चीनको तियानमेन चोकमा ३४ वर्षअघि भएको आन्दोलन चिनियाँ कम्युनिस्ट आन्दोलनविरूद्धको एउटा मानक आन्दोलन मानिन्छ । सो आन्दोलनमाथि लेखिएका पुस्तक तथा भिडियो डकुमेन्ट्रीहरू चीनको मुख्य भागमा त पाइँदैन नै, हङकङबाट पनि गायब हुन थालेका छन् । आउँदो जुन ४ का दिन तियानमेन आन्दोलनको ३४ औँ वर्षको अवसर नजिकिँदै जाँदा तियानमेन स्क्वायरमाथि लेखिएका पुस्तकहरू पसलहरूबाट एकाएक गायब हुन थालेका हुन् । खासगरी हङकङका पुस्तक पसल तथा पुस्तकालयहरूमा पाइने किताबहरू धमाधम लुकाइन थालेको द गार्डियन अखबारले लेखेको छ ।

ताइपेई डेटलाइनबाट हेलेन डेभिडसनले लेखेको समाचारअनुसार पछिल्लो समय तियानमेनबारे लेखिएका पुस्तक तथा भिडियोहरूको संख्या उल्लेख्य रूपमा गायब हुन थालेका हुन् ।

हङकङमा बढ्दो प्रजातन्त्रवादीहरूको आन्दोलन, धर्ना, प्रदर्शनी लगायतका विरोधका कार्यक्रमयता सन् २०२० मा हङकङले बनाएको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत सो घटनाबारे लेखिएका पुस्तक तथा बनाइएका वृत्तचित्रहरू अपराधको श्रेणीमा राखिएका कारण पुस्तकहरू पुस्तकालयबाट गायब हुन थालेको बताइएको छ ।

हङकङका पुस्तकालयमा राखिएका सामग्रीहरू देशहितविपरीत देखिएकाले तिनलाई त्यहाँबाट हटाउन अडिट कमिसनको रिपोर्टपछि विशेष पहलबाट उल्लेख्य रूपमा त्यस्ता सामग्री हटाइएको बताइएको छ ।

यसका लागि हङकङका सार्वजनिक पुस्तकालयका पुस्तकहरूमा त्यस्ता अवाञ्छित पुस्तकहरू भए नभएको रिपोर्ट तयार पारिएको थियो । त्यसका लागि खास खास लेखक तथा प्रकाशकका पुस्तकहरू भए नभएको सुनिश्चित गरिएको थियो ।

यस किसिमको अभियान सन् २०२१ बाट गरिएको थियो । सन् २००९ सम्म तियानमेनमाथि लेखिएका पुस्तकहरूको संख्या १४९ वटा थिए । अहिले जजम्मा चार वटा मात्र देखिन्छ । मिङ पाओ अखबारका अनुसार राजनीतिक विषयमाथि लेखिएका पुस्तक, म्यागेजिन तथा भिडियोहरू सन् २०२० को अन्त्यसम्म प्रशस्त फेला पर्थे । अहिले त हङकङको राष्ट्रिय च्यानलले बनाएका तियानमेनबारेका डकुमेन्ट्रीसमेत गायब छन् ।

गार्डियन अखबारले खोजेका तियानमेनबारेका पुस्तकहरू सार्वजनिक पुस्तकालयका अनलाइन सूचीमा देखा परे पनि ती पढ्न उपलब्ध नरहेको देखाउने गरेको छ । तर अम्ब्रेला मुभमेन्ट (छाता आन्दोलन)माथि लेखिएका चार पुस्तकहरू भने पढ्न पाइने भनी देखाउने गरेको छ ।

तर हङकङका प्रमुख कार्यकारी जोन लीले भने निजी पुस्तक पसल तथा पुस्तकालयहरूमा ती पुस्तक पढ्न पाइने, केही अभियानकर्मीहरूले यसलाई ठूलो मुद्दा बनाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । उनका विरोधीहरू भने कानुन लागू भएयता कुनै पनि मुख्य भूमि वा विरोध प्रदर्शन र आन्दोलन विषयक पुस्तकहरू सार्वजनिक पुस्तकालय तथा निजी पुस्तक पसलबाट रातारात हटाइएको दाबी गर्ने गर्छन् ।

हङकङका सुरक्षा सचिव क्रिस ताङले जस्ता पुस्तक बालबालिका र सर्वसाधारणले पढ्न जरूरी छ, ती पुस्तक उपलब्ध रहेको र अनावश्यक पुस्तकहरू निकाल्नु उचित कदम भएको प्रतिक्रिया दिएका छन् ।

दुनियाँका एजेन्डा बोकेर उफ्रनेहरूका सामग्री जनतालाई पढाउनै पर्ने कुनै आवश्यकता नरहेको प्रतिक्रिया उनको छ ।

जब जब पुस्तक पसल र भिडियो लाइब्रेरीबाट त्यस्ता सामग्री हुन थाल्छन्, संसारभर ती सामग्रीलाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्ने आवाज उठाउँदै इन्टरनेट आर्काइभिङ गर्नुपर्ने कुरा उठ्ने गर्छन् ताकि तिनमाथि सर्वसाधारणको सर्वसुलभ पहुँच होस् । हङकङको इतिहास र समाज जोगाउन यो जरूरी रहेकाले यस्तो आर्काइभिङ जरूरी भएको तिनको धारणा छ ।