कोही बन्दुक लिएर स्कुलभित्र प्रवेश गर्यो भने के गर्ने ? यस्तो बेलामा विनी द पुले जे गर्छ, त्यही गर्ने । भनाइको अर्थ, बालबालिकालाई विद्यालयभित्र हुने मास सुटिङका बेला के गर्ने भनी सिकाउन बालबालिकाहरूकै सबैभन्दा लोकप्रिय पुस्तकको पात्र विनी द पू नामक भालुले सिकाएअनुसार गर्नु भनी पुस्तक निकालिएको छ ।
अमेरिकाको टेक्सस राज्यका बालबालिकाहरूलाई आत्मरक्षा सिकाउनका लागि विनी द पू कार्टुन पुस्तक निकालिएको छ । त्यसमा आत्मरक्षाका तीन चरण, भाग्ने, लुक्ने र भिड्ने कसरी भनी सिकाइएको छ ।
स्कुलहरूमा सुरक्षित रहनका लागि त्यस्ता कुरा सिकाउने साहित्यको आवश्यकता महसुस गर्दै यो पुस्तक बालबालिकाहरूका लागि उपलब्ध गराइएको हो ।
पुस्तकलाई ए ए माइल्नेले यसको शब्द रचना गरेका छन् भने इएच सेफर्ड चित्र बनाएका छन् । यसमा यदि स्कुलमा गोली चल्यो र त्यसमा केही मानिसहरूको हताहतीमा ज्यान गयो भने ज्यान जोगाउनेहरूले कसरी आफूलाई सुरक्षित बनाउने भनी सिकाइएको छ ।
सन् २०२२ को जनवरी १ देखि विनी द पू पात्र पब्लिक डोमेनमा उपलब्ध भएपछि सर्वाधिक लोकप्रिय यो पात्रलाई आधार बनाएर पुस्तक तयार पारिएको सर्जक माइल्नेले बताएका छन् ।
पब्लिक डोमेनमा भएका पुस्तक, सिनेमा तथा अन्य सिर्जनाहरूलाई अन्य सर्जकले आफूखुसी पात्रहरूलाई तोडमरोड वा कथामा परिवर्तन गर्न पाउने कानुनी प्रावधान छ । सोही कारण यो पात्रलाई बालबालिकाहरूको सुरक्षाका बारेमा सिकाउन उसको लोकप्रियतालाई उपयोग गरिएको माइल्नेले बताए ।
विनी द पूः स्टे सेफ पुस्तकले भनेको छ, यदि तपाईंले कतै खतरा देख्नुभयो भने विनी द पू र उसका साथीले झैँ गर्नुहोस् । सोच्दै नसोचेको घटना भएका बेला अमेरिकाको सुरक्षा निकाय एफबिआईले भाग, लुक र केही सीप नचले भिड भनी सिकाउँछ ।
अमेरिकाको ड्यालस क्षेत्रका बालबालिकाहरूलाई विद्यालयले यो पुस्तक पढ्न दिएको छ भने शिक्षाक तथा परिवारका साथ छलफलसमेत चलाइएको छ । गत वर्ष टेक्सस एलिमेन्ट्री स्कुलमा गोली चल्दा १९ बालबालिका र दुई शिक्षकको ज्यान गएको थियो । सोही घटनाको वर्ष दिन पुगेको अवसर पारी गत साता यो पुस्तकलाई बजारमा ल्याइएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।