आकास खस्छ
भन्ने कुरा
मैले कहिल्यै
सुनेको थिइनँ

बरू आकास
खस्दैन भन्ने कुरा
सुनेको थिएँ
बुझेको थिएँ

यद्यपि
मलाई सधैंभरि
आकास खस्ने हो कि
भन्ने भयले
त्रसित बनाइरहन्छ

आकास कहिल्यै
खस्दैन भन्ने लाग्दालाग्दै पनि
खै किन हो कुन्नि
बा खस्ने पो हो कि
भन्ने शङ्काले
सदैव गाँजिरहन्छ
चिमोटिरहन्छ

आखिर
खसिहाले पनि
के भयो र
मेरो खरको छानो
भएको झुपडी
उज्यालो छिरे पनि
पानी चुहे पनि

व्यर्थै मैले किन
यति विधि चिन्ता
लिएको हुँला !

सबैभन्दा बढी
चिन्ता त ती
जून, घाम र
ताराहरूले पो लिनु पर्ने हो
जो सधैं
आकासमा चम्किरहन्छन् ।