सम्मान गर्नु हुन्छ । सिनियर दिदी भन्नु हुन्छ। उहाँहरूको व्यवहार, सत्कार एकदम परिपक्व र भलाद्मी लाग्छ । नयाँ भाइबहिनीहरूसँग कार्यक्रममा स्टेज शेयर गर्दा धेरै रमाइलो हुने गर्छ । हाम्रो लागि यो पनि एक प्रकारको हौसला र पुरस्कार पनि हो ।
वर्तमान नेपाली सुगम सङ्गीतको अवस्था कस्तो देख्नुहुन्छ ?
यसो छ, सबै कुरालाई नकारात्मक दृष्टिकोणले मात्र हेर्नु पर्छ भन्ने छैन । हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष धेरै थोरै हुन्छ नै । यसबाट नेपाली गीत सङ्गीतको क्षेत्र पनि टाढा छ जस्तो लाग्दैन । कोही दुईचार दिन भाइरल हुन आउने, स्टेज तताउने जाने र केही समय पछि गुमनाम जस्तै हुने पनि छन् ।अब कोही सङ्गीतलाई नै आफ्नो करियर बनाउने सोचमा लागेर हरेक पल नेपाली सङ्गीत साधनामा लाग्नु भएका धेरै सर्जक तथा स्रष्टाहरू पनि हुनुहुन्छ ।
अब नामै लिनु पर्दा धेरै पुरानो पनि होइन र अहिले स्थापित भइसक्नु भएका गायकहरूमा राजेश पायल राई, रामकृष्ण ढकाल, सत्य-स्वरूप आचार्य, प्रमोद खरेल, मिलन अमात्य, अन्जु पन्त, सुगम पोखरेल, इन्दिरा जोशी, दीपक लिम्बु, शिव परियार लगायत अरू पनि धेरै हुनुहुन्छ मैले नाम छुटाएँ अहिले माफ गर्नु होला । उहाँहरूले नयाँ आउने पुस्तालाई पनि सिकाउँदै पुराना वरिष्ठ सर्जक साधक ज्यूहरूको लिगेसीलाई पनि निरन्तरता दिँदै आउनु भएको छ । यसै गरी अघि जाने हो । यसर्थ नेपाली सुगम सङ्गीतको भविष्य राम्रै छ जस्तो लाग्छ ।
हजुर त आफैले पनि गीत लेख्नु हुन्छ, आजभोलिका रचना / शब्दहरू कस्तो लाग्छन् ?
म त्यस्तो प्रोफेसनल राइटर त होइन तर पछिल्लो समय कहिलेकाहीँ लेख्ने गर्छु । कुनै पनि गीतको जन्म नै शब्द हो भन्छु म । जति मिहिनेत गायकले गर्नु पर्छ, सङ्गीतकारले गर्नु पर्छ शायद त्यो भन्दा बढी मिहिनेत गीतकारले पनि गरेको हुनुपर्छ । एउटा जुन परिकल्पना, कथा, परिस्थिति, भाव/मर्म र समयमा गीत रचना गर्नु पर्ने हुन्छ त्यो कम प्रेसरको काम हो जस्तो लाग्दैन । त्यहाँ पनि पर्याप्त समय र परिश्रमको जरुरत पर्दछ । आजभोलि गुणस्तरीय शब्द निकै कम पाइन्छ । थोरै मात्र स्रष्टाहरू हुनुहुन्छ जो भाइरल हुने र सतही शब्दहरू भन्दा बाँचिरहने शब्दहरू लेख्नु हुन्छ । त्यस्ता शब्दहरू संयोजन भएका गीत सङ्गीत बजारमा एक दुई दिनमै भाइरल हुने र लाखौँ भ्यूज आउने हुँदैनन् तर भोलिका दिनमा औलामा गनिने गीत, नयाँ पुस्ताले सिक्ने क्रममा पटक पटक अभ्यास गर्ने गीतहरू भनेका तिनै हुने गर्छन् ।
तपाईं लोक आधुनिक सङ्गीतमा बढी अभ्यस्त हुनुहुन्छ, अहिले लाइभ लोक दोहोरी नाममा विभिन्न शोहरू सञ्चालनमा छन् । यस्ता कार्यक्रमहरूमा प्रस्तुत हुने गीत सङ्गीत अलि बढी अश्लील हुने, शब्द, सुर-ताल, लय नमिलेको, पुराना गीत सङ्गीतलाई बिगारेको भन्ने आरोप पनि छ। यसमा तपाईं के भन्नु हुन्छ ?
हो, मैले पनि यस्ता आरोप लाग्ने गरेको सुनेको छु । शब्द चयनले गीत सङ्गीतमा विशेष महत्त्व राख्छ । गाउनेले पनि मैले कस्तो गीत गाइरहेको छु, कति पाच्य छ भन्ने हेक्का हुन अति नै जरुरी छ । सबैले भिडियो मात्र हेर्छन् भन्ने छैन धेरै श्रोता र दर्शकहरूले शब्दहरू पनि ख्याल गर्ने गर्नु हुन्छ । यसरी गीत, सङ्गीत, लय बिगारेर गाउनु, अध्ययन नगरी गाउनु, तयारी बिना गाउनु चाहिँ राम्रो होइन जस्तो लाग्छ । गीत गाउन पाइन्छ । कभर गाना गर्ने चलन पनि छ । तर पहिले नै रेकर्ड गरिएका गानाहरूको मर्म र भाव मर्नु भएन । ओरिजिनल स्रष्टाहरूलाई क्रेडिट दिनै पर्ने हुन्छ किनकि उहाँहरूको मिहिनेतलाई हामीले सम्मान गर्नु पर्दछ |
तपाईंका हालसम्म कति गीति अलबमहरू बजारमा आएका छन् ?
अहिले म अलबमकै लागि भनेर गीतहरू रेकर्ड गर्न पाएको छैन । मेरा सबै अलबमहरू जुन बजारमा आएका छन् ती अलि पहिले नै आएका हुन् । हालसम्म मेरा ६ वटा गीति अल्बम बजारमा आएका छन् । “खोटाङ हलेशी”, ” तृषना “,”मेरो देउता “,” सँगसँगै” , “झझल्को”, रिसिया” गीति अल्बम र समग्रमा चार पाँच सय गानाहरू मैले गाएको छु ।
कलाकार राष्ट्रका गहना त भनिन्छ तर कलाकारलाई राष्ट्रले कसरी हेरेको महसुस गर्नु भएको छ ?
राज्यले हेर्नु पर्ने त हो तर जे जति गर्नु पर्ने हो त्यो देखिएको छैन । विभिन्न कलाकारहरू बिरामी हुँदा, कुनै पनि समस्यामा पर्दा एकदम दयनीय अवस्थामा रहेको समाचार सुनिन्छ, देखिन्छ । यस्तो देख्दा अति दुःख लाग्छ । कलाकारको लागि राज्य नभएको जस्तो लाग्छ तर सँगसँगै कलाकारकै लागि भनेर विभिन्न संघ संस्थाहरू खोलिएका छन् । धेरै त कहाँ छन् के गर्छन् थाहा पनि हुँदैन । केही संघ संस्थाले कलाकारहरूको कल्याणकारी कोषको स्थापना गरेर सानो तिनो सहयोग गर्ने गरेको देखिन्छ । कतिले रोयल्टीको लागि काम गरेको पनि पाइन्छ । यो राम्रो कुरा हो । कलाकारका लागि कलाकारहरू नै एकजुट हुनु सुखद पक्ष हो ।
अन्तमा आफ्ना शुभचिन्तक, स्रोत दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त मलाई यो मौका दिनु भएकोमा तपाईं र सहित्यपोस्टलाई धन्यवाद । धेरै पछि अनि यसरी वार्तालाप गर्ने मौका मिल्यो यसको लागि विशेष धन्यवाद ।
मेरो गीत सङ्गीत मन पराउने माया गर्ने देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली भाषी मेरा श्रोता दर्शक महानुभावहरूलाई धेरै धेरै सम्झना तथा माया भन्न चाहन्छु । जसरी तपाईंहरूले विगतमा माया, प्रेरणा, हौसला दिनु भयो आगामी दिनहरुमा पनि निरन्तर पाइरहूँ भन्न चाहन्छु , धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
